भौतिक उत्पादन : मानव जीवनको नैसर्गिक आवश्यकता

communist_worker
  • 58
    Shares
लोकपाटी न्यूज

समाजको विशिष्ट चरित्र सामाजिक उत्पादन र पुनरुत्पादन प्रक्रिया नै हो। उत्पादनको यस प्रक्रियामा समाजले लामो यात्रा तय गरेको छ र विभिन्न खुड्किला चढेको छ। जीवनोपयोगी पदार्थहरू प्राप्त गर्ने प्रक्रियामा प्रकृति र मानवबीच सक्रिय रचनात्मक सम्बन्ध स्थापित हुन्छन्। प्रकृति र मानवबीच चल्ने यो आदानप्रदान प्रक्रिया प्राणीहरूमा निरन्तर चलिरहने मेटावालिज्म जस्तै निरन्तर चलिरहने प्रक्रिया हो, जसबाट मानिसको ज्ञान वृद्धिका साथै पुनः नयाँ क्रिया र साधनको माग र पुनः ज्ञान र उत्पादनको वृद्धि निरन्तर चलिरहन्छ। यो प्रक्रिया नै समाजका श्रीवृद्धि र विकासको कारण हो। जस्तो कि मानिसले आफ्नो भरण पोषणका लागि आवश्यक पदार्थ प्राप्त गर्न जनावर तथा अत्र आदिको उपयोग गर्छ र त्यसका लागि उसले धरतीलाई खनजोत गरी अत्र उत्पादन गर्छ वा प्राकृतिक रूपमा प्राप्त हुने वस्तु संकलित गर्छ र तिनलाई उपभोग योग्य बनाउँछ। र, त्यस्तै पशुपालन गर्छ र पुनरुत्पादन गर्छ।

उपभोग्य वस्तु तथा उत्पादनका साधन तयार गर्न कच्चापदार्थको प्राप्तिका लागि खनिज पदार्थको उत्खनन र दोहन गर्छ, र त्यसबाट नयाँ वस्तु उत्पादन गर्छ। यी सब क्रियाकलापबाट उसले नयाँ ज्ञान र सीप, नयाँ र बडी उन्नत औजारको निर्माण आदिको कौशल प्राप्त गर्छ र मानिस हिजोभन्दा बढी सिपालु, बुद्धिमान र कल्पनाशील बन्दै जान्छ। उत्पादनका लागि शक्तिको आवश्यकता पर्छ जुन उसले आफ्नो शारीरिक बल, जनावरहरूको तागत, हावा, बिजुली, भाप, विद्युत् आदि जस्ता प्रकृतिका नैसर्गिक गुणहरूबाट प्राप्त गर्छ। आफ्नो शारीरिक बलभन्दा यी अन्य सब शक्ति स्रोतहरू उसको श्रमका उत्पादन हुन र प्रकृतिसँगको अन्तरक्रियाका क्रममा प्राप्त ज्ञानको विकाससँगै उत्पादन गरिएका बस्तु हुन। यस सम्पूर्ण उत्पादन प्रक्रियामा उ निरन्तर श्रम, ज्ञान, साधन श्रोत आदिको विकास गर्छ र प्रकृतिसँग निरन्तर क्रिया-प्रतिक्रियाको आदान प्रदान गरिरहेको हुन्छ। समाज माथि प्रकृतिको प्रभाव स्वतःस्फूर्त तरिकाले परिरहेको हुन्छ भने प्रकृति माथि समाजबाट पर्ने प्रभाव सधैं मानिसद्वारा आफ्नो अस्तित्व जोगाउन र प्रकृतिसँग अनुकूलन र प्राकृतिक अज्ञात गुणधर्मको खोज गर्दै तिनलाई उपयोग र उपभोग गर्नका लागि सचेत रूपमा गरिने संघर्षको परिणाम हुन्छ।

