कमरेड पुष्पलाल र बृहत कम्युनिस्ट एकता

Bisheswor Kattel
  • 699
    Shares
लोकपाटी न्यूज

 विश्वेश्वर कट्टेल। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको आज ४३ औँ स्मृति दिवस। लोकतान्त्रिक सङ्घीय गणतन्त्रको समाजवादउन्मुख संविधान निर्माण भयो। त्यसपछिको पहिलो निर्वाचनमा नेपालका दुई शक्तिशाली कम्युनिष्ट एमाले र माओवादी केन्द्रबिच बाम गठबन्धनको रूपमा चुनावी तालमेल भयो। नेपाली जनताले झन्डै दुईतिहाइ मत दिई कम्युनिस्ट गठबन्धनलाई विश्वास गरे। स्थायी र शक्तिशाली सरकार स्थापना भयो।  अस्थिर राजनीति अन्त भयो। पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी बन्न पुग्यो। दुई वर्षको कार्यकाल पुरा हुँदा नहुँदै पार्टीभित्र सरकार र पार्टी नेतृत्व गरिरहनु भएका पार्टी अध्यक्ष के.पी. शर्मा ओलीले आफ्नो मनमानी ढङ्गले सरकार सञ्चालन गर्न थाल्नुभयो।

कम्युनिस्ट पार्टीले उठाएका समाजवादउन्मुख कार्यक्रमहरू पाखा लाग्न पुगे। चुनावका वेला संयुक्त घोषणापत्रले उठाएका विषयहरू भुल्न पुगे। दलाल, नोकरशाही, कमिसनखोर, बिचौलिया ठेकेदार र भ्रष्ट प्रवृत्तिसँगको साँठगाँठ तीव्र हुन पुग्यो। मौका छोपेर देशी विदेशी कम्युनिष्ट विरोधी तत्त्वहरूले पार्टी फुटाउन र सरकार समाजवादी धारबाट वहिर निकाल्न र कम्युनिस्ट सिद्धान्तबाट गिराउन आवश्यक तयारी गरे।

सरकार जनताको नभई विदेशी दलालहरूको बन्न पुग्यो। सरकारको माध्यमबाट नेपालको प्रभावशाली एकीकृत कम्युनिष्ट आन्दोलन टुटफुट र  विसर्जनको दिशामा पुनः लान सकिने अवसरको रूपमा प्रयोग गर्न पुगे। यस्तो अवस्थामा सरकारको मुख ताकेर आन्दोलनको विसर्जनमा सामेल हुने कि आन्दोलनलाई नयाँ जगबाट उठाउन प्रयत्न गर्ने ? कम्युनिष्ट आन्दोलनका नेताहरूमा यो अहम् सवाल पैदा भयो।

सरकारलाई सही बाटोमा हिँड्न बारम्बार गरिएको प्रयास उल्टो साबित भए पछि बाध्य भएर स्वदेशी तथा विदेशी दलालहरूको अभिभावक जस्तो बन्न पुगेका निरङ्कुश शैलीको कम्युनिस्ट नामको सरकारलार्इ सही लाइनमा हिडाउन प्रयास भयो। मौका पाउनासाथ आफै अब राजा बन्न सकिन्छ भन्ने दम्भमा प्रधानमन्त्री केपी वली पुगेका थिए।

प्रधानमन्त्रीले नेपाली जनताले लडेर ल्याएको संविधान च्यात्न सम्म तयार भए। चलिरहेको संसद् एकाएक भङ्ग गर्न पुगे। संसद् विघटनको विरुद्ध देशव्यापी रुपमा आन्दोलन भए। आखिर अदालतले संसद् विघटन गैरकानुनी ठहर गरी पुनःस्थापना गरिदियो। यही मौका पारेर कम्युनिष्ट पार्टीको नामको विवादमा थन्किएको मुद्दालाई उचालेर मुद्दाको माग दाबीभन्दा बाहिर गई अदालतले तीन वर्ष पहिले एकीकरण भएको पार्टी एकीकरण रद्द भएको निर्णय सुनायो।

