‘राजनीतिक संस्कार र स्थिरताको सवाल’

Binod Dhaulagiri pic
  • 159
    Shares
लोकपाटी न्यूज

-विनोद धौलागिरि

अमेरिकी राजनीतिशास्त्री लुसियन पाई भन्छन्, “राजनीतिक संस्कार धारणा, विश्वास र भावनाहरुको समष्टिगत रुप हो, जसले राजनीतिक प्रणालीलाई अर्थपूर्ण बनाउँछ र मार्गदर्शन गर्दछ। यसले राजनीतिक प्रणालीलाई स्पष्ट दिशानिर्देश गर्दछ।” ब्रिटानिका शब्दकोषका अनुसार राजनीतिक संस्कारले नागरिकहरु राजनीतिक पद्धतिलाई कसरी हेर्छन् र यसको वैधतामा कत्तिको विश्वास गर्छन् भन्ने कुरामा सरोकार राख्दछ। कोही व्यक्ति विशेषप्रति कोही व्यक्तिले गर्ने टिकाटिप्पणी वा आलोचनामा केन्द्रित हुँदैन।

वास्तवमा, राजनीतिक संस्कार भनेको व्यक्तिहरुमा रहेको दृष्टिकोण र अभ्यासहरुको समष्टी रुप हो, जसले राजनीतिक व्यवहारलाई निर्देशित गर्दछ । यसभित्र नैतिक निर्णय, राजनीतिक कथन, विश्वास र विचारहरु समाष्टि हुन्छन, जसले असल समाज निर्माणका लागि योगदान गर्दछ।राजनीतिक संस्कार कुनै पनि राजनीतिक पद्धति वा प्रणाली, दल र सरकारको नीतिको प्रतिविम्व हो, जसमा ऐतिहासिक र साँस्कृतिक अवधारणाहरुले प्रभाव पारेका हुन्छन्। राजनीतिक संस्कार यसर्थ महत्वपूर्ण छ कि यसले समुदायको राजनीतिक धारणा र कार्यहरुलाई आकार दिने कार्य गर्दछ।राजनीतिक अभिमुखीकरण र दलीय आचरण तथा अनुशासन, शिक्षा, सार्वजनिक कार्यक्रम र विगतको समीक्षाले राजनीतिक संस्कारमा परिमार्जन ल्याउन सकिन्छ। त्यसैले, एकै देशभित्र पनि भूगोल, दलविशेष र सामाजिक परिवेशले पनि राजनीतिक संस्कारमा परिवर्तन ल्याउँछ।

राजनीतिक संस्कार माथिको अध्ययन

राजनीतिक संस्कृति र संस्कारको बारेमा पूर्वीय देशहरुमा त्यति धेरै अध्ययन नभए पनि पश्चिमी मुलुकहरुमा यसको गहन अध्ययन गर्ने गरिएको पाइन्छ। अमेरिकी राजनीतिशास्त्री ग्याब्रियल अल्मोण्ड र सिड्नी वर्बाको  ‘The Civic Culture’ (1963)  यसको एक उदाहरण हो। अमेरिका, बेलायत, जर्मनी, इटाली र मेक्सिकोगरी पाँच देशमा गरिएको सर्वेक्षणमा आधारित भएर गरिएको खोज कस्तो राजनीतिक संस्कारमा ‘उदार लोकतन्त्र’ को चरम विकास हुन सक्छ भन्नेमा आधारित थियो। सीमित अधिकारसहितको प्रजातन्त्र, सीमित सहभागितामूलक प्रजातन्त्र र पूर्ण सहभागितामूलक प्रजातान्त्रिक प्रणालीगरी तीन किसिमको प्रणालीको गहन अध्ययन गरिएको थियो।

