‘माधव नेपालकै नेतृत्वमा एमाले पुनर्संगठित हुनेछ’

Premal khanal
लोकपाटी न्यूज

प्रेमलकुमार खनाल/कम्युनिस्ट लिगबाट मार्क्स–एंगेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्र जारी गरे। तर, जब कम्युनिस्ट घोषणापत्र जारी भएपछि अवसरवादीहरू र शंसोधनवादीहरूले कम्युनिस्ट घोषणापत्रका विरुद्ध जेहाद छेडे। लीगमार्फत् कम्युनिस्ट घोषणापत्रको प्रचारप्रसार गर्न अवरुद्ध गरे, अन्ततः कम्युनिस्ट लीगलाई विघटन गरेर नै मार्क्स र एंगेल्सले मार्क्सवादको प्रचारप्रसारलाई तीव्रता दिएर नै मार्क्सवाद विश्वभरि फैलिन पुग्यो।

यस्तै पहिलो र दोश्रो कम्युनिस्ट इन्टरनेशनलभित्र पनि दक्षिणपन्थी अवसरवादीहरू र शंसोधनवादीहरूले गडबडी मच्चाउन थालेपछि कम्युनिस्ट इन्टरनेशनल विघटन गरेर नै विश्व कम्युनिस्ट आन्दोलन गठन पुनर्गठन गर्दै अगाडि बढ्यो। फासीवाद विरोधी आन्दोलनका क्रममा नै तेस्रो कम्युनिस्ट आन्दोलन पनि विघटन गरेर रुस लगायतका देशहरुलाई रक्षा र फासीवादबाट मुक्त गर्न र समाजवादी व्यवस्थालाई अगाडि बढाउन सफलता प्राप्त भएको थियोे।

नेपालमा कम्युनिस्ट पार्टीभित्र रायमाझीले संशोधनवादी र राजापरस्त नीति लिएर कम्युनिस्ट पार्टीलाई कब्जामा लिने काम गरे र पुष्पलालको अगुवाइमा बीसको दशकपछि कम्युनिस्ट पार्टीलाई पुनर्गठन गरेर अगाडि बढेकै परिणामस्वरूप नेपालमा कम्युनिस्ट आन्दोलनमा तीव्र ध्रुवीकरण, गठन, पुनर्गठन हुँदै यहाँसम्म आइपुगेको छ। र, अहिले पनि ध्रुवीकरण जारी छ। सही विचार, नेतृत्व, संगठन र सौर्य साहसका साथ दक्षिणपन्थी अवसरवादका विरुद्धको दृढतापूर्वक वैचारिक संघर्ष गर्दै अगाडि बढ्दा कम्युनिस्ट आन्दोलनले अग्रगति लिनेछ।

कम्युनिस्ट आन्दोलनमा भएको विभाजन, गठन/पुनर्गठनको इतिहासले कम्युनिस्ट आन्दोलनले अग्रगति लिएको पाइन्छ। तर कतिपयले विगतको एमाले र माले विभाजन र माओवादीभित्रको विभाजनलाई पनि हेरेर विभाजनपछिको परिणामलाई हेरेर नेकपा एमालेभित्रको अहिलेको विद्रोहलाई हेरेको पाइन्छ। मुख्य कुरा विचार आधारित नेतृत्व र तदनुरुप पार्टीभित्र सही नेतृत्वको नेतृत्वकारी भूमिकाको कुरा हो। सही विचार र सही नेतृत्वले नै पार्टीलाई अगाडि बढाउने हो।

विचार र ब्यवहारका बिचको विचलन नै कम्युनिस्ट आन्दोलनभित्रको अहिलेको समस्या हो। सही विचार र सही नेतृत्वबाट नै भित्री वा बाहिरी अन्तरसंघर्ष र पुनर्गठनले पनि कम्युनिस्ट पार्टीभित्र शुद्धिकरण र सुदृढीकरण ल्याउँछ र नेतृत्व सुध्रिने वा पतन हुने वा नयाँ नेतृत्वको निर्माणले पनि एकताको आधार निर्माण गर्नेछ। तत्काल यो काम सम्भव नभए पनि निरन्तरको अन्तरसंघर्षको ज्वारभाटा र तीव्रताले निश्चित रूपमा कम्युनिस्ट आन्दोलनले अग्रगति लिने अवश्यम्भावी छ।

गणतान्त्रिक आन्दोलनमा पनि सही वैचारिक नेतृत्व नभएको भए राजतन्त्र विरोधी आन्दोलन सफल हुने थिएन र समाजवादउन्मुख संविधान निर्माण पनि सम्भव थिएन। त्यसो भएको हुनाले पनि यतिखेर सही विचार र सही नेतृत्वको आलोकमा नै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सकिने प्रचुर सम्भावना र अवसर विद्यमान रहेको छ।

(खनाल नेकपा एमाले समाजवादीका केन्द्रीय सदस्य हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्