ओलीवाद : बहुलवादी आवरण, तानाशाही अभ्यास

Kp Sharma Oli Coreption
  • 266
    Shares
लोकपाटी न्यूज

श्यामकुमार अधिकारी/बि.स. २०६२ साल मंसिर ७ गते भएको नेकपा (माओवादी) र सात राजनीतिक पार्टीहरूबिचको १२ बुँदे सहमतिको मनोवैज्ञानिक रणनीतिअनुसार नेपालमा लोकतन्त्र र जातीय पहिचानबिचको मनोवैज्ञानिक सम्बन्ध कायम गर्न लोकतन्त्रवादीहरू असफल भएको देखिन्छ। लोकतन्त्रवादीहरूले र महेन्द्रवादी कम्युनिस्टले १२ बुँदेलाई माओवादी जनयुद्धको विरुद्ध दोहोरो घेराबन्दी गरेर शान्ति प्रक्रियामार्फत् माओवादी जनसेना र संगठनलाई आन्तरिक रुपमा मनोवैज्ञानिक बिभाजन गर्ने र बाहिरी रुपमा एजेण्डा, नेतृत्व र संगठनलाई १६ बुँदेमार्फत् आत्मसमर्पण गराउने कुरामा बढी जोड दिएका थिए।

लोकतन्त्रको अहिलेसम्मको नीति र व्यवहारमार्फत् आफ्नो परम्परागत स्वरुप र स्वामित्वका साथ भविश्यमा पनि राजनीतिक स्थीरता कायम राख्न सक्दैन। बि.स. २०६२/६३ सालदेखि बि.स. २०७२ सालसम्मका लोकतन्त्रवादीहरूले राजतन्त्रवादी र भारतीय हितमा काम गर्दा नेपाली राजनीतिमा फेरि पनि अस्थीरता मडारिन थाल्यो।

Shyam Kumar
श्यामकुमार अधिकारी

नेपाली समाजको बनौट मनुवादी चिन्तन र प्रवृत्तिगत आधारमा देखिएको छ। अर्थात् नेपाली समाजले कम्तिमा पनि लोकतन्त्रलाई राजनीतिक परिवर्तनपछि दिगो रुपमा संस्थागत गर्न सक्दैन र अहिलेसम्मको व्यवहारले पनि त्यही देखाएको छ। बि.स. २००७ सालदेखि बि.स.२०७८ साल जेष्ठ ८ गतेसम्मको अनुभवले पनि त्यही भन्छ। यसको पछाडि हाम्रो समाजको हरेक राजनीतिक परिवर्तनपछि पछाडि फर्किने प्रवृत्ति नै मुख्य समस्या थियो र अहिले पनि त्यही हो। अहिलेसम्मका राजनीतिक अस्थीरताको निरन्तरताका कारणले यही समस्या देखाइरहेको छ।

१. मनोवैज्ञानिक समस्या

बि.स. २००७ सालदेखि नेपाली राष्ट्रिय राजनीतिमा लोकतन्त्र निरन्तर अस्थीरताको कारण अहिलेसम्म पनि मनोवैज्ञानिक रुपमा संस्थागत हुनबाट बञ्चित हुने गरेको छ। यसको मनोवैज्ञानिक सम्बन्ध लोकतन्त्रको आधारभूत स्वरुप बहुलवाद र त्यसको दार्शनिक मनोवैज्ञानिक पृष्ठभूमिमा मुख्य समस्या देखिएको थियो। तर, त्यो बेलादेखि अहिलेसम्म पनि नेपाली कांग्रेसका नेताहरूले लोकतन्त्रको आधारभूत स्वरुपमा देखिएको बहुआयामिक समस्याहरूको समाधान गर्न असफल भएको देखिन्छ। त्यसको मनोवैज्ञानिक प्रभाव लोकतन्त्रको मनोवैज्ञानिक व्यवस्थापन गर्ने काममा अहिलेसम्म अवरुद्ध भएको हो। बहुलवादको चिन्तन प्रवृत्तिमा देखिएको बहुआयामिक समस्याहरूको अध्ययन गर्न जरुरी छ।

