क्रान्तिनायक गोञ्जालो र पेरूका शिक्षाहरू

Manahari Timilsina
मनहरि तिमिल्सिना

विश्वप्रसिद्ध प्रगतिवादी साहित्यकार लुसुन भन्थे, ‘‘मरेकाहरूबाट बाँचेकाहरूले नसिके बाँचेकाहरू पनि मरेसरह हुन्छन्।’’ द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणले परम चेतनाको अस्तित्व स्वीकार गर्दैन, यस अर्थमा मानिसको भौतिक शरीरको समाप्तिसँगै उसको देह र आत्मा दुवै रहँदैन। तर, जनता र राष्ट्रका निम्ति योगदान गर्ने मान्छेहरूको प्रेरणा र कीर्ति दुनियाँमा कालजयी रहन्छ। लुसुन मरेकाहरूको प्रेरणालाई जीवितहरूले आत्मसाथ गर्नुपर्ने अर्थमा उक्त दृष्टान्त प्रस्तुत गर्दछन्।

शनिबार साँझ विश्वभरिका क्रान्तिकारी कम्युनिस्टहरूले एउटा अप्रिय र कारूणिक खबर सुन्नुपर्‍यो। पेरूभियन कम्युनिस्ट पार्टीका संस्थापक एवं क्रान्तिनायक कमरेड गोञ्जालोको जेलभित्रै निधन भएको खबर एकाएक विश्वभरि फैलियो। विश्वभरिका कम्युनिस्टहरूका निम्ति यो एउटा दुखद क्षण र नमीठो अनुभूति त थियो नै, साथै साम्राज्यवादी बर्बरताका विरुद्ध तीव्र घृणाको दिन पनि थियो। ३० वर्ष लामो जेलजीवनको क्रममा उनले जुन अमानवीय यातनाको सामना गर्नुपर्‍यो, जुन अपमानको विष पिउनुपर्‍यो, त्यसले उनको मृत्यु स्वाभाविक लाग्दैन। यद्यपि, अमेरिकी साम्राज्यवादद्वारा संरक्षित फुजिमोरी सरकारले उनको निधन स्वाभाविक भएको दावी गरेको छ।

मानव जातिको इतिहास नै यस्तो छ कि आँधीमय क्रान्तिहरूले नै समाज रूपान्तरण गर्दछ। समाज रूपान्तरणको चालक शक्तिको सार्वभौम विज्ञानका रूपमा वर्गसंघर्ष विद्यमान रहन्छ। लेनिनको दृष्टिमा ‘‘वास्तवमा राज्य असमाधेय शत्रुतापूर्ण वर्गसंघर्षको उपज हो।’’ त्यस्तो शत्रुतापूर्ण वर्गसंघर्ष आदर्शवादी मानवतावादका सम्पूर्ण पर्खाल भत्काउँदै यथास्थिति या क्रान्तिका रूपमा अभिव्यक्त हुन्छ। त्यसले आफ्ना वर्गीय हितहरूको पैरवी र रक्षार्थ जस्तोसुकै अमानवीयता कदमलाई स्वीकार्छ भन्ने तथ्य गोञ्जालोसम्म आइपुग्दा पुनर्पुष्टि भएको छ।

पेरूको जनयुद्ध र गोञ्जालो

१९३४ डिसेम्बर ३ मा पेरूको एण्डिज श्रृंखला पेरुमा जन्मिएका गोञ्जालोको वास्तविक नाम डा. अविमायल गुज्मन रेनोसो हो। एरक्वेपा विश्वविद्यालयबाट विद्यावारिधि गरेका गोञ्जालोले १९६२ देखि १९७४ सम्म दर्शनशास्त्र विभाग हवामांगा विश्वविद्यालय, आयाकुचो पेरुमा प्राध्यापन गरेका थिए। १९४५ को दोस्रो विश्वयुद्धमा फाँसीवादको पराजयपछि खुसी मनाउन पेरुका वामपन्थीहरूले निकालेको जुलुसबाट गिरफ्तार भएपछि उनको राजनीतिक यात्रा सुरु भएको थियो।

