मार्क्सवादी ज्ञान केन्द्रको साधारण सभाद्वारा पारित प्रतिवेदन (पूर्णपाठ)

Center for Marxist Study
  • 312
    Shares
लोकपाटी न्यूज

यस गरिमामय साधारण सभाका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिज्यूहरू, ज्ञान केन्द्रका सल्लाहकारज्यूहरू, कार्यसमिति, विभागीय समिति, प्रदेश समिति र जिल्ला शाखाका साथीहरू, ज्ञान केन्द्रका प्रशिक्षकज्यूहरू, संस्थाका आजीवन र साधारण सदस्यज्यूहरू, यस साधारण सभामा उपस्थित अन्य विशिष्ट महानुभावहरू,

सर्वप्रथम यस गरिमामय साधारण सभामा यहाँहरू सबैलाई हार्दिक स्वागतका साथ न्यानो अभिवादन व्यक्त गर्दछौं, मार्क्सवादी ज्ञान केन्द्रको वैचारिक अभियानमा मन, वचन र कर्मले सहयोग, सहकार्य र सद्भाव राख्नुहुने सबै महानुभावप्रति उच्च सम्मानका साथ अभिवादन व्यक्त गर्दछौं। यस अवसरमा हामीलाई दिशानिर्देश गर्ने समस्त राजनीतिक र बौद्धिक संस्था एवं व्यक्तित्वहरूप्रति आभार प्रकट गर्दछौं।

(१) विषय प्रवेश

बीसौं शताब्दीको पूर्वाधमा महान् क्रान्तिहरूको नेतृत्व गर्दै अगाडि बढेको विश्व कम्युनिस्ट आन्दोलन सन् १९५६ मा सोभियत कम्युनिस्ट पार्टी (बोल्सेभिक) ले लिएको शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण सहअस्तित्व, सम्पूर्ण जनताको पार्टी र सम्पूर्ण जनताको राज्यको नीतिपछि भीषण विचारधारात्मक संघर्ष र संकटको भूमरिमा पर्‍यो। विश्व कम्युनिस्ट आन्दोलन नै दुई ठूला शिविरमा विभक्त हुने गरी चलेको उक्त विचारधारात्मक संघर्षपछि एउटा शक्ति तेस्रो विश्वमा क्रान्तिको सम्भावना खोजी गर्ने दिशातर्फ अग्रसर बन्दै गयो, अर्को शक्ति विश्वव्यापी रूपमा आफ्नो शक्ति विस्तारका निम्ति मार्क्सवादी मूल्य–मान्यता, रणनीति, पञ्चशील र अन्तर्राष्ट्रिय भाइचारा लगायतका मान्यताहरूका विरुद्ध उभिँदै सामाजिक साम्राज्यवादको दिशा ग्रहण गर्‍यो। कम्युनिस्ट मूल्य–मान्यताप्रतिको अरूचि र साम्राज्यवादी महाशक्तिको लालसाको कारण रुसी कम्युनिस्ट पार्टी र समाजवादी राज्यको सामाजिक साम्राज्यवादमा पतनपछि कम्युनिस्ट आन्दोलन अलगावमा पर्दै गयो, त्यसकै कारण कम्युनिस्ट आन्दोलनले सन् १९९१ को भयानक विघटन र बिसर्जनको सामना गर्नुपर्‍यो।

सन् १९९१ मा भएको सोभियत संघको विघटन सन् १९५६ मा रूसले लिएको दक्षिणपन्थी नीति र मित्रशक्ति एवं समाजवादी मुलूकमाथि गरेको सामाजिक साम्राज्यवादी आक्रमण, कम्युनिस्ट पार्टीमा सामूहिक चिन्तन–प्रणालीको कमी, खुला रूपमा पुँजीवादी चिन्तन–प्रणालीको अवलम्बन र जनतामा कम्युनिस्ट पार्टीप्रति देखा परेको वितृष्णा जस्ता कारणहरू मुख्य रूपमा जिम्मेवार छन्। १९५६ को नीतिले १९९१ को परिस्थितिमा पुर्‍याउँथ्यो, अन्ततः सोभियत संघ र पूर्वी युरोपका समाजवादी सत्ताको पतनसँगै त्यस्तो भयानक दुर्घटना निम्तिएरै छोड्यो।

सोभियत संघको विघटनपछि विश्व कम्युनिस्ट आन्दोलन नै भयानक चुनौतीको भूमरिमा फस्यो, विश्वभरिका कम्युनिस्ट पार्टीहरू आफ्नो निर्दिष्ट लक्ष्यबाट भाग्ने, कम्युनिस्ट पार्टीको चरित्र र आवरण दुवैमा परिवर्तन गर्ने र कैयौं पार्टीहरू खुलमखुला बुर्जुवा शिविरमा प्रवेश गर्नेसम्मका दृश्यहरू देखिए। यद्यपि, विश्वका केही कम्युनिस्ट पार्टीहरूले समाजवादी आन्दोलनलाई पुनर्संगठित गर्ने कोशिस गरे, दक्षिणपन्थी बिर्सजनवाद र प्रतिक्रान्तिका विरुद्ध क्रान्तिका ज्वारभाटा खडा गर्ने प्रयत्नहरू भए। यसै सन्दर्भमा नेपालमा पनि वस्तुगत र आत्मगत दृष्टिले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको कम्युनिस्ट आन्दोलनको रक्षाका निम्ति दुई फरक धारबाट आ–आफ्नै सापेक्षतामा वामपन्थी र क्रान्तिकारी प्रयत्नहरू अगाडि बढाइयो। विश्व कम्युनिस्ट आन्दोलनमा पलायनको भयानक दुष्चक्र चलिरहेको परिस्थितिमा नेपालको कम्युनिस्ट आन्दोलन विचार र राजनीतिका दृष्टिले लगातार प्रभुत्वशाली धाराका रूपमा स्थापित हुनुमा यिनै प्रयत्नहरू जिम्मेवार छन्। यद्यपि, विचारधारात्मक राजनीतिक कार्यदिशाको दृष्टिले नेपाली कम्युनिस्ट आन्दोलन आजपर्यन्त संकटमुक्त देखिँदैन।

नेपाली कम्युनिस्ट आन्दोलनको ७२ वर्ष लामो यात्रा विश्व कम्युनिस्ट आन्दोलनका निम्ति महत्वपूर्ण अनुभव र शिक्षाका रूपमा उपस्थित छ। एकातर्फ विश्वभरि कम्युनिस्ट आन्दोलन संकटपूर्ण स्थितिबाट गुज्रिरहेको परिस्थितिमा राष्ट्रिय मूलधारका रूपमा कम्युनिस्टहरूको प्रभाव विश्वकै निम्ति प्रेरणा बन्न पुगेको छ भने अर्कोतर्फ कम्युनिस्ट आदर्श, मूल्य–मान्यताको रक्षा र विकास एवं कार्यदिशाको संकट समाधानार्थ नेपाली कम्युनिस्ट आन्दोलनले जुन योगदान गर्नुपथ्र्यो, त्यस्तो योगदान कमजोर नै देखिन्छ।

कम्युनिस्ट आन्दोलनलाई हेर्ने दृष्टिकोणमा समेत काफी सीमाहरू रहने गरेका छन्। आन्दोलनलाई दर्शन, विचार, राजनीति, कार्यदिशा र आचरणको तादाम्यका दृष्टिले हेर्नुपर्नेमा ट्रेडमार्कका रूपमा मात्र बुझ्ने तर कम्युनिस्ट मूल्य र हाम्रा व्यवहारका बिच निकै ठूलो विरोधाभाषको सामना गर्नुपर्ने परिस्थितिमा हामी उभिएका छौं। यस्तो विरोधाभाषको वैज्ञानिक समाधान के हुन सक्दछ ? यो प्रश्न आज नेपालका सम्पूर्ण कम्युनिस्ट एवं वामपन्थी शक्तिको साझा चासो र जिम्मेवारीको विषय बन्न पुगेको छ।

२० औं शताब्दीले निकै गौरवशाली क्रान्ति र भयानक प्रतिक्रान्ति दुवैको सामना गर्‍यो। ती अनुभव हाम्रो शताब्दी र हाम्रो पुस्ताका लागि निकै ठूला र दूरगामी शिक्षाका रूपमा उपस्थित छन्। मार्क्स–एंगेल्सले कम्युनिस्ट घोषणापत्र रचना गर्दा होस्, लेनिन–स्टालिनले साम्राज्यवादको विश्लेषण, समाजवादी क्रान्ति संगठित र समाजवादको अभ्यास गर्दा होस् वा माओत्सेतुङले अर्धसामन्ती एवं अर्धऔपनिवेशिक चरित्रको विश्लेषण र जनवादी क्रान्ति हुँदै निरन्तर क्रान्तिको सिद्धान्त संश्लेषण गर्दा होस्, त्यहाँ क्रान्तिका पूर्वअनुभवहरूबाट शिक्षा लिने सम्भावना ज्यादै न्यून थियो। तर, हामीकहाँ ती सबै क्रान्तिका उपलब्धी र शिक्षाहरूबाट नयाँ सम्भावनाको खोजी गर्न सम्भव भएको छ। यही विन्दुबाट नेपालका कम्युनिस्टहरूले २१ औं शताब्दीमा समाजवादी क्रान्तिको कार्यदिशा विकास गर्न र क्रान्तिलाई संगठित गर्न सम्भव हुनेछ।

