इतिहासको शिक्षा र समाजवादी संस्कृति

Bisheswor Kattel
  • 472
    Shares
लोकपाटी न्यूज

विश्वेश्वर कट्टेल/समाजवादी संस्कृति स्थापना गर्न नसकेकै कारण सोभियत समाजवाद पतन हुन पुग्यो। सोभियत रुसबाट प्राप्त शिक्षा आजका समाजवादउन्मुख सबै राष्ट्रले गहिरोसँग अध्ययन गर्न जरुरी छ। किन सोभियत समाजवाद असफल हुन पुग्यो ? किनकि, समाजवादी संस्कृति विना समाजवादको भविष्य नै छैन। संस्कृति भनेको लामो सभ्यताको उपज हो। अवसरको सदुपयोग हो। संस्कृतिले सभ्यताको पहिचान दिलाउँछ। आफ्नो पहिचान दिन नसक्नेको कुनै भविष्य हुँदैन। आज विश्वमा समाजवादले स्थायित्व (आकार) ग्रहण गर्न नसक्नुको मूल कारण समाजवादी संस्कृतिको विकास नहुनु नै हो। यसमा उपलब्धी नभएका होइनन् त ? भएका छन्। तर, उपलब्धीको अपनत्व लिने विधि र पद्धतिको विकास भएन। संस्कृतिको रूपमा जीवनसँग जोडिन सकेन । आउनुहोस्, यसैबारे छलफल गरौँ।

धुलो टकटक्याउँदै उठ्यो

पुँजीवादको गर्भबाट समाजवादको जन्म भए पनि इतिहास हेर्दा पुँजीवाद र समाजवादको आयु धेरै फरक पाइँदैन। लगभग एकै जस्तो पाइन्छ। सामन्तवादसँग लामो लडाइ पुँजीवादले पनि लड्यो। मात्र के हो भने लुकेको समाजवादको वैज्ञानिक स्वरूप मार्क्स र एंगेल्सले उजागर गर्नुभयो। पुँजीवादले आज सम्म आइपुग्दा आफ्नो एक प्रकारको संस्कृति कायम गर्‍यो। कायम भएको संस्कृतिको अपनत्व ग्रहण गर्‍यो। त्यसको बिँडो थेग्न हरेक क्षेत्रबाट सहयोग भयो। जसका कारण मरणासन्न पुँजीवाद नयाँ जीवन पाएको जस्तो गरेर धुलो टकटक्याउँदै उठ्न पुग्यो।

उदाउँदो समाजवाद आज समाजका विकृति विसङ्गतिविरूद्ध सिंहझैं गर्जन सक्दैन। स्वाधीनताको शीर उँचो पार्न सकेको छैन। अन्तरमुखी बन्यो। किन ? के समाजवादको भविष्य नभएर हो ? किमार्थ होइन। किनकि, समाजवाद सत्यको प्रकाश हो। सत्यको भविष्य नभए, उज्यालोको भविष्य नभए यो दुनियाँ टिक्न सक्दैन। यो ध्रुव सत्य हो। समाजवादका ठेकेदारहरूले समाजवादका नामामा व्यापार गर्न पुगे। आफ्ना कुण्ठा, अहङ्कार र दम्भ पूरा गर्ने साधनको रूपमा लिए। अवसरवादले समाजवादको चीरहरण गर्‍यो। अवसरवाद हावी भएको थाहा हुँदाहुँदै पनि समाजवादका रक्षक र पालक कम्युनिस्टहरू अक्क न बक्कको अवस्थामा पुगे।

इतिहासको शिक्षा

समाजवादी क्रान्ति सफल भएका र समाजवादी राज्य सञ्चालन गरेका देशहरूका आज सम्मको कम्युनिस्ट आन्दोलनका इतिहास बारेमा अध्ययन गरिरहँदा यो कुरा बुझ्न सकिन्छ कि पुँजीवादका नाममा, शोषक सामन्तहरू, धर्म बेचेर बाँच्नेहरू, मानिसकै व्यापार गरेर लुटेको शोसेको धन सम्पत्तिको आडमा आफूलाई सभ्यताको अग्रज ठान्नेहरू, ठगहरू र जाली–फटाहाहरू कम्युनिस्टसँग डराएका थिए। पुँजीवादी राज्यसत्ता पूरै कम्युनिस्टका पछि हात धोएर लाग्यो। आफ्नो आम्दानीको जति प्रतिशत खर्च गर्न परे पनि कम्युनिस्टविरुद्ध खर्च गर्न पुँजीवादी उद्धत रहे।