१९४६ मा कम्युनिस्ट योङ ब्रिगेटको सदस्य भएका उनी १९५६ मा एरक्वेपा विश्वविद्यालयको विद्यार्थी संघको अध्यक्ष निर्वाचित भएका थिए। १९६५ मा चीनको भ्रमणपछि १९६६ मा पेरू कम्युनिष्ट पार्टीको सदस्य भएका गोञ्जालोलाई १९६९ मा कम्युनिस्टको आरोपमा पक्राउ गरिएको थियो। १९७५ मा पेरु कम्युनिस्ट पार्टीको अध्यक्ष भएका गोञ्जालोकै नेतृत्वमा १९८१ मा पेरुमा सञ्चालित जनयुद्ध १९९२ को सप्टेम्बर १२ गोञ्जालोको गिरफ्तारीसँगै रक्षात्मक बन्यो।

सोभियत मोडेलको समाजवादमा सुधारवादी शक्ति हावी थियो, चीनमा माओको निधनपछि देङस्याओपिङले पूँजीवादी राजनीतिक आर्थिक कार्यक्रम लागू गरेका थिए। विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक रहेको अवस्थामा पेरू कम्युनिस्ट पार्टीले सशस्त्र क्राान्तिको थालनी गर्‍यो। पेरूको दीर्घकालीन जनयुद्धको क्रममा विकसित विचारलाई ‘साइनिङ पाथ’का नामले चिनिन्छ।

पेरू अमेरिकी राष्ट्र हो। १२,८५,२२० वर्ग किलोमिटर क्षेत्रफल र ३० करोड जनसंख्यामा भएको पेरुमा गोञ्जालो नेतृत्वमा सञ्चालित जनयुद्ध तुफानी बेगमा अघि बढ्यो। दीर्घकालीन जनयुद्धले अधिकांश ग्रामीण भूभाग खाली गराइसकेको थियो। सम्पूर्ण गाउँ र दुई वटा प्रमुख शहरहरुसमेत कब्जा गरिसकेपछि जनयुद्ध राजधानी कब्जा गर्ने दिशातिर अघि बढ्यो। कम्युनिस्ट पार्टीले राजधानी लिमामाथि घेराबन्दी गरेर हमला गर्ने रणनीति बनायो। तर, १९९२ सेप्टेम्बर १२ मा गोञ्जालो गिरफ्तार परे।

उनको गिरफ्तारीपछि पेरू कम्युनिस्ट पार्टी (साइनिङपाथ) का अन्य नेताहरू पनि एकपछि अर्को गिरफ्तारीमा पर्न थाले। १९९५ सम्म साइनिङपाथले सशस्त्र जनयुद्ध सञ्चालन गरिरह्यो। तर, गोञ्जालोको गिरफ्तारी, कार्यदिशामा रुपान्तरणको अन्यौलता र उत्तराधिकारी विकासको समस्या लगायतका कारण जनयुद्धले गम्भीर धक्का खायो।

१९६९ मा गोञ्जालोको नेतृत्वमा विश्वविद्यालयका विद्यार्थीहरूसहित साइनिङपाथको स्थापना भयो। विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीको पार्टी बनेकाले यसलाई पढन्तेहरूको पार्टी (पुएब्लो डेल लिब्रो) पनि भनियो। १९७८ मा संविधानसभाको चुनाव भयो, १९७९ मा संविधान बन्यो र १७ वर्षको सैनिक शासनपछि पेरूमा १९८० मा राष्ट्रपति चुनावको घोषणा भयो। तर, संविधान निर्माणमा पेरूका जनताको चित्त बुझेको थिएन। राष्ट्रपति चुनावको अघिल्लो रात १७ मई १९८० आयाकुचोको सानो गाउँ चुस्चीमा साइनिङपाथका कार्यकर्ताले मतपत्र र मतदान सामग्री कब्जा गरी जनताको अगाडि सार्वजनिक स्थानमा जलाए, त्यही दिनबाट पेरूमा जनयुद्ध घोषणा गरियो।