प्रकृति न्यायको सिद्धान्तलाई नै चुनौती दिएर गरिएको यो निर्णय विरुद्ध जाने तागत कम्युनिस्ट आन्दोलनमा पलाएन। अदालतले जे भन्यो त्यही स्विकारेर तीन वर्षदेखि विकास भएको कम्युनिष्ट एकता भावना र त्यसको जगमा निर्माण गरिएको समृद्ध कम्युनिस्ट आन्दोलन र विकासहरू आफै दबिन पुगे। भएका राम्रा कामहरू आफै खण्डित हुन पुगे। आजको कम्युनिस्ट आन्दोलन पुनः तीन वर्ष पहिलेकै दलको बिँडो थामेर आन्दोलनको मूलधारबाट धारहरू निकालेर लरङ्तरङ् अगाडि बढिरहेको अवस्था छ।

देशले मागेको छ। समयले मागेको छ। जनताले मागेको छ। आम नेपालीको चाहना छ। नेपालका कम्युनिष्ट पार्टी एक हुन पर्दछ। त्यही चाहना सोचअनुरूपको सरकार किन पुरा हुन सकेको छैन ? यसमा कुन देशी विदेशी तत्त्वले कुन भूमिका खेलेको छ ? वा हामीभित्र पुरातन  र निम्न वर्गीय चिन्तनले प्रभावित पारिरहेको छ ? अहम् सवाल यतिखेर उठिरहेको परिवेशमा आज हामी पुष्पलालको ४३ औ स्मृति दिवस मनाउन गइरहेका छौँ। के पुष्पलालले यही सपना देखेर कम्युनिस्ट पार्टी गठन गर्नु भएको थियो होला ? अबको आवश्यकता बृहत्तर बाम मोर्चा र एकीकृत नेपाली कम्युनिस्ट आन्दोलन नै हो। आजको दिनले सबै कम्युनिष्ट घटकलार्इ यही दिशातर्फ प्रेरित गरोस्।

पुष्पलालको पारिवारिक परिवेश

पुष्पलालको जन्म वि.सं. १९८१ साल असार ५ गते रामेछाप जिल्लाको भँगेरी गाउँको एक सामान्य परिवारमा बाबा भक्तलाल र आमा तुलसीमायाका माइलो छोराको रूपमा भएको थियो। प्रजा परिषदले १९९७मा छरेको राजनीतिक पर्चाको निहुँमा उहाँका दाजु शहीद गंगालाल लगायत दशरथ चन्द्र धर्मभक्त, शुक्रराज जस्ता होनहार युवाहरूको हत्या पछि उहाँको बाल मस्तिष्कमा विद्रोहको आगो जल्न पुग्यो।

पुष्पलालले एस.एल.सिसम्म काठमाण्डौंमा नै शिक्षा हासिल गर्नुभएको र उच्च शिक्षा हासिल गर्न भने भारतको कलकत्ता जानुभएको थियो। तर उहाँ त्यहाँ पढाईतिर नलागी राजनीतितिर लाग्नुभयो।

पुष्पलाल र राष्ट्रिय काँग्रेस

राणाविरोधी अभियानका सिलसिलामा जन्मिएको राष्ट्रिय काँग्रेसमा रहेर उहाँले सक्रिय राजनीति सुरु गर्नुभयो। १९४७ अप्रिल ९ र १०मा सम्पन्न दोस्रो काँग्रेसबाट उहाँ सचिव बन्न पुग्नुभयो। २००४ सालमा नेपाल राष्ट्रिय काँग्रेसले नागरिक तथा राजनीतिक अधिकार र बन्दीहरूको रिहाइको माग राख्दै देशव्यापी सत्याग्रहको कार्यक्रम घोषणा गर्यो। पुष्पलाललाई दोस्रो सम्मेलनले राष्ट्रिय काँग्रेसको केन्द्रीय सचिव बनायो र काठमाण्डौंमा सत्याग्रहको नेतृत्वको जिम्मा दियो। सत्याग्रहको नेतृत्वका क्रममा पुष्पलाल पक्राउ परी जेल यातना भोग्नुभयो। २००५ मा जेलबाट छुटेपछि उहाँ नेपाल बस्न पाउनु भएन। भारतमा पुगी मार्क्सवादी साहित्यको अध्ययन गर्न थाल्नुभयो।