पुँजीवादले समाजमा कम्युनिस्टविरोधी समाजवादविरुद्धको आफ्नो आफ्नै पहिचान बनाउन सक्यो। त्यही पहिचान लिएर धनीमानी टाठाबाठा भन्नेहरू सङ्गठित हुन पुगे। उनीबिच निजी स्वार्थमा व्यक्तिगत हितका लागि सम्झौता भयो। आफ्ना मानव हितविरोधी कार्यलाई वैध बनाउन संयुक्त राष्ट्र सङ्घ र त्यसका विभिन्न एजेन्सीहरू निर्माण गरे। समाजवादविरुद्ध लागे। कम्युनिस्टविरोधी अभियानलाई योजनाबद्ध रूपले सङ्गठित शक्तिहरू खडा गरी चारैतिरबाट आक्रमण गरे। समाजलाई साक्षी राखेर समाज लुटिरहँदा पनि कम्युनिस्टहरू हेरिरहने अवस्था बन्यो। सहने अवस्था बन्यो।

समाजवादी धुरी आवश्यक

चौतर्फी पुँजीवादी आक्रमण थेग्न र समाजवाद टिकाउन त्यस्तो व्यवस्थित र सङ्गठित प्रयास कहीँ कतै भएन। भएका प्रयासहरूमा पनि आफ्नो हितभन्दा बाहिर गएर कसैले सोचेको देखिएन। एक देश र अर्को देशबिच हेर्दा व्यापारका लागि स्रोतसाधन र जनशक्ति हेर्ने । देशभित्र हेर्दा शक्ति, पद, विचार र सम्पत्तिका लागि आफू आफैँ भिड्ने । आफैँभित्र शत्रु देख्ने प्रवृत्ति हावी भयो।

यो विश्व त निर्बाध रूपमा समाजवादी विश्व हुनुपर्ने हो। आज किन समाजवादी धुरीसम्म कायम हुन सकेन ? मार्क्सवादले त सामूहिकतालाई जोड दिन्छ। सामूहिक एकता, सामूहिक सद्भाव किन बिथोलियो। सामूहिक शक्ति र सामूहिक परिवर्तनको सिद्धान्त किन कमजोर तुल्याइयो ? के यो विचार गलत थियो ? यसमा के त्यस्तो विकृति थियो ? यो त प्रकृतिको नियमसँग अनुबन्धित थियो। विज्ञानसम्मत थियो। वास्तवमा यसले त शोषणको अन्त गर्न चाहन्थ्यो। यातनाविरुद्ध विभेदरहित समाजको निर्माण गर्न र समाजमा अन्याय अत्याचार निर्मूल गर्न चाहन्थ्यो।

किन जन्मन्छन् प्रश्न

समाजलाई कमजोर पार्न र दिशाहीन तुल्याउने शक्तिका विरुद्ध सत्यको मशाल बोकेर अगाडि बढ्न चाहेको समाजवाद, चेतनाको बत्ती बालेर अगाडि बढेको थियो। भातृत्व भाव, सामूहिक सद्भाव र सामाजिक एकताका साथ अगाडि बढ्न र सङ्गठित हुन किन सकेन ? र, क्रान्तिका उपलब्धी निष्प्राण बन्न पुगे। के यो सामाजिक मनोभावना विपरीत हो ? अवश्य थिएन। प्राकृतिक न्यायविरुद्ध थियो ? थिएन। मानवीय हितका कुरा मानवका लागि कमजोर मुद्दा थियो ? थिएन।

यस्ता सयौँ सवाल आज किन जन्मिएको छ ? अब पनि एकपटक समाजवादका पक्षधरले चिन्तन मनन नगर्ने ? नेपाली कम्युनिस्ट आन्दोलनले पाएको सफलता कमाएर जनताको मायाविरुद्ध आज को पछि लाग्यो ? किन दुईतिहाइ जनमत गुमायो ? हामीभित्रै हाम्रा शत्रुहरू अवसरको खेती गरेर बसिरहेका छन्। यो रोग हिजो पनि थियो आज पनि छ। कसले यसबारे सोच्ने, कम्युनिस्ट आन्दोलन उठाउने र समाजवादको मार्गमा देश र जनतालाई डोर्‍याउने ?

पुँजीवादको चक्रीय संस्कृति

पुँजीवादले व्यक्तिगत स्वछन्दतालाई जोड दियो। भ्रम र झुटको सहारामा मानिसले मानिसको मासु खानेसम्मको अवस्था सिर्जना गर्‍यो। मानिसले मानिसलाई दबाएर, लदाएर, मानिसभित्रै शासक र जनता बनायो। हुने र नहुनेबिचको रेखा कोरियो। विभेद खाडल गहिरो झन् गहिरो तुल्यायो। शोषण गर्नेसँग शोषितले सधै हेपिनुपर्ने, ठगिनुपर्ने उल्टो उनीहरूको हात पाउ मोलेर बाँच्नपर्ने बाध्यता सिर्जना गरायो। बलले सत्ता, सत्ताले सम्पत्ति, सम्पत्तिले बल र पुनः बलले सत्ता यही चक्रमा पुँजीवादको संस्कृति विकास हुन पुग्यो र पुँजीवाद टिकायो।