जनयुद्ध १९८० देखि १९९९ सम्म चल्यो। यस अवधिमा २,९०० सशस्त्र कार्यवाही भए। ४३,००० मानिसहरूको जनयुद्धमा ज्यान गयो, २६,२५९ लाई बेपत्ता पारियो। १९८५–९० मा पेरुको ३२ प्रतिशत भूभाग र ४९ प्रतिशत जनता साइनिङपाथको नियन्त्रणमा थियो, यसलाई रणनीतिक सन्तुलन भनियो। १९८८ मा पेरूमा भएको साइनिङपाथको पहिलो महाधिवेशनले गोञ्जालो विचारको प्रादुर्भाव गर्‍यो। महाधिवेशनलगत्तै गोञ्जालोले एल डायरियो पत्रिकामार्फत् एउटा लामो अन्तर्वार्ता दिएका थिए, जुन विश्वभरि चर्चित बन्यो।

१९९० जुन महिनाको एक बिहान पेरूको राजधानी लिमामा कम्युनिस्ट पार्टीको ७० वटा राता झन्डा समानान्तर फहराइएको थियो। रिममा आवद्ध विश्वका १५ भन्दा बढी कम्युनिस्ट पार्टीहरूमध्ये साइनिङपाथ पनि एक थियो। माओका योगदानहरूलाई माओवादका रूपमा संश्लेषण गर्ने विचारक गोञ्जालो नै थिए। उनी १९९२ मा पक्राउ परेपछि पेरूको क्रान्ति रक्षात्मक बन्दै गयो। सम्भवतः विश्व इतिहासमा जनताको मुक्तिसंघर्षमा सबैभन्दा लामो जेलजीवन बिताउने नेता गोञ्जालो नै थिए।

गोञ्जालो र क्रान्तिको प्रेरणा

क्रान्तिनायक गोञ्जालोको निधनपछि लाखौं नेपालीले उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन्। क्रान्तिको इतिहासमा चे–ग्वेभारापछि गोञ्जालो नै यस्ता नेता हुन्, जसले विश्वभरिका क्रान्तिकारीहरूका लागि उर्जा र प्रेरणा प्रदान गरेका छन्। ३० वर्ष जेलमा राखेर कठोर यातना दिँदासमेत उनी कहिल्यै गलेनन्। जेल र अदालती वयानका क्रममा उनले क्रान्तिप्रति असीम समर्पण दर्साउँदै विश्वभरिका मुक्तिकामी जनतालाई अभिवादनका साथ प्रेरणा प्रदान गरिरहे। नेपालमा माओवाद संश्लेषणदेखि जनयुद्धको घोषणा र विकासका निम्ति गोञ्जालोको महत्वपूर्ण प्रेरणा थियो। यसर्थ पनि नेपालका क्रान्तिकारीहरूले उनीप्रति श्रद्धाभाव व्यक्त गरिरहेका छन्।

पेरूको जनयुद्धले राज्यसत्तामाथि पूर्ण विजय हासिल गर्न सकेन। यसर्थ, पेरूबाट नेपाल र विश्वले सिक्नैपर्छ। तर, प्रत्येक सफलताबाट मात्र होइन, असफलताबाट पनि सिक्न सकिन्छ र सिक्नुपर्छ। विजयी क्रान्तिहरूले सर्वहारा वर्गलाई मुक्तिको हतियारस्वरूप क्रान्तिकारी राज्यसत्ता दिन्छन्। तर, पराजित क्रान्तिहरूले शिक्षा र आदर्श। गोञ्जालोले विश्वलाई क्रान्तिको नयाँ कार्यदिशा र मोडेल दिन त सकेनन्। तर, युगौंयुग बाँचिरहने आदर्श र प्रेरणा दिए। एउटा असल कम्युनिस्ट कस्तो हुनुपर्छ, ऊ पूँजीवादी एवं साम्राज्यवादी शक्तिका दवाव, प्रभाव, कठोर यातनाका बिच पनि कसरी सतिसाल बनेर उभिनुपर्छ, त्यसका लागि गोञ्जालोको आदर्श जीवन पर्याप्त छ।

कहाँ चुक्यो पेरू ?

