‘बालकोटे बाको बार्दलीबाट’

kp_oli_balkot
  • 457
    Shares
लोकपाटी न्यूज

-सरोजदिलु विश्वकर्मा

धेरै उन्माद र घमण्ड भयो भने मान्छे धुरी चढेर नाच्नथाल्छ रे, धेरै फुर्कियो भने बुईं चढ्छ। करिब तीन वर्ष ४ महिना बालुवाटारको धुरीमा चढि रजाईंकजाईँ गरेर उन्मादमा उम्लेका बालकोटे बा केही सेलाएपछि भने आफ्नै बार्दली चढेर रबाफ देखाउँदैछन्।

‘माधव नेपाल राष्ट्रिय गद्दार हुन्, उनीजस्तो नकचरो कहीँ देखिँन’, कति ठूलो हाँक ! मानौं राणाकालिन सामन्तले बार्दलीबाट सोझानिर्धा रैति मोहीहरुलाई हप्काएजस्तो। त्यसवेलाका मुखिया सामन्तहरुले आफ्नो परिवारवाहेक सवैलाई हली, नोकरचाकर, हरुवाचरुवा, ऋृणी र मोही नै देख्थे। अनि वार्दलीबाट उर्दी दिन्थे, हप्काइदम्काई गर्थे। ती श्रमजिवी मजदूर, किसान तथा उत्पीडित जनसमुहहरु तल भुईँआँगन वा चोकमा बसेर सामन्तका उर्र्दी सुन्थे, उसको जयजयकार गर्दथे, दिएको मानोचामल बोकेर आफ्नो घरको छाक् टार्दथे। दिनमा एकपल्ट बार्दली वा कौशीमा हुक्का—तमाखु खाइरहेका मालिकको दर्शनभेट गरिएन, हप्कीदप्की खाइएन भने उसको चुल्हो बल्न मुश्किल हुन्थ्यो।

असार ३० गते आफूलाई ‘आइलभ यु बा’, ‘हाम्रो भोट ओलीलाई आज होइन भोलीलाई’ भनेर बाका ठूल्ठूला डमी उचालेर सडकमा हिड्ने दास मनोवृतिका केही युवाजमातहरुले तल सिकुवामा बसेर जयजयकार गरे, जिन्दावाद जिन्दाबाद भने। अनि बाले मेरा प्याराप्यारा रैतीहरु भन्दै माथिबाट लामै हातहल्लाए । ती मनुवाहरु, अझ घनश्याम भुसालको शब्दमा भन्ने हो भने साइवर स्यालहरु, बालुवाटारमा छँदा बाले यसैगरी धुरीमा चढेर फुईं लगाइरहँदा हर्षबढाईं गर्दथे। अनि वेलुकावेलुका सरकारी आँगनमा बसेर भोज खान्थे। अनि यसैलाई विकास र असली राष्ट्रवाद भनेर बुझद्थे।

बालकोटको बार्दलीबाट पेरिसडाँडा, कोटेश्वर, डल्लु, खुमल्टार, बालकुमारीदेखि अमेरिकासम्मै देखिन्छ। जताततै देखिने हुनाले सत्ता रणनीति बनाउन बालाई धेरै सजिलो भएको छ। साह्रा पार्टीहरु जनआन्दोलनमा मैदानमा छातीमा गोली खान उत्रिइसक्दा उनले बयलगाडाबाट अमेरिका पुग्ननसकिने निष्कर्ष निकालेका थिए। तर बयलगाडै चढेर भएपनि ल्याएको गणतन्त्रमा संविधान निर्माणलगतै उनले प्रधानमन्त्री बन्ने सौभाग्य पाए। शान्तीसम्झौता भइरहँदा पछाडि बसेर नियालीरहेका ओलीबाले प्रचण्डलाई यतिखेर भने निकै तिरखिर पार्दै झण्डै उपाध्यक्ष नै बनाए।

