‘भैरवनाथका ज्युँदा शहीद, जो निरन्तर क्रान्तिको मोर्चामा छन्’

Himal-Krishna-Bina
  • 1.5K
    Shares
लोकपाटी न्यूज

पासाङ ठकुल्ला/जहाँ परिवर्तनको सपना बोकेर हिँडेका सयौं क्रान्तिकारीहरू सहिद भए। हजारौंले कठोर यातना भोगे। कसैले सास पाए, कसैको लास भेटियो। कोही सदाका लागि गुमनाम बने। यस्तो भयानक दृष्यको साक्षी हो नेपाली सेनाको ‘भैरवनाथ गण !’

दश वर्षे जनयुद्धको दौरान राज्य पक्षको गिरफ्तारीमा परेका क्रान्तिकारीहरूलाई त्यहाँ राखिन्थ्यो। जनयुद्धकालमा भैरवनाथ गणमा बेपत्ता बनाई राखिन्थ्यो। त्यहाँ दिइने यातनाको कुनै सीमा हुँदैन थियो। हरेक दिन जस्तो कोही न कोही बन्दीलाई शिवपुरीमा लगेर मारिन्थे। बाँकी रहेकाहरू हरेक क्षण मृत्युको पर्खाइमा हुन्थे। भैरवनाथ गणबाट फर्किनु त झण्डै असम्भव नै थियो। बाँचेर फर्किने त सपनामा पनि पर्दैन थियो। यद्यपि सबैतिरका बाटो बन्द भए पनि कसरी अँध्यारोमा थोरै उज्यालो भेटिन्छ भन्ने यो एउटा अनौठो दृष्टान्त थियो त्यहाँको।

‘भैरवनाथ गण’को यातना गृह हिटलरको ग्यास च्याम्वरभन्दा कम हुँदैन थियो। यहुदीहरूलाई हिटलरको ग्यास च्याम्वरभित्र हालेर मारिन्थ्यो। त्यहाँ पनि मर्न सजिलो त अवश्य थिएन। तर, एक छिनको कष्टमा यहुदीहरू ग्यास च्याम्बरभित्र मर्थे। भैरवनाथ गणमा माओवादी जनयुद्धका आस्थाका बन्दीहरूलाई हरेक क्षण मारिन्थ्यो। बेहोस हुने गरी असह्य यातना दिइन्थ्यो। भैरवनाथ गण कहालीलाग्दो यातना गृह थियो। ‘भैरवनाथ गण’ बितेको समय सम्झिँदा अहिले पनि स्तब्ध बनाउँछ।

भैरवनाथ गणबाट फर्किनु असम्भव जस्तो भए पनि केहीले आफ्नो क्रान्तिकारी आस्थालाई समेत बचाउँदै मृत्युकुण्डबाट फर्किएका छन्। यसरी पटक–पटक मृत्युको नजिकबाट सफर गर्नेमा माओवादी नेताहरू हिमाल शर्मा, कृष्ण केसी र पूर्वमन्त्री बिना मगर पनि पर्छन्। भैरवनाथ गणको कालकोठरी फर्किएका उनीहरूले आफ्नो नाफाको बाँकी जीवन पनि क्रान्तिकै सेवामा समर्पित गर्ने अठोट गरेका छन्।

हिमाल शर्माको संघर्ष

२०६० साल कात्तिक ३ गते असनबाट शाही सेनाले गिरफ्तार गर्‍यो। त्यसपछि मानव वधशालाका रूपमा चर्चित भैरवनाथ गणमा कहालीलाग्दो जीवन बिताएँ। यातनाका कुरा गरिसाध्य छैनन्। २७ महिना पछि नख्खु जेलमा पुगेर मुकुन्डो र आखाँपट्टी खोल्न पाइयो।

भैरवनाथ गण सपना जस्तो लाग्छ। समयले आफैँ दर्दनाक पीडा भोग्नुपर्ने बनायो। अहिले ती दिन सम्झिँदा नरकबाट फर्के जस्तो, अझ मृत्युशय्याबाट फर्केर आए जस्तो अनुभूति हुन्छ।

