निर्मलाका दोषी चाँडो पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन

  • 1.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानबारे जानकारी लिएका छन्। प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग आज बालुवाटारमा निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानबारे जानकारी लिएका हुन्।

उनले निर्मला पन्तका दोषी चाँडो पत्ता लगाएर कारबाही गर्न पनि निर्देशन दिए। ‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ( साउन १० गते) ३ वर्ष पूरा भएको छ। १० साउन २०७५ मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका-२ की बालिका निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय उखुबारीमा भेटिएकी थिइन्।

यस्तो जघन्य अपराध भएको ३ वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन। निर्मलाको हत्यापछि बनेका कयौं अनुसन्धान समितिले घटनालाई निचोडमा पुर्‍याउन सकेका छैनन्। आइतबार निर्मलाका आफन्तले कञ्चनपुरमा हत्यारा पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्