मरेको पुँजीवादलाई चिहानबाट खोतलेर ल्यायो। यसैलाई सभ्यताको संस्कृति भनेर प्रचार गर्‍यो। यसैलाई पृष्ठपोषण गर्ने गरी शिक्षा र जागरणका अभियान चलायो। यही पहिचान बोकेर दर्शन, विचार, नीति र सिद्धान्तहरू पारित गरिए। चेतनाका सवालहरूमा उच निचका भावना जगाइए। जात धर्म र सम्प्रदायका कालकुट विष तयार गरिए। मानिसलाई जन्मैदेखि क्षमताहीन, विवेकहीन, सामर्थ्यहीन तुल्याउन असमान समाज नै समाजको मौलिक पक्ष हो भन्ने कुरा उठाए।

वोधजन्य विषय

के यी सबै प्रश्नमा मानवता झल्कन्छ ? यी विषयले न्याय र समानताको प्रतिनिधित्व गर्दछ ? मानिसले मानिसलाई हेप्न पाएन भने, लुट्न पाएन भने मानव समाज बन्दैन जस्तो गरी आज समाज विकास भएको छ। यस्तो समाजभित्र समाजवाद कहाँ हरायो ? किन उठ्दैन आवाज। हुँदाहुँदा अब त पढ्ने लेख्ने कुरासम्म पुँजीवादले जे तोकिदिन्छन्, त्यही भयो।

पुँजीवादले तोकेको पाठ्यक्रम। पुँजीवादले लगाएको लेबल, टाँचा र ट्रेडमार्क नै विश्वासको साधन बन्यो। अब त हराउँदै छ वस्तु बोधका कुरा। विषय बोधका कुरा। गुणका कुरा। कलाका कुरा। हित र अहितका कुरा। पुँजीवादको एक खम्बा बनेर उत्तर आधुनिकतावाद उदाएको छ। यसले स्वकल्पित भ्रम र झुटको साम्राज्य चलेको छ। विरोध गर्ने कोही छैन। झुट नै सत्य बनेको छ। सत्यको खोजी कतैबाट भएकै छैन। के यो कुरा सबै मानव जीवनसँग तुलनामा योग्य छन् ? छैनन्। के यसले मानवीय मूल्यमा आधारित जीवनको मार्ग देखाएको छ ? छैन।

धरमराउँदो समाजवादी विश्वास

आज मूल्यहीन मानव जीवन नै पुँजीवादको पहिचान बन्न पुग्यो। समाजवादीहरू तँ ठूलो कि मँ ठूलो तौलिरहन्छन्। भाग लगाइरहन्छन्। कुरा समाजवादको, कुरा सामूहिकताको, तर तीन जना मिलेर विचार समायोजन गर्ने तागत राख्दैनन्। एउटा अफुलाई शेर भनेर घोषणा गर्छ, अर्को सवाशेर भन्छ भने अर्को महाशेर बनेर गर्जिन्छ। आफू कसको मुखभित्र बसेर अहमता प्रदर्शन गरेको छु भनेर सोचेका छैनन्। उनीहरू पुँजीवादको काल कोठरीमा बसेर समाजवादका गुड्डी हाँक्न र आत्मरति प्रदर्शन गर्नमा इज्जत र पुरुषार्थ ठान्दछन्। दुई सय वर्षसम्ममा पनि समाजवादी विश्वास धर्मराइरह्यो। समाजवादी भावना कमजोर बन्यो ? यसले आफ्नो पहिचान दिन सकेन। आफ्नो स्थायित्व र आकार ग्रहण गर्न सकेन।

पहिचानको संस्कृति आवश्यक

समाजवादी संस्कृति काल्पनिक जस्तो भयो ? वास्तविक हुन सकेन ? रुसले जे गर्‍यो त्यही समाजवादको मोडलले, चीनले जे गर्‍यो त्यही मोडलेको समाजवाद ? कोरिया वा क्युबा सबैको हालत एउटै छ। पहिला समाजवादको पहिचानको संस्कृति विकास हुन आवश्यक छ। हो, आफ्नो देश समाजअनुरूप समाजवाद मोडेलको रूपमा विकास हुनपर्दछ तर यसको संस्कृति के हो ? यसको पहिचान के हो ? त्यो भुलेर आफूले जो गर्‍यो, त्यो समाजवाद भन्दै पुँजीवादीले सम्म आँट्न नसकेको जनविरोधी मानवविरोधी प्रकृतिविरोधी क्रियाकलापले समाजवादको संस्कृति सझिँदैन। समाजवाद आफैले आफ्नो खाडल खन्नै सक्दैन। यो त मानव समाज र प्रकृतिको विज्ञानमा आधारित हुन्छ। किन आफ्नो खाडल आफैले खन्यो र रुसमा समाजवाद विघटन हुन पुग्यो ?

