विश्वकप क्रिकेट लिग-२ : ओमानसँग हार्यो नेपालले

Oman nep criket
लोकपाटी न्यूज
0 Shares

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाएर १९६ रन मात्र बनाउन सक्यो । एक सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१ दशमलव एक ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

जतिन्दर सिंहको शतकमा ओमानले नेपाललाई सहजै पराजित गर्न सकेको हो । सिंहले उत्कृष्ट खेल प्रदर्शन गरे । उनले ६२ बल खेल्दै १०७ रन बनाए । प्लेयर अफ दी म्याच भएका उनले छ छक्का र १२ चौका प्रहार गरे ।

जितसँगै ओमान लिगको शीर्षस्थानमा कायमै रहेको छ । ओमान ११ खेलमा ९मा जित तथा दुईमा हारका साथ १८ अङ्कसहित शीर्षस्थानमा छ । नेपाल भने हालसम्म खेलेका छ खेलमध्ये तीनमा जित तथा तीनमा हारका साथ आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

आइसिसी विश्वकप लिग-२ खेलिरहेको अमेरिका १३ खेलमा छ मा जित र सातमा हारसहित १२ अङ्क जोड्दै दोस्रो, स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारसहित नौ अङ्कसहित तेस्रो, नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो, युनाइटेड अरब इमिरेटस् (युएई) सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ तथा पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजयका साथ अङ्कविहीन बन्दै लिग-२ को पुछारमा छ ।

लिग-२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग-२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।

नेपालले अब शुक्रबार अर्को खेल अमेरिकासँग छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्