सारांशमा भन्नुपर्दा, उत्पादनको प्रक्रियामा मानिस र प्रकृति एक अर्कोसँग परस्पर क्रिया-प्रतिक्रिया सम्पन्न गर्छन् र एक अर्कोलाई प्रभावित गर्छन्। मानिस प्रकृतिलाई आफू अनुकूल बनाउन र त्यसको उपभोग गर्न उसमाथि निरन्तर प्रहार (क्रिया) गर्छ र त्यसलाई प्रभावित र परिवर्तन गर्दै रहन्छ। यस प्रक्रियाको प्रतिक्रिया स्वरूप प्रकृतिले उसलाई नयाँ ज्ञान र सीप दिनुका साथै उसका चेतनाको विकास गर्छ। निरन्तरको यस क्रिया-प्रक्रियामा उसले प्रकृतिमाथि कति प्रभाव पार्छ र त्यसलाई आफू अनुकूल परिवर्तन गरी उपभोग्य बनाउन उसले कुन तरीका र साधन प्रयोग गर्छ त्यो तात्कालिक सामाजिक उत्पादक शक्तिका विकासको स्तर, बौद्धिक र प्राविधिक विकासको स्तर, सामाजिक सचेतना र सामाजिक संरचनाको अवस्था र समाज विकासको स्तर तथा स्वयम् व्यक्तिहरूका सचेत क्रियाकलापहरूको गुणवत्तामा निर्भर गर्दछ। जीवनसँग अभिन्न रूपले जोडिएको यो दोहोरा सम्बन्धबाट नै सामाजिक उत्पादन प्रणालीको निर्माण हुन्छ, जसमा उत्पादक शक्ति र उत्पादन सम्बन्ध दुइटै निरन्तर परिवर्तन र विकसित भइरहेका हुन्छन्। उत्पादक शक्ति त्यो शक्ति हो जसको माध्यमबाट मानिसले प्रकृतिको दोहन गर्छ र प्रकृतिलाई आफू अनुकूल परिवर्तन गर्छ। प्रकृति एक मात्र आधारभूत र सार्वत्रिक उत्पादनको साधन हो। अन्य उत्पादनका साधनहरू यसैबाट निःसृत हुने कुरा हुन्।

मार्क्स भन्नुहुन्छ, ‘श्रम सामाजिक सम्पत्तिको पिता हो र प्रकृति माता हो।’ तर, मानिसले सम्पूर्ण प्रकृतिलाई एकै पल्ट एकमुष्ट रूपमा तात्कालिक उत्पादनका साधनको रूपमा उपयोग गर्न सक्दैन। त्यसको त्यस अंशलाई मात्र तात्कालिक उत्पादनको साधन बनाउन सक्छ जुन अंशलाई उत्पादनको प्रक्रियामा उपयोगमा ल्याउन मानिस समर्थ भएको हुन्छ वा उत्पादनको साधन बनाउन सक्ने योग्यता र सामर्थ्य प्राप्त गरेको हुन्छ। सारांशमा भन्नुपर्दा सामाजिक उत्पादक शक्ति भत्करु उत्पादनका साधन, जसमाथि मानिसले क्रिया गर्छ, मानिसद्वारा निर्मित श्रमका औजार, जसलाई उसले उत्पादनको प्रक्रियामा आफू र उत्पादनका साधन बीचको मध्यस्थ माध्यमको रूपमा प्रयोग गर्छ र मानिस स्वयम् जसले ती साधनको प्रयोग गरी उत्पादन गर्छ यी सबको सामूहिक अभिव्यक्ति हो।