१२ वर्ष लामो जनयुद्ध केन्द्रीय सत्ता कब्जाको नजिकै पुगेको थियो। तर, विजयको शिखरमै पुगेर क्रान्ति कसरी ढल्यो ? यो विश्वभरिकै क्रान्तिकारी कम्युनिस्टहरूका लागि चिन्तन र अन्वेषणको विषय हो। यसलाई हामीले क्रान्तिको कार्यदिशा विकासको चुनौती र अवसरका रूपमा पनि लिनुपर्छ।

भूराजनीतिका दृष्टिले नेपाल जुन संवेदनशील परिस्थितिमा छ, त्यसभन्दा कम जोखिमपूर्ण परिस्थितिमा थिएन पेरू। विश्वभरि एकछत्र दादागिरी मच्चाइरहेको अमेरिकी साम्राज्यवादको समीपमा विद्रोहको झण्डा उठाउनु वस्तुगत दृष्टिले पनि सहज थिएन। त्यसमाथि १९७६ पछि चीनमा देङको उदय र माओका उत्तराधिकारीहरूमाथि निर्मम दमन, १९८० को सूचना–प्रविधि क्रान्तिको नयाँ आयाम, १९९१ मा सोभियत संघ र पूर्वी युरोपमा समाजवादको पराजय र साम्राज्यवादीहरूको एकध्रुवीय विश्वको डंका। यी सबै परिस्थिति पेरूको जनयुद्धका निम्ति वस्तुगत प्रतिकूलता थिए।

यद्यपि, वस्तुगत प्रतिकूलता छिचोल्न गोञ्जालोको दार्शनिक, बौद्धिक व्यक्तित्व एवं क्रान्तिप्रतिको अजेय प्रतीज्ञाले निकै ठूलो भूमिका खेल्यो। अदम्य साहस र क्रान्तिकारी भावनाले ओतप्रोत विशाल फौजका साथ उनले दीर्घकालीन जनयुद्धको रथ हाँकेका थिए। तर, दीर्घकालीन जनयुद्धले जब सन्तुलनको चरण पार गर्‍यो, साइनिङपाथमा राजनीतिक कार्यदिशासम्बन्धी अन्यौल सतहमा देखा पर्‍यो। दीर्घकालीन जनयुद्धको निरन्तरता वा अन्य विशेषताहरूको संयोजनको बहसकै बिचबाट केन्द्रीय सत्तामाथि निर्णायक हस्तक्षेपको कारबाही थालियो। तर, सर्वोच्च नेताकै गिरफ्तारीपछि क्रान्तिले अनपेक्षित धक्का खानुपर्‍यो।

साइनिङपाथ कार्यदिशाको विकास र उत्तराधिकारी निर्माणमा चुकेको विश्लेषण आज पनि उत्तिकै बलशाली छ। तर, यो पेरू वा गोञ्जालोको मात्र चुनौती थिएन। विश्वभरिकै कम्युनिस्ट आन्दोलनका निम्ति चुनौती थियो र छ। लेनिनको मृत्युपछि स्टालिनको उत्तराधिकारपूर्ण नेतृत्व लाल र निपूण देखिए पनि त्यसपछिका उत्तराधिकारीबारे पर्याप्त समीक्षा गर्नुपर्ने हुन्छ। माओले सांस्कृतिक क्रान्तिका दौरानमा उत्तराधिकारी निर्माणका निम्ति प्रयत्न गरेको देखिन्छ। यद्यपि, त्यस्तो प्रयत्न संस्थागत परिपाटीको विकासमा आधारित देखिँदैन। व्यक्तिविशेषले अघि सार्ने नेतृत्व सर्वमान्य र संस्थागत प्रणालीको विकासतर्फ परिलक्षित नहुँदा क्रान्तिको पद्धतिसंगत विकास सम्भव हुँदैन।