बहुलवादमा सङ्क्रमण भएको बहुआयामिक मनोवैज्ञानिक रसायनहरूलाई यसरी उल्लेख गर्न सकिन्छ।

(क) महेन्द्रवादी चिन्तनको दार्शनिक मनोवैज्ञानिक स्वरुपलाई आन्तरिक रुपमा प्रगतिशील रुपान्तरण गर्ने काममा खस नश्लवादबाहेक अरु राष्ट्रिय–राज्यहरूको अस्तित्वलाई अस्वीकार गर्ने मनोवृत्ति हावी भएको थियो र त्यो अहिले पनि छ। यो मनोवैज्ञानिक समस्या भएको प्रवृत्तिले आर्य–खस नश्लबाहेक अन्य सम्पूर्ण नेपाली राष्ट्रिय–राज्यहरूलाई किनारमा पुर्‍याउने रणनीति रहेको देखिन्छ। जनसंख्या, भूगोल, बसोबास रहेको थातथलो, भाषा र संस्कृतिलाई दमन गरेर आर्य–खसको प्रभुत्व कायम गर्ने प्रक्रियालाई अगाडि बढाउन मद्दत गरेको देखिन्छ।

(ख) मनुवादी चिन्तन र व्यवहारको जड हिन्दू धर्मको मनोवैज्ञानिक समाज सम्बन्धलाई मध्ययुगीन धरातलीय स्वरूपमा कायम राख्न मुख्य निर्देशन दिने नीति हो। बहुलवादमा महेन्द्रवादसँगै मनुवादी नीतिसंहिताको प्रभाव परेको थियो र अहिले पनि त्यसलाई नै कायम राख्ने जोड दिएको देखिन्छ। बहुलवादी समाजको बनौट बहुल प्रकृतिको हुनुपर्नेमा त्यसको उल्टो एकल नश्लवादी आम रुपमा देखिनु दुखको कुरा हो।

(ग) बौद्धिक अपाङ्गताको शिकार भएर नै नेपालका बहुलवादीहरू बि.स.२००७ सालदेखि अहिलेसम्म पनि लोकतन्त्रलाई स्थायित्व कायम गर्न असफल भएको देखिन्छ।

(घ) नेहरु रणनीतिको शिकार भएर नेपालभित्र भारतीय पक्षको सुरक्षा योजना अनुसार काम गर्ने प्रवृत्ति अहिलेसम्म पनि हावी छ। नेपालभित्र गरिने आन्तरिक विकास र त्यसको प्रतिफल हासिल गर्न असफल हुनुको कारण पनि भारतीय पक्षको चिन्तालाई चासोको रुपमा मात्र लिनुपर्ने रोगको लक्षण देखिएको छ। नेहरु रणनीतिको छाताभित्र बस्नुपर्ने मनोवैज्ञानिक वातावरण बनाउन धेरै कोसिस भएको छ। यो समस्या अत्यधिक बहुलवादका अनुयायीहरूमा देखिएको छ। लोकतन्त्र खोस्न राजतन्त्रले भारतलाई आग्रह गर्ने र लोकतन्त्रको आन्दोलन गर्न लोकतन्त्रवादीले भारतीय पक्षको सुरक्षा चासो सम्बोधन गर्ने काम भएको छ।

(ङ) उदारवादको मुखुण्डोभित्र विकसित नवऔपनिवेशिक मनोवृत्तिको पोषण गर्ने काम नेपाली लोकतन्त्रवादी शक्तिहरूले गरेका हुन्। साथै उदारवादको मुखुण्डोभित्र रहेको मनोवैज्ञानिक प्रवृत्तिका समस्याहरूले नेपाली समाजलाई लोकतान्त्रिक रुपान्तरण गर्न असफल भएको पुष्टि भएको छ।

