द्वन्द्वात्मक सम्बन्ध र सामाजिक क्रान्ति

Earth globe
  • 28
    Shares
लोकपाटी न्यूज

 प्रत्येक सामाजिक-आर्थिक संरचना आ-आफ्नै जीवन्त र गतिशील विशिष्ट सामाजिक आर्थिक सम्बन्धहरूबाट निर्मित हुन्छ। समाजका विविध कार्यकलापको दौरान अर्थात्, उत्पादन प्रक्रिया, राजनैतिक गतिविधि, बौद्धिक क्रियाकलाप, आदिको दौरान उत्पन्न हुने र स्थापित हुने यी सामाजिक सम्बन्धहरू प्राकृतिक जगतको अन्य फाँटमा क्रियाशील आन्तरिक सम्बन्ध र बन्धनभन्दा भित्र र मानव समाजका आफ्ना विशिष्ट तन्तुहरू हुन्। जसबाट समाजका सम्पूर्ण अंग परस्पर जोडिएका र परस्पर निर्भरतामा बाँचेका हुन्छन्। आफूभित्र आर्थिक, राजनैतिक, न्यायिक, मनोवैज्ञानिक, संगठनात्मक, नैतिक आदि यावत पक्ष समेटेका हुन्छन्। मार्क्सले यी सम्पूर्ण सामाजिक सम्बन्धहरूलाई भौतिक सम्बन्ध र वैचारिक सम्बन्ध गरी दुई भागमा बाडेका छन्। वैचारिक सम्बन्ध सामाजिक-आर्थिक संरचनाको आधेय, कसै कसैले यसलाई उपरि संरचना पनि भन्ने गरेका छन्। यसका भौतिक सम्बन्धको पक्ष समाजको आर्थिक आधार हो। जसमाथि सामाजिक संरचनाको आधेय अर्थात् उपरि संरचना उभिएको हुन्छ। भौतिक सम्बन्ध मध्ये उत्पादन सम्बन्ध अर्थात् आर्थिक सम्बन्ध सर्वोपरि महत्त्वका सम्बन्ध हुन।

सामाजिक-आर्थिक संरचनाका आधेय र आधार (द्यबकष्क० परस्पर आबद्ध सापेक्षिक अवधारणा हुन् र प्रत्येक सामाजिक-आर्थिक संरचनाको आफ्नो आधार अर्थात् उत्पादन प्रणालीमा आधारित आर्थिक प्रणाली र त्यसकै अनुकूल आधेय अर्थात् उपरि संरचना हुन्छ। कुनै पनि समाजको आधार अर्थात् आधारभूत आर्थिक संरचना, विद्यमान सामाजिक उत्पादन प्रणालीको जथग हो। ‘आधार’ अवधारणाले एकतर्फ तत्कालीन समयमा विद्यमान सामाजिक उत्पादन प्रणालीको आर्थिक ढाँचाको सार निर्माण गर्छ भने अर्को तर्फ आफ्ना आधेयको सार र स्वरूप पनि निर्धारण गर्छ र आफूसँग मेल खाने गरी आधेय (उपरि संरचना)को निर्माण गर्छ। त्यसैले आधेयलाई आधारको जीवित प्रतिविम्ब भन्ने गरिन्छ। आधेयले सामाजिक जीवनका तीन पक्ष समेटेको हुन्छ। पहिलो- सामाजिक विचारधारा, मनोविज्ञान, आस्था, विश्वास आदि। दोस्रो- विभिन्न खालका सामाजिक राजनैतिक संस्था, राज्यसत्ता, न्यायालय, सुरक्षा निकाय, धार्मिक संघसंस्था आदि। तेस्रो- राजकीय वैचारिक आधार, जसमा संघै सत्ताधारी वर्गका विचारधारको वर्चश्व रहन्छ आदि। जस्तो, भनौं हामीकहाँ पञ्चायत व्यवस्थाको वैचारिक आधार पञ्चायती दर्शनको रूपमा प्रस्तुत गरिएको थियो।