उनीहरुको निस्कर्ष थियो, “उदार प्रजातन्त्र फस्टाउनका लागि सीमित सहभागितामूलक राजनीतिक प्रणाली हुनु आवश्यक छ”, जसलाई उनीहरुले नागरिक संस्कृति (Civic Culture) भनेका छन्। नेपालजस्तो मुलुकमा रहेको तीन तहको सरकार स्थिर बन्नका लागि कस्तो नागरिक संस्कृति आवश्यक पर्ला ? वा कस्तो राजनीतिक संस्कार आवश्यक पर्ला ? एकले अर्कोलाई होच्याउने र दलाल करार गर्ने राजनीतिक संस्कारको जगमा लोकतान्त्रिक गणतन्त्र फस्टाउन सक्छ कि सक्तैन ? दलहरुले भनेजस्तो ‘समृद्धि’ आउनका लागि दलहरुमा कस्तो राजनीतिक संस्कार आवश्यक पर्ला र दलहरुले आफ्ना मतदातालाई कस्तो राजनीतिक संस्कार दिनुपर्ला ?

अस्थिर राजनीति

राजनीतिक स्थिरता भन्नाले मूलतः दुई क्षेत्रमा स्थिरता भन्ने बुझिन्छ : क. सरकारको स्थिरता ख. सामाजिक स्थिरता। नेपालका जुनसुकै स्वरुपका प्रजातान्त्रिक वा लोकतान्त्रिक प्रणालीमा सरकारको स्थिरता हुन नसक्नु एक प्रमुख कमजोरी हो। राजनीतिसँगै जोडिएर आउने लैंगिक, जातीय, क्षेत्रीय, भाषिक र अन्य सवालहरुका कारण सामाजिक स्थिरता समेत कायम हुन सकेको छैन।

सत्तरी वर्षको दलीय राजनीतिक यात्रा नेपालमा निकै उतारचढावपूर्ण रहे। दलीय प्रजातन्त्रको स्थापनापश्चात्का ८ वर्ष २००७ देखि २०१५ सम्म निकै तरल रह्यो। तत्पश्चात् गठन भएको सरकारले राजनीतिक दलीय संस्कारको जरा गाड्न नपाउँदै गैरदलीय राजनीतिक व्यवस्थाको सुत्रपात भयो। गैरदलीय राजनीतिक व्यवस्था समेत अविच्छिन्न रुपमा अघि बढ्न सकेन। विभिन्न आन्दोलन, काण्ड र अन्ततः जनमत संग्रहहुँदै ३० वर्षको यात्रा पूरा गरेपछि सो व्यवस्थामा पूर्ण विराम लागेर पुनः दलीय व्यवस्था थालनी भयो।

२०४६ सालको राजनीतिक परिवर्तनपछि कुनै पनि दशक राजनीतिक स्थिरता भएन। बहुदलीय व्यवस्थाको पुनःस्थापनाको ६ वर्ष बित्न नपाउँदै व्यवस्थाविरुद्ध नै सशस्त्र युद्धको थालनी भयो। यसबीचमा धेरै उतारचढाव भए। राजबाट एकतन्त्रीय शासन सञ्चालन गर्ने प्रयास समेत भयो। संविधान निर्माणका लागि चुनिएका जनप्रतिनिधि रहेको संविधानसभाले पाँच वर्षसम्म एउटा संविधानसम्म जारी गर्न सकेन । त्यस बीचमा समेत राजनीतिक तरलता बढ्दै जाँदा व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा गर्ने प्रयास गरिए। अन्ततः २०७२ सालमा संविधान जारी भयो, मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रुपान्तरण भयो।

त्यसपछि गठन भएको स्पष्ट बहुमतसहितको (करिब दुई तीहाइको) सरकार समेत पूरा समय सञ्चालन हुन सकेन। दुई पटकसम्म प्रतिनिधिसभा भंग गरियो, अदालतको आदेशले अहिले प्रतिनिधि सभा ब्युँतिएको छ। लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछिको पहिलो संघीय सरकार समेत स्थिर बन्न सकेन, न त प्रदेश सरकार नै स्थिर बन्न सके। यसअघिका संघीय सरकारबाट आफ्नो दलीय अभिष्ट पूरा नहुँदा प्रदेश सरकार नै विघटन गरिदिने धम्की सार्वजनिक समेत भए। धविघटन गर्न नमिल्ने भएकोले मात्र स्थानीय सरकारहरु परिवर्तन भएका छैनन्। तर, राजनीतिक दलबदलका कारण कतिपय स्थानीय तहहरु अहिले नेतृत्वविहिन बनेका छन्।