बाले पहिलाचोटी प्रधानमन्त्री हुँदा प्रचण्डसंग एैंचोपैंचो प्रधानमन्त्री चलाउने भनेका रहेछन्। तर प्रधानमन्त्री भएको १० महिना बितिसक्दा पनि पैचोँ फर्काउन चाहेनन्। जसको जौं खानु उसैको जुँगामोल्नु भनेझैं बरु संसद नै विघटन गरीदिन तयार भए। अनि नकचरो लाजको पसारोलाई गहलत्याउनु नै परेको थियो। तर खेलका माहिर बालकोटे बाले आफ्नै घोक्रो समाएर गलहत्याउनेलाई दोश्रोपटक समेत लगौंटी यार बनाउन सफल भए। स्थानीय निकायमा देखिएको परिणामपछि संघ र प्रदेशसभामा तालमेल गर्दै सुटुक्क पार्टी एकिकरणसम्म पुरयाए। निश्चिित विधान पद्धती र महाधिवेशनले दिएको म्यान्डेटलाई एकातिर हुत्याएर एकता गर्दासमेत सिंगो पार्टीले उनको समर्थन गरेकै हो। पार्टी एकताको आधार पालैपालो अध्यक्ष र प्रधानमन्त्री बन्ने र त्यसको रणनीति कम्युनिष्ट पार्टीले दिर्घकालिन सत्ता सम्हाल्ने र लक्ष्य समाजवाद हासिल गर्नुथियो। तर जादुगर बाको उदेश्य, रणनीति र लक्ष्य एकातिर, ब्यवहार अर्कोतिर देखिन थाल्यो।

दुई अध्यक्षहरुले पालैपालो बैठक अध्यक्षता गर्ने भनेता पनि उनलाई सिंगल कुर्सी चाहियो। सिंगल मात्र होईन, रातो मखमलको छुट्टै कुर्सी चाहियो। पार्टी कार्यालयमा होइन, बालुवाटारको सयन कक्षभित्रै बैठक बसिदिनु पर्ने र सिंहका दरवारमा स्यालहरु धाएजस्तै नेताहरु दिनैपिच्छे धाउँदै सलाम ठोकिदिनु पर्नेभयो। शुरुमा माधव नेपाललाई एक्ल्याउन, प्रचण्डसंग दह्रो मितेरी गाँसेजस्तो गर्दै प्रचण्डलाई सवै विरासत सुम्पने कसम खाए। जब विरासत् सुम्पने बेला आयो, फेरी प्रचण्डका विरुद्ध माधव नेपाललाई उचाल्ने प्रयत्न गरे। जब माधव नेपाल र प्रचण्ड एकठाउंमा उभिए, वामदेवलाई अब तपाईले पार्टी र देश हाँक्ने, त्यसका लागि वरु राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गरिदिने जादू छरे। वामदेव पनि मख्ख।

त्यो वार्दलीबाट एकपल्ट सत्तामा त पुगौं, राजा ज्ञानेन्द्रको हैसियत ओगट्छु भन्ने सपना देखिन्छ। सत्तामा पुगेपछि आफ्ना हुक्के-चिलिमे-पंखेहरुलाई वरपिरि राखेर, नजिककालाई भारदार बनाएर आजिवन शासन चलाउन सकिन्छ भन्ने महत्वकांक्षा बढ्दोरहेछ। राजामहाराजासरह सम्पूर्ण नेपालीमाथि कजाँई गर्नसकिने र विरोधीहरुलाई कोलमा हालेर पेल्नसकिने इच्छाशक्ति पलाउँदोरहेछ।सहकर्मी नेताहरुलाई फकाएर, झुक्याएर, भुक्याएर, बटारेर, एकआर्कामा भिडाएर, सामदाम् दण्डभेद गरेरै भएपनि सत्ता टिकाउने आँट दिइरहँदो रहेछ। बालकोटे बाले त्यही गर्नुभयो- आफ्ना प्रीय मानिसलाई राष्ट्रपति बनाएर, उनकै काँधमा टेकेर जताततै बुर्कुसी मार्न थाल्नुभयो। जनताले पठाएको सिंहदरवार, जहाँ आउँदैनआउने तर सीतल निवास चैं मध्येराती पनि गइरहने ! दुइतिहाईको सरकारलाई एकतिहाइमा झारेर भएपनि टिकिरहन अघिल्लो वर्ष नै बाले निर्वाचन आयोगमा नयाँ पार्टी गठन गरेका हुन्, पार्टी फुटाउने अध्यादेश ल्याएकै हुन्, सत्ता टिकाउनैका लागि पार्टीबाट बा आफैँ एक्लिन चाहेकै हुन्।

