कस्तो रह्यो गोञ्जालोको जेलजीवन ?

Abimael_Guzmán
  • 613
    Shares
लोकपाटी न्यूज

अबिमाएल गुजमन ‘गोन्जालो’ १९३४ सालमा पेरुको दक्षिण तटीय किनारमा रहेको शहर मोलेन्डोमा सम्पन्न परिवारमा जन्मिएका थिए। विश्वविद्यालयमा समेत अध्यापन गराएका उनले जर्मन फिलोसोफर इमानुयल कान्टको बारेमा थेसिस गरेका हुन्। विश्वविद्यालयमा अध्ययनकै क्रममा मार्क्सवादी चिन्तनबाट प्रेरित भएर सन् १९६२ मा उनले सान क्रस्टोबाल अफ हुवामांगा नेशनल युनिभर्सिटीमा प्राध्यापकको उपाधि पाएका थिए।

सन् १९६५ मा उनी चीनको भ्रमणमा निस्किए। त्यतिबेला उनी कम्युनिस्ट नेता माओ त्सेतुङबाट प्रभावित भएका थिए। चीन भ्रमणबाट फर्किएपछि उनले पेरुमा आफूसँग विचार मिल्ने बौद्धिक जमातहरूसँग कम्युनिष्ट आन्दोलनको विषयमा छलफल गरे। सन् १९६९ मा गोन्जालोले अन्य ११ जनासँग मिलेर ‘साइनिङ पाथ’को स्थापना गरे। यो नाम पेरुका कम्युनिष्ट नेता जोसे कार्लोस मारियाटेग्युको विचारबाट लिइएको थियो।

उनले भनेका थिए, ‘मार्क्सवाद र लेनिनवाद भविष्यको उज्यालो बाटो हो।’ गोन्जालोले सन् २०१० मा साइनिङ पाथकी नेतृ एलेनासँग जेलमै दोस्रो विवाह गरेका थिए। उनीहरुले विवाहका लागि जेलमै संघर्ष गरेका थिए। त्यतिबेला उनीहरु जेलमै अनशनसमेत बसे। सन् २०१० मा ७५ वर्षका गुजमान र ६५ वर्षका एलेनाले विवाह गरे।

उनीहरुले सन् २००७ मै विवाहको सोच राखेका थिए। तर अनुमति दिइएको थिएन। सन् २०१० मा उनीहरुले भोक हडताल गरे। राष्ट्रपति एलन ग्रासियाले उनीहरूलाई विवाहको अनुमति दिँदै विवाहको अधिकारबाट वञ्चित नगराउने भनेका थिए। पूर्व विश्वविद्यालयका प्राध्यापक गुजमानले चिनियाँ क्रान्ति र माओवादबाट प्रभावित भई स्थापना गरेको साइनिङ पाथले पेरुमा जनयुद्धको घोषणा गर्दै त्यहाँको ‘बुर्जुवा प्रजातन्त्र’लाई ढालेर कम्युनिष्ट सत्ता स्थापनाको दिशामा अगाडि बढ्यो। यो समूह सुरुवातमा सैन्य संघर्षमा थिएन।

सन् १९८० मा पेरुको सत्ता चलाइरहेको त्यहाँको सैन्य शासकले प्रजातान्त्रिक निर्वाचन घोषणा गर्‍यो। साइनिङ पाथले निर्वाचनको बहिष्कार मात्र गरेन, निर्वाचनलाई पूर्ण रूपमा असफल बनाउन मतपेटिका जलाउनेसम्मको काम गर्‍यो। उसले ग्रामीण इलाकाहरू नियन्त्रणमा लिँदै जनसत्ता स्थापना गर्दै अगाडि बढ्यो। सन् १९८३ मा साइनिङ पाथका नेताको हत्या भएपछि सान्टियागो डे लुसानामार्सामा ६९ स्थानीयलाई साइनिङपाथका कार्यकर्ताहरूले हत्या गरे। अर्को ठूलो आक्रमण सन् १९९२ मा राजधानी लिमामा ट्रक बम विष्फोट हुँदा भयो। त्यहाँ २५ जना मारिएका थिए।

साइनिङ पाथले निर्वाचन बिथोलेपछि पेरुको सैन्य शासकहरूले संकटकाल लगाए। यो संकटकाल सन् १९९२ मा गोन्जाललाई पक्राउ गर्दासम्म रह्यो। गोन्जालो राजधानी लिमाको एक अपार्टमेन्टमा लुकेर बस्दै आएका थिए। मार्टिजा गार्रिडो लेकाको अपार्टमेन्टमा लुकिरहेका उनलाई गुप्तचरहरूले पक्राउ गरेका थिए। त्यतिबेला उनी त्यहाँ उपचार गराइरहेका थिए। गोन्जालोलाई उनकी दोस्री पत्नी एलिना अन्य नेताहरूसहित पक्राउ गरिएको थियो। उनी त्यतिबेला टेलिभिजनमा बक्सिङ हेरिरहेका थिए।

अपार्टमेन्टको तल्लो तल्लामा नृत्य स्टुडियो थियो। माथिल्लो तल्लामा गोन्जालोसहितका साइनिङ पाथका नेताहरू लुकेका थिए। उनलाई लुकाएको आरोपमा पेरुकी व्यालेट डान्सर मार्टिजा पनि पक्राउ परेकी थिइन्। २५ वर्ष जेल जीवन बिताएर उनी सन् २०१७ मा रिहा भइन्। सन् १९९२ मा उनको अपार्टमेन्टमा साइनिङ पाथको हेडक्वाटर थियो। यस अपार्टमेन्टलाई मार्टिजाका प्रेमीले भाडामा लिएका थिए। अपार्टमेन्टको तल्लो तल्लालाई उनले डान्स स्कुलमा परिणत गर्दा दोस्रो तल्लामा गोन्जालोसहितका नेताहरूको हेडक्वाटर थियो।

मार्टिजा र उनका प्रेमीलाई पनि आतंकवादीको अभियोगमा २५ वर्ष जेल सजाय सुनाइएको थियो। सन् १९९२ देखि आजीवन कारावासको सजाय सुनाइएका गोन्जालोको शनिवार जेलमा नै निधन भएको हो। उनको निधनमा नेपालका कम्युनिष्ट नेताहरूले पनि दुख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्