नराम्रो करार गर्ने होडबाजी

विचार र दर्शनभन्दा पनि लाभको दृष्टिकोणबाट सञ्चालन हुने सरकारहरु कहिल्यै पनि विपक्षीहरुप्रति सहिष्णु हुन सकेनन्। नेपालको संसदीय व्यवस्था हेर्ने हो भने कुनै पनि सरकारले पूरा पाँच वर्ष शासन सञ्चालन गर्न सकेका छैनन्। यसका तात्कालीक कारण जेसुकै भए पनि नेपालमा व्याप्त ‘बदलाको राजनीति’ ले राजनीतिक अस्थिरता जन्माइरहेको छ।

राजनीतिक दलहरुबीचको राजनीतिक व्यवहार समेत सहिष्णु हुन सकेको देखिदैन। आफू अनुकूल हुँदा गाईको दूधले नुहाएको हुने र अनुकूल नहुँदा त्यही राजनीतिक शक्ति सामन्त, प्रतिक्रियावादी, अराजक, भ्रष्ट देखिने स्वार्थी संस्कारले दल र आमजनतामा समेत जरा गाडिसकेको छ। कुनै पनि दलहरु यस मामिलामा अछुतो रहन सकेका छैनन्, अझ आफूलाई वामपन्थी बताउने दलहरुमा त आफूबाहेकका सबै दललाई उग्रपन्थी, दक्षिणपन्थी, दलाल पूँजीवादी, सामन्तवादी, जडसूत्रवादी, अधिभूतवादी, सम्झौतापरस्त करार गर्ने काम ‘न्यूनतम राजनीतिक संस्कार’जस्तै बनिसकेको छ।

पञ्चायत कालमा बहुदलवादीहरु अराष्ट्रिय तत्व कहलाइए, फलस्वरुप बहुदल प्राप्तिपछि पनि पञ्चायती मलजल भएकाहरुले दलहरुलाई सधैंभरी देशबेचुवा र अराष्ट्रिय नै देखिरहे। दलहरुले पुराना पञ्चायत समर्थकहरुलाई सधैभरी निरंकुश र राजावादी नै करार गर्न लागिरहे। वामले लोकतान्त्रिक शक्तिलाई सधैंभरी भारत र अमेरिकाको पुच्छर देख्ने र लोकतान्त्रिकले वामलाई सधैंभरी तानाशाही देख्ने दृष्टिमा फेरबदल आउन सकेन। नतिजा, बहुदल आएपछि काँग्रेस र कम्युनिष्टबीच बोलचाल बन्द भयो। कम्युनिष्टले ६० वर्ष पुगेकालाई वृद्धाश्रममा लगेर छोडिदिन्छन् भन्ने हल्ला दलका प्रतिष्ठित नेताहरुले नै चलाए। फलानाले फलानो नदी बेच्यो भन्ने नारा घन्किइरहँदा महाकालीमा फलानाले बेच्यो भनेर अर्कोले नारा बनाइरह्यो।

हिजोका एमाले काँग्रेसले नै तत्कालीन माओवादीलाई आतंककारी करार गरे। पछि त्यही शक्तिको आडमा गणतन्त्र आयो। गणतन्त्रपछि पनि एउटा वामपन्थी शक्तिको नेतृत्वमा रहेको पूर्ण शक्तिशाली सरकारले अर्को वामपन्थी दलमाथि प्रतिवन्ध लगायो, र आतंककारीको व्यवहार गर्‍यो। दुई चार स्वार्थ मिल्नासाथ प्रतिवन्ध फकुवा गर्‍यो। यो प्रतिवन्ध फुकुवामा न शान्ति सम्झौता गर्नुपर्‍यो, न त हतियार व्यवस्थापन नै। जो जहाँ जस्तो अवस्थामा थियो, त्यस्तै रह्यो, मात्र निधारमा लागेको टीकाको रंग फेरियो।