नेपालको आर्थिक सामाजिक र राजनीतिक जस्ता सम्पूर्ण परिबेसलाई आत्मसाथ गरिरहेका क. पुष्पलालले नेपालको क्रान्तिका लागि मार्क्सवाद आवश्यक छ र यसबाट मात्र क्रान्ति सफल हुन्छ भन्ने निचोडमा पुग्नु भयो। उहाँको अथक प्रयास र साथीहरूको अनवरत सहयोगपश्चात् २००६ सालमा कम्युनिष्ट पाटीको रूपमा नेपाल कम्युनिष्ट पाटी स्थापना गरी त्यसको संस्थापक महासचिव बन्नु भयो।

पार्टी स्थापनाका पृष्ठभूमि 

जहानियाँ राणा शासनको अँध्यारो र कष्टपूर्ण जागिरे पारिवारिक स्थिति राजनीति स्वतन्त्रताको लागि आवाज उठाउँदा दाजु गङ्गालाललाई शासकहरूले गरेको हत्या, परिवर्तनका लागि आन्दोलित नेपाली जनताको चाहनालाई समेत उहाँले राम्रोसँग बुझेर उहाँ कम्युनिष्ट आन्दोलनमा लाग्नु भएको थियो ।

त्यस बेला चिन, भियतनाम, कोरिया आदि देशहरूमा चलिरहेको र पुरा भएका क्रान्तिको गहिरो अध्ययन उहाँमा थियो । यसको साथै अशिक्षा, अन्धकार र कुरीतिमा फसेको जटिल नेपाली समाज र त्यस समाज भित्र हुने वर्ग विभेदका बारेमा पनि उहाँले गहिरो अध्ययन गर्नु भएको थियो । यी सबै कुराको अध्ययनबाट उहाँले नेपालको निम्ति नौलो जनवादी क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नु भएको थियो । जुन सम्पूर्ण शोषित, उत्पीडित श्रमजीवी जनताको पक्षमा थियो । शोषक, सामन्तवाद, साम्राज्यवादका विरुद्ध, विस्तारवादका विरुद्ध र नवउपनिवेशवादका विरुद्ध थियो ।

लेनिनको जन्म दिन २२ अप्रिल पारेर सन् १९४९ तदनुसार १० वैशाख २००६ सालमा आफ्ना ४ जना सहयोगी साथीहरूलाई साथमा लिएर उहाँकै नेतृत्वमा ५ सदस्यीय केन्द्रीय सङ्गठन समिति बनाउनु भयो । समितिका अन्य सदस्यहरूमा क. नरबहादुर कर्माचार्य, नारायण विलाश जोशी, निरञ्जन गोविन्द वैद्य र मोतीदेवी(दुर्गा) श्रेष्ठ(पाछिथप) थिए । सोही दिन उहाँले तयार पार्नु भएको दस्ताबेज पनि पारित भएको थियो ।

शिक्षाबाट कामको थालनी

समाज एकोहोरो र अन्धो जस्तै छ । उसलाई चेतना आवश्यक छ । चेतना दिने ज्ञानको स्रोत पाइने अवस्था छैन । त्यसमा पनि कम्युनिष्ट पार्टीको बारेमा श्रमजीवी जनताको पक्षमा बोल्ने र लेख्ने सामग्री त छदै थिएन । त्यस वेला नेपाली भाषामा कुनै पनि मार्क्सवादी साहित्यिक रचनाहरू लेखिएका थिएनन् । समुदाय शिक्षा र चेतनाबाट विमुख जस्तै थियो । स्रोत सामग्रीहरू शून्य जस्तै थियो । उहाँले आफ्नो कामको थालनी साहित्य सिर्जनाबाट सुरु गर्नु पर्दछ भन्ने ठानेर मार्क्सवादी साहित्यिक रचनालाई नै प्राथमिकता दिनु भयो ।