बाँच्छु होला भन्ने एक इञ्च पनि कल्पना थिएन। मेरो मृत्यु हत्केलामा छ भन्ने लाग्थ्यो। तर आत्मसमर्पण गर्न लाउँदा मनमनै भन्थे, ‘म गद्दार भएर मर्ने या शहीद भएर सधैँ बाँच्ने ?’ त्यो समयमा यो एउटै सूत्र थियो। विचारले बचायो। सेनाको व्यवहार भनी साध्य छैन। अहिलेको सन्दर्भमा सबै कुराहरू ‘एक्सपोज’ नगर्नु राम्रो होला।

केहीकेही कुरा सम्झिँदा असाध्यै दुःख लाग्छ। हो हामी विद्रोही हौँ। विद्रोह गरेर अघि बढेको कार्यकर्ता भएको हुनाले पक्राउ पर्नु मुठभेडमा मारिनु सामान्य थियो। अझ जेलनेल खाएर दुःख पाउनु झन् सामान्य हो। वर्ग संघर्ष जसरी पेचिलो बन्दै अगाडि जान्छ, अवश्य पनि उनीहरूको कब्जामा बस्नेहरूले दुःख पाउनु स्वाभाविक छ। तर, सेनाले मलाई पक्राउ गरेको कुरालाई सार्वजनिक कहिल्यै गरेन। २७ महिना बेपत्ता बनाएर राख्यो।

२७ महिनासम्म आँखा हेर्न पाइनँ। हात सिधा भएनन्। खुट्टाका नेल छुटेनन्। चौबीसै घण्टा मुकुन्डो, आँखामा पट्टी, पछाडि बाँधिएर हात र खुट्टामा नेलहरूसँगै यातना मात्र हुन्थ्यो। बयान लिँदा यातना दिने कुरा भिन्नै थियो। यातनाले बेहोस हुन्थेँ। बेहोस भएर मर्न तयार भएँ। तर, आत्मसमर्पण कहिल्यै गरिन। आस्था बचाएँ। यो नै मेरो राजनीतिक सम्पत्ति हो।

यातनाका प्रकृति पनि अचम्म अचम्मका हुन्थे। एक रात दुई जना सर्वसाधारण थिए। तिनलाई काभ्रेको जङ्गलमा लगेर मेरै आँखा अगाडि गोली ठोकेर मारे। खाल्डो खनेर पुरे। उनीहरू माओवादी होइनन्। मलाई थाहा छ। मेरा कार्यकर्ता मैले नचिन्ने कुरै थिएन। मेरा लागि पनि त्यहाँ अर्को खाल्डो खनिएको थियो। फेरि मेरो बयान लिने कुरा भएपछि त्यहाँ मारेनन्। ‘आत्मसमर्पण गर’, भने। म मानिनँ। त्यतिबेला बाँच्छु जस्तो लागेन। छिटो मर्न पाए हुने जस्तो भएको थियो। ‘वाकीटकी’मा कुराकानी गरेजस्तो गरे। त्यहाँ नमारी फेरि भैरवनाथ फर्काए। पछि मात्र थाहा पाएँ, त्यो घटना मानसिक यातना रहेछ।

केसीको वधशालाको यात्रा

२०६० भदौ २७ गते विद्यार्थी नेता कृष्ण केसी पक्राउ परे। त्यतिबेला उनी पक्राउ परेको खबर चारैतिर फैलियो। तर, कुनै पनि निकायले उनी पक्राउ परेको बताएका थिएनन्। केसी लामो समयसम्म कहीँ नदेखिएपछि उनको खोजी सुरु भयो। पत्नी दुर्गाले कृष्णको खोजी गर्दै विभिन्न निकाय धाइन्। उनले श्रीमानको खोजीका लागि अखबारसँग सहयोग मागिन्।