तथापि, भाद्र २६ गते माधव—प्रचण्डका अगाडि गल्ती भयो, अव सुधार्छु भनेर रोएको नाटक गर्दै शीर घोप्ट्याउदा पार्टीमा केही आशा पलाएको थियो। नाटकैले प्रचण्डको प्रधानमन्त्री पदसमेत बाले दानमा लिन सफल भए। त्यो सम्झौताको मसी सुक्ननपाउदै लगतै राजदूतहरु मनोमानी ढंगले नियुक्त गरे। उनीसंगै हण्डी खान पाएका केही सल्लाहकार र पार्टी नेताहरुले पार्टीले होइन, केपीका कारण यो वहुमत आएको, प्रधानमन्त्रीको कामकाजमा पार्टीले हस्तक्षेप गर्न पाउदैन भनेर साँडे डुक्रेजसरी डुक्रिए। अन्ततः मिलौं मिलाऔं भन्दाभन्दै पौष ५ गते वार्दली होइन धुरीमाथि नै चढेर पहिलोचोटी संसद विगठन गरे। त्यसपछि बाले भुईँ कहिले देख्दैदेखेन्। उनले राष्ट्रपति कार्यालयलाई आफ्नै खल्तीको कार्ड झैँ प्रयोग गर्दैआए। संविधान उनको पानी अच्र्याएर जजमानी गरिखाने मन्त्रजस्तै भयो। सदनलाई उनी र राष्ट्रपतिको बुर्कुसी मार्ने थलो बनाइदिए। अदालतमा पनि हदैसम्मको सेटिंग मिलाउन खोजेकै हुन्। तर सम्मानीत अदालत डगमगाएन। प्रहरी प्रशासन, सुरक्षा सवैलाई आफ्ना जोतारे बनाउने प्रयाश गरेकै हुन्। तर गर्विलो इतिहास बोकेको सेना प्रहरीले आफ्नो गरिमामा आँच आउन दिएन। अन्ततः जन्मदिन मनाउदै गर्दा जनताको संसद र संविधान दुवै बिउँझियो।

बालकोट्को बार्दलीबाट यतिमात्रै उपद्रो देखिँदैन्। बिउँझिएको जनताको सार्वभौम संसदलाई नै पङ्गु ठान्दछ । एउटा इमान्दार शासकले आफूले लागुगरेको नीति अस्वीकार भएपछि राजिनामा दिन्छ र स्वीकारोक्त नीतिलाई प्रवेश हुने बाटो प्रशस्त गरिदिन्छ। तर लुच्चो र नकचरो राजनीति संस्कार बोकेका बालाई कतै लाज लाग्दैन । आफ्नै पार्टीका नेताहरु एकआर्कामा भिडाउँदाभिडाउँदा भिडाउने र बटार्ने जीवन्त अभिनय जानीसकेका बाले आफैले बनाएको नेकपालाई आफ्नो अनुकुल नभएपछि फुटाउन ठूलै भूमिका खेले। त्यतिले पुगेन, कांग्रेसी नेताहरुलाई एकआर्कामा भिडाउन खोजे, जसपाका नेताहरुलाई कँडेलजीको मरिसकेको मुद्दा ब्युताएर अदालतमै पनि केही खेल्न भ्याए। सत्ता टिकाउनैका लागि रातभरी सुतेनन्। साइवर स्यालहरुको जगजगी भयो। स्यालहरु दिनदहाडै सडक र सामाजिक सञ्जालका भित्ताहरुमा आइलभ यु बा भनेर हुँहुँ र ह्वाह्वा गर्दा सद्दे मानिसहरु न रात न दिनमा निदाउनै सके। बिस्वासको मतमा फेल भइसकेपछि राजिनामा दिनुको साटो संविधानको धारा ७६.३ अनुसार फेरी सत्ता टिकाउन हदै प्रयाश गरे। वहुमत जुटाएका विपक्षी सांसदहरुलाई राष्ट्रपति कार्यालयसम्म पुग्ननदिन धेरैपटक बार लगाउन पनि भ्याए। बाको रबरस्टाम्प राष्ट्रपति आमै पनि के कम— जसोजसो पुरैत उसैउसै स्वाहा  १४६ सांसदको हस्ताक्षरलाई त्रुटीपूर्ण मान्दै बाकै गालामा म्वाई खाँदै मध्यराती दोश्रोपटक संसद विघटन गरिदिइन्।