सारांशमा भन्ने हो भने समाजको आधे (उपरि संरचना) सामाजिक, राजनैतिक, धार्मिक, न्यायिक, शान्ति सुरक्षाका अंग तथा आर्थिक आधार तथा संरचनाको कारण उत्पन्न हुने अन्य सम्बन्धहरूको समष्टिगत योग हो। सामाजिक-आर्थिक संरचनाको आधेय त्यसका आधारबाट निर्धारित हुने सापेक्षिक अवधारणा हो। एंगेल्स् भन्नुहुन्छ- कुनै पनि समाजको ‘…आर्थिक संरचना नै एक मात्र त्यस्तो सही आधार हो जसको आधारमा मात्र हामी सम्पूर्ण आधेयका न्यायिक तथा राजनैतिक संरचनाहरूका सम्पूर्ण पक्षहरूको सही ढंगले व्याख्या गर्न सक्छौं। तिनको सार बुझ्न सक्छौ र त्यसै गरी समाजको त्यस चरणका धार्मिक मान्यता, दार्शनिक चिन्तन तथा सांस्कृतिक परम्परा आदि मान्यताहरूलाई पनि बुझ्न सक्छौं।’ आधेयका यी सम्पूर्ण पक्ष सत्तामा कुन वर्गको हालीमुहाली छ र आर्थिक आधारको संरचना कस्तो छ, त्यसबाट प्रभावित हुन्छन् र शासक वर्गको हितमा काम गर्छन्। राज्य सत्तामाथि पूँजीपति वर्गको नियन्त्रण छ भने यी पक्षहरू सामन्तहरूको हित संरक्षण र पृष्ठपोषणका लागि काम गर्छन् र श्रमिक वर्गको सत्ताको आधेय पूँजीपति वर्ग वा सामन्ती वर्गको हितमा उभिन सक्दैन।

स्वाभाविक रूपमा जुन वर्गले समाजको आर्थिक संरचनामा वर्चश्व कायम गर्छ उसले राज्यसत्तामा पनि आफ्नो आधिपत्य कायम गर्छ र अर्थतन्त्र र सत्तामा आफ्नो आधिपत्य कायम रहने गरेर नै नियम कानून बनाउँछ, पारित गर्छ र वैचारिक क्षेत्रमा पनि आफ्नो बोलवाला कायम राख्दछ। सारांशमा भन्ने हो भने समाजको सम्पूर्ण उपरि संरचना आफू अनुकूल बनाउँछ। तर उत्पादक शक्तिको क्रमिक विकासले तद्अनुरूप नै उत्पादन सम्बन्ध र वितरण प्रणालीमा अर्थात् आर्थिक आधारमा संरचनागत सुधारको माग गर्छ। अन्यथा उत्पादन प्रक्रिया अवरुद्ध हुनका साथै समाज विकासको गतिमा गतिरोधको स्थिति उत्पन्न हुन्छ।

सामाजिक उत्पादन प्रक्रिया निरन्तर गतिमान, विस्तारित तथा विकसित हुँदै जाने प्रक्रिया हो। त्यसै अनुरूप उत्पादक शक्तिहरू (श्रमिक वर्ग, श्रमका औजार, श्रमका साधन तथा क्षेत्र) को पनि विस्तार हुँदै जान्छ। तर, वर्गीय समाजमा शासक वर्ग आफ्ना वर्गीय स्वार्थको सीमा नाघ्ने गरी उत्पादक शक्ति अर्थात् आम श्रमिक वर्गको हितमा उत्पादन सम्बन्धमा (मुख्य रूपले उत्पादनका साधनमाथिको स्वामित्व तथा वितरण  प्रणालीको क्षेत्रमा) परिवर्तनको प्रतिरोधमा उभिने हुँदा त्यसमा समय-समयमा  सानातिना सुधार र परिवर्तन गरिए पनि सार रूपमा उत्पादन सम्बन्ध अपेक्षाकृत लामो समयसम्म अपरिवर्तित अवस्थामा रहन्छन्। यस अनमेलको स्थितिले उत्पादक शक्ति र उत्पादन सम्बन्धबिच अन्तरद्वन्द्वको अवस्था सृजना हुन्छ र यो द्वन्द्व उत्पादक र मालिकका बीचको संघर्षका रुपमा प्रकट हुन्छ र वर्गसंघर्षको रूपमा अगाडि आउँछ।

यस संघर्षले विद्यमान सम्बन्धहरूमा सारभूत परिवर्तनको माग गर्छ। यस अवस्थामा आधेय र आधार दुइटै पक्षमा विद्यमान पुराना पर्दै गएका अवशिष्ट चरित्र र  नयाँ उत्पादक शक्तिहरूसँगै जन्मिने अवस्थाहरूबीच अन्तरद्वन्द्वको अवस्था सृजना हुन्छ। प्रारम्भिक चरणमा यो अवस्था अन्तरविरोधको चरणमा रहन्छन्। त्यसपछि अन्तरसंघर्षको चरण हुँदै परस्पर दुश्मनीपूर्ण संघर्षको अवस्थामा विकसित हुन्छ। यो त्यो चरण हो, जहाँ यी परस्पर विरोधी प्रतिपक्षहरू एकले अर्कोलाई समाप्त गरी यस द्वन्द्वको अन्त गर्न जीवन मरणको संघर्षमा ओर्लिन्छ र ‘कसले कसलाई’ समाप्त गर्ने अवस्था उत्पन्न हुन्छ। उत्पादक शक्ति विजयी भए क्रान्ति सम्पन्न हुन्छ र नयाँ उत्पादन सम्बन्ध सहितको नयाँ सामाजिक-आर्थिक संरचना अस्तित्वमा आउँछ। समाज फड्को मार्दै नयाँ चरणमा प्रवेश गर्छ। यो नै सामाजिक क्रान्ति हो।