वस्तु उत्पादनका लागि मानिसको श्रम, श्रमका औजार र श्रमका साधन निर्णायक अवयव हुन् यसमध्ये कुनै एकको पनि अभाव रहेमा उत्पादन प्रक्रिया सम्भव छैन। उत्पादन प्रक्रियाको विकासको द्वन्द्वात्मक चरित्र हेर्ने हो भने त्यस प्रक्रियामा सर्वप्रथम औजारको, त्यसमा पनि औजारका काम गर्ने भागको, विकास हुन्छ। श्रमका औजार वा मशीनहरू ती माध्यम हुन जसलाई मानिसले श्रम गर्दा आफ्नो र श्रमका साधन हरूको बीचमा गतिशील राख्छ र तिनको माध्यमबाट आफ्नो श्रमलाई उत्पादनमा परिणीत गर्छ। जबसम्म मानिसको श्रम, श्रमका औजार र श्रमका साधन र उत्पादनमा त्यस श्रमिकको स्वामित्व वा अधिकार रहन्छ तबसम्म यस सम्पूर्ण प्रक्रिया र त्यसका उत्पादनको उ आफै मालिक हुन्छ र समाजमा शोषण विहीन सामाजिक उत्पादन सम्बन्धहरूको अवस्था रहन्छ। तर, जब यस अवस्थामा परिवर्तन भएर श्रमका औजार, श्रमका साधन तथा उत्पादनमा अरूको अधिकार हुन्छ र श्रम गर्नेले त्यस उत्पादनको केही अंश, उसलाई जीवित रहनका लागि आवश्यक पर्ने, उसले पाउँछ र बाकी अरूले उपभोग गर्छ, तब समाजका उत्पादन सम्बन्ध शत्रुतापूर्ण विभेदकारी सम्बन्धमा परिणीत हुन्छन् र समाज शत्रुतापूर्ण वर्गहरूमा विभाजित हुन्छ। यस्तो अवस्थामा श्रमिक समक्ष आफू बाच्नका लागि अरू केही उपाय बाँकी नरहने भएकोले, आफ्नो श्रम अरूलाई बेच्नु पर्ने बाध्यकारी अवस्था सृजना हुन्छ र यहीँबाट श्रमका शोषणको परिपाटी र समाजमा वर्गीय विभाजनको अवस्था सृजना हुन्छ र वर्गसंघर्ष जन्मिन्छ।

मार्क्स भन्नुहुन्छ- ‘….सारांशमा भन्नुपर्दा सामाजिक उत्पादक शक्ति भनेको समाजद्वारा उत्पादित श्रमका साधन, त्यसमा पनि मुख्य रूपमा श्रमका औजार र मानिस आफै जसले ती औजार प्रयोग गरी वस्तु उत्पादन गर्छन्, को सम्मिलित रूप हो।’ ‘..कुनै पनि समाजका आर्थिक-सामाजिक विकासको स्तरका मापनको मुख्य आधार भनेको त्यस समाजले के उत्पादन गर्छ भन्ने कुरा होइन बल्की कसरी र कुन औजारबाट उत्पादन गर्छ भन्ने कुरा हो।’ (मार्क्स, क्यापिटल भाग १)। मानिसको श्रम जीवजगतका अन्य कुनै पनि, यहाँ सम्मकी सर्वोच्च विकसित जनावर भन्दा पनि, भित्र यस कुरामा छ कि मानिसले श्रम गर्दा जनावर जस्तो आफूलाई प्रकृतिको अनुकूल पार्दै बाच्नका लागि मात्र होइन बल्की प्रकृतिमाथि जीवन्त प्रभाव पार्दै त्यसलाई आफू अनुकूल पार्न र उपभोगयोग्य बनाउन सचेत, पूर्वविचारित र योजनाबद्ध रूपमा श्रम गर्छ र प्रकृतिमाथि प्रभाव पार्छ। दोस्रो कुरा यसले पूर्वानुमान गरी प्रकृतिको व्यवस्थित उपयोग गर्न आफ्ना क्रियाकलाप गर्छ र सर्वोपरि यसले त्यसका लागी उत्पादनका औजारहरूको निर्माण गरी त्यसको माध्यमबाट उत्पादनको लक्ष र योजना अन्तरगत काम गर्छ। तेस्रो कुरा, निश्चित उद्देश्यका लागि सचेत रूपले श्रम गरिन्छ। चौथो कुरा, मानव श्रमको चरित्र आफ्नो उदयकालदेखी नै सामाजिक चरित्र रहेको हो र यसको चरित्र सधैँ सामाजिक नै रहने छ। समाजभन्दा बाहिर मानव श्रम र सामाजिक उत्पादनको कल्पना गर्न सकिँदैन। (मार्क्स, ऐ ऐ)