२. लोकतन्त्र असफल बनाउने परम्परागत साझेदार शक्तिहरूको भूमिकाका बारेमा अब गम्भीर रुपमा लिनुपर्ने भएको छ। किनकि नेपाली समाजको बनौट र त्यसको मनोवैज्ञानिक सम्बन्धभित्र थाती रहेको गतिहीनता नै नेपालको विकासको लागि अहिलेको अवस्थामा सबैभन्दा धेरै समस्या सिर्जना गर्ने प्रवृत्ति हो। यहाँ म लोकतन्त्रको आधारभूत विकासमा अवरुद्ध गर्न सहयोग गर्ने तर लोकतन्त्रसँगै सहयात्रीको रुपमा अहिलेसम्म हिडेका मनोवैज्ञानिक प्रवृत्तिहरूको बारेमा केही रोचक तथ्य उल्लेख गर्न चाहन्छु ।

(क) बहुलवाद लोकतन्त्रको संस्थागत विकास एवं राजनीतिक रुपमा राज्यसत्ताभित्र मनोवैज्ञानिक व्यवस्थापन गर्न असफल चिन्तन हो र बहुलवाद संस्थागत रुपमा नेपालमा लोकतन्त्रलाई बहुल मनोवैज्ञानिक चिन्तन र ब्यवहार देखाउन र अनुभूति गर्न सक्ने क्षमता देखाउन असफल दार्शनिक मनोवैज्ञानिक चिन्तन र प्रवृत्ति केन्द्रीत मनोदशा हो भन्दा अत्युक्ति नहोला। यसले नेपाली समाजको बनौटलाई बहुलताउन्मुख गराउन असक्षम देखिन्छ। बहुलवादी चिन्तन र त्यसको प्रवृत्तिगत समस्याहरुको थुप्रो बोकेर हिँडेको धेरै पात्रहरू नेपाली राजनीति र बहुआयामिक कोणहरूमा हावी भएको देखिन्छ। साँच्चिकै भन्नुपर्दा नेपालमा लोकतन्त्र र बहुलवादबिचको बौद्धिक अपाङ्गगीय सम्बन्धलाई समयमै मनोवैज्ञानिक बिच्छेदन नगर्ने हो भने भविष्यमा राजनीतिक स्थायित्व दुर्लभ नै हुनेछ। बहुलवाद आफ्नो प्रकृति र प्रवृत्तिअनुसार नेपालमा बहुआयामिक बिबिधतालाई आत्मसात गर्ने हैसियत राख्दैन। सिधा भन्नुपर्दा नेपालमा लोकतन्त्रको आधारभूत जमिन बहुलवाद रहुञ्जेल हामी अझै पनि राजनीतिक अस्थीरताको शिकार हुने अवस्थाबाट गुज्रिरहेको हुनेछौं।

(ख) अभिजात वर्ग र लोकतन्त्रको संस्थागत सम्बन्धले नेपाली समाजको बनौटलाई राजतन्त्र र भारतीय पक्षको सुरक्षा चासोअनुसार हाम्रो आन्तरिक राजनीतिमा अस्थीरतालाई निरन्तरता दिने नीति हावी छ। यो वर्ग नेपालमा लोकतन्त्र र स्थायित्वका लागि लोकतन्त्रको मनोवैज्ञानिक ब्यवस्थापन गर्ने काममा अहिलेसम्म अवरोध गर्ने राष्ट्रिय शक्तिका रूपमा देखिएको छ। यो शक्ति लोकतन्त्र र राष्ट्रियतालाई आफ्नो वर्गको निहित स्वार्थअनुसार प्रयोग गर्ने गरेका छन्। यो शक्तिले आर्य–खस राष्ट्रिय राज्यका विषयमा मात्र चासो राख्ने र सम्बोधन गर्ने गरी राज्यसत्ताभित्र अधिक चलखेल गर्ने काम गर्दै आएको छ। यसले लोकतन्त्र र राष्ट्रियतालाई राजनीतिक देह व्यापार÷व्यवसाय बनाउने काम हुँदै आएको छ। यो शक्ति लोकतन्त्रलाई संस्थागत विकास गर्न असफल भएको देखिन्छ। यसले “लोकतन्त्रको कु’’, लोकतन्त्रको लागि आन्दोलन’’मा देशलाई घुमाउने र लोकतन्त्र खोस्न राजतन्त्रलाई उक्साउने र आन्दोलनमा भारतीय सहयोगको नाममा उसको हितमात्र सम्बोधन गर्ने काम गर्दै आएको छ। आफ्नो स्वार्थका लागि भारतीय पक्षको सुरक्षा योजना अघि जाने तर आफ्नो स्वार्थअनुसार भएन भने नेपालमा हस्तक्षेप भयो भनी चिच्याउन थाल्दछ।