जीवन र जीविकोपार्जनका लागि मानव र प्रकृतिबीचका अन्तरसम्बन्ध र मानव-मानव बीचका सामाजिक सम्बन्ध नियमबद्ध प्रक्रिया अन्तरगत स्वभावजन्य रूपमा अगाडि आउने अवस्था हुन्। उत्पादनको चरित्र आफ्नो उदयकाल देखी नै सामाजिक चरित्र रहेको हो र यो चरित्र मानव इतिहासका सबै चरणहरूमा, चाहे त्यो वर्गीय समाज होस् अथवा वर्गविहीन साम्यवादी अवस्था, सधैँ रहने सार्वकालिक र सार्वभौम वस्तुगत चरित्र हो। वर्गविहीन आदिम कबिला समाजमा पनि यसको चरित्र सामाजिक नै थियो र समाज वर्गीय आधारमा विभाजित भएपछि पनि यसको चरित्र सामाजिक नै छ। तर वर्गीय आधारमा समाजको विभाजन पछि सामाजिक उत्पादनको उपभोग र वितरणका सम्बन्धको चरित्र बदलिन पुग्छ। अर्थात् उत्पादनको चरित्र त सामाजिक नै रहन्छ तर त्यसमाथि स्वामित्व उत्पादकको नभई कुनै व्यक्ति विशेष वा वर्गविशेषको हुन पुग्छ। यस्ता दुश्मनीपूर्ण उत्पादन सम्बन्धहरूको अन्त गर्नु नै समाजवादी क्रान्तिको मुख्य उद्देश्य हो। कुनै पनि सामाजिक-आर्थिक संरचनामा उसको आधेय र आधार सधैँ द्वन्द्वात्मक एकत्व र संघर्षको अवस्थामा रहन्छन्। त्यसकारण क्रान्तिको सम्पन्नतासँगै सुरूहुने सामाजिक-आर्थिक रूपान्तरणको चरणमा र त्यस पछिको नवनिर्माणको चरणमा राज्य सत्ताको आधार र आधेयबीच क्रियाशील हुने अन्तरसंघर्षको द्वन्द्वात्मक चरित्र र प्रकृतिलाई बुझ्नु आवश्यक छ। तब मात्र क्रान्तिकारी परिवर्तनको प्रवृत्ति र सहयोगी तथा प्रतिरोधी शक्तिहरूको अवस्था र चरित्र बुझ्न सकिन्छ र परिवर्तनको गतिलाई सही दिशा र गति दिन सही कार्यनीति अपनाउन सकिन्छ र रणनैतिक लक्ष प्राप्त गर्न सकिन्छ।

सामाजिक-आर्थिक संरचनाको आधेय र आधारका बीचको अपरिहार्य एकत्व र संघर्षको अवस्था र चरणहरू सापेक्षिक स्थिरतासहित निरन्तर गतिमान र परिवर्तनशील रहन्छन्। यद्यपि मानव समाजसहित सिंगो प्रकृति निरन्तर गतिशील र परिवर्तनशील छ। तर, यसका साथै यसको सापेक्षिक स्थिरता पनि छ, जसले गर्दा प्रकृतिका यावत् विषयवस्तु र परिघटना तथा सामाजिक संरचना र त्यसका अन्तरसम्बन्धहरू वोधगम्य छन्। हामी प्रकृतिको उपयोग र उपभोग गर्न सक्छौं। त्यस्तै समाज पनि गतिमान छ र आजको अवस्था भोलि यथावत् रूपमा नरहने भए पनि सापेक्षिक स्थिरता यसको अर्को विशिष्टता हो। जसको आधारमा हामी समाजका यावत् विषयवस्तु र परिघटनाहरूलाई आत्मसाथ गर्छौं, बुझ्दछौ र तिनमा हस्तक्षेप गर्न सक्छौं। आफ्ना दैनिक क्रियाकलाप सम्पादन गर्छौं। सापेक्षिक स्थिरता विना जीवन र प्रकृति बोधगम्य छैन र त्यस अवस्थामा त्यसको उपभोग र सामाजिक क्रियाकलाप अकल्पनीय हुन्। सामाजिक संरचनाका आधेय र आधार पनि परिवर्तनशील हुनुका साथै सापेक्षिक स्थिरता सहितका सामाजिक संरचनाका पूरक तत्व हुन्। आधार तथा आधेय क्रान्तिको समय र क्रान्ति विकासको दौरान बढी सक्रिय र परस्पर विरोधी दिशामा क्रियाशील रहन्छन्। क्रान्तिकारी गतिविधिका लागि यसको समुचित ज्ञान अत्यावश्यक हुन्छ।