विश्व कम्युनिस्ट आन्दोलन र हाम्रै आन्दोलनको अनुभवले पनि क्रान्तिकालमा विचारधारात्मक कार्यको महत्व र कम्युनिस्ट पार्टीले विचार निर्माणको कामलाई जति शीर्षस्थानमा राख्ने गरेको छ, क्रान्तिको आंशिक वा पूर्ण विजयपश्चात् कम्युनिस्ट पार्टी र त्यसका नेताहरू सत्ता सञ्चालनका प्राविधिक काममा अल्झिने र विचारधारात्मक कामप्रति उपेक्षाभाव व्यक्त हुने गरेको छ, जुन विरासत नेपालका विद्यमान कम्युनिस्ट घटकहरूमा पनि भयानक चुनौतीका रूपमा देखा परिरहेको छ। सत्ता सञ्चालनकै कामसमेत नीति बनाएर होइन, तदर्थवादी कोणबाट मात्र सोच्ने प्रवृत्तिले विचारको विकासको कुरा मात्र होइन, प्रणाली निर्माण र कुशल व्यवस्थापनको कोणबाट समेत कम्युनिस्ट पार्टीहरू असफल बन्ने गरेको परिस्थिति विद्यमान छ। यही विन्दुबाट, जहाँ जनताको अपार समर्थन तर कम्युनिस्ट मूल्य–मान्यता र विचारधारात्मक कामको खडेरी छ, मार्क्सवादी ज्ञान केन्द्रले आफ्नो अभियानलाई अगाडि बढाउने जमर्को गर्‍यो। करीव १५ महिनाको अवधिमा ज्ञान केन्द्रले विचारधारात्मक कामका क्षेत्रमा जे–जति प्रयत्नहरू गर्‍यो, ती कामहरू हाम्रा लागि उत्प्रेरणा र शिक्षाका दृष्टिले निकै महत्वपूर्ण छन्।

(२) ज्ञान केन्द्रको लक्ष्य

‘‘विज्ञानमा फराकिलो र बनिबनाउ बाटो हुन सक्दैन, त्यही मात्र विज्ञानको उज्जवल टाकुरोसम्म पुग्न सक्दछ, जसले थकाइको त्रासबिना ढुंगैढुंगाले भरिएको पहाड घिस्री–घिस्री छिचोल्ने साहस गर्दछ’’ भन्ने कार्ल मार्क्सको संश्लेषणले कम्युनिस्ट आन्दोलन र समाजवादी व्यवस्था बहावका विरुद्ध खडा हुने ज्वारभाटा हो भन्ने यथार्थ नै स्पष्ट गर्दछ। यस्तो प्रतिध्रुवीय आन्दोलनमा विचारधारात्मक कामको नेतृत्व सानो त्याग–साधना, ईच्छाशक्ति र संकल्पबाट प्राप्त गर्न सम्भव नै हुँदैन। इतिहासमा तिनीहरू मात्र सफलताले चुचुरोमा पुगेका छन्, जसले आफूलाई औसतभन्दा माथि उठेर विचारको अन्वेषण र पूराका पूरा ईच्छाशक्तिका साथ त्यसको कार्यान्वयनमा समर्पित गर्दछन्, त्यस्तो विचार र ईच्छाशक्तिको विकास गरेर मात्र हामीले ज्ञान केन्द्रको निर्दिष्ट लक्ष्य हासिल गर्न सक्दछौं। त्यसका लागि हामीले हाम्रो निर्दिष्ट लक्ष्य र ज्ञान केन्द्रको वैचारिक, संरचनागत, संगठनात्मक र कार्यशैलीगत आयाममा स्पष्ट हुनै पर्दछ।

मार्क्सवादी ज्ञान केन्द्र मार्क्सवादको अध्ययन, अध्यापन, खोज र अनुसन्धानका क्षेत्रमा काम गर्न स्थापित एक गैरनाफामूलक बौद्धिक संस्था हो, यसले नेपालका विभिन्न कम्युनिस्ट घटकहरूसँग समन्वय, सहकार्य र सद्भावका आधारमा आफूलाई साझा संस्थाका रूपमा उभ्याउने र सोअनुरूप आफ्ना बौद्धिक गतिविधि सञ्चालन गर्ने गर्दछ। यो कुनै दलविशेष वा दलनिकट भातृसंगठन वा बौद्धिक संगठन होइन। यसले नेपालमा क्रियाशील सबै कम्युनिस्ट र वामपन्थी घटकका नेता, कार्यकर्ता, शुभेच्छुक र स्वतन्त्र जनतालाई समेत मार्क्सवादी शिक्षाद्वारा दीक्षित गर्ने र त्यसका आधारमा कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने ध्येय राख्दछ। दल विशेषका दृष्टिले स्वतन्त्र तर विचारधारात्मक हिसाबले सहकार्यको नीति लिनु मार्क्सवादी ज्ञान केन्द्रको घोषित नीति हो।

ज्ञान केन्द्रले आफ्नो निर्दिष्ट लक्ष्यलाई निम्नानुसार सुत्रिकृत गरेको छ, १. नेपालका सबै कम्युनिस्ट एवं वामपन्थी घटकका निम्ति साझा मञ्चका रूपमा विचार निर्माणमा सहयोग गर्ने, २. समाजवादी क्रान्तिलाई संगठित गर्न वैचारिक, सांगठानिक र मनोवैज्ञानिक आधारभूमि तयार पार्ने, ३. इतिहासका अनुभव र शिक्षाहरूलाई संश्लेषण र पूँजीकृत गर्न वैचारिक काम गर्ने, ४. मार्क्सवादी अध्येताहरूका निम्ति सन्दर्भस्रोतहरूको व्यवस्थापन गर्ने, ५. नयाँ पुस्तालाई मार्क्सवादको अध्ययनका निम्ति प्रोत्साहित गर्ने एवं सुव्यवस्थित अध्ययनका निम्ति मार्गदर्शन गर्ने, ६. पूरानो पुस्ताको अध्ययन र अनुभवलाई सम्पत्तिको रूपमा ग्रहण गर्दै निरन्तर अध्ययन र अध्ययनअनुरूपको आचरणका निम्ति अभिप्रेरित गर्ने, ७. नीति निर्माणका क्षेत्रमा समाजवादी ढाँचा र कार्यप्रणालीका निम्ति अभिप्रेरित एवं वैचारिक खबरदारी गर्ने, ८. राजनीतिक कार्यदिशा र विचार निर्माणको क्षेत्रमा साझा योगदान गर्ने, ९. कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न वैचारिक र मनोवैज्ञानिक रूपमा अभिप्रेरित गर्ने, १०. आजको विश्वमा विकसित दर्शन, अर्थशास्त्र, समाजशास्त्रीय मान्यता, विज्ञान-प्रविधिको विकास लगायतका विषयको अध्ययन र त्यसलाई मार्क्सवादी आलोकबाट हेर्ने चिन्तनप्रणालीको विकास गर्ने, आदि। संश्लेषणका रूपमा यसलाई मार्क्सवादको तिर्खा जगाउने अविछिन्न आन्दोलनका रूपमा बुझ्न सकिन्छ।

१५ महिनाको दौरानमा मार्क्सवादी ज्ञान केन्द्र देशका सबै वामपन्थी घटक, नेतृत्व र आम वामपन्थी जनमतका बिच देखिने/सुनिने गरी स्थापित भएको छ। हर कुनै वस्तु, विचार, संगठन र संरचनाको विकास जुन अनुपातमा हुँदै जान्छ, चुनौती र जोखिमहरूको अवस्थिति पनि त्यही उचाइबाट विकसित हुने गर्दछन्। यस अर्थमा ज्ञान केन्द्रले प्राप्त गरेको सफलतासँगै जोखिम र चुनौतीहरूको अवस्थिति पनि गुणात्मक ढंगले बढ्दै गएका छन्, यसलाई ठीक ढंगले विश्लेषण र निरन्तर परिस्कृत गर्ने प्रवृत्तिले मात्र हामीलाई लक्ष्यसम्म पुर्‍याउँछ। तसर्थ, हामीले विषयको गम्भीरता र गहिराइलाई ठीक ढंगले बुझ्नै साहस गर्नैपर्दछ।