नेपालको पहिलो मार्क्सवादी साहित्य

मार्क्स र एंगेल्सद्वारा लेखिएको कम्युनिष्ट मेनुफेस्टो (घोषणापत्र) लाई नेपालीमा उल्था गर्नु भयो ।  त्यसको भूमिकामा तत्कालीन नेपाली समाजको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दृष्टिकोणले विश्लेषण गर्दै नेपाली समाजको रूपान्तरणका लागि कम्युनिष्ट सिद्धान्त अपरिहार्य रहेकाले कम्युनिष्ट सङ्गठन निर्माणमा जोड दिनु भयो । यो नै नेपाली भाषामा प्रकाशित पहिलो मार्क्सवादी साहित्य पनि थियो ।

नेपालको पहिलो कम्युनिष्ट दस्ताबेज 

उहाँले ‘नागरिक स्वतन्त्रता सम्पूर्ण बर्गल्याई आवश्यक अतः क्रान्तिकारी नागरिक स्वतन्त्र समिति बनाऊ’ ! भन्ने शीर्षकमा नेपाल कम्युनिष्ट आन्दोलनको पहिलो दस्ताबेज तयार गरी पार्टी स्थापना बैठकमा पारित गरी प्रकाशित गर्नु भयो । त्यसपछि पार्टी घोषणा पत्र र पार्टीको कार्यक्रमको रूपमा‘नयाँ जनवादका निम्ति नेपाली जनताको बाटो’ भन्ने दस्ताबेज तयार गर्नु भयो ।

यी सबैको मुख्य सारको रूपमाः ‘मार्क्सवाद लेनिनवाद भक्तिवाद होइन । यो कार्यक्षेत्रको निम्ति मार्गदर्शक हो । अतः आफ्नो राष्ट्रिय विशेषताको आधारमा हामीले मार्क्सवादलाई आफ्नो समाजमा लागु गर्न सक्नु पर्दछ । यसको अभावमा देशमा क्रान्तिकारी पार्टी बन्न सक्दैन र हामीले नेपाली जनताको सङ्घर्षको नेतृत्व गर्न सक्नेछैनौँ ।’ भन्ने जस्ता कुराहरू नेपाली क्रान्तिका आधारभूत नीति सिद्धान्त र कार्यक्रममा समावेश गरी आज पर्यन्त नेपाली समाजलाई राजनीतिक नेतृत्व प्रदान गरिरहेको छ ।

समकालीन नेपाल र नेपाली क्रान्तिको चरित्र निरूपण

उहाँले समकालीन नेपालको चरित्रको निरूपण गर्दै “दरवारद्वारा नेतृत्व गरिएको नेपालको सामन्ति वर्ग तथा अन्तर्राष्ट्रिय पुँजीवाद, खास गरेर भारतीय एकाधिकारवाद तथा अमेरिकी साम्राज्यवादद्वारा भइरहेको शोषणले गर्दा हाम्रो देशको सामाजिक स्थिति आज पनि अर्धसामन्ती तथा अर्धऔपनिवेशिक छ,” भनी व्याख्या गर्नु भयो । यसै आधारमा नेपाली समाजको आधारभूत र प्रधान अन्तर्विरोधको निर्क्यौल पनि गर्नु भयो । उहाँले नेपाली क्रान्तिको चरित्र निरूपण गर्दै ‘आजको नेपालको क्रान्तिको चरित्र सामन्तवाद तथा साम्राज्यवाद विरोधी चरित्र हो । यो क्रान्ति सर्वहारा क्रान्ति नभई मजदुर वर्गको नेतृत्वमा किसान र मजदुरको एकताको आधारमा सम्पूर्ण क्रान्तिकारी वर्गहरूलाई एकबद्धता गर्दै चलाइने पुँजीवादी जनवादी क्रान्ति हो ।’ भनी व्याख्या गर्नु भएको छ ।  यस विश्लेषणलाई २०६२/६३को क्रान्ति सम्म नेपाल कम्युनिष्ट आन्दोलनले अङ्गालिरह्यो । र आज सम्म पनि नेपाली समाजको वैज्ञानिक वर्ग विश्लेषण हुन सकेको छैन । पुष्पलालकै ७२ वर्ष अधिकै विश्लेषणको आधारमा नेपाली कम्युनिस्ट आन्दोलन चलेको अवस्था छ ।

