‘नयाँ पुरानो क्वाड समूहको प्रचार शान्तिको लागि खतरा’

Sarmila
  • 109
    Shares
लोकपाटी न्यूज
  • सर्मिला बगाले

अमेरिकी सैन्य शक्तिको अफगानिस्तान फिर्ताबाट विश्वको शक्ति सन्तुलन फेरिने अवस्थामा छ। दक्षिण एशियामा भारतको भर परेको अमेरिका तालिवानको अप्रत्यासित सत्तारोहणबाट भारतको अवस्था कमजोर हुने देखिएको छ। चीनले अफगानिस्तानमा लोकतन्त्र स्थापना गर्न अमेरिका पूर्ण रुपमा असफल भएको ठान्छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हालसालैको भनाइको समर्थन गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेबिनका अनुसार अफगानिस्तानमा अमेरिकाको २० वर्षे रखवारीको नतिजा शून्य सावित भएको छ।

अमेरिका २००१मा अफगानिस्तान पसेपछि चीन सबै भन्दा बेखुशी थियो। चीनको सिनचियाङ्ग स्वायत्त राज्यका उइगुर मुसलमान र अमेरिका नियन्त्रित अफगानिस्तान सरकारबिच हुन सक्ने अदृश्य सम्बन्धले चीनको स्थायित्वमा असर पर्छ कि भन्ने सोंच चिनियाँ अधिकारीमा थियो।

जापानका प्रधानमन्त्री सिन्जो आवेले अमेरिकी उपराष्ट्रपती डिक चेनी, भारतका प्रधानमन्त्री मानमोहन सिंह र अष्ट्रेलियाका प्रधानमन्त्री जोन होवार्डको सहयोगमा २००७ मा चार पक्षिय सुरक्षा संवाद (क्वाड) को स्थापना गरेका थिए। केही विश्लेषकहरू यसलाई तालिवानी समूहको कावुल प्रवेश पछि पुरानो क्वाड भनेर चिन्छन्। क्वाडको मुल लक्ष्य नियममा आधारित वैश्विक व्यवस्थालाई बलियो बनाउनु, उदार व्यापार प्रणाली लागू गर्नु र हिन्द-प्रशान्त क्षेत्रमा स्वतन्त्र र सुरक्षित नेभिगेसनको बिकास गर्नु थियो। चीनको बुझाइमा क्वाडको स्थापना एशियामा स्थायित्व हुन नदिन हो।

अफगानिस्तानमा २००१ देखि चलेको अमेरिकी शक्तिले २०२१ मा ठक्कर खाएको छ। अहिले सत्ताबाट बाहिरिएको घानी सरकारका कारण अमेरिका र उसका सहयोगीहरु अफगानिस्तानबाट बाहिरिएपछि भविष्यमा दक्षिण एशियामा सुरक्षा चिन्ता बढ्ने र यसले वैश्विक शक्ति सन्तुलनलाई प्रभाव पार्ने बताएका छन्। १९७५ को साइगोनबाट अमेरिकाको फिर्ती भन्दा ठूलो चुनौति अमेरिकाले अहिले दक्षिण एशियामा बेहोरेको छ। यसै कारण अमेरिका र नेटो शक्तिका अनुसार चीन, रुस, इरान र पाकिस्तानको बिचमा हुने नयाँ सम्बन्धबाट नयाँ क्वाड गठन हुनसक्ने सम्भावनालाई उठाएका छन्।

हालै भारतीय सुरक्षा विशेषज्ञ राजीव अग्रवालका अनुसार भारत विकसित स्थितिबाट सतर्क रहनु पर्छ। भारत शत्रुतापूर्ण छिमेकी पाकिस्तान, झगडालु चीन र अनिश्चित इरानबाट घेरिएको घेरिएको छ। उनका शब्दमा रूसको भारतसँग पुरानो र परम्परागत सम्बन्ध भए पनि मस्को यस वर्ष भएका दुई अफगान शान्ति वार्तामा भारतलाई सामेल गर्नको लागि राजी थिएन। यसैलाई भारत र अमेरिकाले नयाँ क्वाडको विकसीत रुपबाट बिकास हुनसक्ने चिन्ता गरेका छन्। भारत अमेरिका र उसका सहयोगीहरु अफगानिस्तानबाट फिर्ता भएपछि अफगानिस्तानको भविष्यको बारेमा चिन्तित छ र त्यस क्षेत्रमा चीनको उपस्थिति उसका लागि सहज भने छैन।

उता चिनियाँ पक्षको भनाइमा अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गरेपछि अफगानिस्तानका छिमेकी देशहरुले त्यहाँको शान्ति र स्थायित्वमा अग्रणी भूमिका खेल्नु पर्छ। अहिले अफगानिस्तानले सबैभन्दा महत्वपूर्ण चार छिमेकीहरूको रुपमा चीन, रसिया, इरान र पाकिस्तानलाई लिने गरेको छ। तालिवानले अफगान मुद्दामा बलियो समन्वय बनाउन यी चार देशको स्पष्ट र आवश्यक अडान खोजेको छ।चीन र उसका सहयोगीहरुको बुझाइमा यो बलियो समन्वयले अफगानिस्तानलाई अझ विभाजित र केही पश्चिमी देशहरुको प्रभुत्व हुनबाट रोक्न मद्दत गर्ने छ।

