ढुक्क हुनुहोस् गठबन्धन टुट्दैन : प्रचण्ड

Prachanda
  • 3.3K
    Shares
लोकपाटी न्यूज

जनकपुरधाम। सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने बताएका छन्। मुलुकमा भएको राजनीतिक उथलपुथल तथा पार्टी टुटफुटको कारण राष्ट्रिय मुद्दाहरू ओझेलमा परेको बताउँदै प्रचण्डले ओझेलमा परेका संविधान संशोधनसहितका मुद्दालाई अब अघि बढाउनुपर्ने समय आएको बताएका हुन्।

जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘संविधान अधुरो भएर पनि हामीले पछि संशोधन गर्ने सर्तमा हस्ताक्षर गरेका थियौं। म प्रधानमन्त्रीको हैसियतमा हुँदा दुईपटक संविधान संशोधनको प्रस्ताव पनि लगेका थिए। अरू कसैको होइन, केपी ओलीकै कारण संविधान संशोधन हुन सकेन। त्यसकारण अब संविधान संशोधनका विषयलाई अगाडि बढाउन लागेका छौं।’

उनले केही प्राविधिक समस्याका कारणले गर्दा सरकारले पूर्णता पाउन ढिलाइ भइरहरेको बताए। उनले चाँडै प्राविधिक समस्या टुंगाएर सरकारले असोज ४ गते भित्रै पूर्णता पाउने दावी समेत गरे। प्रचण्डले सरकारले पूर्णता पाउन नसकेको विषयलाई बहाना बनाएर गठबन्धन तोड्नकै लागि गठबन्धनमा असन्तुष्टि रहेको प्रतिगामी शक्ति मिलेर भ्रमको सिर्जना गरिरहेको आरोप समेत लगाए।

उनले गठबन्धन बन्नु अगाडि नै प्रतिगामी शक्ति गठबन्धन नबनोस् भन्नेमा लागेको र अहिले आएर गठबन्धनमा तीव्र असन्तुष्टि रहेको भन्दै भ्रम छरिरहेको आरोप लगाए। प्रचण्डले भने, ‘प्रतिगामी शक्तिले रोक्न खोज्दा खोज्दै बनेको गठबन्धन संविधानको रक्षा, राष्ट्रको रक्षाका लागि बनेकाले ढुक्क भएर बस्नुस् गठबन्धनमा कुनै किसिमको विवाद छैन यो गठबन्धन टुट्दैन।’

एक अर्को प्रसंग प्रचण्डले बिना परिमार्जन एमसीसी सम्झौता परिमार्जन गर्न नमिल्ने बताए। उनले पहिलेको एमसीसी प्रस्तावमा रहेका विषयहरु बिगारिएकाले यसलाई बिना परिमार्जन पारित गर्न नमिल्ने बताए। यसअघि शेरबहादुर देउवा नेतृत्वकै सरकार रहेको बेलामा एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित गर्नु पर्छ भन्ने कुनै प्रावधान थिएन। तर, पछि केपी ओली नेतृत्वको सरकारमा प्रतिनिधिसभाबाट पारित गर्नु पर्ने विषय आएपछि मात्रै एमसीसीको विवाद सिर्जना भएको थियो,’ प्रचण्डले भने, ‘अमेरिकी संसद्मा जब यो एमसीसी इण्डो प्यासिफिक स्ट्रेटेजीको अंग हो भन्ने विषय चर्चामा आएपछि यो विवाद झन चर्कियो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्