‘गाली साहित्यका पण्डित !’

KP sharma oli
  • 2K
    Shares
लोकपाटी न्यूज

मिङ्ग्मा शेर्पा। भनिन्छ – राजनीति नीतिको पनि नीति हो, यसले राज्यका सबै नीतिहरूको ‘कमाण्ड’ गर्छ। सबै नीतिको पनि जननी हुनुको नाताले राजनीति शक्तिशाली र सर्वोपरि नहुने कुरै भएन। अनि त्यस्तो राजनीतिको नेतृत्व गर्ने अगुवा कस्तो होला ? आम बुझाइमा त्यस्तो मान्छे विलक्षण प्रतिभायुक्त, जनसेवाको भावनाद्वारा ओतप्रोत र उच्च आदर्शबाट लैस हुन्छ। झन् कम्युनिस्ट आन्दोलनको एक नेताको व्यक्तित्व त त्यसभन्दा कमजोर रहने कुरै भएन।

कम्युनिस्टहरू समाजका अगुवा, आदर्श, पथप्रदर्शक र रुपान्तरकारी चेतनाका सतिसाल हुन्। उनीहरूको नैतिकता निकै उच्च हुन्छ। तर, वर्गीय निष्ठा र आदर्शसहितको। कम्युनिस्ट नेता जनताप्रति उत्तरदायी हुन्छ, विनम्र हुन्छ, आलोचनालाई सुन्न लालयित हुन्छ, आत्मालोचनाको चेत बोकेको हुन्छ, सामूहिक प्रयत्न र जीवनप्रति इमानदार हुन्छ, अग्रगामी चेतनाले लैस हुन्छ, अध्ययनशील हुन्छ, न्यायको पक्षमा उभिन्छ र आफूलाई रोलमोडेलका रुपमा प्रस्तुत गर्छ। राज्य सञ्चालकको आदर्श र व्यक्तित्वबाट देशको सभ्यतासमेत नाप्ने गरिन्छ। कम्युनिस्ट नेतृत्वबारे आम जनताले बुझेको सच्चाइ, परिभाषा र यथार्य यही हो।

तर, जब हामी केपी ओलीमा आइपुग्छौं, सच्चाइले मेल खाँदैन, परिभाषा फेरिन्छ, यथार्थ पनि भ्रमित हुन पुग्छ। उनी अध्ययनशील छन्। तर, मार्क्सवाद र विज्ञान पढ्दैनन्, उनले पढ्ने साहित्य अर्कै छ। अरु प्रायः वामपन्थी नेताहरू मुक्तिको सिद्धान्त पढ्छन्। तर, उनी जुक्तिको सिद्धान्तमा छन्। अधिकांश वामपन्थी नेताहरू सैद्धान्तिक मान्यता र रणनीति हेर्छन्। तर, ओली व्यवहार हेर्छन्, हाताहातीको जीतहार हेर्छन्, रणनीति होइन, ट्याक्टिस हेर्छन्। उनी भविष्यका लागि वर्तमानको जोखिम उठाउँदैनन्, बरु वर्तमानका लागि भविष्यको जोखिम उठाउँछन्।

ओलीका हरेक अभिव्यक्ति र निर्णयहरू आफूपायक छन्। उनको राष्ट्रवाद चरम अवसरवादी छ। जब उनी सत्तामा हुन्छन्, गोयलसामु लुत्रुक्कै गल्छन्, त्वंशरणम् गर्छन्, जब सत्ताबाट बाहिरिन्छन्, हुंकारका साथ भन्छन् – ‘‘खबरदार ! राष्ट्रियता तलमाथि हुन दिन्नौं।’’ प्रधानमन्त्री हुँदासम्म एमसीसी पास गर्न मरिहत्ते गरेका, सभामुखलाई धारेहात लगाएका, संसदमा जोरजुलुम गरेका ओली बालकोट पुगेपछि भन्छन्, ‘‘झुक्काएर एमसीसी पास गर्न खोजिँदैछ।’’ लाज पनि लजाउने उनको राष्ट्रवाद आकाशमा मिलिक्क मिलिक्क चम्किने बिजुलीभन्दा पनि गतिशील छ।

ओली राजनीतिमा रोचक लाग्छन्। उनका अधिकांश कार्यक्रम रमाइला हुन्छन्। जुन दर्शक र स्रोता उनको कार्यक्रम सुन्छन्, उनीहरु दुखी हुँदैनन्, किनकि दर्शकलाई कसरी हँसाउने भन्ने तयारीसहित ओली कार्यक्रममा उपस्थित हुन्छन्। तथ्य जतासुकै होस्, उनी झुटलाई पनि सच्चाइ जसरी नै प्रस्तुत गर्छन्। तथ्यबारे बेखबर मान्छे ओलीलाई विद्धान ठान्छ र फर्किन्छ। जब घर आइपुग्छ, विद्धानहरुको टिप्पणी सुन्छ/पढ्छ। जो रचनात्मक छ, सिर्जनशील छ, उसले ओलीवाणिलाई आलोचनात्मक आँखाले हेर्छ, जो ओली गुरुकूलमै हुर्केको छ, उसले देववाणि ठान्छ र भक्तिभाव प्रकट गर्छ।