विवेकलाई बन्धक

इतिहासमा जसले समाजवादी संस्कृति निर्माण गर्ने अवसर पाए, तिनीहरूले पुँजीवादका ‘बा’हरूलाई माथ गरेर अगाडि बढे। समूहमा उनीहरूको विश्वास नै भएन। न स्टालिनलाई त्यो कुरा पच्यो, न ख्रुश्चोवलाई। कतिपय अवस्थामा यस्ता प्रवृत्ति चीनमा पनि हुर्कियो। यसका लागि माओले सांस्कृतिक क्रान्ति नै चलाउनुभयो। समाजवादी संस्कृति पहिचान दिलाउन गरिएको सांस्कृतिक क्रान्तिले गर्न सक्ने आफ्नो मौलिक पहिचान कायम गरेन ? कतिपय अवस्थामा समाजवादी विवेक बन्धक बन्न पुग्यो। समाजले बहुआयमिक विशेषता बोकेको हुन्छ। समाजवादी संस्कृतिले त्यो विशेषताभित्र बसेर ज्योति प्रदान गर्न सक्नुपर्दछ । नेतृत्व प्रदान गर्नुपर्छ।

कमजोर सामूहिक भावना

इतिहासका खण्ड खण्डमा, जहाँ समाजवादी सत्ता स्थापना भयो, समाजवाद स्थापनाका आधारहरू तयार भए, त्यहाँ अधिकार पाउने नै राजा बने। महाराज बने। शासक बने। सेना प्रमुख बने। तानाशाह बने। समाजलाई व्यक्तिको मुट्ठीमा राख्न प्रयास गरे। पार्टी प्रणाली नेताको व्यक्तिगत लाभको वस्तु बन्न पुग्यो। परिणामस्वरूप सामूहिक भावना कमजोर बन्यो। पद र शक्तिले एकता, सद्भाव र सामूहिकता टुट्दै गयो। हरेक कुराबाट हार खाँदै हामी बाध्य भएर पुँजीवादी संसद् नै उपयोग गर्न आइपुग्यौँ।

इतिहासका धेरै पन्नामा लेखिएको छ समाजवाद पुँजीवादीका कारण आउन सकेन। यसो गर्न दिएन। उसो गर्न दिएन। यता छेक्यो, उता छेक्यो। आफ्नै नाकमुनी रहेको क्युवा आज समाजवादी संस्कृति निर्माणमा अगुवा बनेर अमेरिकालाई चुनौती दिइरहेको छ। हिजो पुँजीवादी धुरीले क्युवालाई जति समस्या दियो त्योभन्दा कम थिएन, समाजवादी धुरीले दिएको पीडा पनि। तर पनि समाजवादप्रतिको जुन विश्वास थियो, त्यहीअनुरूप आफूलाई बलियो र प्रतिरोध क्षमता विकास गर्दै ल्याएको छ। समाजवादी संस्कृति त निरन्तरताको प्रतिफल हो।

बेचिखाने पसल

आजको पुस्ताले त अब के बुझ्दै छ भने समाजवाद भनेको बेचिखाने राम्रो पसल रहेछ। मागिखाने राम्रो भाँडो रहेछ। सिद्धान्तको सोकेसमा सजाउने असल वस्तु रहेछ। के यही हो समाजवादी संस्कृति ? मार्क्सले यसरी व्याख्या गर्नुभएको छ ? लेनिन र माओले यही भन्नुभएको छ ? कम्युनिस्टहरू स्वाभिमान र आत्मविश्वासी हुन्छन्। यसो हुनुको मतलब उनीहरू असहिष्णु हुन्छन् भन्ने हो ? कदापि होइन। सहिष्णुता नै कम्युनिस्टको सम्पत्ति हो, चाँद र ताज हो। यही कुरा जडतामा परिणत भएको छ। बुझाइमा समस्या भएको छ। जसले सामूहिक विश्वास सामूहिक शक्तिको क्षयीकरण गरिरहेछ र समाजवादको गलत संस्कृति भित्र्याउन उद्धत रहेको छ।

समाजवाद र कम्युनिस्ट

समाजवादका उत्पादक, पालकपोषक र संरक्षक कम्युनिस्टहरू हुन्। एउटा कम्युनिस्टले आफू कम्युनिस्ट नबनेसम्म समाजवादी संस्कृति विकास हुन सक्दैन। समाजवादको संस्कृति कम्युनिस्ट आचार, विचार र सदाचारमा निर्भर रहन्छ। ऊभित्रको जिज्ञासा, उत्सुकता, खोज र अनुसन्धान गर्ने र त्यो प्रतिफल समाजमा लागू गर्ने क्षमतामा निर्भर रहन्छ।

