अकल्पनीय निर्णय लिने भीम रावलको संकेत

Bhim_Rawal
  • 787
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सुदुरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मेवारी पूर्वमाओवादी नेता भट्ट दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयपछि नेकपा (एमाले) उपाध्यक्ष भीम रावल नराम्ररी चिढिएका छन्।

१० बुँदे सहमति कार्यान्वयनको प्रतिवद्धताबाट ओली पछि हट्ने देखिएपछि रावलसहितका नेताहरू कुनै पनि बेला अकल्पनीय निर्णयमा पुग्ने देखिएको छ।

पार्टीमा चर्किएको मतभेद मत्थर पार्न गत असार २७ गते मध्यरातमा अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको संलग्नतामा बनेको कार्यदलले १० बुँदे सहमति जुटायो।पार्टी विधानको व्यवस्था बमोजिम २ जेठ ०७५ को संगठनात्मक अवस्थाबाट क्रियाशील हुने सहमतिपछि नेपाललाई छोडेर उपाध्यक्ष भीम रावलसहितका नेताहरू मूल पार्टीमै रहे।

१० बुँदे सहमति विपरीत अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा भट्टलाई नै निरन्तरता दिने निर्णय लिएपछि रावलले झड्का महसुस गरेका छन्। ओली र रावलबीच अविश्वास झनै बढेको छ ।

सर्वोच्च अदालतको गत फागुन २३ को फैसलाले एमाले पार्टी पुनर्जीवित गराएपछि उपाध्यक्ष रावललाई प्रदेश इन्चार्जबाट हटाएर भट्टलाई जिम्मेवारी तोकिएको थियो। अहिले पनि आफू नै इञ्चार्ज रहेको भट्ट बताउछन्। आफूलाई पार्टी अध्यक्ष ओलीले तपाईं नै सुदूरपश्चिमको इञ्चार्ज भएको बताएको उनको भनाइ छ।

पूर्वमाओवादी नेतालाई काखी च्याप्ने, एमालेकै नेतालाई लखेट्ने नीति ओलीले लिएको भन्दै उपाध्यक्ष रावलसहितका नेताहरू फेरि विद्रोहको बाटोमा जाने सम्भावना छ। रावल भने अहिले सुदुरपश्चिम प्रदेशमा एमालेभित्र देखिएको अन्तरर्विरोध चिर्न लाग्नुपर्ने अवस्था आएको बताए। ओलीको पछिल्लो निर्णयप्रति घुमाउरो पारामा आएको रावलको असन्तुष्टि हो।

फेरि धोका पाएका रावलसहितका नेताले कुनै अकल्पनीय निर्णय लिएमा आश्चर्य हुने छैन। त्यो विद्रोह रोक्ने उपाय भनेको १० बुँदे सहमतिको इमान्दारीपूर्वक पालना नै हो।

दुई दिनअघि मात्रै सुदूरपश्चिम प्रदेश इञ्चार्जका विषयमा  पार्टी अध्यक्ष केपी ओलीकै निवासमा छलफल भएको थियो। छलफलमा अध्यक्ष केपी ओलीले पूर्वमाओवादी नेता लेखराज भट्टलाई दिइएको इञ्चार्जको जिम्मोवारी हेरफेर हुन नसक्ने बताएका थिए।

यस्तै, नेकपा एमालेका नेता लेखराज भट्टले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीमा आफू रहेको बताएका छन्। मंगलबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्ज तोकेको बताएका हुन्। भट्टले सुदूरपश्चिम प्रदेश इञ्चार्जको विषयमा कुनै विवाद नरहेको पनि बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्