मुक्त हलियालाई आत्मनिर्भर बनाउन योजनाबद्धरूपमा अगाडि बढ्छौं : मुख्यमन्त्री भट्ट

trilochan-bhatta
लोकपाटी न्यूज

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त हलियालाई आत्मनिर्भर बनाउनका लागि योजनाबद्धरूपमा कार्यक्रम अगाडि बढाइने बताएका छन्। सोमबार पुर्नवास नगरपालिका-९ सीताबस्तीमा १३ औँ हलिया मुक्ति दिवसका अवसरमा उनले मुक्त हलिया परिवारलाई आयआर्जनसँग जोडेर स्वरोजगार बनाइने बताए।

प्रदेश सरकारले समाजमा पछाडि परेका वर्गहरुको उत्थानलाई लक्ष्य गरी ल्याउन लागेको कानून निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। पुनःस्थापन, छुट मुक्त हलियाको अभिलेखीकरण, वृत्तिविकास, सहुलियत ऋण प्रदान गर्नेलगायतका काम छिट्टै अगाडि बढाइने उनले बताए।

‘मानव जाति रहँदासम्म संघर्ष जारी रहन्छ,’ उनले भने, ‘सामाजभित्रको गलत चिन्तन परिवर्तन नहुँदासम्म कानुनमात्रै बनाए पुग्दैन।’ यसका लागि साझा संघर्षको उठान गर्नु जरुरी रहेको उनले बताए। स्वरोजगार कार्यक्रममा केही गर्नुपर्छ भन्ने भावना भएका युवालाई सहभागी गराउनुपर्नेमा जोड दिँदै उनले युवालाई स्वरोजगार बनाई नमूनाका काममा संलग्न गराइने बताए।

राजनीतिक परिवर्तनसँगै जनताले विकासको अनुभूति गर्न पाएको धारणा अघि सार्दै उनले स-साना योजनाका लागि पनि पहिला देशकै राजधानीको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको बताए। सुदूरपश्चिम सरकार गरिब जनताको सरकार भएकाले कमजोर वर्गका लागि काम गर्दै आएको उनको भनाइ थियो। राजनीतिक उपलब्धिलाई बचाइराख्नका लागि एकताबद्ध भएर सबैले अगाडि बढ्नुपर्ने उनले बताए। सीमा क्षेत्रमा बसोबास गर्ने जनताले जंगली जनावरबाट समस्या झेल्दै आएकाले त्यसको निदानका लागि ‘फेन्सिङ’ लगाउनका लागि बजेटको यथोचित व्यवस्था गरिने उनले बताए। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्