(ग) राजनीतिक पार्टीहरूभित्र उच्च तहको नेतृत्वमा अहिलेसम्म पनि कुलीन परिवारहरू वा समुदायको नै एकछत्र प्रभाव कायमै छ। तल्लो आर्थिक तह वा राष्ट्रिय–राज्य समूहहरूको जनसंख्याको हिसाबले समानुपातिक एव समावेशी प्रतिनिधित्व हुन सकिरहेको छैन। खासगरी लोकतन्त्रको आधारभूत जमिन राजनीतिक पार्टीहरूभित्र काठमाडौँका रैथाने कुलिन समुदाय र बाहिरबाट भित्रिएका नवकुलिन समुदायको बाहुल्यता भएको देखिन्छ। मैले यहाँ राजनीतिक पार्टीहरूमध्ये तीन खाले राजनीतिक दलका बारेमा केही भन्नु जरुरी ठान्दछु।

(अ) नेपाली काग्रेस – नेपाली काग्रेसको लोकतन्त्रप्रति धेरै राम्रो पकड देखिन्छ। तर त्यो पकड लोकतन्त्रको मनोवैज्ञानिक समस्या समाधान गर्न उपयोग गरेको पाइएन। नेपाली कांग्रेस लोकतन्त्रको संस्थागत गर्ने सवालमा १६ बुँदेकै सेरोफेरोमा केन्द्रित हुदा “७०=०’’ मै रहेको छ। अर्थात् नेपाली कांग्रेस लोकतन्त्रको संस्थागत विकास गर्न “जिरो गुरुत्वाकर्षण बल’’कै सेरोफेरोमा घुमिरहेको छ।

(आ) नेकपा(एमाले) – यो पार्टीमा पश्चगामी खेमाको नेतृत्वको पकड रहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पश्चगामी खेमाको नेतृत्व गरेका छन्। यसभित्रका कम्युनिस्ट नेताहरू यतिबेला यो पार्टीभित्र दुईलाइनको सघर्ष गरिरहेका छन्। यो कम्युनिस्ट पार्टीभित्र दरबारिया र भारतीय पक्षको भरियाले मुल नेतृत्व हत्याएका छन्।

(इ) माओवादी धार – माओवादी आन्दोलनका बिभिन्न हाँगाहरूमध्ये नेकपा (माओवादी केन्द्र) संसदीय व्यवस्थाभित्र बसेर राज्यसत्ताभित्रको छायाँ शक्ति संघर्षमा उत्रिएको छ। अरु पार्टीका नेताहरू कम्युनिस्ट आन्दोलनलाई कामरेड प्रचण्डको शब्द सापटी लिँदा रुढिवादी प्रवृत्ति केन्द्रीत मनोदशाउन्मुख छन्। उनीहरू के.पी. ओलीको महेन्द्रवादीय बहुलवादको शिकार भएका छन्।

(ई) जनता समाजवादी पार्टी – यो शक्ति मूलतः जातीय पहिचानसहितको संघीयताको मुद्दामा केन्द्रित राजनीतिक शक्ति हो। आर्य–खस नश्लवाद केन्द्रीकृत मनोवैज्ञानिक समस्याका विरुद्ध लडाइँ गरेको पार्टी हो। यो शक्ति माओवादी जनयुद्धको भट्टीबाट खारिएका व्यक्तित्वहरू समावेश भएको शक्ति हो। यो शक्ति लोकतन्त्र र बहुल राष्ट्रिय–राज्यहरूबिचको मनोवैज्ञानिक सम्बन्ध कायम गर्ने सवाल लगायतका धेरै मुद्दाहरूमा माओवादीसँग नजिक रहेको छ।

(उ) राप्रपा नेपाल – जो सिधा भन्नुपर्दा नेपालमा फेरि राजतन्त्रको पुनःस्थापना गर्न जोडबल गरिरहेको शक्ति हो। यो अहिलेसम्मको सबै राजनीतिक परिवर्तनलाई आत्मसाथ नगर्ने ओली प्रवृत्तिकै जुडवा शक्ति हो। यसले परिवर्तनका उपलब्धीहरू उल्टाउन आफूलाई क्रियाशील बनाउँदै आइरहेको छ।

३. लोकतन्त्रप्रति अरूचि किन ?

