समाज विकासका चरण भन्नाले के बुझिन्छ ?

Human_Socity
  • 241
    Shares
लोकपाटी न्यूज

मार्क्सद्वारा प्रतिपादित समाज विकासको सामाजिक-आर्थिक संरचनाको सिद्धान्त इतिहासको भौतिकवादी विवेचनाको मुटु हो। यो सिद्धान्त मार्क्स र एंगेल्सद्वारा ऐतिहासिक विकास प्रक्रियाको गहिरो तथा सर्वांगीण अध्ययन र विश्लेषणको निचोड हो। यसले मानव इतिहासका चरणबद्ध विकासको अवस्था र दिशा, त्यसका संवाहक शक्ति, विकासका मुख्य मुख्य चरण र समाज विकासको गतिसँगै मक्किँदै जाने सामाजिक सम्बन्धहरूलाई नयाँबाट विस्थापन तथा बढी उन्नत नयाँ संरचनाको स्थापनाका बीचका अन्तर सम्बन्ध आदिको ज्ञान दिन्छ। क्रान्तिकारीहरूका लागि, विशेष गरेर कम्युनिष्ट पार्टी तथा श्रमजीवी वर्गका लागि आफ्ना क्रान्तिकारी गतिविधिहरूलाई सुव्यवस्थित र सही दिशा दिन सामाजिक-आर्थिक संरचनाको स्वरूप, त्यसका अन्तरद्वन्द्व र तिनको चरित्र तथा त्यस चरणका क्रान्तिका संवाहक मित्र शक्ति तथा क्रान्तिका प्रतिरोधी शत्रु शक्तिको पहिचान गर्न तथा क्रान्तिका तात्कालिक कार्यभार निरूपण गरी आफ्नो रणनीति र कार्यनीति तय गर्न सुस्पष्ट आधार दिन्छ।

समाजको उत्पत्ति र विकास प्रक्रियालाई आर्थिक-सामाजिक संरचनाको विकास र रूपान्तरणको परिपेक्षमा हेर्नुपर्छ भन्ने मार्क्सद्वारा प्रतिपादित सामाजिक-आर्थिक संरचनाको सिद्धान्त, समाज विकासको प्रक्रियालाई भौतिकवादी दृष्टिकोणबाट केलाउने र व्याख्या गर्ने आधार स्तम्भ हो। यसले हामीलाई ऐतिहासिक विकासको भौतिकवादी चरित्रको विश्लेषण गर्न ठोस आधार प्रदान गर्दछ किनकि समाज विकासको इतिहास विभिन्न चरणमा अस्तित्वमा आउने सामाजिक-आर्थिक संरचनाका विकास र परिवर्तनसँगै अगाडि बढ्छ। अर्को शब्दमा समाजका विकास र परिवर्तनको इतिहास सामाजिक-आर्थिक संरचनाको विकास र परिवर्तनको इतिहास बाटै निर्मित हुन्छ। त्यसकारण समाज विकासको भौतिकवादी विश्लेषकका लागि सामाजिक-आर्थिक संरचना अस्तित्वमा आउने कारण र प्रक्रिया, तिनको द्वन्द्वात्मक विकास र अग्रगामी संक्रमणको कारण र अन्तरद्वन्द्वको नियम बुझ्नु आवश्यक हुन्छ। यो सामाजिक जीवन पद्धति तथा सामाजिक इतिहासलाई भौतिकवादी दृष्टिकोणबाट बुझ्ने आधार हो।

सामाजिक-आर्थिक संरचना र समाज विकासको ऐतिहासिक चरित्र तथा विकासका चरण बुझ्ने प्रमुख आधार सामाजिक उत्पादन प्रणाली हो। सामाजिक जीवनका सम्पूर्ण अन्य पक्षहरू- राज्यसत्ता, विज्ञान, सामाजिक चेतना, धर्म, भाषा आदि पक्षहरू यसैबाट निःसृत हुन्छन्। मानव समाज र त्यसका इतिहासको भौतिकवादी व्याख्या गर्दा सामाजिक जीवनका यावत् पक्षहरूका पारस्परिक अन्तरसम्बन्ध र अन्तरद्वन्द्वहरूलाई उत्पादन प्रणालीको सापेक्ष हेर्नु र बुझ्नु अहम् पक्ष हो। सामाजिक सम्बन्धहरू जीवन्त रूपमा पारस्परिक आबद्धता र अन्तर निर्भरताको अवस्थामा रहन्छन् र एक अर्काका परिपूरक हुन्छन्, यिनलाई एकांगी रूपमा हेर्नु मिल्दैन।

