‘एमाले अध्यक्ष ओली अब नियमित पार्टी कार्यालयमा आउने’

KP sharma Oli-22
  • 99
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थालेका छन्। अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरु पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गरेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

‘अब सकेसम्म पार्टी कार्यालयबाटै काम गर्नुहुन्छ। नियमित घेटघाट पनि कार्यालयमै हुन्छ,’ उनले भने। प्रधानमन्त्रीबाट हटेपछि अध्यक्ष ओली बुधबार केन्द्रीय कार्यालय गएका थिए। केन्द्रीय कार्यालयबाट अध्यक्ष ओली संसदीय दलको कार्यालय सिंहदरबार समेत गएका थिए। दलको कार्यालयमा पार्टी नेता र सांसदहरुसँग छलफल गरेका थिए।

अध्यक्ष ओलीको स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र उनी सक्रिय रुपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था रहेको उनले बताए। कार्यालयको व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको उनले बताए। तामाङले भने, ‘पार्टी केन्द्रीय कार्यालयमा अलि व्यवस्थित गरेर उहाँहरुलाई अर्को कुनै अप्ठ्यारो नहोस्, भीडभाड नहोस् भन्ने कुरालाई ध्यानमा राखेर कार्यकक्षहरुको व्यवस्था भएको छ। उहाँको भेटघाट गर्ने रुमको व्यवस्था छ। हामीले व्यवस्थित ढंगले नै भेट्ने र अरु पार्टीका कामहरु गर्ने वातावरण केन्द्रीय कार्यालयमा तयार भएको छ।’

तामाङका अनुसार पार्टीको बैठक तथा कार्यक्रमहरु भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको छ। अध्यक्ष ओलीलाई उनी निकट नेताहरुले नियमित पार्टी कार्यालय, संसदीय दलको कार्यालय र संसद बैठकमा उपस्थित हुन सुझाव दिएका छन्। ‘पार्टीलाई व्यवस्थित गर्न उहाँको उपस्थितिले बल पुग्छ। त्यसैले तीन ठाउँ नियमित जान सुझाव दिएका छौं,’ एक नेताले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्