कृष्णको खोजीका निम्ति उनले गरेका पहलहरू समाचार बने। एक दिन आफू लगायत ४९ जना भैरवनाथ गणमा रहेको र कतिपय बेपत्ता पारिएको विवरणसहितको कृष्णको पत्र आउँछ। सोही प्रमाणको आधारमा फेरि समाचारहरू प्रकाशित भए। त्यही समाचार उनी बाँच्ने कारण बन्न पुगेछ। त्यो समाचारले के प्रभाव पार्‍यो भन्ने तत्काल थाहा नभए पनि बिस्तारै राष्ट्रिय मानव अधिकार आयोग लगायतका मानव अधिकारवादी संस्थालाई खोजी कार्यका निम्ति त्यसले सहयोग पुर्‍यायो। अदालतलाई निर्णय गर्न पनि त्यसले मद्दत गर्ने नै भयो।

संघर्षकै यो उपक्रममा सर्वोच्च अदालतले २०६१ पुस ६ गते कृष्णलाई रिहा गर्न आदेश दियो। तर, उनी फेरि पक्राउ परे। एउटा सामान्य परिवारको मान्छेलाई परिवर्तनका लागि हिँडेको आफ्नो परिवारको सदस्यलाई खोज्न त्यति सहज थिएन। अझ एक गाउँबाट आएर काठमाडौंमा बेपता पारिएका आफन्तको खोजी गर्नु सहज थिएन।

सबैतिरबाट संयोग पर्छ। सेनाको ब्यारेकमा दिइएको यातनाबाट साह्रै तरस खाँदै उनका बारेमा जानकारी दिन पनि त्यहीँका व्यक्तिले सहयोग गर्छन्। यातना दिने पनि त्यहीँ थिए। उनलाई सहयोग गर्ने पनि त्यहीँ थिए। त्यस्तो विषम परिस्थितिमा दुर्गाले आफ्नो पतिका बारेमा जानकारी पाएकी थिइन्। उनले त्यहीँबाट विभिन्न व्यक्तिका नाममा पत्र पनि पाउन थालिन्। त्यसैमध्येका केही पत्रका आधारमा कृष्णका बारेमा समाचार छापिएका थिए।

त्यसैले गर्दा उनलाई पति कृष्णसँग गोर्खाको ब्यारेकमा गएर भेट गर्ने मौका प्राप्त भयो। यतिबेला उनीहरू सँगै छन्। खुला राजनीतिक वातावरण छ। मरेर बाँचेका पति फर्केर आएका छन्। त्यो बेला भोकतिर्खा केही हेक्का नहुने अवस्थामा पुगेकी दुर्गाको जीवनमा बहार आएको छ। जनयुद्धको समयमा भोलिको उज्यालो पाउने आशामा मानिस संघर्ष गर्छन्। परिवर्तनका निम्ति विद्रोह गर्नेहरूले त्यही भोलिको उज्यालोको परिकल्पना गरेका हुन्छन्। भोलिको आशा नहुने हो भने आज कसैले विद्रोह गर्दैन।

भैरवनाथ गणमा बिना मगर

जीवन मेरो सहज रूपमा अघि बढेन। निकै उतारचढाव, कठिनाइ र संघर्षबाट अघि बढेको छ। र, त्यो जारी छ। राजनीतिक यात्रा पनि निकै जोखिमपूर्ण थियो। त्यसैको एउटा कहालीलाग्दो घटना थियो, भैरवनाथ गणभित्रको यातना। त्यसलाई सम्झिँदा जतिबेला पनि कहाली नै लाग्छ। समग्र १० वर्षे जनयुद्धमा सर्वहारा वर्गका लागि लड्ने क्रममा मैले त्यहाँ चरम यातना र कठिनाइ भोगेको थिएँ। २७ महिना बेपत्ता जीवन, सायद सेनाका हिरासतमा लामो समय बेपत्ता हुने महिलामा म नै पर्छु होला, हुन त मसँग पुरुष साथीहरू पनि थिए।

