दर्शनशास्त्रमा ‘अन्तर्वस्तु र रूप’ भन्नाले के बुझिन्छ ?

Political words meaning
  • 208
    Shares
लोकपाटी न्यूज

१. दार्शनिक प्रवर्ग, जसले प्राकृतिक तथा सामाजिक यथार्थका दुई पक्षहरूको परस्पर सम्बन्धलाई परावर्तित गर्दछ : वस्तु वा परिघटनाको निर्माण गर्ने तत्वहरु तथा प्रक्रियाहरूको विशेष रूपले व्यवस्थित योग, अर्थात् अन्तर्वस्तु, तथा यो अन्तर्वस्तु र यसका परिवर्तित रूपहरूको अस्तित्व र अभिव्यक्तिको विधि, अर्थात् रूप। रूपको अवधारणाको अन्तर्वस्तुको आन्तरिक संगठनको अर्थमा पनि उपयोग गरिन्छ र यस अर्थमा संरचनाको प्रवर्गमा यसको अगाडि विकास गरिन्छ।

पूर्वमार्क्सवादी, विशेष गरी आदर्शवादी दर्शनमा रुमलाई संरचनासम्म सीमित गरिएको थियो र अन्तर्वस्तुलाई तत्वहरु तथा गुणहरूको कुनै अव्यवस्थित योगको समान बनाइएको थियो, जसले अन्तर्वस्तुमाथि रूपको प्राथमिकता विषयक आदर्शवादी धारणाहरूलाई सुदृढ बनाउन र लामो ऐतिहासिक अवधिसम्म रहीरहनमा योगदान गरेको थियो। भौतिकवादी द्वन्द्ववादमा संरचना, आन्तरिक व्यवस्थाबद्धतालाई अन्तर्वस्तुको अपरिहार्य अवयव मानिन्छ। संरचनाको परिवर्तनसँग वस्तुको अन्तर्वस्तु, त्यसका भौतिक र रासायनिक गुणहरूमा पनि सारभूत परिवर्तन हुन्छन्।

रूपको पनि, जसले अन्तर्वस्तुको विविध परिवर्तन, त्यसको अस्तित्वका विधिहरू र अभिव्यक्तिहरूलाई समावेश गर्दछ, आफ्नो निश्चित संरचना हुन्छ। विकासको प्रक्रियामा अन्तर्वस्तु तथा रूपको वस्तुगत अधीनता क्रमानुसार, अन्तर्वस्तु तथा रूपको पारस्परिक क्रियामा अन्तर्वस्तुका विभिन्न तत्वहरुको रूपमाथि प्रभाव र साथसाथै रुपा विभिन्न तत्वहरुको अन्तर्वस्तुमाथि प्रभाव आवश्यक रूपले सामेल हुन्छ। अन्तर्वस्तु तथा रूपको पारस्परिक सम्बन्धमा अन्तर्वस्तु विषयका प्रमुख र निर्धारक पक्ष हो र रूप त्यो पक्ष हो, जुन अन्तर्वस्तुमा तथा त्यसको अस्तित्वका ठोस अवस्थाहरूमा परिवर्तनमाथि निर्भर भएर परिवर्तित हुन्छ।

आफ्नो पालोमा रूपले सापेक्षिक रूपमा स्वतन्त्र हुनुको कारण अन्तर्वस्तुमाथि सक्रिय प्रभाव पार्दछ : रूपले, जुन अन्तर्वस्तुको अनुरूप हुन्छ, त्यसको विकासको गतिलाई तीव्र बनाउँदछ, जबकि रूपले, जुन परिवर्तित अन्तर्वस्तुको अनुरूप रहँदैन, त्यसको अगाडिको विकासलाई अवरुद्ध गर्दछ। अन्तर्वस्तु तथा रुपा पारस्परिक क्रिया द्वन्द्वात्मक प्रतिपक्षहरूका पारस्परिक सम्बन्धहरूको विशुद्ध उदाहरण हो, जसको विशेषता अन्तर्वस्तु तथा रूपको एकता र साथसाथै तिनीहरूको बीचमा अन्तर्विरोध तथा टकराब हो। अन्तर्वस्तु तथा रूपको एकता सापेक्ष, अस्थायी हो, विकासको प्रक्रियामा तिनीहरूको बीचमा अनिवार्य रूपले टकराब तथा अन्तर्विरोध उत्पन्न हुन्छन्।

फलस्वरूप अन्तर्वस्तु तथा रूपको बीचमा विसंगति उत्पन्न हुन्छ, जसको अन्ततः पुरानो रूपको परित्याग र परिवर्तित अन्तर्वस्तुको तदनुरूप नयाँ रूपको उत्पत्तिको माध्यमबाट समाधान हुन्छ। अन्तरवस्तु तथा रूपको बीचका अन्तर्विरोधहरूको उत्पत्ति, विकास तथा तिनीहरूमाथि नियन्त्रण प्राप्ति, तिनीहरूको बीचमा संघर्ष (अन्तवस्तुको रूपमा तथा रूपको अन्तर्वस्तुमा संक्रमण, पुरानो रूपमा नयाँ अन्तर्वस्तुको समावेश, अन्तर्वस्तुमाथि रूपको प्रभाव, आदि) विकासको द्वन्द्वात्मक सिद्धान्तका महत्त्वपूर्ण अवयव हुन्। समाजको विकासमा अन्तर्वस्तु तथा रूपको अन्तरसम्बन्ध विशेष गरी जटिल तथा द्वन्द्ववादको दृष्टिले अन्तर्विरोधपूर्ण छ। उत्पादनको विधि, आधार तथा उच्च संरचना, अर्थव्यवस्था तथा राजनीतिमा अन्तर्वस्तु तथा रूपको बीचमा अन्तर्विरोध सामाजिक विकासका सबभन्दा महत्त्वपूर्ण उत्प्रेरक शक्तिहरूमध्ये एक हो।