नेपाली क्रान्तिको लक्ष र क्रान्तिको बाटो निर्धारण

उहाँले नेपाली क्रान्तिको लक्ष निर्धारण गरेर क्रान्तिलाई अगाडि लाने, क्रान्तिको बाटो निर्धारण गर्दै दीर्घकालीन सशस्त्र क्रान्तिको कुरा उठाउनु भएको थियो, नेपाली क्रान्तिका शत्रु र मित्र शक्तिको निर्क्यौल गर्दै “राष्ट्रिय रूपमा देशी सामन्ती भूमि पति वर्ग, साम्राज्यवाद तथा भारतीय एकाधिकार पूँजीवाद परस्त शक्तिहरू र अन्तर्राष्ट्रिय रूपमा साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीवाद नै जनवादी क्रान्तिका मुख्य दुस्मन शक्तिका रूपमा परिभाषित गर्नु भएको थियो भने मजदुर वर्ग क्रान्तिको नेतृत्वदायी शक्ति हो र गरिब तथा सुकुम्वासी किसान मजदुर वर्गको सबै भन्दा भरपर्दो मित्र शक्ति हो, मध्यमवर्गीय किसान, शहर बजारका मध्यम तथा निम्न मध्यमबर्ग जनवादी क्रान्तिका मुख्य सहायक शक्ति हुन्, अन्तर्राष्ट्रिय मजदुर आन्दोलन र जनवादी आन्दोलन, विशेष गरी भारतीय जनवादी आन्दोलन क्रान्तिका मित्र शक्ति हुन् र विशेष रूपमा प्रवासी नेपालीहरू पनि जनवादी क्रान्तिका सहायक शक्तिहरू हुन्” पुष्पलालका छानिएका रचना भाग १ भनी व्याख्या गर्नु भएको छ ।

गोरखासँग जोडिएको प्रसङ्ग 

यसै सिलसिलामा २००९ सालमा उहाँले गोरखामा आएर पार्टी सम्पर्क स्थापना गर्न भयो । २०११ सालमा उहाँकै प्रयासले गोरखामा क. वैकुण्ठ कट्टेलको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना हुन पुग्यो । कम्युनिष्ट पार्टीको निर्देशनमा गोरखाका विभिन्न ठाउँहरूमा विभिन्न किसिमका आन्दोलनहरू भए । यहाँ त्यसबारे उल्लेख गर्न सम्भव छैन ।

२००६ पार्टी स्थापना पछिको सक्रियता

पार्टी स्थापना पछि उहाँ सङ्गठन निर्माण र राणा विरोधी आन्दोलनमा लागी ००७ सालको क्रान्तिमा सरिक हुनु भयो । नेहरु, त्रिभुवन, राणा र काँग्रेस बिच भएको दिल्ली सम्झौता धोका भएको ठहर गर्दै आन्दोलन निरन्तरता दिन आह्वान गर्नु भयो । २००७ सालको परिवर्तन पछि नेकपा माथि पहिलो पटक माघ १०, २००८ मा प्रतिबन्ध लागि ४ वैशाख २०१३ मा प्रतिबन्ध फुकुवा भएको थियो ।

त्यस वेला डा.के.आई सिंहले ठुलाठालु, हुनेखाने र शोषक सामन्तका विरुद्ध विद्रोह गरे । त्यस विद्रोहलाई समर्थन गर्नुपर्ने विचार पुष्पलालले लिई त्यसको समर्थनमा  नेकपाले पर्चा छर्ने र प्रदर्शनमा भाग लिने काम समेत गरेको थियो ।

