कार्यक्रम वा परियोजनाका लागि प्रोपोजल कसरी लेख्ने ?

Proposal writing icon
  • 139
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल सरकार र विभिन्न दातृ निकायले विभिन्न लक्षित समूह किटानी गरी बेला बेलामा अनुदानका प्याकेज सार्वजनिक गर्दछन्। तर, त्यस्ता प्याकेजमा आधारभूत तहका जनताको पहुँच कम हुँदा बिचौलिया वा अर्कै समूहले उक्त अनुदानको रकम हात पार्दछ। उदाहरणका लागिः कृषिका लागि छुट्टाइएको अनुदान कार्यक्रमकै कुरा गरौं। त्यस्तो अनुदानका लागि वास्तविक किसानले कागजी प्रक्रिया पुर्‍याउन सक्दैन। किनकि ऊ कृषि, पशुपालन र आयआर्जनका विभिन्न गतिविधिमा व्यस्त रहन्छ। तर, जसले अनुदानका लागि कागजात मिलाउन सक्छ। ऊ चाहिँ किसान नै हुँदैन। यसले अनुदान पाउनुपर्ने व्यक्ति किनारा लाग्ने र जसलाई अनुदान आवश्यक नै हुँदैन, उसले नै अनुदान पाउने अवस्था सिर्जना हुन्छ।

अनुदानको यही विरोधाभासलाई सम्वोधन गर्नका लागि पछिल्लो समय सरकारले नै अनुदानका लागि प्रस्तावको ढाँचा तयार पनि गरेको छ। जसको उद्देश्य हो – लक्षित वर्गले आफै प्रस्ताव तयार पार्न सकोस्। अनुदानको रकम आधारभूत वर्गको जनताबाट खोसेर बिचौलियाको हातमा नपुगोस्। यही उद्देश्यमा केन्द्रित भएर हामीले यहाँ लक्षित वर्ग वा समूह आफैले प्रस्ताव आफै कसरी लेख्ने ? त्यसबारे केही जानकारी उल्लेख गरेका छौं।

१. प्रस्तावको परिचय

प्रस्ताव एउटा विधि हो, जसका माध्यमबाट कसैलाई केही कुरा गर्न आग्रह गरिन्छ। कुनै कुराको विषयमा केही गर्न एक पक्षले अर्को पक्षलाई गरिने आग्रह नै प्रस्ताव हो। प्रस्ताव सल्लाह वा योजनाको रुपमा कुनै व्यक्ति वा समूहमा स्विकार गर्न, मान्न, सहमत हुन प्रस्तुत गरिन्छ।

प्रस्तावमा प्रस्तावक र प्रस्ताव प्रापक गरी दुई पक्ष हुन्छ। प्रस्ताव दुई प्रकारले गरिन्छ, औपचारिक र अनौपचारिक प्रस्ताव। अनौपचारिक प्रस्ताव प्रायः छोटो र प्रस्ताव प्राप्त गर्ने पक्षले तत्काल अनौपचारिक वा औपचारिक प्रतिक्रिया दिनसक्ने खालको हुन्छ। औपचारिक प्रस्ताव विस्तृत, विश्लेषणात्मक र छोटो तथा लामो अवधिका विषयवस्तु समावेश गरी गरिन्छ।

२. प्रस्ताव लेखनको परिचय

औपचारिक रुपमा कुनै विषयमा कुनै व्यक्ति वा निकायसँग केही गर्न वा आग्रह गर्न लिखित रुपमा पेश गर्दा प्रस्ताव लेखन गरिन्छ। प्रस्ताव लेखन विभिन्न विषयमा विभिन्न व्यक्ति वा निकायले भिन्नाभिन्नै उद्देश्यका साथ लेख्ने गरिन्छ। जस्तैः सामाजिक कार्यका लागि, विकास निर्माण कार्यका लागि, व्यापार व्यवसायका लागि, अनुसन्धान क्रियाकलापहरूका लागि आदि।