मार्क्सवादी ज्ञान केन्द्रले एकपछि अर्को उचाइ हासिल गर्दै जाँदा हाम्रा सामु केही गम्भीर चुनौती र केही जोखिमहरू देखा पर्दै गएका छन्, त्यसलाई निम्नानुसार सुत्रिकृत गर्न सकिन्छ : पहिलो, ज्ञान केन्द्रलाई कुनै दल विशेषको शाखा, घटक, भातृसंगठन वा निकटस्थ संगठनका रूपमा बुझ्ने प्रवृत्ति, जसले यसलाई साझा मञ्चका रूपमा स्थापित गर्ने हाम्रो घोषित लक्ष्यमा बाधा हाल्दछ, विचारको विकासमा सबै धाराहरूबिच खुला छलफल गर्ने ध्येयमा चुनौती खडा गर्दछ, स्वतन्त्र धारमा रहेको नयाँ पुस्तामा मार्क्सवादी दर्शनको अध्ययन गराउने सम्भावनाको ढोका बन्द गरिदिन्छ। यो अलगाववादी सोंचबाट हामी माथि उठ्नैपर्छ र समाजवादी क्रान्तिको वैचारिक आधार तयार पार्ने साझा जिम्मेवारीप्रति प्रतिवद्ध हुनैपर्छ। दोस्रो, ज्ञान केन्द्रलाई आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको हतियारका रूपमा प्रयोग गर्न खोज्ने प्रवृत्ति, जसले मार्क्सवादी ज्ञान केन्द्रको निष्ठामाथि नै चिसो पानी खन्याउँछ, ज्ञान केन्द्रलाई विचार निर्माणको थलो बनाउने उद्देश्यमाथि आघात पुर्‍याउँछ। यस्तो प्रवृत्तिले ज्ञान केन्द्रलाई राजनीतिक र सामाजिक सत्तामा पुग्ने हतियारको रूपमा प्रयोग र मुनाफा आर्जनको साधनका रूपमा पतन गराउँछ, ज्ञान केन्द्रलाई एक गैरसरकारी संस्थाको रूपमा संकुचित गर्दछ। तसर्थ, यस्तो प्रवृत्तिप्रति हामी सचेत रहनैपर्दछ। तेस्रो, ज्ञान केन्द्रलाई अलग्गै संगठनको अभ्यासका रूपमा बुझ्ने र शक्ति संघर्षको थलोका रूपमा बुझ्ने प्रवृत्ति, जसले फुटवाद हुँदै बिसर्जनमा पुर्‍याउँछ। यस्तो प्रवृत्तिले मार्क्सवादी ज्ञान केन्द्रलाई नै अलग राजनीतिक दलको रूपमा खडा गर्ने सपना देख्दछ, साथै आफूनिकट राजनीतिक दलको नेतृत्वमा पुग्न मार्क्सवादी ज्ञान केन्द्रलाई हतियारको रूपमा प्रयोग गर्न खोज्ने प्रवृत्ति विकसित हुन सक्दछ। वर्तमानमा यस्तो प्रवृत्ति देखा परिसकेको छैन, यद्यपि, यस्तो प्रवृत्तिप्रति हामी सबै सतर्क रहँदै ज्ञान केन्द्रलाई विचार निर्माणको साझा मञ्चका रूपमा स्थापित गर्ने, आफ्नो राजनीतिक भविष्य आफू आवद्ध कम्युनिस्ट घटकभित्रै खोज्ने र त्यहीँ निष्ठाका साथ परिणाम निकाल्ने कुरामा सचेत हुनैपर्छ। चौंथो, कुनै कम्युनिस्ट घटक र त्यसभित्रको समूहले आफ्नो समूहगत हितका निम्ति उपयोग गर्नसक्ने खतरा, जसले ज्ञान केन्द्रको ध्येयलाई प्रारम्भमै समाप्त गरिदिन्छ। यस्तो प्रवृत्ति वर्तमानमा देखा परेको छैन। यद्यपि, भविष्यमा यस्तो प्रवृत्ति देखा पर्नसक्ने जोखिमप्रति प्रारम्भदेखि नै सचेत हुँदै आफ्ना गतिविधि अगाडि बढाउनुपर्दछ। पाँचौं, ज्ञान केन्द्रमा आफ्नो आवद्धता र जिम्मेवारीलाई प्रतिष्ठाका रूपमा बुझ्ने प्रवृत्ति, जुन प्रवृत्तिले ज्ञान केन्द्रलाई औपचारिक संयन्त्रमा बदलिदिन्छ। यस्तो प्रवृत्ति हामीकहाँ उपस्थित हुने खतरा छ। यस्तो प्रवृत्ति जिम्मेवारी लिन रूचाउने तर विचारधारात्मक कामप्रति खास रूचि नराख्ने, विषयको गहिराइमा पुग्न तत्पर नहुने, आफ्नो पदीय जिम्मेवारी र भूमिकाअनुरूपको सक्रियता नदेखाउने, जिम्मेवारीलाई औपचारिकतामा मात्र पूरा गर्ने प्रवृत्तिका रूपमा देखा पर्दछ, यस्तो प्रवृत्तिप्रति खबरदारी गर्दै केन्द्रका अध्यक्षदेखि साधारण सदस्यसम्मको ठोस जिम्मेवारी तोक्ने र जिम्मेवारीअनुरूपको परिणाम खोज्ने प्रणालीको विकास गरेर ज्ञान केन्द्रलाई दीर्घजीवी बनाउनुपर्दछ। छैटौं, व्यवस्थापन समितिको तहमा संकुचित गर्ने प्रवृत्ति, जुन प्रवृत्तिले ज्ञान केन्द्रलाई विचारविहीन फौजमा गिराउने खतरा रहन्छ। यस्तो प्रवृत्तिले मार्क्सवादी ज्ञान केन्द्रकै योजनामा विचारकहरूको उत्पादन गर्ने ढोका बन्द गरिदिन्छ। तसर्थ, यस्तो प्रवृत्तिबाट माथि उठेर विचारको विकासका निम्ति स्वयं आफूलाई उठाउने प्रयत्न जारी राख्नुपर्दछ। उल्लेखित प्रवृत्तिहरूमाथि कसरी विजय हासिल गर्दछौं, त्यसको आधारमा नै मार्क्सवादी ज्ञान केन्द्रले आफ्नो भविष्य निर्धारण गर्नेछ।

ज्ञान केन्द्र कम्युनिस्टहरूको साझा स्कुल हो, जहाँ गैरमार्क्सवादी दर्शन, चिन्तन, विचार र प्रवृत्तिको आलोचना गर्दै मार्क्सवादको रक्षा, प्रयोग र विकासमा जोड दिइन्छ, जहाँ दक्षिणपन्थी अवसरवाद र जडसुत्रीय बिसर्जनवादका विरुद्ध विचारधारात्मक संघर्षमार्फत् मार्क्सवादी दर्शन र कार्यदिशाको विकासका निम्ति योगदान गरिन्छ। विषयको गम्भीरतालाई यसरी बुझेर मात्र हामी लक्ष्यसम्म पुग्न सक्नेछौं।

(३) विगत कामको सिंहवलोकन

२०७७ जेठ २ गतेदेखि औपचारिक रूपमा पहिलो चरणको कक्षाको शुभारम्भ, २०७७ फाल्गुण १९ गते औपचारिक दर्ता प्रक्रियादेखि वर्तमानसम्म आउँदा मार्क्सवादी ज्ञान केन्द्रले नयाँ उचाइ हासिल गरेको छ। यो उचाइ सामान्य मेहेनत, सामान्य इच्छाशक्ति र औसत जीवन–व्यवहारबाट प्राप्त भएको होइन, यो सफलताका पछाडि ज्ञान केन्द्रका आदरणीय सल्लाहकार, कार्यसमितिका साथीहरू, विभागीय समितिहरू, प्रदेश समितिहरू, प्रशिक्षकहरू, विभिन्न कम्युनिस्ट घटकका आदरणीय नेता कमरेडहरू, मार्क्सवादप्रति अभिरूचि राख्ने वाम बुद्धिजिवीहरू, ज्ञान केन्द्रका आजीवन र साधारण सदस्यहरू र मार्क्सवादप्रति सरोकार राख्ने समस्त महानुभावहरूको अतुलनीय योगदान रहेको छ। यही सामूहिक योगदान, इच्छाशक्ति र संकल्पको बलमा नै हामीले वर्तमान उचाइ हासिल गरेको तथ्य बिर्सिन मिल्दैन। यसका निम्ति समस्त कमरेडहरू धन्यवादका पात्र हुनुहुन्छ।

२०७७ जेठबाट सुरु गरिएको अभियान १५ महिनाको छोटो अवधिमा गुणात्मक उचाइमा मात्र पुगेको छैन, देशभरि बिस्तारको क्रममा रहेको छ। कम्युनिस्ट पार्टीका स्कुल विभागहरू निस्क्रिय रहेको, पार्टीहरूमा विचारधारात्मक कामप्रतिको रूचि घट्दो क्रममा रहेको परिस्थितिमा ज्ञान केन्द्रले सुरुवात गरेको अभियानले सम्पूर्ण कम्युनिस्ट घटकहरूलाई उत्साहित मात्र बनाएको छैन, अपितु अभियानको अपनत्व महशुस गर्ने प्रक्रिया पनि गुणात्मक ढंगले बढ्दै गइरहेको छ। आठौं चरणको केन्द्रीय कक्षा हुँदै प्रादेशिक स्कुल र बर्दिया जिल्ला शाखाले आयोजना गरेको स्कुलसम्म आइपुग्दा मार्क्सवादी ज्ञान केन्द्र साझा स्कुलका रूपमा स्थापित हुँदैछ। यो हामी सबैका लागि गौरवको विषय हो।

२०७७ जेठ ३ गतेदेखि १७ गतेसम्म पहिलो चरण, २०७७ जेठ २२ गतेदेखि असार ३ गतेसम्म दोस्रो चरण, २०७७ असार २० गतेदेखि साउन ३ गतेसम्म तेस्रो चरण, २०७७ साउन २५ गतेदेखि भदौ ९ गतेसम्म चौंथो चरण, २०७७ भदौ १६ गतेदेखि २८ गतेसम्म पाँचौं चरण, २०७७ कार्तिक १४ गतेदेखि २८ गतेसम्म छैटौं चरण, २०७७ चैत्र २६ गतेदेखि ३० गतेसम्म अभिमुखीकरणमूलक सातौं चरण, २०७८ वैशाख २२ गतेदेखि जेठ ५ गतेसम्म आठौं चरण, २०७८ असार १६ गतेदेखि २८ गतेसम्म बर्दिया जिल्ला शाखाको आधारभूत कक्षा, श्रावण ९ गतेदेखि १९ गतेसम्म अन्तरप्रादेशिक कक्षासम्म आइपुग्दा ज्ञान केन्द्रले झण्डै ५७०० सहभागीहरूबिच मार्क्सवादी कक्षा सञ्चालन गरिसकेको छ। यसका साथसाथै विभिन्न कक्षाहरूको सहजीकरण, सामाजिक एवं राजनीतिक संस्थाहरूसँगको सहकार्यमा गरिएका बहसमूलक कार्यक्रमहरू पनि यस अवधिका महत्वपूर्ण कार्यक्रमका रूपमा रहे।