अहिलेसम्म नेपालभित्र लोकतन्त्र, गणतन्त्र भर्सेस् राजतन्त्र कायमै छ। राजतन्त्रको पुनःस्थापना गर्न जोडबलसहितका बिभिन्न खालका कार्यहरू नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जारी छ।

नेपाली समाजको बनौट भनेको हरेक राजनीतिक परिवर्तनपछि क्रमशः लोकतन्त्रलाई संस्थागत हुनबाट रोक्न पश्चगामी शक्तिलाई मलजल गर्ने वातावरण तयार गर्नु हुन्छ। हाम्रो समाजको माथिल्लो तहमा रहने समुदायको प्रतिनिधित्व लोकतन्त्रलाई आन्तरिक रुपमा मनोवैज्ञानिक गतिहीनता पैदा गर्ने काममा मात्र देखियो। बि.स. २००७ सालदेखि यता निरन्तर अस्थीरता किन दोहोरिने गरेको छ ? यो प्रश्नको जवाफ दिन सबैभन्दा पहिला हामीले हरेक राजनीतिक परिवर्तनपछि थमौती गरेको राज्यसत्ताभित्र हालसम्म देखिएको मनोवैज्ञानिक गतिहीनताले राजनीतिक प्रणाली र राज्यसत्ताबिचको सम्बन्धमा देखिएको मनोवैज्ञानिक द्वन्द्वलाई हाम्रो राजनीतिक नेतृत्वले गम्भीर भएर अहिले पनि सोचेको देखिएन। बि.स. २०७२ सालमा भएको संविधान निर्माण प्रक्रियाको हतारो मुख्यतः (क) राजतन्त्र पुनःस्थापना गर्न बाध्य पार्ने कामका लागि संविधानभित्र जटिलता राखिनु, (ख) भारतीय हस्तक्षेप र नाकाबन्दीविरुद्ध बोलेको बाहना देखाएर भारतीय मनसुवाकै सेवा गर्ने काम भएको थियो।

अतः नेपाली राजनीतिमा हावी भएको दोहोरो चरित्रका कारण पनि नेपाली राजनीति सधै अस्थिरताको चपेटामा परेको छ। यो दोहोरो चरित्रको उदाहरण पनि छन्; (अ) तत्कालीन प्रधानसेनापति कटुवाललाई निस्काशन गरिएको प्रकरणमार्फत् नेपाली राजनीतिमा भारतको हस्तक्षेपलाई आमन्त्रण गरिएको थियो। (आ) संविधान निर्माण प्रक्रियामा मधेसी, थारु, आदिवासी जनजाति र अन्य सीमान्तकृत समुदायको पहिचान र अधिकार सम्बन्धी बहुआयामिक असन्तुष्टिलाई सम्बोधन नगर्ने हर्कतमार्फत् भारतीय हस्तक्षेपको प्रवेश गरेको देखिन्छ। त्यो हात लामो पार्न उक्साउने अरु कोही होइन, काठमाडौँका अभिजातीय समुदाय नै हुन्।

यो प्रयोग विगत ७० वर्षदेखि बिभिन्न कालखण्डमा विभिन्न प्रकारले भएको देखिन्छ। नेपाली राजनीतिमा एउटा प्रक्रिया निरन्तर चलिरहेको छः “कु =आन्दोलन।’’ यो प्रक्रियाले केही मनोवैज्ञानिक समस्या जन्माएको छ, त्यसको वैज्ञानिक हल बिना नेपालमा लोकतन्त्रको संस्थागत विकास गर्न सफल हुँदैन।