चीन सहित अरु देशहहरूको यो साझा बुझाइबाट भारत र अमेरिका त्रस्त छन्। चीन, रसिया, इरान र पाकिस्तानको बिचमा क्षेत्रीय मुद्दाहरुमा केहि साझा चासो छन्। अमेरिका र नेटो शक्तिले भने झैं यी चार देशहरु तथाकथित नयाँ क्वाडमा विकसित हुनुहुँदैन र यसले दक्षिण एशियाको शान्तीलाई सहयोग गर्दैन। असंलग्न कूटनीतिको वकालत गर्ने चीन र चार देशहरुको सम्बन्ध सुरक्षा समूहको गठनबाट टाढा बन्नै पर्छ।

भारतको चिन्ता अमेरिका, अष्ट्रेलिया र जापानसंग क्वाड गठनले रुस टाढिएको छ।वाशिङ्टनसँग नयाँ दिल्लीको नजिकिंदो सम्बन्धका कारण उसको परम्परागत साझेदार मस्को असन्तुष्ट बनेको छ। एशियामा भारतससँग रुस, चीन, पाकिस्तान, इरान आदि भिडिरहेका छन्। यद्यपी नयाँ दिल्लीको तेहरानसङ्ग घृणाको कुनै स्पष्ट मुद्दा नभए पनि इरान माथिको पछिल्लो प्रतिबन्धमा भारतले अमेरिकासँग समन्वय गरेको तेहरानको बुझाइ छ।

चीनले पुरानो क्वाडलाई काल्पनिक दुश्मन ठान्छ। उता अमेरिका रुस, चीन, पाकिस्तान, र इरान बिच हुने सम्बन्धलाई टाउको दुखाइको रुपमा लिनछन्। एशिया महाद्विपमा आसियानले क्वाडको उपस्थितीलाई चिन्ताको रुपमा लिन्छ। आसियानले जापान र भारतलाई पूर्ण रूपबाट सैन्य समूह बन्न रोक्छ। क्वाडले एशियामा सैन्य गठबन्धन बनाएमा आसियानले दृढतासँग यसको बिरोध गर्दछ।

चीन र रुस अफगानिस्तानको मुद्दामा समान रुची राख्छन्। यद्यपी १९८० को दशकमा अफगान मुद्दामा चीन रुससँग नजिक थिएन। अहिले २०२१ मा उनीहरुको अफगानिस्तानको मुद्दामा साझा चासो छन्। दुबैले अफगानिस्तानमा शान्ति र स्थिरताको लागि ध्यान दिनु पर्ने बाताएका छन्।अफगान मुद्दामा रुसको भनाइलाई चीनले खुलेर समर्थन गरेको छ।दुबै देशले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका छन्।उनीहरुका अनुसार तालिबानले आफ्नो वाचा पूरा गर्न अफगानिस्तानलाई आतंकवादको केन्द्रबिन्दु बन्न रोक्नु पर्छ।चीन र रुसले गठबन्धनको सट्टा अहिले साझेदारी गरेका छन्। दुई देशहरु धेरै विशिष्ट मुद्दाहरुमा सञ्चार र समन्वय सुदृढ गर्दै छन्। संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले अफगान मुद्दाको बारेमा एक संकल्पलाई स्वीकृत गर्दा चीन र रूस टाढा रहे। अग्रिम समन्वय गरेर नै बेइजिङ्ग र मस्को बीच गठबन्धन भन्दा साझेदारी गठनको दृष्टिकोण अगाडी बढेको छ।

अफगानिस्तान बिषयबाट उठको यो मुद्दाले विश्वव्यापी समुदायलाई अर्को शीतयुद्धमा फस्नबाट रोक्छ बन्ने तर्क बेइजिङ्ग र मस्कोको छ। फेरी पश्चिमाहरुले यो ब्लकको टकरावले विश्वव्यापी रुपमा नयाँ समस्या देखिन पनि सक्छन्। वास्तवमा भेनेजुयला, इरान, सिरिया, उत्तर कोरिया आदिको मुद्दामा चीन र रूसको बीच समन्वय पहिलेदेखि ने हुँदे आएको छ। अमेरिका र नेटो यो चुनौतीलाई सामना गर्न नयाँ मार्ग खोजेमा एशियामा शान्तीको आशा मात्र आशमा रहने छ।

नयाँ क्वाडको प्रचार हुनु भारतको चिन्ताको प्रतिबिम्बित गर्दछ। अफगानिस्तानको फेरिएको शक्तिको कारण नयाँ दिल्ली यो बिषयमा आफैं सजग छ। नेपालीहरुको बुझाइमा कुनै पनि क्वाडले एशियामा शान्ति र स्थिरतालाई कमजोर पार्छ।यो दृष्टिकोण कुनै पनि हलतमा रचनात्मक हुने छैन। वास्तवमा, चीन, भारत, पाकिस्तान, इरान, रुसको सकरात्मक सम्बन्धले मात्र संसारलाई एक नयाँ शीत युद्धबाट जोगाउने छ।

अन्यथा एशियामा दुई शक्ती शिविरहरु बन्दा हुने टकराव सिर्जनाले अन्तर्राष्ट्रिय परिस्थितिलाई थप जटिल बनाउने छ। चीन र रुस दुबैको कुटनीतिक रणनीतिलाई ध्यानमा राखी यी दुई देशहरु अफगानिस्तान मुद्दामा टाढा जाने सम्भावना भने छैन। एशियाको शान्ति र स्थिरताका लागि नेपालको भूमिका असंलग्न राष्ट्र समूहकालिन समयको जस्तो बलियो र भरपर्दो कुटनीति खेल्नु पर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्