जसरी सामाजिक जीवन सामाजिक उत्पादन प्रणालीसँग जोडिएको छ। त्यसरी नै सम्पूर्ण सामाजिक सम्बन्धहरू पनि उत्पादन प्रणालीसँग जोडिएका छन् र त्यसको परिवर्तनसँगै परिवर्तित हुन्छन्। सामाजिक उत्पादन प्रणाली समाजको आर्थिक तथा भौतिक आधार हुनका साथै सामाजिक-आर्थिक संरचना निर्माणको आधार पनि हो। यससँग जोडिने सामाजिक संरचनाका उपरोक्त अन्य पक्षहरूसहित निर्माण हुने समष्टिगत सामाजिक संरचना नै सामाजिक-आर्थिक संरचना हो। यसका दुई पक्ष छन्। पहिलो- संरचनागत आर्थिक आधार अर्थात् सामाजिक उत्पादनको परिपाटी र दोस्रो- सामाजिक उपरि संरचना, जसभित्र राज्यसत्ता देखी सामाजिक संस्कार, सामाजिक परिपाटी, धर्म, भाषा, संस्कृति आदि पक्षहरू पर्छन्।

समाजलाई त्यसका ऐतिहासिक विकासको पक्षबाट हेर्ने हो भने, यस विकासको प्रवृत्ति सामान्यतया सामाजिक उत्पादनको गतिविज्ञानबाट नियमित र निर्देशित छ र यो समय र अवस्था सापेक्ष बहुआयामिक जटिलता तथा विविधता र विशिष्टतासहित अगाडि बढेको छ। तर ऐतिहासिक विकासको प्रक्रिया र परिवर्तनको बिन्दु तथा अवस्था सबै ठाउँमा त्यहीरूपमा लागु हुन्छ भन्ने पनि होइन। यथार्थमा ऐतिहासिक विकास प्रक्रियालाई त्यसका विविधरूप र अवस्थाको पक्षबाट हेर्ने हो भने यो सधैं र सर्वाधिकरूपमा एउटै सरल रेखामा हिँडेको हुँदैन। बल्की यसको गति र अवस्था तत्तत् समाजमा विद्यमान अन्य विविध पक्षबाट प्रभावित भएको हुन्छ। जसले त्यस विकास प्रक्रियालाई प्रभावित र आफ्नै किसिमले परिमार्जित गरेको हुन्छ। तर, समष्टिमा समाज विकासको आम प्रवृत्ति र दिशा, विभिन्न खालका बाधा व्यवधान र अस्थायी पश्चगमनका बाबजुद, त्वरित उद्र्धगमनको दिशामा नै रहन्छ। अर्को शब्दमा भन्ने हो भने सामाजिक इतिहास भन्नु सामाजिक-आर्थिक संरचनाहरूको विकास र परिवर्तनको इतिहास नै हो।

सामाजिक आर्थिक संरचनाहरूको पहिचान सम्पत्तिमाथिको स्वामित्व र भौतिक उत्पादनको वितरण प्रणाली तथा त्यसका रूपहरूको आधारमा, अर्थात् सामाजिक उत्पादन सम्बन्धहरूको प्रकृति र अवस्थाको आधारमा गरिन्छ। अतः सामाजिक-आर्थिक संरचनाको अवधारणा ऐतिहासिक विकास प्रक्रियासँग अभिन्नरूपमा जोडिएको अवधारणा हो। यद्यपि विभिन्न देश र जनताको ऐतिहासिक विकासको बाटो देश, काल र अवस्था सापेक्ष भिन्न हुन सक्दछ। सामाजिक संरचना निर्माणको अवस्था र परिस्थिति भिन्न-भिन्न हुनु सक्दछन्। तर, प्रत्येक समाजमा, उसका विकासको प्रत्येक चरणमा, त्यस समाजको आफ्नो सामाजिक-आर्थिक संरचना हुन्छ नै र विकासको यो बाटो, केही समानता र केही निश्चित विशिष्ट नियमिततासहित आमरूपमा वस्तुगत नियम अन्तगत नै हुने गर्दछ। यसको विशिष्टरूप भने समय, अवस्था सापेक्ष र त्यस देशको उत्पादन प्रणाली र उत्पादक शक्तिका विकासको स्तर र स्वरूपमा निर्भर गर्छ।

सारांशमा भन्नु पर्दा सामाजिक-आर्थिक संरचना भन्नु कुनै पनि समाजमा समय सापेक्ष र अवस्था सापेक्ष अस्तित्वमा आउने एउटा निश्चित प्रकारको सामाजिक संरचना र निश्चित किसिमको समन्वयकृत सामाजिक व्यवस्था हो। जुन आफ्नो सामाजिक उत्पादन प्रणालीको जगमा आफ्नै विशिष्ट अवस्थामा आफ्नो विशिष्ट चरित्रसहित सामाजिक गतिका आम नियम अन्तरगत नै संगठित र विकसित हुन्छ र काम गर्छ। यो प्रत्येक समाजको आफ्नो विशिष्ट, जीवन्त र गतिमान सामाजिक अंगविन्यास हो। जसको अस्थिपञ्जर उसको आर्थिक संरचना हो। जसलाई समाज विशेषको उत्पादन प्रणालीले निर्माण गर्छ भने राजनैतिक प्रणाली, राज्यसत्ता, न्याय प्रणाली, सामाजिक मनोविज्ञान, संस्कार, संस्कृति, धर्म परम्परा, भाषा, विज्ञान आदि जस्ता अवयव- रगत, मासु छाला, आदि शारीरिक अंग जस्तै त्यसका परस्पर संपरिपूरक अभित्र अंग हुन। जो उत्पादन प्रणालीबाट निर्मित, निर्देशित र नियन्त्रित हुन्छन्। यसको समष्टिगत स्वरूप नै समाजको जटिल र बहु आयामिक अंगविन्यास हो। जसको गतिसँगै समाज गतिशील रहन्छ।

