कम्युनिस्ट पाठकलाई लेखक एवं चिन्तक रमेश सुनुवारका केही टिप्स

Ramesh_sunuwar
लोकपाटी न्यूज

बागबजारको साँघुरो गल्लीमा रहेको एउटा घरको कोठा जहाँ केही थान टेबुल र प्लास्टिकका कुर्सी छन्। कोठाको एउटा कुनाको र्‍याकमा किताबका चाङ छन्। भित्तामा मार्क्स, लेनिन, स्टालिन र माओका फोटो टाँसिएका छन्। एक सेट कम्प्युटर, एक थान गितार र हारमोनियमले कोठाको सान बढाएको छ। भित्ताको अर्कातिर टाँसिएको ब्यानरमा लेखिएको छ- मार्क्सवाद अध्ययन अनुसन्धान प्रतिष्ठान। त्यहाँ भेटिन्छन्, रामेछाप कुम्भुकास्थलीका ५४ वर्षीय रमेश सुनुवार।

मार्क्सवादी अध्ययन अनुसन्धानमा लागेका उनले आफूले मात्र पढेनन् अरूलाई पनि पढाएका छन्। अहिले पनि उनी आफूले पढ्न चाहेका किताब पाएनन् पीडीएफ डाउनलोड गर्छन् या अनलाइनमा किन्छन्। ‘किताब बुझ्न सचेत भएर पढ्ने हो’, उनी भन्छन्। पढ्ने उत्तम समय राति हो जस्तो लाग्छ उनलाई। सुनसान रातमा मधुरो आवाज निकालेर पढ्न रुचाउँछन् उनी। भन्छन्, ‘राति डिस्ट्रब हुँदैन। त्यसैले लामो समय पढ्न पाइन्छ।’ सस्वर पढ्दा ‘एक्टिभ’ हुने बताउँछन् उनी। मनमनै पढ्दा निद्रा लाग्न सक्छ। कसरी पढन्ते भए त सुनुवार?

गाउँको स्कुलमा उनी एकै पटक पाँच कक्षामा भर्ना भए। धन्न फेल भएनन्। उनले भने, ‘घरमा पढेको भरमा भर्ना भए पनि मुस्किलले पास गरेँ।’ ६ कक्षा पुग्दा पढ्ने तरिका बदले। सात वटा विषय थियो। साताको एक दिनमा एउटा किताब सक्थे उनी। सातामा सातै वटा किताब पढ्थे। भन्छन्, ‘एउटा किताब वर्षमा ४८ पटक पढ्न पाइने भएपछि किताब कण्ठै भयो नि।’ कलेजमा आइसकेपछि उनी किताब होइन विषयवस्तु पढ्न रुचि देखाए।

सुनुवारलाई पूर्वीय दर्शन र पश्चिमी दर्शनले खुबै तान्यो। यी दर्शन बुझ्न उनले संस्कृत र अंग्रेजी पढे। ‘सकिन्छ भने दुई वटा भाषा अनिवार्य बुझ्ने कोसिस गर्नुपर्ने रहेछ,’ उनी भन्छन्, ‘एउटा संस्कृत र अर्को अंग्रेजी। संस्कृत भाषाले इतिहास र सभ्यताबारे बुझाउँछ। आधुनिक ज्ञानका लागि अंग्रेजी पढ्न जरुरी छ।’

संस्कृत पढ्न उनी वाल्मीकि कलेजमा भर्ना भए। त्यतिले उनको ज्ञानको भोक मेटिएन। स्वअध्ययनका लागि ब्रिटिस काउन्सिल, भारतीय पुस्तकालय, रसियन कल्चर सेन्टर, त्रिवि केन्द्रीय पुस्तकालय, राष्ट्रिय पुस्तकालयमा धाए। बिहान खाना खाएर कोठाबाट निस्किएपछि उनी पुस्तकालय पुग्थे र पुस्तकालय बन्द नहुन्जेल पढ्थे। आफूलाई रामायणको २४ हजार श्लोक कण्ठस्थ रहेको उनी बताउँछन्। यस्तै महाभारत चार पटक बताउने उनी गीताका पनि सबै श्लोक कण्ठस्थ रहेको बताउँछन्।

किताब किन्न पैसा नहुँदाको दुःख पनि उनले भोगेका छन्। कलेज आउँदा रत्नपार्कको फुटपाथमा किताब फिँजाएर बेच्न राखिएको हुन्थ्यो। उनी ती किताब हेर्थे। एक दिन उनले पूर्वीय दर्शनको एउटा किताब देखेर खुसी भए। तर किताब किन्ने पैसा नहुँदा दुःखी भएको सुनाउँछन् उनी। डेढ सयको किताब किन्न नपाउँदा उनी पिरोलिए। हरेक दिन फुटपाथको किताब पसल पुग्दा उनी टोलिन्थे र किताब छोएर खाली हात कलेज पुग्थे। ‘त्यो किताब कसैले किनेर लैजालान् कि भन्ने खुब डर लाग्यो,’ उनले भने।

