आतंकको आभास दिने बाहुबली संगठन खारेज गर्नुपर्छ : भट्टराई

yogesh_Bhattarai
  • 307
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका नेता योगेश भट्टराईले समूहगत रूपमा यूथ फोर्स र अखिल फोर्स गठन गरिएकोप्रति कडा आपत्ति जनाएका छन्। पार्टीमा रहेको अनेरास्ववियु र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गरिएको भन्दै नेता भट्टराईले त्यसको औचित्यमाथि प्रश्न गरेका छन्।

‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका यूथ फोर्स अखिल फोर्सको औचित्य के छ ?,’ उनले भनेका छन्, ‘समाजमा आतंकको आभास दिने र युवाहरूलाई अराजनीतिकरण गर्दै कानून हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्दत यस्ता बाहुबली समूहहरू तत्काल खारेज गर्नु पर्छ।’ एमालेभित्र हालै अध्यक्ष केपी शर्मा ओली पक्षले यूथ फोर्स ब्यूँत्याएपछि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अखिल फोर्स तयार गरेको हो। नेपाल निकट युवा संघले पिपुल्स भोलिन्टियर ‘पीभी’ पनि ब्यूँत्याउने तयारी गरेको छ।

‘के काम हुन्छन् जो युवासंघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथफोर्स र अखिल फोर्सले मात्र गर्न सक्ने’, नेता भट्टराईले सोधेका छन्। पार्टीभित्रका गुटहरूमा वैचारिक चरित्र सकिँदै जाँदा एक आर्काकाविरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो भन्ने प्रश्न गर्दै भट्टराईले अगाडि भनेका छन्, ‘यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आफैले खनिरहेको स्वीकार गर्नु पर्दछ।’

उनले शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने जस्ता विशेषतासहितको बहुदलीय जनवादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि बाहुबली संगठन निर्माण गर्नु सुहाउने काम नभएको बताउँदै यस्ता गतिविधिमाथि तत्काल रोक लगाउन नेतृत्वसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्