भैरवनाथ गण छिर्ने जोकोही पनि बाँचेर निस्कँदैन भन्ने डर थियो बाहिर। त्यो समयमा म बाँच्ने छु भन्ने कुनै पनि पल सोच्न सकिनँ। अहिले समाज र देश निर्माणमा मेरो पनि योगदान रहने छ भन्ने मैले सोच्नै सकिनँ त्यति बेला। २७ महिना शून्य मानसिकतामा बस्दा हतकडीमुक्त जीवन, पेटभरि खान पाउँदाको जीवनसमेत कल्पना गर्न सक्दिन थिएँ, त्यति बेला जुन अहिले शब्दमा पनि व्यक्त गर्न कठिन हुन्छ मलाई।

वर्गीय युद्धमा होमिँदा मृत्यु या मुक्ति दुईमध्ये एक रोज्ने प्रण गरेकी थिएँ मैले। समग्र जनताको हकहितको पक्षमा बलिदान दिन तयार भएरै नै युद्धमा होमिएको थिएँ। तर पनि एउटा पुरुषलाई दिने यातना र महिलालाई दिने यातनामा विभेद हुँदो रहेछ। एउटै अभियोगमा पक्राउ परे पनि पुरुषभन्दा महिलालाई धेरै शारीरिक र मानसिक यातना दिइँदो रहेछ।

बलात्कारको डर दिने, सयौं सिपाहीहरू लगाइदिन्छु भन्नेजस्ता धम्कीको सामना गरेँ। मेरो कपडा फालेरसमेत यातना दिइएको थियो। तर, त्यो पीडालाई शक्तिमा बदल्ने मौका पाएँ। त्यस्तो यातनाबाट उन्मुक्ति पाएर आज यो स्थानमा म आउन सक्नुमा मेरो आफ्नो खुवीसँगै मेरो परिवार, आफन्त र शुभचिन्तकको समर्थनले पनि भूमिका खेलेको छ। यहाँसम्म आइपुग्दा, पहिले लडिरहँदा र त्यो बेला सिपाहीहरूको घेरामा रहँदा पनि मेरो एउटै सोचाइ थियो कि हामी समग्र राज्य सत्तासँग लडिरहेका छौँ, न कि कुनै एउटा पात्र या व्यक्तिसँग।

माओवादी जनयुद्धको जगमा सामन्ती राजतन्त्रको अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। यसबीच माओवादी केन्द्र पटक पटक सरकारमा सहभागी भयो। सोहीक्रममा माओवादी नेतृ बीना मगर पनि सरकारमा सहभागी भइन्। सरकारमा सहभागी हुँदा उनले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालिन्। मगरको कार्यकालमा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले करिब पूर्णता पायो। दुई दशक अघि सुरु भएको मेलम्ची खानेपानी आयोजनाको ६२ प्रतिशत प्रगति निर्माण कार्य पूर्वमन्त्री मगरकै सक्रियतामा सम्पन्न भएको थियो।

उनको कार्यकालमा सुरुङ मार्ग निर्माण, सुरुङको ब्रेकथ्रुदेखि हेडवर्क्स, सेन्सरगेट, प्रशोधन केन्द्र लगायतका क्षेत्रमा निर्माण कार्य सम्पन्न भएको थियो। दूर्भाग्य, मगरले अनवरत प्रयास गरेर आयोजनाको उद्घाटनको समेत वातावरण बनिरहेको बेला राजनीतिमा आएको बदलाबले आयोजनाको उद्घाटन भने उनले गर्न पाइनन्।

माओवादी आन्दोलनमा यस्ता सयौं योद्धाहरू छन्, जो मुक्ति या मृत्युको सपथ खाएर युद्धमैदानमा लडिरहे। उनै योद्धाहरूको कठिन जीवनसंघर्ष, हजारौं शहिदहरूको बलिदानी, हजारौं बेपत्ता योद्धाको जीवनसंघर्ष र लाखौं नेपालीको समर्पणले देश यहाँसम्म आएको छ र समाजवादको संकल्प फेरि लड्ने प्रण गर्दैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्