एमाले एकताको नेतृत्व लिन कार्यदललाई सांसदहरूको आग्रह

  • 184
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका सांसदहरुले दश बुँदे सहमति जुटाउने कार्यदलका नेताहरुलाई साथ दिन तयार रहेको बताएका छन्। सिंहदरबारमा एमालेका केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै पक्षका सांसदहरूले कार्यदलका सदस्यहरुसँग एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेका थिए। उनीहरुले विघटित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव अविलम्ब कार्यान्वयनको माग गरेका छन्।

आइतबार १० सदस्यीय विघटित कार्यदलका नेताहरूसँगको छलफलपछि लिखित प्रस्ताव पारित गर्दै सांसदहरूले १० बुँदे कार्यान्वयनको नेतृत्व लिन आग्रह समेत गरेका छन्। केपी ओली र माधव नेपाल दुवै समूहका सांसदहरूको सहभागिता रहेको छलफलको संयोजन यज्ञराज सुनुवारले गरेका थिए भने लिखित प्रस्ताव कृष्णप्रसाद दाहालले पेस गरेका थिए।

कार्यदलका दुवै संयोजक भीम रावल र सुवास नेम्वाङले १० बुँदे सहमति गर्दाको मेहनत र यसले पार्टीलाई एक बनाउन गर्ने सहयोगबारे बताएपछि सांसदहरूको तर्फबाट कार्यदललाई धन्यवाद दिइएको छ। पार्टी एकताको लागि पारित गरेको १० बुँदे प्रस्तावले एमालेका आन्तरिक समस्या समाधान गरी पार्टी एकता गर्न सकिन्छ भन्ने साझा बुझाइ आफूहरूको रहेको सांसद सुनुवारले बताए।

सांसदहरूको भेलाले १० बुँदे सहमति अविलम्ब प्रभावकारी कार्यान्वयनका लागि सार्थक पहलकदमी लिन कार्यदलका सदस्यहरूलाई आग्रह गरेको दाहालले बताए। दुवै तर्फका सांसदहरुले पार्टी एकताका लागि दबाव दिन आन्तरिक एकता सुदृढीकरण अभियान शुरु गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कृष्णप्रसाद दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट यज्ञराज सुनुवारले यो अभियानको अगुवाइ गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्