प्रस्ताव सम्भावित योजनाअनुसार लामो वा छोटो हुन सक्छ। प्रस्ताव लेखनमा योजनाको प्रकृति हेरी प्रस्तावित ढाँचा, आधार, प्राथमिकता, समयावधि, समय तालिका फरक पर्न सक्छ। प्रस्ताव माग्नुअघि अवधारणा पत्र मुल्याङ्कन गर्ने पनि गरिन्छ।

३. प्रस्तावका आधारभूत पक्षहरू

प्रभावकारी प्रस्ताव लेखनका ६ वटा नियमहरू निम्नानुसार छन्ः (१) सत्य तथ्यमा आधारित, (२) संक्षिप्त जानकारी, (३) स्पष्ट तथा बुझ्न सकिने, (४) पूर्ण जानकारी, (५) तर्कसंगत र सही विश्लेषणमा आधारित र (६) कार्य विवरण स्पष्ट क्रमवद्ध रुपमा पेश गरिएको। यी नियमहरू पालना गरेर लेखिएको प्रस्ताव प्रभावकारी मानिन्छ।

प्रभावकारी प्रस्ताव लेखनका ३ वटा उपनियमहरू निम्नानुसार छन्ः (१) सरलीकृत गर्ने, (२) पुष्ट्याई गर्ने र (३) परिणाम तोक्ने। कुनै पनि प्रस्ताव सरल र बुझिने भाषामा लेखिएको हुनुपर्छ। त्यस्तो प्रस्तावमा दुविधायुक्त र थप व्याख्या गर्नुपर्ने पदावली सकभर नराख्नु राम्रो मानिन्छ। प्रस्तावमा जे कुरालाई केन्द्रमा राख्न खोजिएको हो वा भन्न खोजिएको हो, त्यस्तो पुष्टि गर्नुपर्दछ र त्यसबाट प्राप्त परिणाम वा प्रभाव मूल्यांकनसमेत गर्नुपर्दछ।

४. प्रस्ताव लेखनको ढाँचा (Format of Proposal Writing)

(क) कार्यक्रम वा परियोजनाको नाम। त्यसमा छोटो, औचित्यता दर्शाउने, समस्या, अवसर तथा समाधानका उपाय लेख्ने, ताकि प्रस्तावमा मुख्य रूपमा के–के कुरा समाविष्ट छ भन्ने प्रष्ट जानकारी होस्।

(ख) आयोजनाको दूरदृष्टि (Vision and idea of the project)। प्रस्तावमा कार्यक्रम वा परियोजनाको दूरदृष्टि समावेश गरेको हुनुपर्छ, ताकि कार्यक्रम वा परियोजनाको लक्ष्यबारे प्रष्ट होस्।

(ग) दीर्घकालीन लक्ष्य तथा उद्देश्यहरु (Mission and objectives of the project)। प्रस्तावमा कार्यक्रम वा परियोजनाको दीर्घकालीन लक्ष्य तथा उद्देश्यहरू किटानी गरिएको हुनुपर्छ।

(घ) कार्यक्रमहरू (Programs)। सहयोग वा अनुदानबाट गरिने मुख्य कार्यक्रम के–के हुन्, त्यसका लागि सम्भावना र चुनौतीहरू के–के छन्, त्यसको प्रभावकारी कार्यान्वयन कसरी गर्नेजस्ता विषय प्रस्तावमा खुलाइएको हुनुपर्छ।

(ङ) रणनीतिहरू (Qmrategies)। प्रस्तावमा कार्यक्रम वा परियोजनाको रणनीति स्पष्ट रूपमा खुलाइएको हुनुपर्छ।

(च) साधनस्रोतको व्यवस्था (भौतिक, वित्तीय, मानवीय आदि) (Management of Physical, Financial, Human resources etc)। प्रस्तावमा साधनस्रोतको आंकलन र अवस्था, भौतिक परिवेश र त्यसका आधारहरू, मानवीय जनशक्ति र लक्षित वर्ग एवं कार्यक्रमको प्रभावकारिता खुलाइएको हुनुपर्छ।

(छ) समय (Time frame)। प्रस्तावमा कुनै पनि कार्यक्रम वा परियोजनाको अवधि र समय स्पष्ट रूपमा किटानी गरिएको हुनुपर्छ।