आधारभूत, मध्यम र अभिमूखीकरण कक्षाबाट राम्रो नतिजा हासिल गर्ने सहभागीहरूलाई अभ्यास प्रशिक्षणमा सहभागी बनाएर प्रशिक्षक उत्पादन गर्ने अभियानले संस्थाको गरिमा र महत्व दिन प्रतिदिन बढिरहेको छ। ५६ जना आधारभूत तहका प्रशिक्षकहरूको उत्पादन र उत्पादित प्रशिक्षकहरूले विभिन्न चरणको कक्षा गरेको सहजीकरणले सिंगो संस्थाको आत्मविश्वासमा बढोत्तरी भएको छ। पठन संस्कृतिको विकासका निम्ति पुस्तक परिचर्चा कार्यक्रम, अध्ययनका निम्ति अभिप्रेरित गरिरहने प्रणाली, खास वैचारिक एवं सामयिक मुद्दाहरूमा केन्द्रित रहेर सञ्चालित डिस्कोर्स कक्षाहरू, परीक्षा, मूल्यांकन र पुरस्कार प्रणाली, संविधान र लोकतन्त्रका पक्षमा वैचारिक पैरवी र भौतिक रूपमा गरिएको खबरदारी, कम्युनिस्ट स्कुल पुस्तकको लोकार्पण र समाजवादी क्रान्तिको कार्यदिशा सम्बन्धी अन्तरक्रिया लगायतका वैचारिक एवं रणनीतिक महत्वका गतिविधिले संस्था एवं यसमा आवद्ध सम्पूर्ण सदस्यहरू निरन्तर परिस्कृत हुने भौतिक एवं मनोवैज्ञानिक वातावरण निर्माण भइरहेको छ।

यस अवधिमा नीतिगत एवं संरचनागत कामका क्षेत्रमा समेत महत्वपूर्ण उपलब्धी हासिल गरिएको छ। ज्ञान केन्द्रको विधान निर्माण र दर्ता प्रक्रिया, संस्थालाई संघीय ढाँचामा प्रयोगात्मक अभिव्यक्ति दिने गरी विनियमको निर्माण, विभिन्न विभागीय समिति, प्रादेशिक समिति, शाखा र प्रशाखाहरूको कार्य सञ्चालन, कक्षा र डिस्कोर्स, परीक्षा र मूल्यांकन, अभ्यास प्रशिक्षण र पाठ्यक्रम सम्बन्धी कार्यविधि निर्माणमार्फत् गरिएको नीतिगत र कानूनी प्रबन्ध, आधारभूत, मध्यम र उच्च तहको पाठ्यक्रम निर्माण, दर्शनशास्त्र, मार्क्सवादी राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, विश्व एवं नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास र विज्ञान एवं प्रविधिका विषयमा व्यवस्थित रूपमा नोट पुस्तिका निर्माण, संस्थाका विभिन्न समिति र पदाधिकारीलाई मर्यादित र जिम्मेवार बनाउने हेतुले निर्माण गरिएको आचारसंहिता लगायतका नीतिगत र कानूनी व्यवस्थाले ज्ञान केन्द्रको गुरुत्व थप बढेको अनुभूति भएको छ।

जनवादी केन्द्रीयता र निर्णयहरूको अभिलेखनका दृष्टिले समेत ज्ञान केन्द्रको १५ महिनाको अवधि निकै महत्वपूर्ण सावित भएको छ। हरेक निर्णयमा कार्यसमिति र कतिपय निर्णयहरूमा संस्थामा आवद्ध सदस्यसम्मको सहभागिता र निर्णय प्रक्रियामा उनीहरूको भूमिकाले संस्थाको अपनत्वमा महत्वपूर्ण अर्थ राख्दछ। साथै गरिएका निर्णयहरूको डिजिटलाइजेशन लगायतका कामले विगतमा गरिएका कामहरूको ऐतिहासिक महत्व रहने कुरा निर्विवाद छ।

प्रकाशन, प्रचार एवं डिजिटल सामग्रीको विकासका दृष्टिले ज्ञान केन्द्रले जुन गृहकार्य गरिरहेको छ, त्यसको ठोस नतिजा त प्राप्त भइसकेको छैन, यद्यपि तयारीको वस्तुगत परिदृश्यले भविष्यमा सुखद अनुभूति दिनेमा विश्वस्त हुन सकिन्छ। मार्क्सवादसँग सम्बन्धी डिजिटल सामग्रीलाई ई-लाइब्रेरीमा समावेश गर्ने गरी गरिएको गृहकार्यले भविष्यमा वामपन्थी अध्येताहरूका लागि राम्रो सन्दर्भस्रोतको काम गर्नेछ।

मार्क्सवादी ज्ञान केन्द्रले २०७८ जेठसम्म सम्पादन गरेका कामहरूबारे संक्षिप्त रिपोर्ट, संस्थाको विधान, विनियम, कार्यविधि तथा आचारसंहिता, पाठ्यक्रम, विभिन्न समितिहरू लगायतका विषयहरू समेटेर २०७८ जेठमा आधिकारिक प्रकाशनका रूपमा ‘मार्गनिर्देश’ प्रकाशित गरिसकिएको छ। उक्त प्रकाशनमा समावेश विषयहरू यसै प्रतिवेदनको अंग रहनेछन्।

भनिन्छ, उचाइमा पुग्न जति मेहेनत गर्नुपर्छ, उचाइमा अडिएर थप सफलता हासिल गर्न त्यसभन्दा कैयौं गुणा बढी त्याग, संकल्प र ईच्छाशक्तिको जरुरत पर्दछ। उल्लेखित उपलब्धीहरूले एकातर्फ ज्ञान केन्द्रको गरिमा एकपछि अर्को बढ्दै गएको छ भने अर्कोतर्फ विद्यमान उचाइ र रफ्तार कायम गर्दै निरन्तर प्रगति गर्नुपर्ने ऐतिहासिक जिम्मेवारीसमेत थपिएको छ। निरन्तरताकै तहमा सोचेर भविष्यको जिम्मेवारी पूरा गर्नै नसक्ने परिस्थितिमा ज्ञान केन्द्र उभिएको कुरालाई गहिरो गरी महशुस गरेर मात्र हामीले भविष्यमा थप सफलता हासिल गर्न सक्नेछौं।

(४) साधारण सभाको तयारी

मार्क्सवादी ज्ञान केन्द्रको श्रावण २४ गते बसेको केन्द्रीय समितिको बिस्तारित बैठकले २०७८ भदौ १२ गते साधारण सभा सम्पन्न गर्ने निर्णय गर्‍यो। कोभिडको संक्रमण विद्यमान रहेको र संक्रमण थप बिस्तारित हुन सक्ने जोखिमका कारण यसपटकको साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न गरी वैधानिकताका निम्ति आवश्यक कानूनी प्रक्रिया पूरा गर्ने निर्णय गरिएको छ। सोही निर्णयबमोजिम हामी यो साधारण सभा तथा अधिवेशनमा उपस्थित छौं।

साधारण सभाका लागि विभिन्न समितिहरू गठन गरी कार्यसम्पादन गरिएको छ, जसअनुसार मनहरि तिमिल्सिनाको संयोजकत्वमा रेशमकुमार अधिकारी र कविराज पौडेल रहेको प्रतिवेदन लेखन समिति, विश्वेश्वर कट्टेलको संयोजकत्वमा सागर अधिकारी, पम्फा बसेल, राधिका ओझा र राजुराम सार्की भुल रहेको विधान संशोधन मस्यौदा समिति, इन्द्रराज भट्टराईको संयोजकत्वमा दुस्यन्त भट्टराई, प्रभाकर गुप्ता, नारायण बडाल, रेशम कटुवाल, डेलराज खनाल, जयशंकर धिताल र गीता थापा गड्तोला रहेको सदस्यता बिस्तार एवं अद्यावधिक समिति, जनार्दनबाबु कट्टेलको संयोजकत्वमा बाबुराम पोखरेल, सन्तोष न्यौपाने, पवन ढकाल र कल्पना थापा बस्नेत रहेको सञ्चार, सम्पर्क तथा समन्वय समिति, कविराज पौडेलको संयोजकत्वमा बाबुराम पोखरेल, हेमनाथ पौडेल, रामबहादुर खड्का र गीताप्रसाद श्रेष्ठ रहेको पाठ्यक्रम परिमार्जन समिति, नमिता न्यौपानेको संयोजकत्वमा इन्द्रराज भट्टराई, हुमनाथ न्यौपाने ‘सुदीप’, मणिरत्न श्रेष्ठ र जानुका पराजुली रहेको संगठनात्मक प्रस्ताव सहजीकरण समिति, खेलप्रसाद बुढाक्षेत्रीको संयोजकत्वमा इन्द्र गौतम र गीता थापा गड्तोला रहेको निर्वाचन समिति, हुमनाथ न्यौपाने ‘सुदीप’को संयोजकत्वमा इन्दिरा न्यौपाने र रमेशप्रसाद अधिकारी रहेको निर्णय पुस्तिका लेखन तथा बहस नोट समिति लगायतका समितिहरू छन्। उल्लेखित समितिहरूको तयारीपश्चात् हामी यो साधारण सभामा जुटेका छौं।

हामी चाहन्थ्यौं पहिलो साधारण सभा ऐतिहासिक महत्वको हुने भएकाले भौतिक रूपमै उपस्थित भएर सम्पन्न गर्न सकियोस्। तर, विश्वव्यापी कोभिड संक्रमणको कारण हाम्रो आकांक्षा सार्थकतामा परिणत हुन सकेन। तैपनि, साधारण सभालाई बढीभन्दा बढी अन्तरक्रियामूखी बनाउने, संस्थाको तीव्रतर विकासलाई केन्द्रमा राखेर नयाँ योजना निर्माण गर्ने र निर्मित योजनाको गुरूत्व बोक्न सक्ने संगठनात्मक संरचनाको विकास र जिम्मेवारी बाँडफाँड गर्न यो साधारण सभा सक्षम हुने विश्वास लिएका छौं।

(५) उपलब्धी, सीमा र चुनौतीहरू

मार्क्सवादी ज्ञान केन्द्रले अध्ययन/अध्यापनको प्रक्रिया अगाडि बढाउने क्रममा एकपछि अर्को सफलता र सफलतासँगै समस्या र चुनौतीसमेत बढ्दै गएको छ। संस्थाले यस अवधिमा हासिल गरेका उपलब्धीहरू, हाम्रा सीमा, समस्या, कमजोरी र चुनौतीहरूबारे संक्षेपमा निम्नानुसार संश्लेषण गरिएको छ।