पछि टङ्क प्रसाद आचार्य प्रधानमन्त्री हुँदाका बखत शान्तिपूर्ण आन्दोलन र बैधानिक राजतन्त्र मान्ने सर्तमा पार्टी फुकुवा भएको थियो । नेकपाको प्रथम महाधिवेशन २०१० साल माघमा भयो । पाटन र काठमाडौँ गरी दुई ठाउँमा भएको ९ दिने महाधिवेशनले कमरेड मनमोहन अधिकारीलाई महासचिव र कमरेड पुष्पलालले सहित पाँच जनाको पोलिटव्यूरो गठन गर्‍यो । महाधिवेशनमा कमरेड पुष्पलालले नौलो जनवादी क्रान्तिको कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने कमरेड मनमोहनले संशोधित नौलो जनवादी कार्यक्रमलाई अघि सारेका थिए । यस महाधिवेशनमा कार्यक्रम पास नभए पनि पुष्पलालले आफ्नो क्रान्तिको सिद्धान्तप्रति दरिलो अडान राख्नुभयो ।

वुझ्ने भन्दा आरोप लाउने धेरै

कमरेड पुष्पलाल जीवनभर निरङ्कुश राजतन्त्र तथा तानासाही पञ्चायती व्यवस्थाका विरुद्ध जुझिरहनु भयो । पञ्चायती निरङ्कुशता विरुद्धको आन्दोलनलाई काँग्रेस र कम्युनिष्ट पार्टी मिलेर मात्र हटाउन सकिन्छ । यी दुई पक्षहरू बिच कार्यगत एकता अनिवार्य छ भन्ने उहाँको बस्तुवादी विचार, सोच र धारणालाई न त कहिल्यै काँग्रेसले बुझ्यो, न त कम्युनिष्ट घटकहरूले बुझे । उल्टो उहाँमाथि कम्युनिष्ट घटकहरूले नै काँग्रेस परस्तको आरोप लगाउन पुगे ।

चट्टानि दृढता

२०३० सालमा त मोहन विक्रम सिंहले गद्दार पुष्पलाल भन्ने पुस्तक नै लेख्नु भयो । जब कि, २०४६ सालमा उहाँकै लाइन समात्दै कम्युनिष्ट र काँग्रेस मिलेर निरङ्कुश तानासाही पञ्चायती व्यवस्था ढल्न सम्भव भयो । बहुदलीय व्यवस्था आयो । २०६२।६३मा काँग्रेस र कम्युनिष्ट मिलेर नै राजतन्त्र ढालेर गणतन्त्र आयो । संयुक्त भएर नै संविधान सभाको चुनाव पनि भयो । संयुक्त भएर नै समाजवाद उन्मुख भनी लेखिएको धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बन्न पुग्यो । सधैँ आफ्नो पार्टी भित्र आफ्ना विचारले हारिरहँदा पनि उहाँले आफ्नो राजनीति हार कहिल्यै मान्नु भएन । आफ्ना सिद्धान्त, विचार र निष्ठा प्रति उहाँको दृढता चट्टान खालको थियो ।

लिनुपर्ने शिक्षा

राजनीति जीवनमा आउने सबै खाले कठिनाइलाई चुनौती दिंदै आफ्नो अडानमा डाँडाको सतिसाल जस्तो गरी उभिनु, क.पुष्पलालको जीवनबाट सबैले सिक्नु पर्ने प्रमुख शिक्षा हो । उहाँले त्यस वेला गर्नु भएको समाजको वर्ग विश्लेषण नै आजको समाजपरक बाटो बनिरहेको छ । समाज यति अगाडि बढिसक्दा पनि सही रूपमा समाजको वर्ग विश्लेषण आज सम्म पनि हुन नसक्नु र गर्ने आँट नगर्नु नै आजको राजनीति अल्मलाई र दिशा भ्रम हो भन्न सकिन्छ ।

उहाँले अफ्नो नाममा थर कहिल्यै जोड्नु भएन । किनकी, जब राणाले आफ्नो दाजु शहिद गङ्गालाल सहित धर्मभक्त माथेमा, शुक्रराजशास्त्री र दशरथ चन्द्र सहित चार जनालार्इ मृत्युदणड दिएको र सोही क्रममा रामहरि र टंक प्रसादजस्ता आन्दोलन कारिलार्इ भने बाहुन भनेर मृत्युदण्ड दिन नहुने भनी चारपाटा मुडेर माफिदिएको घटनाले उहाँको बाल मष्तिस्कमा जातिय विभेद विरूद्ध जुन घृणा पैदा भयो । त्यही कारण उहाँ नेपाल कम्युनिस्ट आन्दोलनका अगुवा बन्न पुग्नु भयो । आफ्नो नाममा कहिल्यै मानिसले बनाएको विभेदकारी थर लेख्नु भएन ।