उही र उस्तै गठवन्धन हुँदा हिजो त्यो लोकतान्त्रिक र गणतान्त्रिक बन्यो, आज त्यो अपवित्र बनेको छ। गठवन्धनमा पवित्रता र अपवित्रताको मापक के हो ? नेपाली राजनीतिमा बनेको छैन। हिजो दुई वामपन्थी दल एकता भएर एक बन्दा लोकतन्त्रवादी दलले त्यसलाई अपवित्र जठजोड देख्यो, आज वाम र लोकतान्त्रिकले गठवन्धन बनाउँदा अर्को वामले ‘स्वार्थले भरिएको’ देख्छ।

फेरी एक पटक नेपालमा दलहरु जुट्ने र फुट्ने क्रम जारी छ। अर्को दलको व्यक्ति आफ्नोमा आउँदा ‘महान् क्रान्तिकारी कमरेड’ बन्ने र आफ्नो दलको सांसद प्रचलित कानुन अनुसार अर्को दलमा जाँदा ‘विरालेले भान्छा फेरेको’ करार गर्ने परिपाटीबाट कस्तो राजनीतिक संस्कार जन्मिएला ? कस्तो राजनीतिक संस्कार बस्ला ?

विलक्षणताको खोजीमा देवत्वकरण: अवसरवादलाई मलजल

यही कमजोर राजनीतिक धरातल, गाली चेत र राजनीतिक कुसंस्कारको बीचमा आफूलाई राम्रो देखाउनका लागि नेतृत्वको विलक्षणीकरण वा देवत्वकरण गर्ने परिपाटीले राजनीतिक संस्कारलाई झनै कमजोर बनाइरहेको छ। अर्को शब्दमा, आफ्नो तेतृत्वको ‘देवत्वकरण’ र अर्को दलको नेतृत्वको ‘दानवीकरण’ गर्ने परिपाटीले अवश्य पनि असल नागरिक संस्कारको विकास गर्न सक्तैन। नेपालमा, मूलतः २०४६ पछि नेतृत्वको देवत्वकरण गर्ने र नेतृत्वले समेत सामुहिकतामा विश्वास नगर्ने परिपाटीको प्रत्यक्ष प्रभाव आमजनता र तल्लो तहका नेतृत्वमा परेको छ, जसले नेतृत्वमा अवसरवादको विकास गरेको छ।

नेतृत्वको देवत्वकरण गर्ने परिपाटीले अवसरवादमात्र जन्माएको छैन, दल र व्यवस्थालाई नै अवसरवादी चरित्रको बनाइदिएको छ। पछिल्लो उदाहरण, नेपालको संविधानमा नै ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र’ भनी नेपाललाई परिभाषित गरिएको छ, तर मन्त्रिपरिषद्ले ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नलेख्ने’ भनी निर्णय गरिएको थियो। यसका पछाडि कुन तर्क वा तथ्यले काम गरेको छ भन्ने कुरा आमजनतालाई मात्र होइन, सोही दलका नेतृत्वमा रहेकालाई समेत जानकारी छैन। यो भनेको देवत्वकरणले निम्त्याउने अवसरवादको एक नमूना हो। देवत्वकरण अथवा ‘हिरोइज्म’ को आडमा अवसरवादी बन्ने संस्कार नेपालका सबै राजनीतिक दलहरुमा छ। सक्नेले वर्तमान नेतृत्वको देवत्वकरण गर्छ, नसक्नेले स्वर्गीय नेताहरुको देवत्वकरण गरेर ब्याज खाइरहन्छ।

