महिला एसियन कप छनोट : नेपाल र फिलिपिन्स भिड्दै

woman_Football
  • 47
    Shares
लोकपाटी न्यूज

काठमाडौं। एएफसी महिला एसियन कप छनोट २०२२ अन्तर्गत नेपालले आज फिलिपिन्सको सामना गर्दैछ। शनिवार समूह एफअन्तर्गत उज्वेकिस्तानको तास्केन्तमा हुने खेल स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ।

समूह एफ को पहिलो खेलमा दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। नेपालले दोस्रो खेलमा मंगलबार हङकङसँग खेल्नेछ। मुख्य खेलाडी तथा स्ट्राइकर सावित्रा भण्डारीबिना नेपालले समूह एफ मा रहेका फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्ने भएको हो।

पक्कै पनि सावित्राको अभावमा नेपालको अग्रपंक्तिमा समस्या हुने नै छ। गत हप्ता भएको दुई मैत्रीपूर्ण खेलले त्यसलाई जनाइसकेको छ। नेपालले खेलेको बंगलादेशविरुद्धको एक खेल जसोतसो जितेको थियो भने अर्को खेल बराबरीमा समाप्त भएको थियो। यस्तो अवस्थामा नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्स राम्रो प्रदर्शन गर्नेमा केन्द्रित छन्।

उनी महिला फुटबलको लागि एसियन छनोट राम्रो अवसर रहेको बताउँदै नयाँ खेलाडीको सहभागिताले टोलीमा नयाँ ऊर्जा थपेको बताउँछन्। ‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो। महिला फुटबल प्रवर्द्धनको लागि मात्र होइन आफ्नो खेल र क्षमता देखाउने अवसर छ। नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ ऊर्जा थपिएको छ। हामी राम्रो खेल प्रदर्शन गर्नेमा विश्वस्त छौं,’ ग्यारीले भने।

यसअघि एसियन कप छनोटका लागि प्रशिक्षक फिलिप्सले ४५ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थिए। उनले दोस्रो चरण सँगै छनोटका लागि अन्तिम २३ नाम सार्वजनिक गरेका हुन्। जसमा ७ नयाँ अनुहार समेत रहेका छन्। गत साता बंगलोदशविरुद्ध भएको खेलमा ५ खेलाडीले डेब्यु गरे। स्ट्राइकर रश्मि घिसिङ, प्रीति राई, सविता राना मगर, सृजना सिंह ठकुरी र रजनी थोकरले राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन्।

ग्यारीको २३ सदस्यीय टोलीमा अब नयाँ खेलाडीमा डिफेण्डरद्वय निशा थोकर र विमला विक डेब्यु गर्न बाँकी छ। यस्तै टोलीको नियमित तेस्रो रोजाईकी गोलरक्षक उषा नाथलेसमेत राष्ट्रिय टोलीको डेब्यु पर्खाइमा छिन्। यता, नेपालसँग खेल्ने फिलिपिन्स र हङकङले समेत छनोटमा राम्रो प्रदर्शन दिने बताएका छन्। दुवै टोलीले आफ्नो लक्ष्य भारतमा हुने एसियन कपमा रहेको बताएका छन्। समूह एफ बाट एक टोली छनोट हुनेछ।

यसअघि नेपाली महिला राष्ट्रिय टोलीले सन् १९८६ मा एएफसी महिला च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो। जहाँ नेपाल हङकङसँग १-० ले पराजित भएको थियो । नेपाली महिला टोलीले त्यसपछि लगातार तीन पटक (सन् १९८६, १९८९ र १९९९) मा एसियन कप खेलेको थियो। तीनै पटक नेपालको यात्रा समूह चरणमा सीमित भएको थियो। -न्युज कारखाना