(क) उपलब्धीहरू

१. १५ महिनाको दौरानमा ज्ञान केन्द्र जुन रफ्तारका साथ अघि बढिरहेको छ, यसले आफूलाई देशको एक बौद्धिक वामपन्थी पाठशालाको रूपमा स्थापित मात्र गराएको छैन, देशभरिका वामपन्थी, देशभक्त तथा परिवर्तनकामी जनमतको साझा मञ्चका रूपमा आफूलाई स्थापित गराएको छ।

२. पद्धतिसंगत एवं व्यवस्थित अध्ययन र अध्यापन संस्थाको अर्को महत्वपूर्ण उपलब्धी हो। १५ महिनाको अवधिमा निर्धारण गरिएका सबैजसो कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्न सक्नुले संस्थाको सामथ्र्य र गरिमालाई प्रतिविम्बित गर्दछ। अपर्झट आइपर्ने समस्याहरूको आंकलनसहित गरिएको यस प्रकारको सावधानी र पूर्वतयारीले ज्ञान केन्द्र एक व्यवस्थित स्कुलका रूपमा स्थापित भएको छ।

३. छोटो अवधिमा पाठ्क्रमको निर्माण, विधान, विनियम, कार्यविधि तथा आचारसंहितासहित वैधानिक व्यवस्थाका क्षेत्रमा गरिएका कामले संस्था व्यवस्थित मात्र भएको छैन, आठौं चरणसम्म सम्पन्न गरिएका कक्षाहरूले ज्ञान केन्द्रप्रति तल्लो तहसम्म जिज्ञासा, आकर्षण र अभिरूचि बढिरहेको अनुभूति भएको छ।

४. ज्ञान केन्द्रको सफलताको सबैभन्दा मुख्य कडी संस्थागत निर्णय र व्यक्तिगत उत्तरदायित्वको प्रणाली स्थापित हुनु नै हो। यस अवधिमा गरिएका हरेक निर्णय प्रक्रियामा जनवादी अभ्यास र निर्णयहरूको कार्यान्वयनमा जुन तत्परता देखिएको छ, यसले भविष्यमा ज्ञान उत्पादन र विकासको प्रक्रियामा समेत सामूहिकतालाई अभिप्रेरित गर्नेछ। अध्ययन/अध्यापनको काम व्यक्तिको निजी मामिला ठान्ने हाम्रो मनोवैज्ञानिक परिस्थितिका सन्दर्भमा यो अर्को महत्वपूर्ण उपलब्धी हो।

५. निर्जीवप्रायः रहेको अध्ययन संस्कृतिलाई पुनर्जागृत तुल्याउन संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। मुख्यतः ज्ञानको तिर्खा जागृत गर्ने ध्येयमा हामीले जुन सफलता प्राप्त गरेका छौं, जुन उत्प्रेरणा र सद्भाव प्राप्त गरेका छौं, यसले भविष्यमा निष्ठाको राजनीतिलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिन सकिन्छ।

६. ज्ञान केन्द्र मार्क्सवादका क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धान गर्ने एक साझा बौद्धिक संस्था हो, यद्यपि प्रारम्भमा यसको संरचना र प्रणालीमा जुन अभ्यास गरिएको छ, त्यसले मात्र साझा कार्यभार पूरा गर्न सक्दैन। तर, साझा मनोविज्ञानको विकासका निम्ति यसले तयार पारेको वैचारिक, भावनात्मक र संस्थागत पूर्वाधारले भविष्यमा ज्ञान केन्द्र एक प्राज्ञिक एकेडेमीका रूपमा स्थापित गर्न सकिने सम्भावनालाई बलियो तुल्याएको छ।

७. देशका प्रमुख वामपन्थी घटकहरू, वाम घटकका शीर्षदेखि नीति निर्माणमा प्रभाव राख्ने नेतृत्वको टीम, मार्क्सवादका अध्येता एवं विषयविज्ञहरूलाई कक्षा एवं डिस्कोर्सहरूमा सहभागी गराएर जुन प्रकृतिको अन्तरक्रिया जुन उचाइबाट सञ्चालन गरिएको छ, यसले नै ज्ञान केन्द्रलाई वामपन्थी जनमतको जरासम्म पुर्‍याउने पूर्वाधारको काम गर्नेछ।

८. डिजिटल पोर्टलको निर्माण, प्रशिक्षकहरूको उत्पादन, देशव्यापी कक्षा सञ्चालनको तयारीजस्ता गुरूत्वपूर्ण र रचनात्मक क्रियाकलापले मार्क्सवादी ज्ञान केन्द्रलाई ज्ञानको बहुआयमिक क्षेत्रमा प्रवेश मात्र गराएको छैन, ज्ञानको विविधतालाई संकेन्द्रित गर्ने राम्रो अवसरसमेत प्राप्त भएको छ।

९. पूँजीवादी युगका तीव्रतर रुपमा विकसित विज्ञान-प्रविधिको मानव जातिको हितअनुकूल प्रयोग गर्नु नै सच्चा मार्क्सवादीहरूको जिम्मेवारी हो। १५ महिनाको अवधिमा विज्ञान-प्रविधिको सकारात्मक र रचनात्मक प्रयोग गर्दै मार्क्सवादको अध्ययन/अध्यापनमा जुट्नु आफैमा नयाँ प्रयोग हो। यसले विज्ञान प्रविधिलाई कम्युनिस्टहरूले वर्गीय हितका निम्ति उपयोग गर्नसकिने यथार्थतालाई नै स्पष्ट गरेको छ।

उल्लेखित उपलब्धीको जगमा उभिएर भविष्यको योजना निर्धारण गर्न आवश्यक छ, जसले वस्तुवादी संश्लेषण र निर्णयका निम्ति मार्गनिर्देश गर्नेछ।

(ख) सीमा एवं चुनौतीहरू

१. एक जना कम्युनिस्ट कार्यकर्ताका लागि अध्ययन जीवन संस्कृति हो र हुनुपर्दछ। यसै अभिप्रायका साथ ज्ञान केन्द्रले अध्ययन/अध्यापनको प्रक्रियालाई जीवन संस्कृतिकै रूपमा अघि बढाउने जमर्को गरिरहेको छ। तर, ज्ञान केन्द्रको पदाधिकारी र कार्यकारी जिम्मेवारीमा रहेका कैयौं साथीहरूमा अध्ययनप्रति अरूचि देखा पर्नु भविष्यका निम्ति निकै ठूलो चुनौती हो। यस्तो प्रकारको प्रवृत्तिले ज्ञान केन्द्रमा उनीहरूको जिम्मेवारीले सार्थक परिणाम दिन त सक्दैन नै, जान वा अञ्जानमा समयको समेत बर्बादी भइरहेको हुन्छ। अध्ययनलाई जीवन संस्कृतिका रूपमा विकास गरेर मात्र यस्तो प्रवृत्तिलाई पराजित गर्न सकिन्छ।

२. आठौं चरणसम्म एउटै विषयवस्तुमा केन्द्रित रहेर उही तहको अध्यापनमा केन्द्रित रहँदा दुई वा दुईभन्दा बढी चरणमा सहभागी भएका सहभागीहरूमा मार्क्सवादी दर्शनलाई सीमित घेराभित्र राखेर बुझ्ने समस्या बढोत्तरी भइरहेको छ। यसले अध्ययनको सीमालाई मात्र बन्ध्याकरण गर्दैन, मार्क्सवादलाई २०/२५ घण्टा पढे पुग्ने सीमित सुत्रका रूपमा बुझ्दछ, यस प्रकारको बुझाइमाथि विजय हासिल गर्ने ठोस कार्ययोजना निर्माण नगर्ने हो भने हाम्रो शिक्षा हाम्रै भविष्यका लागि खतराको घण्टी बन्ने निश्चित छ।

३. जिम्मेवारी लिन तम्सिने तर पूरा गर्न तत्परता नदेखाउने समस्या पनि ज्ञान केन्द्रमा विकसित हुँदैछ। खासगरी फुर्सदको समयमा प्रारम्भ गरिएको यस प्रकारको अभियानलाई व्यस्त जीवनशैलीका बिच पनि प्रभावकारी रूपमा सञ्चालन गर्नका निम्ति दृढ इच्छाशक्ति चाहिन्छ। तर, त्यस प्रकारको इच्छाशक्तिमा पछिल्लो समय पूरानो टीममा क्रमशः गिरावट आउन थालेको देखिन्छ। तसर्थ, ज्ञान केन्द्रलाई जीवन संस्कृतिका रूपमा बुझ्ने चेतनाको निर्माण गरी सामूहिक उत्तरदायित्वको विकास हाम्रा लागि अनिवार्य शर्त बन्न गएको छ।

४. मार्क्सवाद सर्वहारा/श्रमजीवी वर्गको जीवनदर्शन हो, यो कुनै सुत्रमा अभिव्यक्त गर्न सकिने विषय होइन। तसर्थ, मार्क्सवादको अध्ययन गर्नुको अर्थ समकालीन समय, वर्गशक्ति सन्तुलन, उत्पादन पद्धतिको विकासको अवस्थितिका साथै वर्तमानमा उभिएको धरातल र यसका मौलिकताहरूको समेत अध्ययन गर्नु हो। यसका लागि सतही होइन, विषयको गहन अध्ययन र सही निष्कर्ष आवश्यक हुन जान्छ। जसरी एउटा चिकित्सकले गलत औषधी सेवनको सल्लाह दिँदा बिरामीको मृत्यु हुन्छ, त्यसैगरी एउटा मार्क्सवादी सहजकर्ताले छिपछिपे, सुत्रात्मक र आवरणात्मक शिक्षा दिँदा दर्शनप्रति प्रशिक्षार्थीको बुझाइ र विश्वदृष्टिकोण नै गलत बन्न जान्छ। ज्ञान केन्द्रमा आवद्ध सदस्यहरूले सोपानक्रमअनुरूप बौद्धिकताको विकास नगरी यस्तो खतरा टार्न सकिँदैन।