पार्टीको तेस्रो महाधिवेशन र तेस्रो सम्मेलन

२०१९ सालमा पार्टीको तेस्रो महाधिवेशन भयो । महाधिवेशनमा उहाँले नयाँ जनवादी गणतन्त्रको रणनीतिक कार्यक्रम र संयुक्त जनआन्दोलनको कार्यनीति पेस गर्नु भयो । तर, महाधिवेशनले तुलसीलाल अमात्यद्वारा प्रस्तुत राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम स्वीकार गरी अमात्यलाई महामन्त्री बनायो । उहाँले पार्टी निर्णय स्विकार्नु भयो । धेरै मानिसहरू राजा महेन्द्रको लाली पपमा भुली पञ्च बन्न पुगेको अवस्थामा पञ्चायतमा प्रवेश गरेकाहरूलाई पार्टीमा फर्काउन र प्रवासमा बसेर क. पुष्पलालले पार्टी पुनर्गठनको प्रयास जारी राख्नु भयो ।

उहाँकै प्रयास स्वरूप २०२५ सालमा कम्युनिष्ट पार्टीको तेस्रो सम्मेलन भयो । सम्मेलनले पार्टी पुनर्गठन गरी नयाँ केन्द्रीय नेतृत्व निर्माण गर्नु भयो । यसले नयाँ जनवादी कार्यक्रमलाई अघि सार्नु भयो । उहाँ कम्युनिष्ट पार्टीको महासचिव चुनिनु भयो । दिशाहीन अवस्थामा रहेको पार्टीको महत्त्वपूर्ण हिस्सालाई सङ्गठित गरी अगाडि बढाउनु भयो ।

सन्तुलित विचार र दृष्टिकोणमा अडिग

क. पुष्पलालले तानासाही पञ्चायती व्यवस्थालाई ढाल्ने एक मात्र सही उपाय संयुक्त जनआन्दोलन हो र सबै पञ्चायत विरोधी शक्तिहरू एक रहनु पर्ने कुरालाई बारम्बार जोड दिइरहनु भयो । उहाँले पार्टी निर्माण र परिचालनमा तीन ‘स’ सिद्धान्त, सङ्गठन र सङ्घर्ष को सिद्धान्त सहित आप्नो दृष्टिकोण अगाडि सार्नु भयो ।

क. अरू पार्टीहरू सम्झौताका साधन हुन्, हाम्रो पार्टी क्रान्तिको साधन हो । कम्युनिष्ट पार्टी र अन्य पार्टी बिचको फरक देखाउनु भएको थियो ।

ख. कम्युनिष्ट पार्टी नेता प्रधान होइन नीति प्रधान हो, भन्दै नीतिको महत्त्व प्रस्ट पार्नु भएको थियो ।  (पुष्पलाल–नेपाल कम्युनिष्ट र यसको कार्य पद्धति–२०३०,

ग. जनवाद र केन्द्रीयता पार्टी सङ्गठनका दुई पहलुहररू हुन् । यी तराजुका दुई पल्ला हमेसा सन्तुलित हुनु पर्दछ । यसमा बेथिति आएमा पार्टी जीवनमा नै बेथिति देखा पर्दछ भन्दै जनवाद र केन्द्रीयताको सन्तुलनको महत्त्व बुझाउनु भएको थियो । (पुष्पलाल नेपाली जनआन्दोलन एक समीक्षा पृष्ठ ६)

घ. हाम्रो पार्टी वर्ग समन्वय वा वर्ग सम्झौताको पार्टी होइन, यो पार्टी सर्वहारा वर्गको वर्ग सङ्घर्षको हतियार हो ।

ङ. हाम्रो पार्टी यान्त्रिक योग पनि होइन, यो त एक जीवित सङ्गठन भएको हुँदा सञ्चारको कारण हामीले पार्टी बाहिर नखोजी भित्रै खोज्नु पर्दछ ।