गोञ्जालोको गिरफ्तारी अप्रत्यासित र अनपेक्षित नै थियो। तर, द्वन्द्वात्मक भौतिकवादले हर कुनै सम्भावनालाई अस्वीकार गर्दैन। क्रान्तिको दौरानमा नेतृत्व समातिन सक्छ, मारिन सक्छ वा गद्दारी पनि गर्न सक्छ। त्यसको बैकल्पिक सोंच, कार्यदिशा र कार्यनीतिसहित कम्युनिस्ट पार्टीले आफ्नो गन्तव्य निर्दिष्ट गर्न सक्नुपर्दछ। गोञ्जालोको गिरफ्तारीपछि तत्काल क्रान्तिकारी शक्तिलाई रणनीतिक स्थानान्तरण गर्नसक्ने कार्यनीति र नेतृत्व भएको भए सायद उनको अनुपस्थितिमा पनि क्रान्ति अघि बढिरहन्थ्यो र पेरूले राज्यसत्तामा विजयको झण्डा गाड्थ्यो। तर, त्यो अवसर पेरू र विश्वले गुमायो।

कम्युनिस्ट र पेरूका शिक्षाहरू

नेपालका कम्युनिस्टहरूले विश्वभरिका क्रान्तिको सैद्धान्तिक समीक्षा गर्न खास चुकेको देखिँदैन। तर, क्रान्तिको मूल्य र सर्वहारा वर्गको सत्ता प्राप्तिको आन्दोलनको अवस्था हेर्दा हामी निकै ठूलो अन्यौल र विचलनमा छौं। पेरूको जनयुद्ध र गोञ्जालोको नेतृत्वबारे समीक्षा गरिरहँदा हामी कहाँ छौं, हाम्रो आदर्श कहाँनेर छ, क्रान्ति र कम्युनिस्ट आन्दोलनको भविष्यका दृष्टिले हामी कस्तो भयावह परिस्थितिमा छौं, यसबारे खास बहस भएको छैन।

हामीले पेरूमा जनयुद्ध असफल हुनुमा कार्यदिशाको अन्यौल भन्यौं। तर, के हामी कार्यदिशामा स्पष्ट छौं ? अहिले हामीले जुन कार्यदिशामा उभिएर समाजवादको सपना देखिरहेका छौं, के त्यो सार्थकतामा बदल्न सम्भव छ, के हाम्रो विश्लेषण वस्तुगत धरातलमा उभिएको छ ? यो प्रश्न गम्भीर रूपमा अगाडि आउँछ। हामीले परम्परागत संसदीय व्यवस्थाबाट माथि उठेको व्यवस्थाको व्याख्या गरे पनि परिणामले पूरानै संसदीय व्यवस्था भनिरहेको छ। यही बाटो हिँडेर हामी समाजवादमा होइन, पुग्ने दलाल पुँजीवादमै हो भन्ने प्रष्टिन्छ। त्यसो भए यसको बिकल्प के त ? के हामीले क्रान्तिको नयाँ कार्यदिशा र मोडेल दिन सक्छौं ? सवाल यहीँनेर छ।