(क) आन्दोलन गर्ने तर आन्दोलनपछि त्यसको मनोवैज्ञानिक व्यवस्थापनबाट भाग्ने प्रवृत्ति छ।

(ख) राजनीतिक परिवर्तन गर्न सक्ने तर राज्यसत्ताभित्रको मनोवैज्ञानिक समस्या समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्न नसक्ने बौद्धिक अपाङ्गता देखिएको छ।

(ग) नेपालभित्रका सबै परिवर्तनको अन्तिम सीमा मनुवादी चिन्तनको रछ्यानमा सुतेर भारतीय छाता ओढ्ने मनोवृत्ति देखिएको छ, यो नेपालको राष्ट्रिय स्वाधीनताको कायम लागि घातक देखिँदै आएको छ।

(घ) नेपाली राजनीतिमा बहुलवादमा आधारित लोकतन्त्र स्वयं बहुलवादभित्र भित्रिएका बहुआयामिक समस्याहरूको कारण बौद्धिक अपाङ्गताको शिकार भएको छ। त्यही भएर बि.सं. २००७ सालदेखि नेपाली समाज नश्लवादको अफिमभित्र झुमिरहेको छ। नेपाली लोकतन्त्रभित्र बहुलवाद किमार्थ स्वीकार्य भएको देखिँदैन। बहुल राष्ट्रिय–राज्यहरूलाई मनोवैज्ञानिक रुपमा स्वीकार गर्न नसक्ने बहुलवादभित्र रहँदैनन्। बहुलवादको प्रयोग नेपालमा मनुवादी चिन्तनको रछ्यानमा सुतेर भारतीय छाता ओढनकै लागि अहिले पनि राजनीतिक स्वरूपभित्र भिराइएको छ।

४. ओली मनोवृत्ति – नेपाली कांग्रेसको बहुलवादी सपना र कम्युनिस्ट पार्टीको समाजवादी सपनाको एक्लो हत्यारा महेन्द्रवादी बहुलवादका दिग्गज नेता के.पी ओली हुन् भन्दा फरक नपर्ला। माओवादीहरूले बहुआयामिक भरियालाई असली राष्ट्रवादी सझेर धेरै नै हिचमिच गरेको तर यतिबेला त्यो हिचमिचले किनारा पाइसकेको छ। ओली प्रवृत्ति हिजो माओवादी जनयुद्धविरुद्ध मनोवैज्ञानिक प्रयोगशाला थियो भने यतिबेला लोकतन्त्र र यसका परमपरागत साझेदार शक्तिहरूबिचको मनोवैज्ञानिक सम्बन्ध बिच्छेदन प्रक्रियाको शल्यक्रिया कोठा हुँदैछ। अहिले ओली प्रवृत्ति पछाडि हटेको छ तर परास्त भएको छैन। यो प्रवृत्तिको मनोरसायन ‘एक तीर पाँच शिकार’ हुने देखिँदैछ। ओलीवाद दुवैतिरबाट मनोवैज्ञानिक हतियारकै रुपमा देखिएको छ। मेरो रोजाइको उपादेयता यतिबेला नेपालमा लोकतन्त्रको मनोवैज्ञानिक व्यवस्थापन गर्न मनोवैज्ञानिक हतियारकै रुपमा देखिएको छ। ओलीवादको मनोवैज्ञानिक हतियारलाई मार हान्ने बित्तिकै यसले ओली लगायतका एक दार्शनिक अवधारणा र बाँकी कार्यरत राजनीतिक शक्ति गरी जम्मा पाँच वटा शक्तिहरूलाई लोकतन्त्रबाट बिभाजन गर्ने चरणमा प्रवेश गराउने छौं।