समाजवादका सिपाही

समाजका हरेक समस्या आफ्नो सम्झिने, जुझारु, सङ्घर्षशील, आत्मविश्वासी सामूहिक हित र समाजको विकासका सपना देख्ने प्रगतिशील सोचका धनी नै कम्युनिस्ट हुन्। जसले अन्याय अत्याचार भ्रष्टाचार ढिलासुस्ती जस्ता जनविरोधी क्रियाकलापका विरुद्ध आफूलाई हरदम समाजवादको सिपाहीको रूपमा प्रस्तुत गरेको हुन्छ। कम्युनिस्ट आफैँ एउटा संस्था हो। एउटा कम्युनिस्टले गरेका राम्रो र नराम्रो दुवै पक्षले समाजमा कम्युनिस्टको अस्तित्व र हैसियत जाहेर हुन्छ।

‘बा प्रवृत्ति’को विकास

कम्युनिस्ट त्यस्तो व्यक्ति हो, जो समुदायसँग अनुबन्धित रहन्छ। समुदाय बाहिर रहेर, सामुदायिक सोच र विश्वासभन्दा फरक रहेर कम्युनिस्टको नाम बेच्दैमा कोही कम्युनिस्ट बन्न सक्दैन। आज समाजमा पुँजीवादले कम्युनिस्ट अपदस्त गरेको छैन, कम्युनिस्टलाई अवसरको रूपमा लिने र कम्युनिस्टको नाम बेचेर आफ्ना व्यक्तिगत कुण्ठा पूरा गर्ने, अवसरवादी कम्युनिस्टले नै आज कम्युनिस्ट आन्दोलनमा दिशा भ्रम तुल्याएका छन्। र, समाजवादी संस्कृतिलाई छिन्नभिन्न पारिरहेका छन्।

नेपालको कम्युनिस्ट इतिहासमा ‘बा’ शब्द एउटा त्यस्तो प्रवृत्ति बन्यो, जसले नेपालको उदाएको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न पर्न पुग्यो। कम्युनिस्टको नाममा मानिसलाई देवत्वकरण गर्ने संस्कार जन्मायो। समाजवादको संस्कृति निर्माण गर्ने बाटोमा तगारो बनेर उभियो।

सत्यका पक्षपाती कम्युनिस्ट

आज सस्तो छ कम्युनिस्ट। जहाँ पनि बेच्न सकिन्छ। खुला बजारमा पनि, एकाधिकार पुँजीवादमा पनि, दासतामा पनि, विवशतामा पनि, भ्रष्टाचारमा पनि, कुशासनमा पनि र, जहाँ–जहाँ पनि बिक्री भएका छन् कम्युनिस्टहरू। के पुँजीवादको कारण कम्युनिस्टहरू यसरी बिक्री हुन बाध्य परिएको हो त ? यसमा गम्भीर समीक्षा र बहस आवश्यक छ। कुरोको चुरोमा नपुगेसम्म कम्युनिस्टहरू वस्तुबारे आफ्ना विचार बनाउँदैनन्। उल्टो उनीहरू नै वस्तु बनिरहेका हुन्छन्।

वास्तवमा कम्युनिस्ट भनेका वस्तुवादका पक्षधर हुन्। वस्तुवाद विज्ञान हो। कुनै पनि विषय र घटनाको वस्तुगत अध्ययन नगरी आफ्ना विचार बनाउँदैनन्। वस्तु वा घटनालाई जस्तो छ त्यस्तै रूपमा बुझ्न त्यसका कारक र कार्यको खोज गर्ने प्रयास गर्दछन्। अर्थात् सत्यको खोजीमा हुन्छन्। न्यायको खोजीमा हुन्छन्। कम्युनिस्टका विचार सत्यमा आधारित हुन्छन्। सत्य भन्ने कुरा आफ्नै आँखा अगाडि देखिएको पक्ष र विषयमा पनि नहुन सक्छ। सत्य वस्तु वा घटनाभित्रको अवस्था हो। वस्तु र घटनाको अन्तर्वस्तुसम्म पुगेर विधि पद्धतिको आधारमा अध्ययन गर्ने हुँदा कम्युनिस्ट वैज्ञानिक हुन्।

कम्युनिस्ट इतिहास किन ?

