यस्ता छन् जसपा कार्यकारिणी समितिका तीन निर्णय

Bhattarai_Yadab
  • 373
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी बैठकले विभिन्न तीन निर्णय गरेको छ। दुई दिनदेखि पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले विभिन्न तीन निर्णय गरेको हो।

बैठकमा जसपाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीहरूको छनोट गर्न सक्ने बताइए पनि त्यसको जिम्मा शीर्ष नेताहरू उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईलाई दिइएको छ।

यसअघि नै कार्यकारिणी समिति बैठकले मन्त्री छान्ने जिम्मा यी तीन नेतालाई दिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भवतः आइतबार मन्त्रिपरिषद् विस्तार तयारी गरेपछि जसपाका शीर्ष नेताले आजै बेलुका मन्त्रीमा पठाउने अनुहारबारे छलफल गर्ने तयारी छ।

आजको कार्यकारिणी समितिको बैठकले भदौ १ देखि मङ्सिर मसान्तसम्म `सङ्गठन सुदृढीकरण र जनजागरण अभियान चलाउने निर्णय लिएको छ। त्यस अभियानका लागि कार्यकारिणी सदस्यहरूको अभियान केन्द्रित अस्थायी कार्य विभाजन गरिएको नेता मोहम्मद इस्तियाक राईले बताए।

त्यस्तै बैठकले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा र अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई जिम्मा दिने निर्णय गरेको छ। बैठकले अनुशासनसम्बन्धी छानबिन गर्न नवराज सुवेदीको संयोजकत्वमा गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोब र सुशीला श्रेष्ठ रहने छानबिन समिति गठन गरेको छ।

पार्टीभित्र अनुशासनका गतिविधिमाथि निगरानी गर्नुका साथै समितिले उजुरी परेको अवस्थामा छानबिन गर्ने एक कार्यकारिणी समितिले जानकारी दिए। यसै गरी बैठकले केन्द्रीय सल्लाहकार समितिसमेत बनाएको छ। समितिका अध्यक्षमा विष्णुहरि शर्मा र अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्