पारस्परिक निषेधात्मक एकत्व र संघर्षको अवस्थामा रहने सामाजिक संरचनाको आधेय (उपरि संरचना) त्यसका आर्थिक आधारको जीवन्त र सक्रिय प्रतिविम्ब हो न कि निर्जीव वा गति शून्य प्रतिबिम्ब। यसको पारस्परिक निषेधात्मक चरित्र सधैं गतिमान रहन्छ। उत्पादक शक्तिको विकासले उत्पादन सम्बन्ध अर्थात् आर्थिक ढाँचामा र वितरण प्रणालीमा परिवर्तनको माग गर्दछ। त्यसका लागि आधेयको चरित्र र संरचना, विशेष गरी राजनैतिक परिपाटी, न्याय प्रणाली, कार्यकारिणी संयन्त्र जस्ता राज्यसत्ताका प्रमुख पक्षहरूमा परिवर्तन गर्न दबाब सृजना गर्दछ। तर, यस अवस्थामा आधेय प्रतिरोधी चरित्र लिनु पुग्दछ। जहाँबाट उत्पादन सम्बन्ध र उत्पादक शक्ति (विशेष गरी श्रमिक वर्ग) बीच तीव्र वर्गसंघर्ष सुरु हुन्छ। संघर्षरत शोषित पीडित श्रमिक जनता आर्थिक ढाँचा (आर्थिक संरचना, उत्पादन सम्बन्ध, वितरण प्रणाली आदि)मा परिवर्तनका लागि राज्यसत्ताको स्वरूप परिवर्तन गर्न क्रान्तिको संवाहक शक्तिका रूपमा संगठित बन्न पुग्दछ। अर्को शब्दमा सामाजिक क्रान्तिको पूर्वाधार निर्माणको चरणमा आधार र आधेय बीचको संघर्ष विद्यमान संरचनामा परिवर्तनका लागि ‘तलबाट माथि’ को दिशामा क्रियाशील रहन्छ, भने क्रान्ति पछिको अवस्थामा यस संघर्षको दिशा परिवर्तन भएर ‘माथिबाट तल’को दिशामा सक्रिय हुन्छ।

‘तलबाट माथि’ संघर्ष एउटा बिन्दुमा पुगेर राज्यसत्ता परिवर्तन गरी त्यसका मुख्य गतिशील अंग- शासक वर्गको स्थान, राज्य व्यवस्थाको रूप तथा कानूनी ढाँचा आदिमा तत्काल परिवर्तन गर्दछ। यस परिवर्तनको सम्पन्नता नै राजनैतिक रूपले क्रान्तिको सम्पन्नता हो। तर यो अवस्था क्रान्तिको पूर्णता भने होइन। क्रान्तिको पूर्णता आर्थिक ढाँचा र सांस्कृतिक पक्षमा परिवर्तनबाट मात्रै सम्पन्न हुन्छ। क्रान्तिको सम्पन्नताका लागि यस चरणमा गरिने संघर्षको दिशा फेरिन्छ। आर्थिक संरचनामा परिवर्तनका लागि गरिने यो क्रान्तिकारी संघर्ष क्रान्तिकारी शक्तिहरूले राजनैतिक सत्ता प्राप्त गर्नासाथ माथिबाट तल लागु गर्ने हुँदा यो प्रक्रिया विपरीत दिशामा अर्थात् माथिबाट तल क्रियाशील हुन्छ। आधेय (विशेष गरी नयाँ राजनैतिक सत्ता) आधार, विशेष गरी, आर्थिक संरचनामा तीव्र परिवर्तन गर्न क्रियाशील हुन्छ। तर पुरानो आर्थिक संरचना र उत्पादन सम्बन्धहरू त्यसको प्रतिरोधमा ओर्लिन्छन्। यही त्यो अवस्था हो, जहाँ क्रान्तिकारी शक्ति र प्रतिगामी शक्तिबिच जीवन मरणको संघर्ष सुरु हुन्छ। नयाँ राज्यसत्ताद्वारा यस अवरोधलाई समाप्त गरी नयाँ आर्थिक सम्बन्ध स्थापना गर्न सक्नु नै क्रान्तिको सफलता हो भने प्रतिरोधी शक्तिको विजय प्रतिक्रान्ति हो। क्रान्तिको चरणमा आधेय तथा आधारबीचका यी अन्तरद्वन्द्व र अन्तरसम्बन्धहरूको चारित्रिक विशिष्टता स्पष्टसाथ बुझ्नु नै क्रान्तिको सफलका लागि आवश्यक कुरा हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्