कम्युनिस्ट शब्द कसरी उदय भयो ? कम्युनिस्ट किन वैज्ञानिक जीवन व्यवहार बन्यो ? त्यही व्यवहारका आधारमा कम्युनिस्ट उपर किन पुँजीवादीहरूमा त्यस्तो सन्त्रास जाग्यो ? मार्क्सवादले के त्यस्तो आडम्बर प्रस्तुत गर्‍यो ? कम्युनिस्ट आन्दोलनमा के त्यस्ता भयानक दुर्घटनाहरू भए ? जसको भागीदार कम्युनिस्टहरू बन्न पर्‍यो ? कम्युनिस्टहरू मानव सभ्यता र विकासको मार्गमा के त्यस्ता अवरोध बन्न पुगे ? मानव समुदायलाई के त्यस्तो अन्याय अत्याचार गरे ?

आज विश्व विजेता बन्ने हैसियतमा पुगेको श्रमजीवी सर्वहारा गरीब किसान, उपेक्षित, उत्पीडित, अपहेलित, पछि परेका, पछि पारिएका, ठगिएका, हेपिएका, चेपिएका साथै समाजबाट बहिस्कृत भएकाहरूको अग्रदस्ता कम्युनिस्ट र लक्ष्यको रूपमा उदाएको समाजवादले आफ्नो समाजवादी संस्कृतिको किन विकास गर्न सकेन ? समाजवादी संस्कृतिको मौलिक स्वरूप किन प्रदान गर्न सकेन ? हिजोका इतिहास खोतलेर हेर्न इतिहासभित्र पसेर यस्ता उत्तरविहीन प्रश्नहरूको जस्ताको त्यस्तै समाधान खोज्न मार्क्सवादको अध्ययन गर्न जरुरी छ। कम्युनिस्ट आन्दोलनको इतिहासबारे बहस छलफल आवश्यक छ।

कम्युनिस्ट शब्द

कम्युनिस्ट शब्द आजभन्दा झन्डै १७२ वर्ष पहिले मार्क्स र एंगेल्सले लेख्नुभएको कम्युनिस्ट घोषणापत्रमा आधिकारिक शब्दको रूपमा आएको हो। घोषणापत्र प्रकाशन गर्नुमा आफ्नै मौलिक विशेषतायुक्त आधारहरू छन्। कम्युनिस्ट घोषणापत्रको अध्ययनमा घोषणापत्र जारी गर्नुको औचित्य पुष्टि गर्न खोजिएको छ। घोषणापत्र अध्ययन गर्न सहज होस् भनेर चार खण्डमा विभाजन गरिएको पाउँछौँ। यस घोषणापत्रले कम्युनिस्टको हिजो, आज र भोलिको अवस्थालाई विज्ञानसम्मत ढङ्गले संक्षिप्त रूपमा प्रकाश पारेको छ।

कमिसनखोरमा सन्त्रास

पुँजीवादीले शुरूमा त कम्युनिस्ट घोषणापत्रलाई एउटा सामान्य सङ्गठनको दस्तावेज भन्ने सोचेका थिए। जब घोषणापत्र विश्वका सम्पूर्ण मजदुरहरूको साझा दस्तावेजको रूपमा देखा पर्न थाल्यो, तब पुँजीवाद र त्यसका आड भरोसामा हुर्किएका सामन्त दलाल कमिसन खोरहरूमा एउटा सन्त्रास देखिन थाल्यो।

यसले विश्वका श्रमजीवी र मजदुरलाई आन्दोलित र सङ्गठित गर्ने आधार दियो। सङ्गठनको आवश्यकता र महत्वको बारेमा मार्गदर्शन गर्‍यो। गर्‍यो। सोहीअनुरूप मजदुरहरूले विस्तार विस्तार सफलता प्राप्त गर्दै अगाडि बढ्न थाले। पुँजीवादीका ज्ञानको स्रोतको एक आधार कम्युनिस्ट घोषण पत्र बन्यो र त आज विश्वमा सबैभन्दा धेरै भाषामा छापिएको र धेरै बिक्री भएको पुस्तकमा कम्युनिस्ट घोषणापत्र अग्रस्थानमा छ।

पुँजीवादीका निदहराम

समाजवाद र साम्यवादभित्र रहेको मानवतावाद र सत्यसहितको प्रगतिशीलता पुँजीवादीले देखे। यसको व्यवहारिक प्रयोग भएमा सदियौँ वर्षदेखि सिर्जना गरेको भ्रमरूपी मालिकवाद, सामन्तवाद हुँदै आएको पुँजीवादी सिसाका महलहरू चकनाचुर हुने ठहर गरे। शोषक सामन्तका सुरक्षा कबज बनेका पुँजीवादीका निदहराम हुन पुग्यो।

