विश्वकप क्रिकेट लिग-२ : नेपालद्वारा अमेरिका पराजित, आज ओमानसँग खेल्दै

  • 9
    Shares
लोकपाटी न्यूज

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो ।

अमेरिकाले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर २३० रनको योगफल तयार गरेको थियो । दुई सय ३१ रनको विजयी लक्ष्य नेपालले ४९ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि प्लेयर अफ दी म्याच भएका कुशल भुर्तेलले ८४ रनको योगदान दिए । उनले ९३ बलको सामना गर्दै तीन छक्का र तीन चौकासमेत प्रहार गरे ।

यस्तै रोहितकुमार पौडेलले अविजित ६२ रन बनाए । उनले ८७ बल खेल्दै तीन छक्का र दुई चौका हानेका थिए । नेपालका लागि विनोद भण्डारीले ३७, आशिफ शेखले २३ र कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाए । । बलिङतर्फ अमेरिकाका निशर्ग पटेल र नोष्ठुस केन्जिगेले दुई–दुई तथा सौरभ नेत्राभल्करले एक विकेट लिए ।

ओमान र अमेरिकासितको विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शङ्खला खेल्न नेपाली टोली ओमान गएको हो । ओमान शृङ्खला आगामी असोज ४ गतेसम्म सञ्चालन हुने छ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्ने छ । नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

लिग-२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग-२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।

नेपालले आज घरेलु टोली ओमानसित प्रतिस्पर्धा गर्ने छ । उक्त खेल अपराह्न ४ः१५ बजे सुरु हुने छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्