(ज) अनुगमन योजना (Monitoring plan)। प्रस्तावमा कार्यक्रम वा परियोजनाको अनुगमनको विधि र मापदण्ड उल्लेख गरिएको हुनुपर्छ।

(झ) आयोजनाका मुख्य उपलब्धी तथा प्रतिफल (Key achievement and outcomes of the Project)। प्रस्तावमा आयोजना वा कार्यक्रमको मुख्य उपलब्धीहरू के–के हुन सक्छन् र कार्यक्रमले के प्रतिफल दिन्छ भन्ने कुरा प्रक्षेपण गरिएको हुनुपर्छ।

(ञ) निष्कर्ष (Conclusion)। अन्तिममा प्रस्तावको निचोड निकालिएको हुनुपर्छ। निचोडमा कार्यक्रम वा परियोजना कार्यान्वयन गर्न सकिने आधार र प्रतीज्ञा समावेश गर्नु राम्रो मानिन्छ।

५. थप अन्य कुराहरू

(क) प्रस्तावमा कार्यक्रम वा परियोजना सञ्चालन गर्न समन्वय गर्नुपर्ने व्यक्तिको नाम, ठेगाना, फोन नम्बर, इमेल लगायतका जानकारी समावेश गर्नुपर्दछ। समन्वय गर्नुपर्ने व्यक्तिहरूको प्राथमिकीकरण तोक्ने अझै राम्रो हुन्छ।

(ख) प्रस्तावमा कार्यक्रम वा परियोजना माग गर्ने संस्था, कम्पनी, समूह वा व्यक्तिले आफ्नो संक्षिप्त परिचय समावेश गर्नु राम्रो मानिन्छ। संक्षिप्त परिचयमा संस्था वा कम्पनीको स्थापना, कार्यकारी समितिका पदाधिकारीहरू, विगतमा गरिएका प्रमुख कामहरूको चिनारी उल्लेख गर्नु राम्रो हुन्छ।

(ग) प्रस्तावमा कार्यक्रम वा परियोजनाका चुनौती, त्यसबाट लिन सकिने समूहगत एवं संस्थागत लाभ, अपेक्षित प्रतिफल समावेश गर्नु राम्रो हुन्छ।

(घ) प्रस्तावमा कार्यक्रम वा परियोजनाको कार्यक्षेत्र किटानी गर्नुपर्दछ। कार्यक्रम कुन ठाउँ, कुन समुदाय वा कुन लक्षित समूहका लागि हो, सो कुरा उल्लेख गर्नुपर्दछ। सम्भव भएमा स्थानीय रूपमा समन्वय गर्ने संस्था वा व्यक्तिबारे पनि उल्लेख गर्न सकिन्छ।

(ङ) भौतिक एवं पूर्वाधार विकाससँग सम्बन्धित प्रस्तावमा कार्यक्रम वा परियोजनाको प्रभाव मूल्यांकन, वातावरण प्रभाव, त्यसलाई न्यूनिकरण गर्ने उपायहरू लगायतका विषयहरू समावेश गरिएको हुनुपर्छ। त्यस्तो कार्यक्रम वा परियोजना नेपाल सरकारको प्रचलित कानूनको अधीनमा भएको र हुने कुराको सुनिश्चित गर्नुपर्दछ।

(च) कार्यक्रम वा परियोजनाका लागि तयार पारिएको प्रस्तावसँगै मागकर्ताले संस्था, कम्पनी वा समूहको विधान, संस्थाको दर्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र, पदाधिकारीहरूको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लगायतका कागजातहरू संलग्न गरी पेश गर्नुपर्दछ।

(छ) प्रस्ताव प्रचलित कानून र दातृ निकायको मापदण्डअनुरूपको हुनुपर्दछ। सरकार वा दातृ निकायले प्रस्ताव माग गर्दा सार्वजनिक गरेको सूचनामा के–के कुरा उल्लेख र माग गरिएको छ, त्यस्तो सूचनालाई विशेष ख्याल गर्नुपर्दछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्