अब मार्क्स, एंगेल्सले र लेनिनले भने जस्तै छिटै हाम्रो सत्ता नष्ट हुँदैछ भनी उनीहरू समाजवादी आन्दोलन निस्तेज तुल्याउन लागि परे। त्यसका लागि जस्तोसुकै बल, बुद्धि, धन जुटाउने र त्यसको रोकथाम लागि उपकारी संस्थाहरू गठन गरी उर्लिंदो मानवतावादको पक्षधरता कायम गर्ने। त्यसलाई अन्तर्राष्ट्रिय मानव विश्वको रूपमा विकास गर्ने गरी शान्ति र सुरक्षाको नाममा, विश्व भाइचाराको नाममा कम्युनिस्टविरुद्ध पुँजीवादी ध्रुव कायम भयो।

वर्ग विभेद नयाँ चरणमा

संयुक्त राष्ट्रसङ्घमार्फत् शिक्षा, स्वास्थ्य, संस्कृति, वातावरण मानवअधिकार जस्ता विभिन्न समिति गठन गरी समाजवादका आधारभूत व्यवस्था पुँजीवादले आत्मसात पनि गर्न पुग्यो। कतिपय समाजवादी आन्दोलन भएका देशहरूमा लागू गरिएका समाजवादका आधारभूत कार्यक्रमहरूमा पुँजीवादीले अपनत्व ग्रहण गर्‍यो। वर्गीय विभेदलाई नयाँ दिशा, चरण र गहिरो खाडलमा धकेलिदियो। यसका लागि उनीहरूले चाहिएको जति धन सम्पत्ति खर्च गर्न पछि परेन। बुद्धि विवेक, तागत र शक्ति एकीकृत गर्न र सुविचारित, योजनाबद्ध रूपमा समाजवादविरोधी शक्ति निर्माणमा लागे।

कमजोर चेतना र महत्वाकाङ्क्षा

कम्युनिस्ट  आन्दोलनभित्र भने आत्मरति पैदा हुन थाल्यो। कम्युनिस्टहरू हिजो समाजमा हेपिएका चेपिएका शोषणमा परेर घरबार गुमाएका समुदायका व्यक्तिहरू रहे। पहिला त उनीहरूमा चेतना कमी हुन पुग्यो। चेतना कम हुँदा आत्मविश्वास कम भयो र उसले अरूप्रति बढी विश्वास गर्न पुग्यो।

सुरूको अवस्थासम्म त असल साथी सङ्गठन हुन पुग्यो। जब सङ्गठनले आफ्नो सफलता प्राप्त गर्दै गयो, त्यसपछि सङ्गठनभित्र अवसरहरू सिर्जना हुन थाले। विश्वासको दुरूपयोग हुन थाल्यो। अवसरले मानिसलाई महत्वकांक्षी तुल्यायो। अज्ञानताको कमजोरीपन त्यहाँ आएर प्रस्तुत हुन पुग्यो। त्यति मात्र होइन, कम्युनिस्टहरूबिच त्यतिबेला निम्न पुँजीवादी चिन्तनले घर गर्न पुग्यो।

निम्न पुँजीवादी चिन्तन

निम्न पुँजीवादी चिन्तन त्यस्तो चिन्तन हो, जसले मानिसलाई अनुकूलतासँगै घमन्ड, इगो र महत्वाकाङ्क्षा जगाइदिन्छ। मै ठूलो, मै जान्ने, ‘म’बाटै सबै भएको र म नै सबैभन्दा ठूलो भन्ने भावनाको विकास गराउँछ। म विना कुनै कुरा चल्न सक्दैन। सङ्गठन र संरचना मेरो अधिकारभित्र रहेको हुन्छ भन्ने जस्ता, नेपाली कम्युनिस्ट आन्दोलनमा देखा परेको बा प्रवृत्ति पैदा भए। यस्ता प्रवृत्तिले सङ्गठनभित्र अनुशासनहीनता जन्मियो। चेन अफ कमान्ड तुहिन पुग्यो। सङ्गठन भए पनि नामका मात्र हुन पुगे। अवसरका लागि जसले जे पनि गर्न सक्ने भयो। र, सङ्गठनमा संस्कृतिको विकास हुन सकेन।

सांस्कृतिक विकासको अभाव

कम्युनिस्ट आज एकताबद्ध हुन नसक्नुमा समाजवादी सांस्कृतिक विकास गर्न नसक्नु नै हो। संस्कृति विकासका लागि पहिला कम्युनिस्टले आफ्नो सांस्कृतिक वर्चश्व कायम गर्नुपर्दछ। वास्तवमा भन्ने हो भने कम्युनिस्ट वैज्ञानिक पद्धति हो। यो सामाजिक सांस्कृतिक वर्चश्व त्यही कम्युनिस्ट घोषणापत्रले मात्र थेगेको छ। आजभन्दा १७२ वर्ष पहिलेको दस्तावेजले आजलाई पनि शासन गरिरहनु हामीले हाम्रो सांस्कृतिक वर्चश्व कायम गर्न नसक्नु हो।