आत्मसमीक्षामा चुकेको राजनीति

बेलायती समाजशास्त्री एवम् राजनीतिशास्त्री एन्टोनी गिडिन्सले आफ्नो पुस्तक ‘The Consequences of Modernity’ (1990)  मा लेख्छन्, “सम्पूर्ण सामाजिक संघसंस्था र समाजको विकास, ज्ञानको स्तरोन्नति र ज्ञान सृजनाको मुख्य आधार नै च्भाभिहष्खष्तथ (दर्पणछाया) हो। व्यक्ति, सामाजिक संस्था वा राजनीतिक संस्था सबै नै यही दर्पणछायाको माध्यमबाट नयाँ ज्ञानको सृजना गर्दै आफूलाई परिस्कृत रुपमा अघि बढाउँदै लैजान्छन्। दर्पणछाया हेर्ने कार्य नै आधुनिकता (Modernity)  को जग समेत हो। यसले इतिहासबाट पाठ सिक्दछ र इतिहासको समीक्षा गर्दै वर्तमानमा रहेर भविष्यका लागि उपयुक्त ज्ञानको सृजना गर्दछ । साथै उपयुक्त व्यवहार समेत निर्धारण गर्दछ।”

नेपालका राजनीतिक दलहरुमा यो दर्पणछायाको प्रवृत्ति र अभ्यास ज्यादै कमजोर छ। आफूलाई ‘देवता’ ठान्ने नेतृत्वले सम्हालेको स्कूल विभागबाट कस्तो संस्कारजन्य प्रशिक्षण र कस्तो आत्मसमीक्षाको अपेक्षा गर्न सकिएला ? जसको ध्येय नै अन्धभक्तहरुको बीचमा आफूलाई ‘महान्’ ठान्दै ‘आत्मरतीमा रमाउने’ हुन्छ, उनीहरुबाट कस्तो परिस्कारको अपेक्षा गर्ने ?

पञ्चायतबाट नसिकेको पाठ

निरंकुश, दलविहिन, राजाको एकतन्त्रीय, जहानिया……… जे भनिए पनि पञ्चायत शासन व्यवस्था तीस वर्षसम्म चल्यो। यतिसम्म कि अहिलेका गणतन्त्रवादी दलहरु समेत त्यही पञ्चायतभित्र ‘जनपक्षीय’ टोपी लगाएर अटाए। पञ्चायत शासन किन र कसरी ३० वर्षसम्म टिक्न सक्यो, र अहिलेको सर्वोत्कृष्ट भनिएको व्यवस्थामा किन पाँच वर्षसम्म पनि सरकार टिक्दैन ? किन मूलधारका राजनीतिक दलहरु नै व्यवस्थाको एक दशक पनि नपुग्दै व्यवस्थाकै विकल्प खोज्नुपर्ने चौबाटोमा पुगिसके ? यसको समीक्षा दलहरुले अब पनि नगर्ने हो भने निकै ढिलो भैसकेको हुनेछ।

पञ्चायतका तीन वटा विशेषता वा गुणका कारण नै तीस वर्षसम्म टिकेको थियो १. भौतिक विकास र केही दूरगामी सोंच २. सुकुम्बासीलाई जग्गा ३. फरक मतको कदर। नेपालका मुख्य भौतिक पूर्वाधार, सडक सञ्जाल र ठूला उद्योगहरु पञ्चायतकालमा नै स्थापना गरिएका थिए। उत्पादन र वाणिज्यमा निजी क्षेत्रको एकाधिकार भएमा नागरिक वा उपभोक्ता ठगिने भएकोले राज्य समेत उत्पादनमा जोडिनुपर्छ भन्ने मान्यताका साथ उद्योगधन्दा सञ्चालन गर्ने कार्य पञ्चायत कालमा नै थालनी गरिएको थियो। तत्कालीन समयमा हजारौं सुकुम्बासीलाई जग्गा उपलब्ध गराएर न्यूनतम सामाजिक सुरक्षाको प्रत्याभूति गरिएको थियो। फरक मतको कदर गर्दै २०३६ सालमा जनमत संग्रह गरिएको थियो, जसले दलहरुलाई समेत कुनै न कुनै रुपमा पञ्चायत व्यवस्थाभित्र प्रवेश गर्न मार्ग प्रशस्त गरेको थियो।