ओली जे गर्छन्, त्यो बोल्दैनन्। जे बोल्छन्, त्यो गर्दैनन्, यो उनको आम विशेषता हो। जतिबेला उनी प्रधानमन्त्री थिए, सबै मन्त्रालय र सरकारी कार्यालयका भित्तामा टाँसे ‘‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न दिन्नँ, इमानदार भएर देश र जनताको सेवा गर्ने प्रतीज्ञा गर्दछु।’’ उनले यो कुरा भ्रष्टाचार रोक्न भनेका थिएनन्। बरु आफूले गर्ने भ्रष्टाचारलाई जनताले विश्वास नगरून् भन्नका लागि थियो। यो उनको जनतालाई ‘चील आयो भन्दै आकाशतिर हेर्न लगाएर कुखुरा चोर्ने’ गज्जवको जुक्ति थियो। ३२ महिनाको अवधिमा उनले यति कुखुरा चोरे कि त्यता कुखुरा अघिल्ला २४ प्रधानमन्त्रीले पनि चोरेका थिएनन्।

नेपालको आफ्नै आधिकारिक शब्दकोष छ, जुन शब्दकोष प्रज्ञा प्रतिष्ठानले प्रकाशित गर्छ। त्यहाँ नेपाली भाषाका सबैजसो शब्दहरू समाविष्ट छन्। तर, ओलीको आफ्नै शब्दकोष छ, त्यसलाई उनी नेपाली ‘झर्रा शब्दकोष’ ठान्छन्। तर, आम नेपाली त्यसलाई गाली साहित्यका रुपमा बुझ्छन्। आजकल बजारमा चर्चा चल्छ – कसैलाई गाली गर्ने उपर्युक्त शब्द नभेटिए ओलीका भाषण सुन्नू। ओलीका भाषण सुन्ने जो–कोहीले गालीका लागि नयाँ पदावली भेटाएरै छाड्छ।

ओलीका हजारौं गाली बजारमा चर्चित् छन्। उनले नेताहरूलाई जिउँदै श्रद्धाञ्जली दिएकोदेखि बार्दलीको गालीसम्म आउँदा अलग्गै शब्दकोषको सामग्री तयार भएको मान्न सकिन्छ। बार्दलीमा बसेर उनले माधव नेपाललाई गरेको गाली त देशको सीमा नाघेर ब्रह्माण्ड परिक्रमा गर्दै होला। प्रधानमन्त्रीपूर्वको कार्यकालमा उनका उखान टुक्काले प्रख्याती पाए पनि पछिल्ला वर्षहरुमा गाली साहित्यले निकै कुख्याती कमाएको छ।

घरका केटाकेटी भन्छन् – ‘‘अंकल ओलीको भाषण सुन्दा कस्तो रमाइलो हुन्छ है।’’ उनीहरूको ओलीको भाषण भनेपछि हुरुक्कै हुन्छ। तर, अभिभावकलाई भने सधैंजसो एकखाले सन्ताप भइरहन्छ। केटाकेटीले ओलीको भाषण सुने कि २/४ वटा अपशब्द सिकिहाल्छन्। अनि, हत्तपत्त टिभी बन्द गरेर उनीहरूलाई अन्तै गफगाफमा भुलाउनुपर्छ।

ओलीले नेतालाई मात्र गाली गर्दैनन्, सामान्य कार्यकर्ता र जनतालाई पनि उत्तिकै गाली गर्छन्। माधव नेपाल, प्रचण्ड, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, भीम रावल, योगेश भट्टराईदेखि गगन थापा, रामकुमारी झाँक्री, रेनु दाहालसम्म उनले गरेका गाली सुन्दा लाग्छ – नैतिकतामा ओलीको निकृष्टताले पनि राजनीतिप्रति यति ठूलो बितृष्णा पैदा भएको होला। तथ्यहरूले यही कुरा पुष्टि गर्छन्।

धेरैको चासो छ – ओलीले गालीका लागि यतिबिघ्न स्रोत कहाँबाट जुटाउँछन् होला, उनले पढ्ने किताब कस्ता होलान्, नेपालमा गाली शब्दकोष तयार भइसकेको छ कि ओलीले तयार गर्दैछन् ? शब्दकोष तयार होला/नहोला। तर, प्रधानमन्त्री भइसकेको मान्छेले गर्ने गालीमा ओली अवश्य विश्वविख्यात् हुनेछन्। कुनै दिन ओलीलाई गाली साहित्यमा विभूषण दिइएमा त्यसलाई अनौठो नमान्दा हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्