जसपाका ३ सांसदलाई कारबाही गरिएको पत्र प्रदेशसभामा

Pradesh_5
  • 286
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका तीन जना सांसदलाई पुनः निष्कासन गरेको पत्र पठाएको छ। पार्टीको निर्णय विपरीत शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरूलाई फेरि निष्कासन गरेकोबारे प्रदेशसभा सचिवालयलाई जानकारी गराएको हो।

सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई जसपा अध्यक्ष उपेन्द्र यादवले यसअघि पनि वैशाख १६ गते प्रदेश सभा सदस्य र पार्टीबाट निष्कासन गरेका थिए। बिहीबार फेरि जसपा अध्यक्ष उपेन्द्र यादवले तीनै जनालाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको लुम्बिनी प्रदेशसभामा जसपाका संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका छन्।

पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरूलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको यादवले उल्लेख गरेका छन्। जसपाको पछिल्लो राजनीतिक विकासक्रम अनुसार उनीहरू विपक्षमा रहँदै सरकारमा सहभागी रहेका छन्।

हालै मात्र निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएको छ। निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जसपाले महन्थ ठाकुर पक्षका सांसद र नेताहरूमाथि कारबाही अगाडि बढाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्