पौडेल पक्षले भन्यो : महाधिवेशन सार्न हुँदैन

Ramchandra-Poudel
  • 759
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ। स्थानीय अधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसको आसन्न महाधिवेशन अन्यौलमा परेका बेला पौडेल पक्षले केन्द्रीय महाधिवेशन निर्धारित समयमै हुनुपर्नेमा जोड दिएको हो।

पौडेल पक्षका नेताहरुले कुनै पनि हालतमा महाधिवेशनको मिति सार्न नहुने बताएका छन्। महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको पौडल पक्षका शीर्ष नेताहरुको छलफलले क्रियाशील सदस्यता छानबिनको काम छिटो भन्दा छिटो सकेर तोकिएको समयमा नै पार्टीको महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो।

कोभिड महामारीलाई देखाउँदै सो अवधिलाई शून्य समय मानेर केही समय महाधिवेशन सार्ने प्रयत्न भइरहेको भन्दै भदौमै महाधिवेशन गर्नेबारे छलफल भएको नेता अर्जुननरसिंह केसीले बताए। उनले स्थगित भएको वडा कमिटीको अधिवेशन मिति तत्काल तोक्न नेतृत्वलाई दबाब दिने निर्णय भएको पनि सुनाए। कांग्रेस क्रियाशील सदस्यता विवादले वडा तहको अधिवशेन स्थगित भइसकेको छ।

‘हामीबीच मुख्यत आसन्न महाधिवेशनकै बारेमा छलफल भयो। महाधिवेशन समयमा हुँदैन कि भन्ने आशंका उत्पन्न भएको छ,’ उनले भने, ‘तर हामीले चाहिँ तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ भन्ने निष्कर्ष निकालेका छौं।’ उनले क्रियाशील सदस्यताका कारण महाधिवेशन प्रभावित हुने अवस्था आएपनि अब स्थानीय अधिवेशन पनि चाँडै हुनुपर्ने बताए।

‘क्रियाशील सदस्यताको काम छिटो सम्पन्न गर्नुपर्दछ र अब स्थगित भएका स्थानीय अधिवेशनको मिति पनि चाँडो तोकेर अगाडि बढ्नुपर्दछ,’ नेता केसीले भने, ‘भदौमा महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता हामीलाई छ। महाधिवेशन कुनै पनि बहानामा सार्ने काम गर्नुहुन्न।’

कांग्रेस महाधिवेशन भदौ १६-१९ मा काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ। तर क्रियाशील सदस्यताको काम सम्पन्न नहुँदा महाधिवेशन प्रभावित हुने आशंका छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्