एक दिन उनलाई पल्लो कोठामा बस्ने केटाकेटीलाई ट्युसन पढाइदिन अनुरोध आयो। उनी राजी भए। पैसा कुरा भयो। उनले बैना मागे १ सय ५० रुपैयाँ। बैना पनि पाए। दौडिएर गएर त्यो किताब किने। सुनुवार भन्छन्, ‘जब अरू विषय पढ्दै गएँ, त्यो किताब माइनर हुँदै गयो।’

मन परेको किताब किन्न नपाउँदा उनी छटपटिन्थे। पैसा अभावमा उनले कयौं किताब किन्न पाएनन्। तैपनि जीवनमा २० लाख जतिको किताब किनेको उनी बताउँछन्। उनले सेकेन्डह्यान्ड किताब कहिल्यै किनेनन्। न कसैबाट किताब उपहार पाए न मागेर नै किताब पढे।

किताब किन्दाको एउटा किस्सा यस्तो छ सुनुवारको-

२०५६ सालमा उनी ल क्याम्पसमा पढ्थे। जाउलाखेलबाट बस चढेर भृकुटीमण्डप आउँथे। आउँदा-जाँदाको गाडी भाडा थियो दुई–दुई रुपैयाँ। उनले उपाय सोचे। हिँडेर आउजाउ गरे त महिनाको सय रुपैयाँ जति जोगिने रहेछ। ‘दिउँसोको कक्षा भएकाले त्यो हिम्मत आएको थियो,’ उनी भन्छन्। यसरी उनी दुई महिना हिँडे। दुई सय रुपैयाँ बचाएपछि श्रीमद्भागवत पुराण लगायत केही पुस्तक किनेर पढे।

संस्कृतमा किन रुचि? उनी भन्छन्, ‘ज्ञानको क्षितिज फराकिलो बनाउनु थियो। त्यसैले म विश्लेषणात्मक ढंगले पढ्नुपर्छ भन्ने सोचेर संस्कृतका पुस्तक पढ्थें।’

वाल्मीकि कलेजमा पढ्दा उनको भेट शिवराज आचार्यसँग भयो। आचार्यले तीन वटा विषयमा आचार्य, पीएचडी र डिलिट गरेका थिए। तर उनले सहप्राध्यापकबाटै अवकाश पाए, प्राध्यापक भएनन्। त्यसको पनि एउटा किस्सा सुनाए सुनुवारले।

‘आफूले जति पढेको छैन भन्ने भ्रम थियो उहाँलाई,’ सुनुवार भन्छन्, ‘सहप्राध्यापकमा त सीधै बढुवा हुन पाइने रहेछ तर प्राध्यापक हुन परीक्षा दिनुपर्ने रहेछ। तिनलाई लाग्थ्यो मलाई कसले परीक्षा लिने?’

मार्क्सिजम पढ्दा पनि कतिपयले अरू कोणबाट नहेरेको बताउँछन् उनी। आफूले पढेको विषयको अन्तरसम्बन्ध खोज्छन् सुनुवार। तर्कमा पराजित गर्ने गरी पढ्न सक्नुपर्ने उनी बताउँछन्। भन्छन्, ‘समग्र रूपमा ध्यान दिनुपर्छ। जस्तोसुकै तर्क भए पनि सामना गर्ने गरी पढ्नुपर्छ।’

पूर्वीय दर्शन बुझ्नका लागि पहिलो किताब गीता हो भन्छन् सुनुवार। ‘गीताचाहिँ पूर्वीय दर्शनको मूल ग्रन्थ हो किनकि गीताले पूर्वीय दर्शनको समष्टिगत रूपमा हेर्छ।’ तर, पश्चिमा दर्शन खण्ड खण्डमा पढ्नुपर्ने हुन्छ। एउटा सूत्र हेगलको ‘द्वन्द्ववाद’ मा पाइन्छ। हेगलको द्वन्द्ववादमा समग्रमा बताएझैं पूर्वीय दर्शनलाई समग्रमा बताउन सक्नेचाहिँ गीता मान्छन् सुनुवार। संस्कृतमा आचार्य गरेपछि अंग्रेजी साहित्यमा स्नातकोत्तर गरे उनले।