५. हाम्रो सक्रियता र गतिविधिको मात्रात्मक बढोत्तरीले मात्र ज्ञान केन्द्रको उचाइ नाप्न सकिँदैन। बरु, हामीले गर्ने विचारधारात्मक काम र त्यसले पैदा गर्ने तरंगले मात्र संस्था शक्तिशाली र दीगो बनाउने गर्दछ। यसका लागि पदाधिकारी र कार्यकारी सदस्यहरू नै सबैभन्दा बढी जिम्मेवार, अध्ययनशील र निरन्तर साधनामा केन्द्रित हुनुपर्दछ। विज्ञहरू बोलाएर कक्षा चलाउने र आफूले त्यसको व्यवस्थापन मात्र गर्ने सोंचले ज्ञान केन्द्रको अविछिन्न विकास सम्भव हुँदैन।

६. कम्युनिस्ट पार्टीका घटक र नेताहरूमा सैद्धान्तिक–वैचारिक ज्ञान भए पनि सोअनुरूपको व्यवहार नभएको टिप्पणी जनस्तरबाट उठ्ने गरेको छ। यसले एकातर्फ सिद्धान्तअनुरूपको व्यवहार आवश्यक रहेको तथ्यमा जोड दिन्छ। तर, अर्कोतर्फ पढेर के पो हुन्छ ? भन्ने अत्यन्तै घातक सोंच र चिन्तनको विकास हुँदै गएको छ। सिद्धान्तअनुरूपको व्यवहार नहुनुमा व्यवहारको नभएर विश्व दृष्टिकोणकै समस्या हो। मार्क्सकै भाषामा – अज्ञानताले विश्वमा कहीँकतै परिवर्तन र सामाजिक रूपान्तरणको नेतृत्व गरेको छैन। तसर्थ, जसले सिद्धान्त र विचारको अध्ययनमा जोड दिन्छ, अनुपातिक रूपमा त्यसले नै इतिहासमा बढी योगदान गर्दछ भन्ने तथ्यलाई अभियानकै रूपमा वामपन्थी जनमतको तल्लो तहसम्म स्थापित गर्न आवश्यक छ।

७. सतहमा नदेखिए पनि केन्द्रका पदाधिकारी र सदस्यहरूमा निरन्तर भावनात्मक एकता कायम राख्नुपर्ने चुनौती पनि हामीसामु उपस्थित हुँदैछ। रचनात्मक र सकारात्मक कामका निम्ति प्रतिस्पर्धा हुँदा संस्था र व्यक्तित्व विकासकै निम्ति सघाउ पुग्दछ। तर, त्यसविपरित हुने प्रतिस्पर्धा र ईष्र्याभावले व्यक्ति र संस्था दुवैको हित हुँदैन। यसतर्फ कार्यसमितिदेखि सदस्यसम्मका साथीहरू पूर्ण रूपमा सचेत रहन आवश्यक छ।

(६) योजनाको दिशानिर्देश

हाम्रो जीवन्त अनुभवले संस्थालाई थप परिस्कृत र व्यवस्थित बनाउने अवसर प्राप्त भएको छ। यस्तो अवसरको पूर्णतः सदुपयोग गर्ने गरी ज्ञान केन्द्रले आगामी कार्ययोजना निर्माण गर्न आवश्यक छ। आगामी योजना निर्माणका सन्दर्भमा ज्ञान केन्द्रले निम्न कुरामा ध्यान दिनुपर्दछ।

१. मार्क्सवाद आफैमा गतिशील र नवीनतम् विज्ञान हो, यसले आफूलाई निरन्तर परिस्करणको माग गर्दछ। तसर्थ, मार्क्सवादी ज्ञान केन्द्रले अध्ययन/अध्यापनको प्रक्रियालाई पनि जड अर्थमा होइन, वस्तुगत आवश्यकता र प्रशिक्षार्थीहरूको मनोविज्ञानका आधारमा निरन्तर परिस्करण गर्न आवश्यक छ। यसका निम्ति रचनात्मक नीति, कार्ययोजना र कार्यशैलीको विकासप्रति अभिरूचि राख्नुपर्दछ।

२. केन्द्र, प्रदेश, जिल्ला शाखा र प्रशाखासम्म ज्ञान केन्द्रको स्पष्ट कार्ययोजना र कार्यविभाजन हुन आवश्यक छ। यसका निम्ति केन्द्रको टीम उच्च तहको कक्षा सञ्चालन, विभिन्न वैचारिक एवं सामयिक विषयमा डिस्कोर्स, डिजिटल लाइब्रेरीको सञ्चालन, अभिमुखीकरण कक्षा सञ्चालन, अभ्यास प्रशिक्षण र प्रशिक्षकहरूको उत्पादन, एकीकृत लेखा प्रणालीको व्यवस्थापन, विभिन्न पुस्तकहरूको अनुवाद, लेखन र प्रकाशन, प्रचार एवं व्यवस्थित अभिलेख प्रणाली, केन्द्रीय तहको सम्पर्क र समन्वयको काममा केन्द्रित हुनुपर्दछ। प्रदेश कमिटी मध्यमस्तरको कक्षा सञ्चालन, सामयिक विषयमा केन्द्रित रहेर अन्तरक्रियात्मक कार्यक्रम, केन्द्र र जिल्ला शाखाबिच समन्वय, जिल्ला शाखा र स्थानीय प्रशाखाहरूको सिफारिस, व्यवस्थापन र नियमनमा केन्द्रित हुनुपर्दछ। त्यसैगरि जिल्ला शाखाले आधारभूत तहको कक्षा सञ्चालन, पुस्तक परिचर्चा कार्यक्रम, अन्तरक्रियात्मक कार्यक्रम गर्ने गरी कार्ययोजना निर्माण गर्न आवश्यक छ।

३. दर्शन, अर्थशास्त्र, समाजवाद, इतिहास र विज्ञान–प्रविधिमा वर्तमानमा जुन शीर्षकमा केन्द्रित रहेर अध्यापन भइरहेको छ, त्यसको मोडालिटीमा परिमार्जन गरेर मात्र मार्क्सवादको व्यापकतालाई वोध गराउन र सो आधारमा गहन अध्ययनका निम्ति अभिप्रेरित गर्न सक्छौं। तसर्थ, वर्तमानमा जुन विषयमा जसरी शीर्षकहरू छनोट गरी अध्यापन गरिएको छ, विषयको अन्तर्वस्तु यथावत रहने गरी विषयलाई फरक कोणबाट उठान र संश्लेषण गर्न जोड दिनु पर्दछ।

४. पाँच विषयमा संकेन्द्रित गरेर अध्ययन/अध्यापनको प्रक्रिया अगाडि बढाए पनि मार्क्सवाद ज्ञान र व्यवहारको विशाल महासागर हो भन्ने तथ्यलाई हामीले हृदयंगम गर्नुपर्दछ। उत्पादन पद्धतिको विकासको सापेक्षतामा दर्शन, विचार र विज्ञानको पनि निरन्तर विकास हुने गर्दछ भन्ने तथ्यप्रति सचेत रहँदै नवोदित ज्ञानका विविध शाखा र पक्षहरूमा समेत हाम्रो दृष्टि पुग्ने गरी कार्ययोजना निर्माण गर्नुपर्दछ।

५. समाजवादी संस्कृतिको निर्माणबिना समाजवादी क्रान्तिको आधार तयार पार्न सम्भव हुँदैन। संस्कृति विचारधाराको प्राथमिक स्रोतसमेत भएकाले हामीले मार्क्सवादी सौन्दर्य चिन्तन, सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको निर्माणलाई महत्वपूर्ण कार्यभारका रूपमा लिँदै सोहीअनुरूप कक्षाहरूको व्यवस्था गर्न आवश्यक छ।

६. मार्क्सवादी ज्ञान केन्द्रमा आवद्ध पदाधिकारी, प्रशिक्षक र सदस्यहरूको अध्ययनको स्तर उकास्न विभिन्न विषयसँग सम्बन्धित पुस्तकहरूको सूचि तयार पारी व्यवस्थित अध्ययनका निम्ति अभिप्रेरित गर्नुपर्दछ। अध्ययनका सन्दर्भमा कक्षादेखि कक्षासम्मको गोलचक्कर चिर्न यसप्रकारको योजना फलदायी हुनेछ।

७. मार्क्सवादी कक्षाहरूमा महिला साथीहरूको सहभागिता, ईच्छाशक्ति र तत्परता जुन उचाइमा देखा पर्दै गएको छ, हामीले सोही उचाइबाट जिम्मेवारी दिने, नेतृत्व विकासका लागि प्राथमिकता दिने, प्रशिक्षकहरूको उत्पादन र विकासका निम्ति ठोस कार्ययोजना निर्माण गर्न सकिरहेका छैनौं। आगामी दिनमा यसलाई कामको प्राथमिक सूचिमा समावेश गरी महिला नेतृत्व र प्रशिक्षकहरूको विकासमा जोड दिइनुपर्दछ।

८. ज्ञान केन्द्र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको एक गैरनाफामूलक बौद्धिक संस्था हो, कानूनी रूपमा यसको लेखापरीक्षण केन्द्रमा मात्र हुने गर्दछ। प्रदेश, जिल्ला शाख र प्रशाखाको आय–व्ययलाई एकीकृत र पारदर्शी बनाउनु हाम्रो नैतिक दायित्व मात्र नभएर कानूनी बाध्यतासमेत छ। तसर्थ, देशव्यापी हुने कार्यक्रम र त्यसको आम्दानी खर्चलाई केन्द्रमा नै एकीकृत गर्ने र केन्द्रले निश्चित मापदण्ड बनाएर नियमन गर्ने प्रणालीको विकास गरी प्रदेश र जिल्लाको अर्थप्रणालीलाई व्यवस्थित गर्नुपर्दछ।

