संसद विघटन प्रतिनिधिसभाले मात्रै गर्ने हुनुपर्छ : सभामुख सापकोटा

Agni_Sapkota
  • 2.2K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संविधान र संघीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले मूलभूतरुपमा संघीय संसद् ठीक बाटोमै अघि बढिरहेको बताएका छन्। राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित विधायिकी खुल्लापन र लोकतन्त्र मेला कार्यक्रममा उनले पछिल्ला समयमा भएका बहस, छलफल र गतिविधि विश्वकै लागि अध्ययन गर्ने ठूलो विश्वविद्यालय बनेको धारणा व्यक्त गरे।

सभामुख सापकोटाले भने, ‘समुद्र मन्थन गरेझैँ धेरै छलफल र बहसका साथ जारी भएको नेपालको संविधान महत्वकांक्षी छ, जनतालाई अधिकार प्रदान गर्ने हिसाबले विशिष्ट र मौलिक छ। लोकतन्त्र भनेको भाषणमा होइन व्यवहारमा अभ्यास गर्ने विषय हो।’ संघीय ससद्को ओजलाई माथि उठाउन सबैले भीष्म प्रतिज्ञा र संकल्प गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले भने, ‘संविधान कार्यान्वयनमा दूरदर्शिता र प्रतिबद्धता पाटोमा कम्जोरी छ। कार्यसम्पादनमा देखिएका कमी कमजोरी सुधार, परिमार्जनका लागि कडा मिहिनेत र इमान्दार प्रयास आवश्यक छ।’ प्रतिनिधिसभा विघटन प्रतिनिधिसभाले मात्र गर्न सक्ने व्यवस्था हुन आवश्यक रहेको बताउँदै उनले भने, ‘संविधान र संघीयताको प्रभावकारी कार्यान्वयनका लागि कानुन निर्माण लगायतका विषयमा केकस्ता कमजोरी भए त्यसको गम्भीर आत्मसमीक्षा गरिनुपर्छ।’

सभामुख सापकोटाले प्रतिनिधि सभाले मात्रै आफूलाई विघटन गर्नुपर्ने तर्क गरेका छन्। उनले यस्तो पद्धति मात्र लोकतान्त्रिक हुने बताए। उनले भने, ‘विघटनको सम्बन्धमा सुझाव आएको छ। प्रतिनिधि सभाको विघटन प्रतिनिधि सभाले मात्रै गर्न सक्नुपर्छ। अथवा, प्रतिनिधि सभाले मात्रै गर्नुपर्छ। त्यो भयो भने सबैभन्दा लोकतान्त्रिक हुने छ। त्यो सबैभन्दा वैज्ञानिक र जनताको सार्वभौमिक अधिकारको सम्मान हुनेछ।’

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र संघीयता कार्यान्वयनको प्रतिफल नागरिकले के कति प्राप्त गर्न सके त्यसको गहन समीक्षा हुनुपर्ने धारणा राखे। उनले भने, ‘विधि बनाउने मुख्य जिम्मेवारीमा हाम्रो पहल कस्तो रह्यो, सुशासनका माध्यमद्वारा मुलुक र नागरिकलाई समृद्ध बनाउन भएका प्रयासको समीक्षा हुनुपर्छ, हाम्रो मिहिनेतले इतिहासको कठघरामा इमान्दारपूर्वक काम गरेको भन्ने छवि बनोस्।’

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले लामो संघर्ष र ठूलो बलिदानीको उपलब्धिका रुपमा संविधानसभाबाट जारी भएको संविधानका उल्लेखित मौलिक अधिकार लगायतका विषयवस्तु कार्यान्वयन गरी जनतालाई परिवर्तनको अनुभूति प्रदान गर्न सबैको इमान्दार प्रयासको खाँचो औंल्याइन्।

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले लोकतान्त्रिक मूल्यमान्यतालाई राजनीतिक दल, नागरिक समाज र भ्रातृ संगठनलाई एक ठाउँमा भेला भएर जनता र मुलुकको हित प्रवद्र्धनका लागि अनुभव साटासाट गर्न सकियोस् भन्ने हेतुले संविधान दिवसका अवसरमा लोकतन्त्र मेला आयोजना गरिएको जानकारी दिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्