प्रकृति अंशी र समाज अंश भए पनि प्रकृतिका यस अंशको गति र त्यसको विन्यास, गठन, चरित्र, एकत्व र वैशम्यको अध्ययन जटिल र बहुआयामिक विषय हो। मानव समाज आफ्नो वैशिष्ट्य र गुणवत्ताले गर्दा सापेक्षिक रूपमा शेष प्राकृतिक भन्दा स्वतन्त्र चरित्र भएको प्राकृतिकको अंश हो र प्रकृतिकै अंश भए पनि केही विशिष्टतामा बाँकी प्रकृतिसँग प्रतिपक्षको अवस्थामा पनि छ र आफ्नो अस्तित्व र विकासका लागि शेष प्रकृतिसँग निरन्तर संघर्षमा छ। प्रकृतिकै विशिष्ट रूप हो तर प्रकृतिकै प्रतिपक्षीको अवस्थामा पनि छ र प्रकृतिसँगको यस प्रतिकूलतालाई अनुकूलतामा परिवर्तन गर्न सधैं त्यससँग द्वन्द्वको अवस्थामा छ। प्रतिकूलता र अनुकूलनको यो द्वन्द्वात्मक सम्बन्ध नै मानवका चेतनाको विकासको कारक हो सामाजिक गतिको प्रेरक आन्तरिक स्रोत हो। अठारौं शताब्दीका इटालियन दार्शनिक जियोभानी भीको भन्छन्, ‘प्रकृति र मानव समाजका इतिहासको भित्रा के हो भने समाजको इतिहास मानिसले र मात्र मानिसले बनाउँ छन् जबकि प्राकृतिक परिवर्तन र विकास त्यसका नैसर्गिक नियमहरू अन्तरगत स्वभावतः लागू भइरहेका हुन्छन्।’

कुनै पनि प्राणीसँग बाच्नका लागि प्रकृतिको आश्रय र जीविकोपार्जनका लागि त्यसको दोहन भन्दा अर्को विकल्प छैन र हरेकले आफ्नो प्रकृति प्रदत्त गुणधर्म र चेतनाको स्तर अनुसार त्यसको उपभोग गर्दछ। स्वाभाविक हो मानव पनि आफ्नो आदिम कालदेखि नै जीविको उपार्जनका लागि प्रकृतिसँग निरन्तर संघर्ष गर्दै सामाजिक जीवनका विभिन्न अवस्था र चरण पार गर्दै आजको अवस्थामा आइपुगेको हो। यसभन्दा अर्को कुनै शक्ति, अवस्था वा आकस्मिक घटना थिएन जसबाट मानव र समाजको जन्म र विकास भएको होस्। मानिससँग पनि आफ्नो अस्तित्वका लागि प्रकृतिसँग जुध्न बाहेक अर्को कुनै बाटो थिएन। जब मानिस रुखको बसोबास छोडी भूँइमा ओर्लियो र आफ्ना दुई हाथलाई हिँडडुलको प्रयोजनबाट मुक्त गरी जीविकोपार्जनको साधन जुटाउने माध्यमको रूपमा प्रयोग गर्न थाल्यो तब उ आम प्राणीहरू भन्दा भित्र रूपमा विकसित हुन पुग्यो। मानवको जीवन यात्रामा यो नै पहिलो महान् परिवर्तनकारी क्रान्ति थियो। यस क्रान्तिबाट मानव अन्य प्राणी जगतबाट अलग्गिएर आदि कबिलाहरूको जीवन पार गर्दै सचेत उत्पादक सामाजिक जीवनको यात्रामा अगाडि बड्यो। यो नै मानव समाजका भौतिकवादी विकासको सार हो। मानवको यस यात्रा र आजको अवस्थालाई अन्य किसिमले व्याख्या गर्ने अरू कुनै आधार छैन। मानवद्वारा प्रकृतिमाथि गरिने प्रत्येक क्रियाकलापले उसमा ती काम सम्पन्न गर्न नयाँ नयाँ उपायबारे सोच्न प्रेरित मात्र गर्दैन बल्की ती काम सम्पन्न गर्न नयाँ सोच विकास गर्नु पर्ने अवस्था पनि सिर्जना गर्छ जसबाट उसको चेतनाको विकास हुने गर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्