यद्यपि, अन्ततः न्यायालयले त्यसलाई समेत स्वीकृत दिएन। वरु वालुवाटारलाई भोजभतेर, जाँडपानी र साइवर स्यालहरुको नाचघर बनाउदै आएका बालाई बालकोटको बाटो देखाइदियो। राष्ट्रपतिको औकात सम्झाइदियो। सत्ताबाट बर्हिगमन भएपछि अमेरिकाको इतिहासमा तानाशाह, दम्भी मानिएका राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत आफ्नी श्रीमती लिएर चुपचाप बाहिर निस्के। तर हाम्रा बा, भरखरको बेहुलोजस्तो झ्याली पिटाउदै हर्कबढाई गर्दै बाजागाजासहित बालकोट सवारी भए । अनि बार्दलीबाट लाजसरम् पचेका नकचरा, राष्ट्रिय गद्दार भनि सराप्न थाले।

बार्दलीको नजर यतिमा मात्र सीमित भएन। झिमिक्क आँखा नगरी नयाँ सरकारलाई विश्वासको मत लिनबाट रोक्ने अनेकन् प्रयाश भइरह्यो । माधव समुहका दोश्रो तहका नेताहरुलाई बटार्न भारतीय एम्बेसीलाई प्रयोग गर्दै राजीनामाको नाटक गराइयो । ठाकुर समुहलाई विस्वासमा मत दिन उचालियो भने अदालतमा सशरीर उपस्थित भएर सनाखत गरेका भीम रावलहरुलाई संसदमा अनुपस्थित गराइयो। ठाकुर समुहले मत दिन्छ भनेर यदि माधव समुह एकताएकता भन्दै बसिरहेको भए झण्डै बा आफ्नो मिशनमा सफल भइसकेका ! सामदाम दण्डभेद् खेलका माहिर बालकोटे बा चाण्क्यशास्त्रका कुशल विद्यार्थी र मनुवादी विचारका अनुयायी हुन्। उनी माक्र्सवादी द्धन्दवादमा विस्वास गर्दैनन्।

वरु सत्ता टिकाउन निकिता खुश्चोव र कम्युनिष्ट सिध्याउन गोर्वाचोभ हुन तयार हुन्छन्। कालाजादूसमेत जानेका बा आफ्ना शत्रुहरुलाई सजिलै साध्न निपुण मात्र होइन, शत्रुलाई वशिभूत् पारेर मित्र बनाउन समेत सक्छन्। त्यसैले अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम रावलजस्ता कटुआलोचकहरु लडाईको मैदान छोडेर एकाएक बाको टाङमुनि लुटुपुटु हुनपुगे।बा अहिले कम्युनिष्ट सिध्याउने गद्दार, गुटका चलाउने मतिहारहरु, विकास जान्दै नजानेका मान्छेहरु, अपराधी मानसिकताका जत्थाहरु, विदेशी दलालहरु, एम्सीसी लुकेर पास गर्न चाहेको आदि आरोप लगाउदै छन्। तर बाले यी अभ्यासहरु पहिले नै गरिसकेका हुन्। बालकोटेको बार्दलीबाट आफ्नो धोती खुुस्केर दुनियाले कुरीकुरी गरेको आफैं देखिँदैन तर दुनियालाई हेरेर जिस्क्याउन सजिलै छ। बा उनी आफू जे हुन्, त्यही आरोप अरुलाई लगाउने गर्दछन्, जेजे आरोप लगाउछन्, आफू चैं त्यहीत्यही गर्दैआएका छन्। किनकी बालकोटको बार्दलीको हावा नै त्यस्तै छ । यस्ता हावा खाएका बाका कुरा सुनेर कथित विद्वानहरु गलगल हाँस्छन्, पट्ट्ट थप्पडी बजाउँछन्। अनि साइवर स्यालहरु बा नै महान राष्ट्रवादी भन्दै आइलभ यु भन्दैछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्