कम्युनिस्टलाई छिन्नभिन्न पार्न विश्वव्यापी बनेका दर्जनौँ संस्थाहरू सक्रिय रहदा त्यसको विरुद्ध जाने हिम्मत भएन। समानान्तर रूपमा वैकल्पिक शक्ति निर्माणात्मक प्रयास भएन। भएका प्रयास पनि समाजवादभित्रकै शक्तिशाली व्यक्ति वा राज्यको स्वार्थका लागि प्रयोग भयो। मार्क्स–एंगेल्सको मेहेनतले गठन भएको अन्तर्राष्ट्रिय लेनिनको कार्यकालपछि त नाम मात्रको बन्न पुग्यो। तेस्रो अन्तर्राष्ट्रियपछि विश्व कम्युनिस्ट आन्दोलनमा आशातित सङ्गठन जन्मिन सकेन। रिम जस्ता सङ्गठन सुत्रात्मक रूपमा उदाए पनि निस्क्रिय रहन बाध्य भए।

क्रान्ति व्यक्ति स्वयंबाट

आजका कम्युनिस्टले यो बुझ्न प¥यो कि, अबको समाजवादी क्रान्ति समाजवादको संस्कृति निर्माणको क्रान्ति हुनपर्दछ। त्यो क्रान्ति व्यक्ति स्वयंबाट शुरु हुनुपर्दछ। आफैबाट समाजवादी क्रान्ति शुरु गरी समाजवादी सांस्कृतिक पहिचान दिन सकिन्छ भन्ने आत्मविश्वास जगाउनुपर्दछ। यसका लागि मार्क्सवादको मौलिक अध्ययन जरुरी छ। मार्क्सको उत्पत्ति विकास र यसको प्रयोगबारेको इतिहास जान्न बुझ्न आवश्यक छ। कम्युनिस्ट संस्कारयुक्त वैज्ञानिक जीवन जिउने आँटका साथ अघि बढ्न आवश्यक छ।

र अन्तमा,

इतिहासमा समाजवादले आफ्नो सांस्कृतिक वर्चश्व कायम गर्न अवसर प्राप्त नगरेको होइन। समाजवादी क्रान्तिका हरेक सफलताभित्र समाजवादी सांस्कृतिक छाप तयार गर्न सकेन। किन र कसरी भन्ने सन्दर्भमा पहिला हामीले जर्मन दर्शनको उत्पत्तिका कारण, बेलायत र अमेरिकामा भएको मजदुर आन्दोलनले विकास गरेको दर्शनको, पेरिस कम्युन र ७२ दिनभित्रै त्यसले विश्व मानवका लागि बालिदिएको चेतनाको बत्ती। पेरिस क्रान्तिले बोकेको मानवताको पक्ष र क्रान्तिका कारण विश्व पुँजीवादको चेतनामा ल्याएको आमूल परिवर्तनबारे समाजवादले नलिएका शिक्षा।

मजदुरको जग र बलमा हुन पुगेको रुसी समाजवादी अक्टोबर क्रान्ति, किसानकै अगुवाइमा सम्पन्न चिनियाँ नयाँ जनवादी क्रान्तिका साथै विभिन्न देशमा भएका समाजवादी क्रान्ति र त्यसले पाएको सफलता असफलता, सहयोग असहयोग जस्ता विषयमा गहन अध्ययन गरिनुपर्दछ। तब मात्र थाहा लाग्छ, कम्युनिस्ट पार्टीहरूले अवसरहरूलाई कसरी गुमा । इमान्दारिता कहाँ मरेको छ। अवसर कति सदुपयोग भयो। कहाँ के–के कमजोरी भएको रहेछ ? कहाँ राम्रो गरिएको रहेछ।

क्रान्ति राम्रो र नराम्रो हुनुमा कस्ता कारणहरू थिए ? ती कारण समाधानका लागि कस्ता आधारहरू थिए ? जस्ता विषय वस्तुको तुलनात्मक अध्ययन गरेर मात्र हामीले समाजवादी संस्कृति निर्माणका लागि अबको मार्ग खोल्न सक्छौ। नत्र विश्व मानव चेतनाको अग्रदस्ता कम्युनिस्टहरू समाजवादी संस्कृति निर्माण गर्न नसकी पुँजीवादी संस्कृतिको छाता ओढेर बस्न बाध्य छ। यस्तो हुन नदिन समाजवादका पक्षधर कम्युनिस्टहरू आज एक हुन र विश्वमा शक्तिशाली सङ्गठन र त्यसका एजेन्सीहरू तयार गरी निर्भयका साथ अगाडि बढ्न जरुरी छ। अस्तु …।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्