किन तनावमा देखिए प्रचण्ड ?

Prachanda
  • 560
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बिस्तारको विषयले आफूलाई अप्ठेरो बनाएको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औँ स्मृति सभामा प्रचण्डले माओवादीले धेरैमा ७ जना मन्त्री पाउने बताए। तर, मन्त्री छान्ने विषयले आफू केही दिन यता मानसिक रूपमा तनाव परेको उनले बताए।

‘कल्लाई मन्त्री बनाउने मेरो दिमागभित्र आतङ्क छ। म मानसिक तनावमा छु। सबैलाई बनाए त हुने। तर त्यो त हुँदैन। हामी आदर्शका कुरा गर्ने तर पदको आकाङ्क्षा धेरै गर्ने,’ उनले भने। पछिल्लो समय पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको उनले जनाए।

‘मन्त्री नभए नेतृत्वलाई सरापेर हिँड्ने अवस्था बनेको छ,’ उनले भने, ‘नियुक्ति पायो भने ठिक छ नभए नेतृत्व बदमाश भनेर गाली गर्ने प्रवृत्तिको विकास भएको छ।’ शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट अहिले २ सांसद मन्त्री रहेका छन्। पार्टीका सबैले सांसदले मन्त्री बन्ने आकांक्षा राखेपछि प्रचण्डले असन्तुष्टि व्यक्त गरेका हुन्।

सर्वोच्च अदालतको परमादेशपछि विपक्षी गठबन्धनलाई नेतृत्व गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका हुन्। देउवा मन्त्रिपरिषदमा हाल उनीसहित पाँच जना मन्त्री छन्। जसमध्ये काँग्रेसका दुई र माओवादीका दुई जना मन्त्री छन्। जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल पक्ष र जनमोर्चालाई अझै सरकारमा समावेश गरिएको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्