बिलखबन्दमा तेस्रो धार : एक्लै छोड्ने कि बीस प्रतिशत पुर्‍याउनेमा छलफल

Bhim_Rawal
  • 3.2K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू निकट नेताहरूलाई १० बुँदे सहमति कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन्। आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट भएको बताएपछि रावलले १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको बताएका हुन्।

आइतबार ओली निवास बालकोटबाट फर्किएपछि रावल एमाले दलको बैठकमा समेत गएका थिएनन्। प्रतिनिधिसभा बैठक पछि सिंहदरबारमा आफू निकटका नेतासँग १० बुँदे सहमति कार्यान्वयनमा चुनौती थपिएको बताए। सिंहदरबारमा प्रतिनिधिसभा सदस्य झपट रावल र एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीसँग रावलले १० बुँदे सहमति कार्यान्वयन आवश्यक रहेको र उक्त सहमति कार्यान्वयन नभए समस्या हुने बताएका हुन्।

जोशी एमालेमा विवाद हुँदा रावलले गठन गरेको समानान्तर कमिटीको सुदूरपश्चिम अध्यक्ष थिए। सिंहदरबारभित्रै भएको छलफलमा रावलले आइतबार बिहान ओली निवासमा भएको छलफलबारे जानकारी गराएका थिए। उनले अध्यक्ष ओलीले सुदूरपश्चिममा भट्टलाई इन्चार्ज बनाउन चाहेको भन्दै १० बुँदे कार्यान्वयन नभए एमाले भित्रै रहेकाहरू पनि नरहने आशय व्यक्त गरेका थिए।

‘लाखौं लाख कार्यकर्ताको रगत र पसिनाको बनाएको पार्टी हो। अन्तिमसम्म अझै प्रयत्न गर्नुपर्छ। जेठ २ मा लैजान र १० बुँदे कार्यान्वयन गर्न नेतृत्व इमान्दार भएर लाग्नु पर्छ,’ झपट रावलले भने, ‘यो हुँदैन भनेर बाहिरिनु भएका साथीहरूलाई पनि आउने वातावरण बन्छ। नत्र यहीँभित्र रहेका साथीहरू पनि यहाँ नअट्ने वातावरण बन्छ भन्ने उहाँको बुझाइ छ।’ छलफलमा दैलेखबाट निर्वाचित राजबहादुर बुढा पनि थिए। केही व्यक्तिहरूको कारणले १० बूँदे र जेठ २ मा जान समस्या भइरहेको बताए। उनले जेठ २ भन्दाअघि सुदूरपश्चिम प्रदेशको संयोजक भीम रावल रहेको भन्दै अब पनि रावलले जिम्मेवारी पाउनु पर्ने बताए।

‘तेस्रोधार’सँग ओली आक्रामक

अध्यक्ष ओलीमाथि सहमति पालना नगरेको आरोप लागिरहेका बेला मध्यमार्गी नेताहरूसँग ओली आक्रामक बन्न थालेका छन्। १० बुँदे सहमति कार्यान्वयन र जिम्मेवारीको विषयलाई लिएर विवाद भइरहेको चर्चा चलिरहेका बेला ओली आक्रामक रूपमा प्रस्तुत हुन थालेको बताइएको छ। एमालेमै बसेर संघर्ष गर्ने बताएका नेताहरू ओलीको व्यवहारले अहिले थप तनावमा पर्न थालेका छन्।

१० बुँदे सहमतिमा पनि सुदूरपश्चिम प्रदेश पार्टी संयोजक कसलाई बनाउने भन्ने विवादले अध्यक्ष ओली र डा. भीम रावलबीच तनावको अवस्था सृजना भएको छ। उपाध्यक्षसमेत रहेका भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज बनाउने वचन दिएका ओलीले अहिले भने उनलाई इन्चार्ज नदिने भएका छन्। यो प्रस्ताव लिएर ओलीलाई भेट्न पुगेका रावललाई ओलीले फेरी लफडा नगर्नुस् भन्दै फर्काएका छन्।

ओलीले सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन गर्न नसक्ने भनेपछि ओलीसँग रावलको सम्बन्ध चिसिएको बताइएको छ। त्यसपछि ओलीले आइतबार बिहान पनि आफ्नो निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने जवाफ दिँदै यसमा कुनै लफडा नझिक्न आग्रह गरेका थिए।

नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सम्झौता कार्यान्वयन गर्दा एमालेको सुदूरपश्चिम इन्चार्ज उपाध्यक्ष समेत रहेका भीम रावल हुनुपर्ने भए पनि अध्यक्ष ओलीले लेखराज भट्टले नै उक्त जिम्मेवारी सम्हाल्ने र रावललाई उपाध्यक्षको जिम्मेवारीमै राख्ने ओलीले रणनीति लिएका छन्।

भट्ट गत फागुन २३ पछि एमाले सुदूरपश्चिम इन्चार्ज तोकिएका हुन्। त्यसबेला रावल माधव नेपाल समूहमा रहेका थिए। माधव नेपालसहितका नेताहरूले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गर्दा रावल पुन ओलीसँगै बसेका थिए। १० बुँदे कार्यदलका संयोजकसमेत रहेका रावल पार्टी जेठ २ मा फर्कने भन्ने सहमतिपछि सुदूरपश्चिमको संयोजक पनि स्वतः आफै हुनुपर्ने पक्षमा छन्।

रावलले सुदूरपश्चिम प्रदेशको संयोजक बन्ने अडान लिएपछि सहमति कार्यान्वयनमा असहजता उत्पन्न भएको बताइएको छ। विवाद समाधानका लागि रावल, भट्ट र अर्का नेता कर्ण थापा छुट्टै आन्तरिक छलफलमा बसे पनि साम्य हुन नसकेपछि पार्टी अध्यक्ष ओलीसँगै उनीहरू बस्नुपर्ने स्थिति उत्पन्न भएको थियो। ओलीसँग उनीहरू सकेसम्म शनिवार स्थायी कमिटी बैठकपछि या आइतबार बिहान यसबारे टुंगो लगाउने गरी बस्ने तयारी थियो। तर बैठकमै ओलीले यसको च्याप्टर क्लोज गरेका छन्। यससँग तेस्रो धारका नेताहरू सशङ्कित भएका छन्।

१० बुँदे सम्झौता कार्यान्वयन नहुने अवस्था सिर्जना भएपछि के गर्ने भन्ने विषयमा तेस्रो धारभित्र छलफल सुरु भएको बुझिएको छ। उपाध्यक्ष रावलले १० बुँदे सम्झौता कार्यान्वयन नहुने हो भने पार्टीमा रहिरहन नसकिने आफूनिकट नेताहरूसँग भनेका छन्। यस्तो अवस्थामा एक्लैले पार्टी छोड्ने कि २० प्रतिशत पुर्‍याएर नयाँ पार्टी गठन गर्ने भन्ने विषयमा पनि छलफल सुरु भइसकेको उनी निकट एक नेताले बताए। १० बुँदे कार्यान्वयनको विषयमा गम्भीर छलफलको आवश्यकता रहेको र कार्यान्वयन नहुने अवस्था आए के गर्ने भन्ने विषयमा तेस्रो धारका नेताहरूबिच छलफल अघि बढाउने तयारी रहेको स्रोतको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्