उनी दृष्टि, बुधबार, प्रकाश, जनआस्थाजस्ता पत्रिकाका नियमित पाठक थिए। कुनै बेला यी पत्रिका हालका वामपन्थी नेता र पार्टीका मुखपत्रजस्ता थिए। सूर्य, एक्काईसौं शताब्दी, मूल्यांकनजस्ता पत्रिकाको सबै अंक किन्थे। ‘मूल्यांकनभन्दा पनि एक्काईसौं शताब्दी राम्रो थियो’, भन्छन्, ‘सम्पादक थिए अग्निशिखा। त्यसमा चे ग्वभेराको बारेमा लेख्थे उनी। तिनका लेख निकै शक्तिशाली हुन्थे। उनले लेखेको ‘वधशालाको विरुद्धमा’ कटिङ अझै छ मसँग।’

न्युजबिक, टाइम पनि खुब पढेको सुनाउँछन् सुनुवार। अध्ययनकै क्रममा उनले मार्क्सको पुँजी पढे। तर बुझेनन्। हेगलको ‘साइन्स अफ लजिक’ पढे। अनि मात्र पुँजी बुझेको उनी बताउँछन्। भन्छन्, ‘लेनिनले भनेका छन् हेगलको ‘साइन्स अफ लजिक’ नपढी मार्क्सको पुँजी बुझिँदैन। मलाई पनि त्यस्तै भयो।’

मार्क्सवादको अध्ययनमा लागेपछि अध्यात्मबाट भौतिकवादमा लागे। भन्छन्, ‘भौतिकवादी हुन पुगेको मार्क्सवाद र विज्ञान पढेर हो।’ भौतिकवाद हुनुको जस उनी विज्ञानलाई दिन्छन् र वैचारिक विचारधारा बुझ्न दर्शन पढ्नुपर्ने बताउँछन्। अहिले उनी समाजवादको बाटो हिँडेका छन्।

‘सोसल मुभमेन्ट बुझ्न सोसोलिज्म पढें। सुरुवाती दिनमा भौतिकवादलाई ठूलो उचाइमा राखेको थिइनँ,’ भन्छन्, ‘मार्क्सवाद र विज्ञान पढ्न थालेपछि अध्यात्मवादबाट भौतिकवादतिर प्रवेश गरेँ।’

२०५२ एमालेको नौ महिने सरकार ढलेपछि चुनावी प्रक्रियाबाट नेपालमा कम्युनिस्ट व्यवस्था ल्याउन नसकिने रहेछ भन्ने निष्कर्षसहित उनले एमालेको लाइन परित्याग गरे। अध्ययनमा एकोहोरिए। पाँच वर्षको अध्ययनबाट उनी नयाँ निष्कर्षमा पुगेछन्- अब पुरानो मोडलबाट क्रान्ति हुँदैन। उनको दाबी छ, ‘मैले समाजवादी क्रान्तिको नयाँ अवधारणा (जुन अहिले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले प्रयोगमा ल्याएको छ) २०५६ सालमै ल्याएको थिएँ।’

माओवादी जनयुद्धका कारण आफ्नो विचारलाई कसैले महत्त्व नदिएको उनको भनाइ छ। घनश्याम भुसालसँग पनि यो अवधारणामाथि बहस गरे। तर उनले पनि बेवास्ता गरेको तितो अनुभव छ सुनुवारको।

उनलाई नेपालका कम्युनिस्ट पाखण्डी लाग्छन्। ‘अध्यात्मवाद र भौतिकवाद दुवै हुन खोजेर कम्युनिस्ट बिग्रिए। आइन्स्टाइनको लेखनमा अध्यात्मवादको नामोनिसान छैन, भौतिकवाद मात्र छ,’ उनी भन्छन्, ‘तर पनि उनी अध्यात्ममा आस्था राख्थे। मार्क्सवादले चाहिँ अध्यात्मवादबाट भौतिकवादमा रूपान्तर गर्छ।’ त्यो रूपान्तर सहज नभएको उनी बताउँछन् ।

सुनुवारले चार सय किताब नेपालीमा अनुवाद गरेका छन्। अनुवादक हुनका लागि अनुवाद गरेका होइनन्। पढ्नै पर्ने किताबलाई मसिनो ढंगले पढ्दै जाँदा अनुवाद गरे। उनी भन्छन्, ‘म पेसेवर अनुवादकचाहिँ होइन। जति गरेँ पढ्ने क्रममा गरेँ।’