च. पार्टीको सिद्धान्त र राजनीति त्यो शक्ति हो, जसले पार्टीलाई जीवन प्रदान गर्दछ ।

छ. अल्पमत र बहुमत पार्टी जीवनमा देखिने प्रक्रिया हुन् । यसलाई बुझेर हामीले अल्पमतको कदर र बहुमतको निर्णयलाई पार्टी फैसला मानेर शिरोधार्य गर्न सके मात्र हामीलाई व्यवहारमा जाने बाटो खुल्दछ ।

 र, अन्तमा

क.पुष्पलाल, नेपाल कम्युनिष्ट पार्टीका विचारक सङ्गठक र संस्थापक हुनुहुन्छ । उहाँले मार्क्सवादी दर्शन, सिद्धान्त, राजनीति र अर्थनीतिलाई गहिरोसँग बुझ्नु भएको छ । कम्युनिष्ट पार्टी सञ्चालन र निर्माणका विशिष्ट मान्यताहरूको विकास गर्नु भयो । उहाँले सधैँ पार्टीमा क्रान्तिकारी धारको नेतृत्व गरिरहनु भयो । कम्युनिष्ट पार्टीलाई जन अधिकारका निम्ति लडिरहने पार्टीको रूपमा स्थापित गर्नु भयो ।

उहाँ नेपाली जनतालाई आर्थिक सामाजिक र जर्जर सांस्कृतिक कुरूपबाट मुक्त गराउन चाहनु हुन्थ्यो । जीवन भर लगनशीलता सक्रियता तत्परता र तन्मयताका साथ पार्टी काम प्रति उहाँ अविचल र निरन्तर लागिरहनु भयो । कम्युनिष्ट क्रान्तिकारी र नेताको रूपमा पुष्पलालको कार्यशैली उदाहरणीय थियो । उहाँको यस जीवनबाट हामीले थप ऊर्जा प्राप्त गर्नु पर्दछ ।

नेपाली इतिहासको ऐतिहासिक भौतिकवादी लेखनको प्रारम्भ गरी नेपाली इतिहासको पुर्न व्याख्या र खोजको आवश्यकता बताउनु भयो । जनता र राष्ट्रको पक्षमा निरन्तर संघर्ष गर्दै किसानलाई वास्तविक रूपमा जमीनको मालिक बनाई सम्पूर्ण रूपले सामाजिक व्यवस्थालाई नष्ट गर्नु नै आजको सन्दर्भमा नेपालमा जनवाद र राष्ट्रियताको मुख्य सर्त हो भन्ने मान्यता स्थापित गर्नु भयो ।

बदलिँदो परिस्थितिलाई दृष्टिगत गरी बस्तुगत अवस्थाको सही पहिचान गर्ने, सही विश्लेषण गर्ने, सही निष्कर्ष निकाल्ने, क्षमताको बृद्धि गर्न तत्अनुरूप शैक्षिक सामग्री चयन गर्ने जस्ता गुण उहाँको जीवनबाट हामीले ग्रहण गर्नु पर्छ । साझा जीवन उच्च विचारका धनी क. पुष्पलाल सधैँ निजी स्वार्थ भन्दा माथि रहेर देश जनता र क्रान्तिका पक्षमा सतिसाल जस्तै उभिरहनु भयो ।

उहाँ एउटा सच्चा र इमानदार कम्युनिस्ट हुनुहुन्थ्यो । मृत्यु शैयामा हुँदा पनि उहाँले पार्टी भन्दा ठुलो केही देख्नु भएन । दुइटा रोटी खाएर पेटी गन्जी र लुंगीको भरमा उहाँले आफ्नो सम्पूर्ण  जीवन अध्ययन, अनुसन्धान र पार्टी निर्माणमा बिताउनु भयो । हामीलाई र हाम्रा नेताहरूलाई आजको दिनले उहाँको जीवन स्मृति गरी एउटा सच्चा क्रान्तिकारी बन्न प्रेरणा प्रदान गरोस् ।

अध्यक्ष, पुष्पलाल स्मृति प्रतिष्ठान गोरखा

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्