९. हर कुनै संस्थाका पदाधिकारी र सदस्यहरूको काम, कर्तव्य र अधिकार तोकिएको हुन्छ। त्यो कानूनी विषय मात्र नभएर हरेक संस्थाको गतिशीलता र जीवन्तताको प्रश्न पनि हो। अध्यक्षले समग्र संस्थाको नेतृत्व र नीतिगत दिशानिर्देश गर्ने, महासचिवले दैनिक कार्यसम्पादन र संगठनको नेतृत्व गर्ने र कोषाध्यक्षले कोष तथा लेखा प्रणालीको व्यवस्थापन गर्ने जिम्मेवारी रहन्छ। तर, ज्ञान केन्द्रमा आ–आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक बहन गर्ने सवालमा सीमाहरू देखिन्छ। अध्यक्ष र महासचिवको जिम्मेवारीलाई सबैभन्दा सक्रिय र जिम्मेवार बनाएर मात्र त्यस्तो कार्यभार पूरा गर्न सकिन्छ। तसर्थ, व्यक्तिको रूचि, क्षमता, जिम्मेवारीवोध र समय व्यवस्थापनको कौशलका आधारमा जिम्मेवारी तोक्नु संस्थाको महत्वपूर्ण कार्यभार हुन आएको छ।

१०. कम्युनिस्ट आन्दोलन सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको अन्योन्यक्रिया पनि हो। हरेक निर्णयहरू उच्च जनवादको जगमा गर्ने तर तोकिएको जिम्मेवारीप्रति व्यक्ति उत्तरदायी रहनु कम्युनिस्ट क्रान्तिकारीहरूको नैतिक दायित्व हो। निर्णयमा सहमति तर कार्यान्वयनमा उदासिनताले संस्था गतिशील बन्न सक्दैन। तसर्थ, जिम्मेवारी लिने व्यक्तिले नियतवश, उदासिनता वा निस्क्रियताका कारण तोकिएको जिम्मेवारी पूरा नगरे तत्काल उपर्युक्त बिकल्प खोजेर अघि बढ्ने नीति लिनुपर्दछ।

११. अध्ययन/अध्यापनको हाम्रो अभियान अविछिन्न प्रवाह हो। यो औपचारिकताका निम्ति सञ्चालन गरिने अभियान होइन। समय व्यवस्थापनको कौशलका निम्ति तम्तयार रहने र रचनात्मक बिकल्पहरूबाट समेत समाधान खोज्न नसकिने परिस्थितिमा सहज रूपमा जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रियालाई हामीले संस्कारकै रूपमा विकास गर्नुपर्दछ। हामी रहौंला वा नरहौंला तर मार्क्सवादी ज्ञान केन्द्र अविछिन्न रूपमा रहनुपर्दछ भन्ने उदात्त भावनाले मात्र हामीलाई त्यस्तो त्यागका निम्ति अभिप्रेरित गर्नेछ। त्यसका लागि हरेक बैठकमा संक्षिप्त आत्मालोचनाको कार्यपद्धति विकास गर्न जरुरी छ।

१२. मार्क्सवाद त्यस्तो दर्शन हो, जसका बारेमा सर्वहारा/श्रमजीवी, किसान, सुकुम्बासी, गृहणी र पिँधमा रहेको वर्गले अध्ययन, विश्लेषण र प्रयोगमार्फत् आफ्नो मुक्तिको बाटो पहिल्याउँछ। तर, मार्क्सवादलाई वामपन्थी बुद्धिजीवीहरूको घेराभित्र सीमित गर्ने र बौद्धिक बिलासको माध्यमका रूपमा संकुचन गर्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा विद्यमान छ। तसर्थ, हाम्रो अभियान दूरदराजमा रहेका, प्रविधिको पहुँचभन्दा बाहिर रहेका मजदूर, संश्लेषित पुस्तकहरू अध्ययन गर्ने पहुँच नभएका किसान, सुकुम्बासी, गृहणी र समाजको तल्लो वर्गका जनसमूहलाई मार्क्सवादको अध्ययन गराई आफ्नो मुक्तिको मार्ग पहिल्याउन सहयोग गर्ने कार्यमा विशेष केन्द्रित हुनुपर्दछ।

(७) आगामी कार्ययोजना

ज्ञान केन्द्रको बिस्तृत कार्ययोजना साधारण सभाबाट निर्वाचित हुने कार्यसमिति, विभिन्न विभागीय समिति, प्रदेश समिति र जिल्ला शाखाहरूले निर्माण गर्नेछन्। तर, यहाँ आगामी कार्ययोजनाबारे संक्षेपमा केही विषय प्रस्ताव गरिएको छ।

(क) संगठन बिस्तार र सुदृढीकरण – साधारण सभाबाट निर्वाचित हुने कार्यसमितिले सल्लाहकार समिति, विभागीय समिति र प्रदेश समितिबारे आवश्यक निर्णय गर्नेछ। विभिन्न समितिहरू गठन गर्दा सम्बन्धित तहको नेतृत्व र कमिटीलाई काम गर्न सहज हुने कुरातर्फ विशेष ध्यान दिइनेछ। असोज १५ भित्र सबै तहका कमिटीको आधारभूत तहको संगठनात्मक काम सम्पन्न गरिनेछ।

(ख) संस्थाको सदस्यता – केन्द्र, प्रदेश र जिल्ला शाखामध्ये कुनै एक तहको कक्षा लिएर प्रमाणपत्र लिएको व्यक्तिलाई मात्र संस्थाको सदस्यता प्रदान गरिनेछ। कक्षा लिएका सबैलाई सदस्यता प्रदान गर्न असहज हुने परिस्थितिमा जिल्ला शाखाको मातहतमा अध्ययन परिषद गठन गरी संस्थासँगको सम्पर्क र सम्बन्ध अविछिन्न बनाउने नीति लिइनेछ। कक्षा लिएका सहभागीहरूलाई नयाँ कक्षाका लागि विद्यार्थीहरूको सम्पर्क जोड्ने सम्पर्कसुत्रका रूपमा व्यवस्थित गरिनेछ।

(ग) कक्षा सञ्चालन – केन्द्रीय तहमा २ महिनामा कम्तिमा एक चरणको उच्चस्तरीय भर्चुअल कक्षा सञ्चालन गरिनेछ। भौतिक रूपमा कक्षा सञ्चालन गर्न सकिने परिस्थितिमा केन्द्रको तर्फबाट वर्षमा कम्तिमा ३ वटा भौतिक कक्षा सञ्चालन हुनेछन्।

(घ) विभागीय समितिको काम – केन्द्रीय विभागहरूले निम्नानुसार कार्यसम्पादन गर्ने गरी वार्षिक कार्ययोजना निर्माण गर्नेछन्।

(१) अनुशासन विभागले केन्द्रीय पदाधिकारी, सदस्य, विभागीय समिति र प्रदेश समितिका पदाधिकारीहरूको सक्रियता, उपस्थिति, कार्यसम्पादन, अध्ययन संस्कृति, प्राप्त प्रतिफल, मार्क्सवादी संस्कृति र आचरण लगायतका विषयमा निरन्तर अनुगमन र निर्देशनको काम गर्नेछ।

(२) प्रशिक्षक विभागले केन्द्र, प्रदेश र स्थानीय तहका कक्षाहरूको निम्ति प्रशिक्षकको व्यवस्था गर्नेछ। यसका लागि मार्क्सवादको ज्ञान भएका र अभिरूचि राख्ने देशैभरिका व्यक्तित्वहरूको खोजी गरी प्रशिक्षकको बृहत रोष्टर तयार पार्नेछ। ज्ञान केन्द्रले उत्पादन गरेका प्रशिक्षकहरूको स्तरोन्नतिका लागि अभिमुखीकरण कक्षा सञ्चालन, पुस्तकहरूको रोष्टर तयार पारी अनिवार्य अध्ययन गर्न लगाउने र पुस्तकको अन्तर्वस्तु समेटेर गरिने कक्षाको व्यवस्थापन गर्नेछ। यसका साथै ज्ञान केन्द्रले उत्पादन गरेका प्रशिक्षकहरूलाई मध्यम तहको प्रशिक्षकका रूपमा विकास गर्न उनीहरूलाई सबै विषयको आधारभूत कक्षा लिन अभिप्रेरित गरिनेछ। जसले आधारभूत तहमा दर्शन, अर्थशास्त्र, समाजवाद, इतिहास र नेपाल परिचय अध्यापन गर्न सक्षम हुनेछन्, उनीहरूलाई मध्यम तहको प्रशिक्षकमा स्तरोन्नति गर्ने नीति लिइनेछ। तर, त्यस्तो स्तरोन्नतिको प्रक्रिया बाध्यात्मक नभई ऐच्छिक हुनेछ।

(३) सुपरीवेक्षण तथा मूल्यांकन विभागले केन्द्रमा सञ्चालन हुने परीक्षाको समग्र नेतृत्व गर्ने, प्रदेशमा सञ्चालन हुने कक्षाको सहयोग गर्ने तथा जिल्ला शाखाद्वारा सञ्चालन गर्ने परीक्षामा परीक्षकको व्यवस्था गर्नेछ। यस विभागले केन्द्रको अभिमुखीकरण कक्षाको सञ्चालनमा सहयोग गर्नेछ। केन्द्रमा अभ्यास प्रशिक्षणको प्रस्तुतिपछि अभ्यास प्रशिक्षकसँग आमनेसामने अन्तर्वार्ता लिएर मात्र प्रशिक्षणको रोष्टरमा नाम समावेश गर्ने गरी आवश्यक कार्ययोजना निर्माण गर्नेछ।

(४) अनुवाद, सम्पादन तथा प्रकाशन विभागले विभिन्न भाषाका अनुवादकहरूको रोष्टर तयार पार्नेछ। यसले वर्षमा कम्तिमा २० वटा सामग्रीहरूको अनुवाद र मार्क्सवादी ज्ञान केन्द्रका निम्ति आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरूको सम्पादनको काम गर्नेछ। कार्यालय तथा अभिलेख विभागसँग समन्वय गरी प्रकाशित सामग्रीको प्रदेश र जिल्ला शाखामा बिक्री/बितरण गर्नु विभागको जिम्मेवारी हुनेछ।