हामीले २१ औं शताब्दीलाई क्रान्तिको नयाँ कार्यदिशा र मोडेल दिन सक्नैपर्छ, त्यो वस्तुगत यथार्थ हाम्रोसामु छ। तर, त्यसका निम्ति सामान्य संकल्पले पुग्दैन, आजको विश्वबारे गहिरो विश्लेषण र संश्लेषण जरुरी छ। एकातर्फ मरणासन्न पूँजीवादले आफ्नो प्राण धान्न अपनाएका नयाँ–नयाँ बिकल्प, वित्तीय भूमण्डलीकरण र डाटा प्रभुत्ववादको विकास, विकेन्द्रीत उत्पादन र केन्द्रीत नियन्त्रण प्रणाली, लागत प्रतिस्थापनको घातंकीय स्थिति, बहुराष्ट्रिय कम्पनिको निर्माण र तिनीहरूको वित्तीय चरित्र, बिनिर्माणवाद र शून्यवादका रूपमा अभिव्यक्त उत्तरआधुनिकतावाद, उत्पादनमा अत्याधुनिक मेसिन अर्थात् कृतिम बौद्धिकताको प्रयोग र अर्कोतर्फ साम्राज्यवादका विरुद्ध विश्वव्यापी उठेका ज्वारभाटाहरू, पूँजीवादी संकटको समाधान पूँजीवादले दिन नसक्ने विश्लेषण र तीव्र असन्तुष्टि, बहुध्रुवीय विश्वको विकास र समाजवादी शिविरमा गुणात्मक प्रगति, पर्यावरण, मानवअधिकार लगायतका सुधारवादी आन्दोलनहरूको विकास, विश्वभरिका क्रान्तिकारीहरूका निम्ति भाइचाराको भौतिक अनुकूलताजस्ता पक्ष नै आजको नयाँ कार्यदिशा विकासका आधारस्तम्भ हुन्। के हामीले परिस्थितिको सुक्ष्म विश्लेषणका आधारमा नयाँ निष्कर्ष निकाल्न सक्छौं ? यो नै आजको सर्वाधिक महत्वको प्रश्न हो।

गोञ्जालोको निष्ठा र संकल्प हाम्रा लागि शिक्षा मात्र नभएर चुनौती पनि हो। उनले फुजिमोरी सरकारसँग अनुनय गरेका भए जेलबाट छुट्न सक्थे, सुधारवादको बाटो हुँदै सरकारको नेतृत्वमा पनि पुग्न सक्थे। ३० वर्ष अर्थात् एक युग नै जेलमा व्यतीत गर्नु पर्दैनथ्यो। तर, उनले कलंकको बाटो रोजेनन्, निष्ठाको बाटो रोजे, त्याग र आदर्शको बाटो रोजे। तत्कालका दृष्टिले पेरूको जनयुद्धले हार्‍यो। तर, क्रान्तिकारी सिद्धान्त, आदर्श र अठोट हारेको छैन। यही यस्तो शक्ति हो, जसले फेरि अर्को पुस्तालाई क्रान्तिको झण्डा उठाउन उद्देलित गरिरहनेछ।

हामी क्रान्तिकारी आदर्शको कुरा गर्छौं। तर, व्यवहारमा त्यसको एक अंश पनि भेटिँदैन। त्यागको कुरा गर्छौं। तर, राजकीय पदका निम्ति निकै अस्वस्थ र भद्दा छिनाझप्टी हुँदैछ। हिजो त्यागका लागि प्रतिस्पर्धा गर्नेहरूबिच आज सांसद–मन्त्रीका लागि प्रतिस्पर्धा हुँदैछ। मन्त्री नपाए आत्महत्या गर्छु भन्नेसम्मका अत्यन्तै निर्लज्ज अभिव्यक्ति सहजतापूर्वक प्रचार गरिएका छन्। मन्त्री जोगाउनकै निम्ति क्रान्तिबाट आएका नेताहरू निर्लज्जपूर्वक निर्वाचन आयोग र सर्वोच्च धाइरहेको जनताले अरूचिपूर्वक हेर्नु परिरहेको छ।

यो हाम्रो क्रान्तिकारी संकल्पको समस्या हो, जीवन र जगतलाई हेर्ने विश्वदृष्टिकोणको समस्या हो। हाम्रो चिन्तनप्रणाली र सांस्कृतिक रूपान्तरणको समस्या हो, व्यवस्थापकीय कौशलताको समस्या पनि हो। तर, त्यसभन्दा मुख्य विकसित परिस्थितिअनुरूप कार्यदिशाको विकास गर्ने चुनौती हो। यही चुनौतीको समाधानका निम्ति संकल्पवद्ध भएर मात्र गोञ्जालोप्रति सच्चा श्रद्धाञ्जलि गरेको ठहर्छ। हार्दिक श्रद्धासुमन क्रान्तिनायक गोञ्जालो, अलविदा !

(२७ भाद्र २०७८, काठमाडौं)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्