५. लोकतन्त्रसँगको सम्बन्ध बिच्छेदन प्रक्रिया – नेपालमा लोकतन्त्र र यसका परमपरागत साझेदार शक्तिहरूबिचको मनोवैज्ञानिक सम्बन्ध बिच्छेदन प्रक्रियालाई कम्युनिस्ट पार्टीको नेतृत्वले अहिलेसम्म पनि राजनीतिक इमान्दारिताका साथ विश्लेषण गर्न सकिरहेको छैनन्। नेपाली समाजको बनौटले लोकतन्त्रलाई संस्थागत गर्न अवरुद्ध गरिरहेको छ। नेपाली समाज मनुवादी चिन्तनको रछ्यानमा सुतेको छ। यसले समाजलाई विविधतासहित प्रगतिशील रुपान्तरण गर्ने काममा अग्रसरता लिन सक्दैन।

(क) नेपाली समाजको दुई परम्परागत धार नेकपा (एमाले) र नेपाली कांग्रेसका बिचको सम्बन्ध बिच्छेदन नगरी नेपालमा लोकतन्त्र सधै स्थायित्व कायम गर्न असफल हुन्छ। बहुलवादमा आधारित लोकतन्त्रका योद्धाहरूलाई रणनीतिक रुपमा अलग बनाउनु जरुरी छ। ओली प्रवृत्ति केन्द्रीत मनोवैज्ञानिक बिभाजन प्रकिया सुरु गर्दा अन्य शक्तिहरूभित्र लुकेर बसेका राजावादी र भारतीय पक्षलाई समग्रमा लोकतन्त्रको मुख्य पृष्ठबाट अलग बनाउनुपर्छ। त्यसपछि सबै राजनीतिक दलभित्र रहेका राजावादी र भारतीय पक्षहरू क्रमशः नाङ्गो हुँदै जानेछन्।

(ख) लोकतन्त्र र बहुलवादबिचको सम्बन्ध बिच्छेदन प्रक्रिया अगाडि बढाउन ओली प्रवृत्ति केन्द्रीत मनोवैज्ञानिक बिभाजन प्रकिया सुरु भएको हो। लोकतन्त्रको अस्थीरताको केन्द्रीय समस्या भनेको नै बहुलवादमा आधारित लोकतन्त्र हो। ओली प्रवृत्ति केन्द्रीत शल्यक्रिया कोठामा राखेर बिभाजन प्रकिया अगाडि बढाउने हो। लोकतन्त्रको स्वरुप बहुलवादमा आधारित रहुञ्जेल राजनीतिक स्थीरता कायम हुन सक्दैन।

(ग) लोकतन्त्र र नेपाली कांग्रेसबिचको सम्बन्ध बिच्छेदन प्रक्रिया – यो नेपाली राजनीतिमा हावी भएको लोकतन्त्रलाई पश्चगामी अवधारणाभित्र राख्ने मनोवैज्ञानिक समस्याका कारण अहिले पनि ओलीवादमार्फत् प्रतिगमन हावी भएको हो। नेपाली कांग्रेस र लोकतन्त्रबिचको सम्बन्ध कायम गर्ने अन्तिम उपाय हो। (अ) लोकतन्त्र र यसका परमपरागत साझेदार शक्तिहरूबिचको मनोवैज्ञानिक सम्बन्ध बिच्छेदन प्रक्रियालाई अगाडि बढाउने, (आ) लोकतन्त्र र बहुल राष्ट्रिय–राज्यहरु बिचको मनोवैज्ञानिक सम्बन्ध कायम गर्ने।

(घ) लोकतन्त्र र काठमाडौंको अभिजात वर्गबिचको सम्बन्ध बिच्छेदन प्रक्रिया अघि नबढाउने हो भने अहिलेसम्मका सबै आन्दोलनका उपलब्धीलाई संस्थागत गर्न अवरुद्ध हुनेछ। यो शक्ति लोकतन्त्रलाई संस्थागत रूपमा विकास गर्न असफल बनाउने काम गरिरहेको छ। यो शक्ति लोकतन्त्रलाई खोस्न र त्यसको लागि आन्दोलन गर्न दोहोरो चरित्रका हिसाबले काम गर्ने गरेको छ। यो शक्ति लोकतन्त्रलाई यथास्थितिवादको अधिनमा राख्न मुख्य पृष्ठभूमिमा जोड दिन्छ। किनभने लोकतन्त्रको अस्थिरतामा लैजान सजिलो हुने क्रममा निरन्तरता दिन सकिन्छ।