(५) प्रचार तथा पुस्तकालय विभागले ई-लाइब्रेरीमा अपलोड गर्न सकिने पिडिएफ पुस्तकहरू संग्रहित गर्नेछ। यस वर्ष कम्ति १०० पुस्तकहरू संकलन गरी वेभ पोर्टलमा अपलोड गरिनेछ। पुस्तकालयको पोर्टललाई नियमित अपडेट गर्नु विभागको जिम्मेवारी हुनेछ। ज्ञान केन्द्रका कार्यक्रम र गतिविधिहरूको व्यवस्थित प्रचारप्रसार गर्नु यस विभागको जिम्मेवारी हुनेछ। विभागले राष्ट्रिय स्तरका सञ्चारमाध्यम र सञ्चारकर्मीको अभिलेख तयार पारी सूचनाहरू नियमित रूपमा सम्प्रेषण गर्नेछन्। आवश्यकताअनुसार प्रेस विज्ञप्ति, विरोधपत्र, ध्यानाकर्षण लगायतका सामग्रीहरू तयार पार्ने जिम्मेवारी यसै विभागको हुनेछ।

(६) कार्यालय तथा अभिलेख विभागले ज्ञान केन्द्रका सम्पूर्ण सामग्रीहरू डिजिटल रूपमा सुरक्षित राख्नेछ। हरेक चरणका कक्षा र प्रशिक्षकहरू, प्रशिक्षार्थीहरू, प्रश्नपत्र र परीक्षाफल, कक्षाका नोट–स्लाइडहरू, पुरस्कार र मायाको चिनो सम्बन्धी सामग्रीहरू, साधारण र आजीवन सदस्यहरूको अभिलेख लगायतका सामग्री डिजिटल माध्यममार्फत् व्यवस्थित गर्नु यस विभागको जिम्मेवारी हुनेछ। विभागले केन्द्रीय नीति, निर्णय र कार्यक्रमहरूको सूचना सम्प्रेषण र अभिलेखहरूको केन्द्रिकरण गर्नेछ।

(७) महिला समन्वय विभागले भदौ मसान्तभित्र ज्ञान केन्द्रको कक्षा लिएका महिलाहरूको बृहत भेला गर्नेछ। यस विभागले कक्षा लिएका महिला सहभागीहरूसँग निरन्तर समन्वय गर्नेछ। मार्क्सवादप्रति रूचि राख्ने महिला नेता र प्रशिक्षकहरूको रोष्टर तयार पारी हरेक चरणको कक्षामा महिला प्रशिक्षकको व्यवस्था गर्नु यस विभागको जिम्मेवारी रहनेछ। हरेक तहका कमिटीमा महिलाको अर्थपूर्ण उपस्थितिका लागि जनशक्तिको व्यवस्था गर्नुसमेत यस विभागको दायित्व हुनेछ।

(८) वित्त विभागले केन्द्र, प्रदेश र जिल्ला शाखाका कार्यक्रमको आर्थिक व्यवस्थापन, नियमन र नियन्त्रणको काम गर्नेछ। प्रकाशनहरूको बिक्री बितरणको सहजीकरण, कक्षा र कार्यक्रमका लागि जुम, गुगल मिट लगायतका प्रविधिको व्यवस्था गर्नु यस विभागको जिम्मेवारी हुनेछ। आयआर्जनका लागि ठोस कार्ययोजना, त्यसका लागि प्रोपोजल निर्माण, अक्षयकोष निर्माण, कोष तथा लेखा व्यवस्था लगायतको काम कार्यतालिका बनाएर गर्नु यस विभागको जिम्मेवारी रहनेछ।

(९) व्यवस्थापन विभागले केन्द्रको निर्णय र निर्देशनबमोजिम कार्यक्रम, प्रविधि र कक्षाहरूको व्यवस्था गर्नेछ। केन्द्र, प्रदेश र जिल्ला शाखाले सञ्चालन गर्ने कक्षामा सहभागी प्रशिक्षार्थीहरूका लागि नमूना प्रमाणपत्र तयार पारी त्यसको समन्वय गर्ने काम यस विभागले गर्नेछ।

(ङ) जिम्मेवारी बाँडफाँड – अध्यक्षले समग्र संस्थाको वैचारिक नेतृत्व गर्ने, बैठकमा नीतिगत दिशानिर्देश गर्ने गरी जिम्मेवारी तोकिनेछ। वरिष्ठ उपाध्यक्षले प्रशिक्षण विभागको नेतृत्व गर्ने, उपाध्यक्षहरूले विभागीय वा प्रादेशिक कामको समन्वय गर्ने वा दुवै कामको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिनेछ। महासचिवका लागि बैठकको सूचना सम्प्रेषण गर्ने, बैठकमा सांगठानिक र कार्यक्रमिक प्रस्ताव प्रस्तुत गर्ने, प्रदेशहरूको समन्वय र सहजीकरण गर्ने, बैठकको परिपत्र जारी गर्ने लगायतको जिम्मेवारी तोकिनेछ। सचिवले विभाग वा प्रदेशको नेतृत्व गर्नेछ। कोषाध्यक्षले कोष तथा लेखा व्यवस्थापन र सदस्यहरूले प्रदेश र विभागको काम गर्ने गरी जिम्मेवारी तोकिनेछ।

(च) प्रदेश समितिको काम – प्रदेश समितिले वर्षमा कम्तिमा २ वटा मध्यमस्तरको कक्षा सञ्चालन गर्ने, तीन महिनामा कम्तिमा एउटा सामयिक डिस्कोर्स सञ्चालन गर्ने, खास पुस्तकमा केन्द्रित भएर पुस्तकको अन्तर्वस्तुबारे आन्तरिक प्रशिक्षण गर्ने, जिल्ला शाखा र स्थानीय प्रशाखाहरूको समन्वय गर्ने लगायतका काम गर्नेछ।

(छ) जिल्ला शाखाको काम – जिल्ला शाखाले वर्षमा कम्तिमा एउटा आधारभूत तहको कक्षा सञ्चालन गर्ने, महिनामा एउटा पुस्तक परिचर्चा कार्यक्रम गर्ने, वर्षमा एउटा सामयिक अन्तरक्रिया गर्नेछ।

(ज) कोष निर्माण – मार्क्सवादी ज्ञान केन्द्रका गतिविधिलाई नियमित र व्यवस्थित गर्न एक अक्षयकोषको निर्माण गरिनेछ। तीन वर्षभित्र अक्षयकोषलाई पूर्णता दिएर उक्त कोषको ब्याजमार्फत् नै संस्थाका नियमित गतिविधि सञ्चालन गरिनेछ। त्यसका लागि यस वर्ष अक्षयकोषको लक्ष्यमध्ये ३३% रकम संकलन गर्ने गरी काम अगाडि बढाइनेछ।

(झ) पाठ्यक्रम परिमार्जन – ज्ञान केन्द्रका पाँच विषय (दर्शन, अर्थशास्त्र, समाजवाद, इतिहास र विज्ञान–प्रविधि) यथावत राखी ‘नेपाल परिचय’ नामक विषय थप गरिनेछ। उक्त विषयभित्र नेपालको विशिष्टता, मौलिकता र भविष्यलाई संकेन्द्रित गर्ने प्रयत्न गरिनेछ।

(ञ) विभागीय र प्रादेशिक कार्ययोजना – साधारण सभाबाट निर्वाचित कार्यसमितिको जिम्मेवारी बाँडफाँड यथाशीघ्र सम्पन्न गरिनेछ। उक्त जिम्मेवारीअनुरूप सबै विभाग र प्रदेश समितिहरूले आफ्नो वार्षिक कार्ययोजना निर्माण गरी लागू गर्नेछन्।

(ट) विविध काम – कार्यालय सञ्चालन र व्यवस्थापनको कामलाई चुस्त बनाइनेछ। कार्ययोजनामा समावेश हुन नसकेका विषयहरूमा आवश्यकताका आधारमा निर्णय लिँदै अगाडि बढिनेछ।

साथीहरू,

उल्लेखित प्रस्तावहरू भन्नका निम्ति नभएर दृढतापूर्वक कार्यसम्पादन गर्नका निम्ति अगाडि सारिएका हुन्। ‘‘सफल व्यक्तिहरू फरक काम गर्दैनन्। तर, त्यही काम फरक तरिकाले गर्छन्’’ भन्ने भनाइलाई आत्मसात गरी काम गरौं। एक वर्षको दौरानमा हामीले जुन उपलब्धी हासिल गरेका छौं, यसको उचाइलाई कायम राख्दै थप प्रतिफलका लागि उत्साह र सम्पूर्ण उर्जाका साथ समर्पित होऔं। कम्युनिस्ट आन्दोलन र राजनीति विचारका आधारमा निर्देशित हुने परिस्थिति निर्माण गरौं। यसले मात्र हाम्रो राजनीति सुधार्नेछ, हाम्रो जीवन र भविष्य सुखद हुनेछ। सामूहिक प्रयत्नबाट प्राप्त सफलताले नै हामीलाई सफलताको चुचुरोमा पुर्‍याउनेछ। त्यसका निम्ति खुला हृदयले हाम्रो ध्येय, गन्तव्य र कर्ममाथि विमर्श र समीक्षा गरौं, मार्क्सवादी स्कुलको अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने ध्येयका साथ अघि बढौं, धन्यवाद।

(मार्क्सवादी ज्ञान केन्द्रको २०७८ भाद्र १२ गते सम्पन्न प्रथम साधारण सभा एवं अधिवेशनमा अध्यक्ष मनहरि तिमिल्सिनाद्वारा प्रस्तुत एवं पारित वार्षिक प्रतिवेदन।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्