सुदूरपश्चिमका १० सांसद एकीकृत समाजवादीमा

Sudurpachchim
लोकपाटी न्यूज

धनगढी। सुदूरपश्चिम प्रदेश सभाका १० जना नेकपा एमाले सांसदले नेकपा एकीकृत समाजवादी रोजेको छन्। मंगलबार निर्वाचन आयोगमा १० जना प्रदेश सभा सदस्यले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर सनाखत गरेका हुन्।

सनाखत गर्ने प्रदेश सभा सदस्यमा दुर्गाकुमारी कामी, पूर्णा जोशी, चुनकुमारी चौधरी, लालबहादुर खड्का, मनाकुमारी साउँद, माया भट्ट, कूलवीर चौधरी, सुशिला बुढाथोकी, अमर साउद र बलबहादुर सोडारी रहेका छन्। थप तीन जनाले भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत गर्न पाएका छैनन्।

निर्वाचन आयोगको कार्यालयमा पुगेका सांसदहरु दीर्घ सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन। राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि माधवकुमार नेपाल समूहले एमाले छाडेर एकीकृत समाजवादी बनेको थियो। निर्वाचन आयोगले भदौ २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई विभाजनपछिको दल रोज्ने समयसीमा दिएको छ।

एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं सांसद पूर्णा जोशीले सांसदको संख्या १४ भन्दा बढी हुने बताइन् ‘नागरिकता लगायतका डकुमेन्ट नभएकाले सबै आउन सक्नुभएन,’ कानूनमन्त्री जोशीले भनिन्, ‘हाम्रो संख्या १४ भन्दा घट्दैन।’