कुनै पनि सामाजिक‍-आर्थिक संरचनाको अध्ययन गर्दा त्यसका भौतिक सम्बन्ध र आर्थिक सम्बन्धको समष्टिमा हेर्नुपर्छ। भौतिक बस्तु उत्पादनको प्रक्रियामा मानिस-मानिस बीच मात्रै होइन मानव र प्रकृति बीच अन्तरक्रिया हुनुका साथै निश्चित सम्बन्धहरू स्थापित भएका हुन्छन्। त्यसकारण समष्टिगतरूपमा सामाजिक भौतिक सम्बन्धको अवधारणा सामाजिक आर्थिक सम्बन्धको अवधारणाभन्दा विस्तृत हुन्छ। यिनलाई समानार्थी रूपमा लिनु हुँदैन। भौतिक सामाजिक सम्बन्धहरू आधारभूत सम्बन्ध हुन भने वैचारिक सम्बन्धहरू भौतिक सम्बन्धहरूबाट निःसृत हुने सामाजिक चेतनाबाट स्थापित हुने सम्बन्ध हुन्। जस्तो, कुनै राजनैतिक पार्टी आफ्ना वर्गको हित संरक्षण गर्ने उद्देश्यबाट सोही अनुसारको वैचारिक धार र कार्यक्रम लिए काम गर्छ र ती विचार तथा कार्यक्रमसँग सहमत वा मिल्दाजुल्दा विचार भएको जमात त्यसमा संगठित हुन्छ।

जस्तो भनौं सर्वहारा वर्गको राजनैतिक पार्टी सर्वहारा वर्गको भौतिक अवस्थाहरूले उत्पन्न गरेको आवश्यकता अनुसार श्रमिक वर्गको मुक्तिका लागि सचेतरूपमा संगठित हुन्छ र सर्वहारा वर्गसँग त्यसका वैचारिक सम्बन्ध त्यसै आधारमा र समान उद्देश्यका लागि स्थापित हुन्छन्। अथवा भनौं कुनै वर्गीयरूपमा विभाजित समाजको विधायिकाले सत्ताधारी वर्ग सापेक्ष विधान तयार गर्छ। कार्यपालिकाले त्यस वर्गको हित संरक्षण हुने गरी शासन पद्धति सञ्चालन गर्छ। न्यायपालिकाले त्यसको संरक्षण गर्छ। अर्थात् देशको शासन प्रणाली, विधान, न्याय प्रणाली, विचार, सिद्धान्त यावत् कुरा सत्ताशीन वर्गको हित संरक्षण र उद्देश्य प्राप्तिको दृष्टिबाट निर्माण गरिन्छन् र वैधानिक रूपमा तिनको हितमा काम गर्छन्। सामन्ती प्रजासत्तात्मक परिपाटीमा, जतिसुकै सत्य कुरा बोलेको भए पनि यदि त्यो राजमुकुट वा राज्यसत्ता विरुद्ध हुन्छ भने त्यो राज द्रोह मानिन्छ। किनकि त्यस देशको कानून वा संविधान सोहीअनुरूप राजतन्त्रको संरक्षणका लागि बनाएको हुन्छ।

संक्षेपमा भन्नुपर्दा प्रत्येक सामाजिक-आर्थिक संरचनामा सत्ताधारी वर्ग आफ्नो वर्गीय हितको संरक्षक र शासित वर्गमाथि नियन्त्रक कायम राख्नका लागि नै आवश्यक नियम कानून निर्माण गर्छ। सत्तामा पकड कायम राख्न कार्यपालिका र ती नियम कानूनको विपरीत राज्यसत्ताको विपक्षमा उभिनेलाई दण्ड सजाय दिन न्यायपालिका, दण्ड संहिता, प्रहरी, जेल, यातना गृहको निर्माण गर्छ। त्यसै गरी समाजवादमा पनि, जबसम्म त्यहाँ सर्वहारा वर्गको सरकार राज्यसत्ताको रूपमा जीवित रहन्छ, त्यसले पनि त्यही काम गर्छ। जुन विगतका वर्गीय राज्यसत्ताले गर्दै आएका हुन्। तर, समाजवादको विकसित अवस्थामा, जहाँ प्रशासन संयन्त्र राज्यसत्ताको रूपमा नभै नागरिक प्रशासन संयन्त्रको रूपमा परिणीत भईसकेको हुन्छ। त्यहाँ यो अवस्था रहँदैन। त्यस अवस्थामा अरूमाथि शासन गर्ने राज्यसत्ताको आवश्यकता समाप्त भएर जाने हुँदा त्यहाँ समाजको सञ्चालन नागरिक प्रशासनिक संयन्त्रले गर्छ। यो नै मार्क्सले परिकल्पना गरेको साम्यवादी व्यवस्थाको चरित्र र स्वरूप हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्