२. चिन्तनमा अन्तर्वस्तु तथा रूप तर्कशास्त्रका आधारभूत अवधारणाहरू हुन्। तर्कको रूपमा भौतिकवादी द्वन्द्ववादमा चिन्तनको अन्तर्वस्तुको अर्थ त्यो विशिष्ट स्वरूपमा प्राकृतिक र सामाजिक यथार्थ हो, जसमा त्यो वैज्ञानिक तथा सैद्धान्तिक चिन्तनको विषयको रूपमा अगाडि आउँदछ, अर्थात् संज्ञानको ऐतिहासिक विकासको क्रममा मूर्त हुने अवधारणाहरू, विचारहरू, सिद्धान्तहरू, विभिन्न प्रकारका अमूर्तकरणहरु तथा आदर्शीकरणहरुको योगको रूपमा। चिन्तनका रूप वैचारिक क्षेत्रमा विषयसँग सामाजिक कर्ताको क्रियाकलापका विभिन्न विधिहरू हुन्, जुन चिन्तनको अन्तर्वस्तुमा वस्तुगत यथार्थका नियमसंगतिहरु र गुणहरूको पुनर्सिजनातिर लक्षित हुन्छन् (प्रवर्ग, अमूर्तकरणबाट मूर्ततिर अग्रग्ति, अनुमानका विभिन्न रुपहरु, आदि)। चिन्तनका रूपहरूको कुल योगले एउटा निश्चित ढंगबाट संज्ञानात्मक अन्तर्वस्तुलाई संगठित गर्दछ र नयाँ ज्ञानको प्राप्तिको कर्ताको चिन्तनलाई निर्देशित गर्दछ।

३. कलामा अन्तर्वस्तु तथा रूप समग्र रूपमा कलाको अथवा कलाका पृथक्-पृथक् कृतिहरूका परस्पर आश्रित पक्षहरू हुन्, जसमा अन्तर्वस्तुको अग्रणी भूमिका हुन्छ। कलाको अन्तर्वस्तु हो, विविधरुपी यथार्थ, त्यसको सौन्दर्यात्मक मौलिकतामा मुख्यतया मानिस, मानवीय सम्बन्ध, आफ्ना सम्पूर्ण मूर्त अभिव्यक्तिहरूसहित समाजको जीवन। रूप कलाकृतिको आन्तरिक संगठन, मूर्त संरचना हो, जसको रचना अन्तर्वस्तुलाई उद्घाटन गर्न, त्यसलाई मूर्त रूप दिनको लागि विशिष्ट आलंकारिक, अभिव्यंजनात्मक साधनहरूको सहायताबाट गरिन्छ। कुनै कलाकृतिको अन्तर्वस्तुका मुख्य तत्वहरु हुन्, त्यसको विषयवस्तु तथा विचार। विषयवस्तुले जीवनका परिघटनाहरूको परिधिलाई प्रकट गर्दछ, जसलाई यो कृति विशेषमा अभिव्यक्त गरिन्छ।

विचारले यथार्थका पुनः सृजित परिघटनाहरू तथा टकराबहरूको सारलाई व्यक्त गर्दछ, सौन्दर्यात्मक आदर्शको दृष्टिकोणबाट यिनीहरूको कलात्मक तथा भावनात्मक मूल्यांकन गर्दछ र यसरी मानिसलाई निश्चित सौन्दर्यात्मक, नैतिक तथा राजनीतिक निष्कर्षहरूसम्म पुर्‍याउँदछ। कुनै कलाकृतिको कलात्मक रुपा अनेक पक्षहरू हुन्छन्। त्यसका मुख्य तत्वहरु हुन् विषय, रचना, कलात्मक भाषा, अभिव्यंजनात्मक साधन (शब्द, अनुप्रास, लय, स्वर शैली, स्वरसंगति, वर्ण, रंजन, रेखाचित्र, अभिकल्प, प्रकाश-छाया चित्रण, आयाम, नृत्य-पग, मंचन, फिल्म, आदि)। आकारवादको विपरीत, जसले अन्तर्वस्तुलाई रूपबाट पृथक् गर्दछ, तथा प्रकृतिवादको विपरीत, जसले यिनीहरूलाई समान मान्दछ, मार्क्सवादी सौन्दर्यशास्त्रले अन्तर्वस्तु तथा रूपको बीचमा अविच्छिन्न एकता तथा सामञ्जस्यलाई कलात्मकताको एउटा सबभन्दा महत्त्वपूर्ण कसी मान्दछ।

-रमेश सुनुवारको दर्शन विश्वकोशबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्