सुदूरपश्चिम प्रदेशसभाका बहुमत सांसद माधव नेपालसँगै छौं : जोशी

Purnaa_Joshi
लोकपाटी न्यूज
0 Shares

धनगढी। नेकपा एमाले विभाजित भएपछि सुदूरपश्चिम प्रदेशसभा पनि विभाजित देखिएको छ। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बलियो पकड रहेको सुदूरपश्चिम प्रदेशसभामा एमाले विभाजित बनेपछि सांसदहरू अन्योलमा देखिएका छन्। नेता नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। ९५ केन्द्रीय सदस्य रहने गरी नेता नेपालले नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन दिएका हुन्।

पार्टीका वरिष्ठ नेताले नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएपछि सुदूरपश्चिम प्रदेशमा बलियो पकड रहेको नेपाल पक्षका सांसदहरूले कुन दल रोज्छन् भन्ने विषयले निकै चर्चा पाएको छ। एमालेका २५ सांसद रहेको सुदूरपश्चिम प्रदेशसभामा नेपाल पक्षमा १८ सांसद थिए। पार्टी विभाजनपछि नेपाल समूहका प्रभावशाली सुदूरपश्चिमका नेता भीम रावल एमाले फुटमा मध्यधारमा उभिएका छन्। रावलले केन्द्रमा लिने निर्णयले सुदूरपश्चिम प्रदेशमा पनि केही फेरबदल देखिने नेताहरूको भनाई छ।

विगतदेखि नै माधवकुमार नेपाललाई साथ दिँदै आएका रावल शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएदेखि तटस्थ जस्तै देखिएका छन्। उनले नेपालको साथ छोडेको चर्चा पनि छ। रावलले नेपाल समूहको नयाँ पार्टी नेकपा एमाले (समाजवादी) दर्तामा पनि साथ दिएनन्। उपाध्यक्ष रावलले साथ छोडेका कारण माधव नेपालले सुदूरपश्चिमका प्रदेशसभा सदस्यको साथ पनि गुमाएको आंकलन गर्न थालिएको छ। तर अधिकांश प्रदेश सांसद भने रावलले नेपाललाई साथ नदिए पनि नयाँ पार्टीमा जाने मनसायमा देखिएका छन्।

सुदूरपश्चिम सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले विगतमा जस्तै अहिले पनि अधिकांश प्रदेश सांसद माधव नेपालको पक्षमै रहेको बताइन्। ‘तत्काल हामी दुई जना प्रदेश सांसद मात्रै केन्द्रीय कमिटीमा देखिएका छौ,’ उनले भनिन्, ‘तर सुदूरपश्चिमका बहुमत प्रदेश सांसद माधव नेपालसँगै छौं। १७ जनामा एक/दुई जना तलमाथि हुनसक्छ। प्रदेश सांसद सबै केन्द्रीय कमिटीमा मात्रै हुनुपर्छ भन्ने पनि छैन। फरक फरक जिम्मेवारी दिइन्छ होला।’

रावल निकट भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले पनि नेपाललाई नै साथ दिने संकेत गरेका छन्। दल दर्ताको क्रममा केही समय नेपालसँगै देखिएका सोडारीले भने, ‘म कता लाग्छु भन्ने विषयमा धेरैले अनुमान गरिसकेका होलान्। तर पनि हामीलाई नयाँ पार्टी रोज्ने वा पुरानोमा बस्ने ? छुट्याउका लागि २१ दिनको सुविधा छ। छिट्टै निचोडमा पुग्छौं।’

नेकपा एमाले समाजवादीको केन्द्रीय समितिमा सुदूरपश्चिमबाट ७ जनाको नाम समावेश छ। जसमा प्रदेश तर्फका २ जना सांसद मात्रै रहेका छन्। कानुनमन्त्री जोशी र पूर्वउद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्टको नाम केन्द्रीय सदस्यमा राखिएको छ। अन्य ५ जनामध्ये २ जना संघीय सांसद प्रेम आले र निरादेवी जैरु पनि नेपालको नयाँ दलमा केन्द्रीय सदस्य छन्।

सांसदबाहेक मदन कुमारी शाह (गरिमा), भानुभक्त जैसी र उर्वादत्त पन्त नेकपा एमाले समाजवादीको केन्द्रीय समिति सदस्य रहेका छन्। यिनीहरूमध्ये भानुभक्त जोशीले सामाजिक सञ्जाल फेसबुकमै आफू नेकपा एमाले (समाजवादी) पार्टीमा नरहेको बताएका छन्। उनले नेकपा एमाले (समाजवादी) पार्टीको केन्द्रीय समिति सदस्यमा आफ्नो नाम राखिएकोमा सहमति नरहेको जनाएका छन्।

उनले लेखेका छन्, ‘म निरन्तर पार्टीको एकताको पक्षमा लागि रहेको थिएँ र अहिले पनि लागि नै रहेको छु। मेरो सहमति नलिई मेरो नाम नेकपा एमाले (समाजवादी) पार्टीको केन्द्रीय कमिटी सदस्यमा राखिएकोमा मेरो सहमति नभएको जानकारी गराउँछु। मेरो जिल्ला, प्रदेश र अन्य शुभेच्छुक साथीहरूको सल्लाहअनुसार नै अगाडि बढ्ने छु।’

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनभित्र पार्टी छान्नुपर्ने सुविधा दिएकाले यो संख्या नै अन्तिम भन्न नसकिने नेताहरू बताउँछन्। यद्यपि सुदूरपश्चिम प्रदेशसभामा नेता नेपाल पक्षको पकड बलियो रहने अनुमान छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्