पहिलो अनुवाद गर्दाको घटना पनि रमाइलो रहेछ।

२०५६ सालतिर डिल्लीबजारको प्रगति पुस्तक पसलमा बाम बुद्धिजीवीको बाक्लै उपस्थित हुन्थ्यो। मसाल पार्टीका कम्युनिस्टको आउजाउ हुन्थ्यो। पुस्तक पसल मसालका सदस्यले चलाएका थिए। पसले साहुसँग राम्रै सम्बन्ध थियो उनको। त्यहाँ केही दुर्लभ पुस्तकका बारेमा चर्चा हुन्थ्यो। तर कहाँ पाउने? कसले ल्याइदिने? कसले नेपालीमा अनुवाद गरिदेला भन्ने भइरहन्थ्यो। एक दिन तिनै साहुले सुनुवारलाई ‘जनवादी शिक्षा’ शीर्षकको अंग्रेजी किताब ल्याइदिए।

अमेरिकी लेखकको सो किताब नेपालमा आएपछि अनुवाद गर्न हतारिए प्रगति पुस्तकका साहुजी। कम्युनिस्टका लागि मात्रै नभएर शिक्षा क्षेत्रलाई पनि सो पुस्तक आवश्यक थियो। सुनुवार त्यो किताब अनुवादमा लागे। अनुवाद गरेर त बुझाए तर त्यसपछि किचलो सुरु भयो। उनी भन्छन्, ‘खासमा किताब मसाल पार्टीले छाप्ने रहेछ। पार्टी बाहिरका मानिसलाई अनुवाद गर्न नदिने रहेछ पार्टीले। पार्टीभित्रका मान्छेले अनुवाद गरेको मात्रै छाप्ने भएपछि खिन्न भएँ।’

उनले अनुवाद गरेको पाण्डुलिपिलाई युवराज पन्थी र प्रेम सागर नामका दुई जनाले केरकार गरेर ल्याए। त्यस विषयमा निकै छलफल भयो। तर ‘जनवादी शिक्षा’ अनुवादक रमेश सुनुवारको नाममा छापिएन।

यस्तैमा उनले विश्वप्रसिद्ध व्यक्तित्वले महिलामाथि लेखेका किताबको अनुवाद गरे। पाण्डुलिपि बोकेर प्रगति पुस्तकमा गए। साहुजी खुसी भए। पुस्तक छापियो। किताब राम्रै बिक्यो पनि। उनी भन्छन्, ‘महिलाका सम्बन्धमा नेपालीमा डकुमेन्ट आएको त्यो पुस्तक पहिलो थियो। त्यसैले चल्यो।’

अहिले पनि मार्क्सवाद अध्ययन अनुसन्धान प्रतिष्ठान कार्यालयमा उनी किताबहरूसँगै भुलिरहेका हुन्छन्। मार्क्सवाद अध्ययन गर्न दैनिक दर्जनौं मानिस पुग्छन्। सुनुवार आफूले मात्र पढेनन्। अरूलाई पनि पढाएका छन्। पूर्वमन्त्री देवी खड्का, सभासद् अन्जना विशङखेलगायत उनका शिष्य हुन्। जसले सुनुवारबाट समाजवाद पढेका छन्। सुनुवार भन्छन्, ‘अबको बाटो समाजवादी क्रान्ति हो। त्यसैले नयाँ पुस्ताले पढ्न जरुरी छ।’

भाडाको कोठामा बस्दै आएका सुनुवारले किनेका किताबले कोठा भरियो । कि कोठा बढाउनु पर्‍यो कि किताब घटाउनु पर्‍यो। उनले दुई बोरा किताब छानेर कवाडी संकलकलाई बोलाए। तर कवाडी संकलकले किताबमा रुचि देखाएनन्। उनीहरूलाई पत्रिकामा नाफा हुँदो रहेछ।

दुई सय रुपैयाँमा एक बोरा किताब लैजान अनुनय गर्दा पनि कवाडी संकलकले मानेनन्। बल्लतल्ल प्रतिबोरा पाँच रुपैयाँमा लैजान राजी भए। पछि पछिदेखि किताब पुस्तकालयलाई दिन थाले। सुनुवारलाई लाग्छ, ‘सबैभन्दा व्यवस्थित माध्यम हो पठन।’

थोरोको भनाइ पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन भनेझैं सुनुवारले किताब किन्नकै लागि सर्ट र पाइन्ट कहिल्यै सँगै किनेनन्। उनी भन्छन्, ‘कपडा किन्न थाल्यो कि किताब किनौंकिनौं हुन्थ्यो। सर्ट किने पाइन्ट नकिन्ने पाइन्ट किने सर्ट नकिन्ने गर्न थालें।’ सुनुवार पुरानो सर्टमा नयाँ पाइन्ट लगाउँथे। नयाँ पाइन्टमा पुरानो सर्ट लगाउँथे। बचेको पैसाले किताब किन्थे। उनी भन्छन्, ‘किताब किन्दा र पढ्दाको खुसी अमूल्य हुन्छ।’ –नेपालसमयबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्