एमालेभित्र संगठनात्मक अराजकता र गुटबन्दीको समस्या स्वतः अन्त्य हुँदैन : ईश्वर पोखरेल

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपालको नेतृत्वमा पार्टीबाट एउटा समूह बाहिरिए पनि संगठनात्मक अराजकता र गुटबन्दीको समस्या स्वतः अन्त्य नहुने बताएका छन्।

विधान महाधिवेशनमा पेस गर्नेगरी महासचिव पोखरेलले तयार पारेको संगठनात्मक प्रस्तावमा पार्टीभित्र संगठनात्मक अराजकता र गुटबन्दीको समस्या स्वतः अन्त्य नहुने उल्लेख गरेका छन्। ठूला राजनीतिक परिवर्तन, राजनीतिक र सामाजिक द्वन्द्वपछि समाजमा एक प्रकारको अराजकताको स्थिति उत्पन्न हुने बताएका छन्।

उनले अन्तरपार्टी संघर्षको क्रममा वैधानिक सीमा मिचिँदाको अवस्थामा पनि यस्तो समस्या पैदा हुने उल्लेख गरेका छन्। संगठनात्मक प्रस्तावको मस्यौदामा पोखरेलले लेखेका छन्, ‘विगतमा नेकपा एमालेभित्र उत्पन्न अन्तर्विरोधलाई त्यहाँभित्र स्थापित प्रणालीले एक हदसम्म बाँधेर राखेको थियो, नेकपा माओवादी केन्द्रसँगको एकतापछि त्यो अवस्था रहेन।’

माओवादीभित्र व्यक्ति केन्द्रित संगठनात्मक अभ्यास खुला राजनीतिमा आएपछि संगठनात्मक अराजकताको रुपमा संस्थागत भएको र दुई पार्टीको एकतापछि नेकपाभित्र प्रवेश गरेको उनको भनाई छ।

पार्टीको आठौं महाधिवेशनदेखि सुरु भएको पार्टी जीवनको लोकतान्त्रिकरणको उन्नत प्रणालीलाई स्थापित गर्न पनि तदनुरुपको लोकतान्त्रिक संस्कृति र संस्कारको विकास गर्नुपर्ने भन्दै उनले त्यसमा पार्टीको खासै ध्यान जान नसकेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्