(ङ) लोकतन्त्र र भारतबिचको मनोवैज्ञानिक सम्बन्ध बिच्छेदन प्रक्रिया नै नेपालको लोकतन्त्रलाई स्वतन्त्र राख्ने मनोवैज्ञानिक उपागम हो। नेपालमा लोकतन्त्रको निम्ति भारतीय सहयोगमा हाम्रो राष्ट्रिय स्वाधीनतामाथि संकुचन हुने प्रक्रिया लुकेको छ। यो सम्बन्ध बिच्छेदन प्रक्रिया नै नेपाली लोकतन्त्रको निर्णायक तहको लडाइँ हुनेछ। लोकतन्त्रमाथिको ‘कू’लाई समर्थन र लोकतन्त्रको लागि आन्दोलन गर्ने प्रक्रियालाई सहयोग गर्ने कुराभित्र भारतीय रणनीतिको छाताभित्र बस्नुपर्ने देखिन्छ। तर त्यो हामीलाई स्वीकार छैन।

६. अन्तमा नेपालमा लोकतन्त्रको मनोवैज्ञानिक व्यवस्थापन गर्ने अवधारणा पूरा हुनुको अर्थ हो, नेपाली समाजको समाजवादी रुपान्तरणको थालनी। नेपाली राजनीतिको बिबिध जटिलताहरूका कारण लोकतन्त्रले अहिलेसम्म स्थीरता कायम गर्न गाह्रो भएको हो। नेपालमा लोकतन्त्रको स्वरुपः बहुलवाद र स्वामित्वः काठमाडौंका अभिजात वर्गबाट समग्रमा बहुल राष्ट्रिय–राज्यहरुमा रुपान्तरण गर्ने काम जरुरी छ। नेपालको राजनीतिक शक्ति संघर्षलाई मनोवैज्ञानिक रुपमा हल गर्न पनि राज्यसत्ताभित्र थाती राखिएको छायाँ शक्ति संघर्षलाई हल गर्न जरुरी छ।

नेपालको सविधान, २०७२ अनुसार हल गर्न अवरोध गरिएका मुद्दाहरूलाई प्रगतिशील शक्तिहरूबिचको सहमति गरेर हल गर्ने हो कि ? होइन भने के.पी ओलीकै नियतिको घेराबाट माथि उठ्न गाह्रो हुनेछ। के.पी. ओलीकै नश्लवादको सुरुङ्भित्र धरासायी बन्ने होइन भने नेपालमा लोकतन्त्रको मनोवैज्ञानिक व्यव्स्थापन गर्ने काममा अग्रसरता लिने काम गर्नुपर्छ। केही मानक छन्, जसलाई नजरअन्दाज गर्दा राजनीतिक दुर्घटनाहरू निरन्तर कायमै रहने छन्ः (क) बहुलवादमा आधारित लोकतन्त्र नेपालमा असफल भएको देखिन्छ, (ख) नेपाली समाजको बनौट र विकास प्रक्रियाले हरेक राजनीतिक परिवर्तनपछि लोकतन्त्रलाई क्रमशः यथास्थितिवादको अधीनमा राख्न चाहने शक्तिहरुलाई हावी गराउने प्रवृत्तिको विकास हुँदै आएको छ, (ग) राज्यसत्ताले राजनीतिक प्रणालीहरूलाई आफ्नो बौद्धिक अपाङ्गगीय स्वरुपभित्र धरासायी बनाउने प्रक्रिया अन्त नहुञ्जेलसम्म “कु आन्दोलन’’को चक्र जारी रहनेछ।

अन्त्यमा, लोकतन्त्र र यसका परम्परागत साझेदार शक्तिहरूबिचको सम्बन्ध बिच्छेदन प्रक्रिया समापनपछि तपसिलका मनोवृत्तिगत समस्याहरूले निरन्तरता पाउने छैनन् भन्ने नेपालको शक्ति संघर्षको अनुसन्धानबाट विकसित मेरो धारणा छ।

(२०७८।०४।१६, बिराटनगर)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्