पञ्चायती व्यवस्थामा जनसहभागिताको मोडेल भनेको अमेरिकी राजनीतिशास्त्री ग्याब्रियल अल्मोण्ड र सिड्नी वर्बाको ‘The Civic Culture’ सँग मेल खान्छ। पञ्चायतमा प्रतिनिधि चुन्ने काममा नागरिकको मताधिकारको व्यवस्था गरिएको थियो, तर खुला सहभागिता नभै सीमित सहभागिता थियो। जनप्रतिनिधिलाई दलले नियन्त्रण गर्न सक्तैनथ्यो, तर मतदाताले अर्को पटक परिवर्तन गर्न सक्थ्यो। यो पञ्चायतकालमा गरिएको दर्पणछाया वा आत्मसमीक्षाको नतिजा थियो। यसकै आधारमा पञ्चायतले राजनीतिक संस्कार विकास गर्न खोज्यो, शिक्षा प्रणाली पञ्चायतलाई केन्द्रमा राखेर तयार गरियो, राजनीतिक र सामाजिक संस्कार व्यवस्था टिकाउनेगरी विकास गरियो। कार्ल माक्र्सले भनेझैं पञ्चायती व्यवस्था आधार संरचना थियो, जसको मजबूतीकरणका लागि सहायक उपरीसंरचनाहरु निर्माण र विकास गरियो। यिनै आधारभूमिमा पञ्चायत ३० वर्षसम्म टिक्यो।

समग्रमा, पञ्चायत व्यवस्थामा गरिएका प्रयासबाट जनतामा एउटा आशा र भरोसाको सृजना भएको थियो, त्यसैले अहिले पनि गणतन्त्रको विकल्पमा इतिहास बनिसकेको राजतन्त्रको खोजी भैरहन्छ। अगाडि बढ्नो बाटो नदेखेपछि पछाडि फर्किने प्रत्येक जीवहरुको विशेषता हो, जुन नेपाली राजनीतिमा पनि लागू भैरहेको छ। न बहुदल, न गणतन्त्र, कुनैमा पनि अपेक्षा पूरा नभएका जनतालाई यसभन्दा अगाडिको उत्तम मार्ग कुन हुन सक्छ भन्ने प्रशिक्षण छैन, दृष्टिकोण छैन र सपना छैन। भी.आई. लेनिन भन्छन्, “साथीहरु, सपना देख्न सक्नुपर्छ, सपना देख्नुहोस्।” तर, नेपालका लेनिनवादी दलहरुमा न सपना छ, न त आफ्ना सदस्यहरुलाई सपना देख्न सक्ने संस्कार नै सिकाउन सकेका छन्। छन्, त केवल देवत्वकरणका आत्मरतीका ठेलीहरु, र बाहुबली।

त्यसैले, राजनीतिक संस्कार, आत्मसमीक्षा, परिस्कार र दूरदृष्टि नहुँदा नेपालको राजनीति छक्कापञ्जाशास्त्रमा बदलिएको छ। छक्कापञ्जा शास्त्रबाट भएको जीत खुट्टामा पिसाव फेरेपछि भएको न्यानोभन्दा पनि अस्थायी हुन्छ। अझै, नेतृत्वले यसैलाई ठूलो उपलब्धी मान्दै आत्मरतीमा रमाउँदै गर्ने हो भने आमनागरिकले पछाडिकै बाटो फर्किन खोज्छ। किनकि, उसलाई यसभन्दा अगाडिको बाटो कस्तो हुन्छ भन्ने न राजनीतिक नेतृत्वले प्रशिक्षित गर्न सकेको छ, न त नागरिक नै जागरुक भएर त्यो बाटोको सपना देखेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्