नेकपा (एकिकृत समाजवादी) नेतृत्वलाई केही सुझावहरु

pic 2
  • 73
    Shares
लोकपाटी न्यूज

-सरोजदिलु विश्वकर्मा

क.अध्यक्ष
नेकपा (एकिकृत समाजवादी)
कामरेडहरु,

नेपालमा नयाँ गोर्वाचोभहरुले सत्ता लोलुपमा सिंगो आन्दोलनलाई बदनाम गराई दक्षिणपन्थमा धकेल्ने प्रयाश गरिरहेको र कम्युनिष्ट आन्दोलनमाथि आन्तरिक र बाहय हस्तक्षेपबाट गुज्रिरहेको यस विषम परिस्थितीमा यसलाई मुश्किलले अवतरण गराउनु भएकोमा नेताहरुलाई धन्यवाद। र, यतिवेला विक्षिप्त भएको आन्दोलनलाई पुनर्निमाण गर्ने र जनताको विश्वास पुनर्जागृत गर्ने थप कार्यभार समेत तपाईहरुमा थपिएको छ। सामदाम् दण्डभेद्, छलकपट् वेइमानी, धोखा, अवसरवाद, बाह्य र आमन्त्रित हस्तक्षेप तथा फुटमाथि फुटका बीचमा अडिग् रही आन्दोलनको जग उठाउने प्रयाश गर्नुभएको छ।

अव तपाईहरुको नेतृत्वले घोर सामन्तवादी वाहुनवादी र एकात्मक चरित्रले धरायसी पारेको कार्यकर्ताहरुको आस्था र विस्वासलाई पुनर्एकांकन गर्दै विशाल कम्युनिष्ट मोर्चा बनाउन सक्नुहुनेमा हामी आशावादी छौं । विविधता, वहुलता रहेको नेपाली समाजका फरकफरक चाहनाहरुलाई सम्वोधन गर्दै उन्नत् समाज र समृद्ध नेपाल निर्माणको समाजवादी यात्रामा सफल रहोस् भन्ने आसयले यहाँ केही सुझाव दिने प्रयाश गरेको छु।

१. सवैभन्दा अगाडि वामपन्थी आन्दोलन र हाम्रो दुईतिहाईको सरकार यो हालतमा पुग्नुको एउटा जिम्मेवारी वोध गर्दै जनता र वामपन्थी आस्था राख्नेहरुप्रति क्षमायाचना गरौं। त्यसपछि संविधान र संसदीय ब्यवस्थामाथिको वैमानीविरुद्ध आन्दोलन उठाई र सफलतासाथ अवतरण गराई यहाँसम्म ल्याइपुर्याउन जजसले योगदान गरे तिनको अनवरत योगदानको सम्मान गर्ने प्रतिवद्धता जनाऔं।

२. खाइपाई आएका वर्ग, समुदाय तथा जातिको हैकमको अन्त्य, समावेशी र समान हिस्सेदारी र समानता दलित, जनजाति उत्पीडित समुदायको मूल एजेण्डा हो। वर्षौको दलनविरुद्धको ज्वलन र त्यो उत्पीडनविरुद्धको प्रतिशोध हो। ती उत्पीडित जातजाति समुदायको भावनालाई सम्वोधन गर्न यस पार्टीलाई उत्पीडित वर्ग, क्षेत्र, समुदाय, लिङ्ग, जातिको समान हिस्सेदारी रहने पार्टी बनाउनु छ। त्यसैले यिनका मुद्दाहरुलाई कार्यन्वयनमा लैजान नेतृत्वदेखि हरेक तहका कमिटीहरुलाई पूर्णसमावेशी बनाउने, युवाको केन्द्रसम्म समान नेतृत्व स्थापित गर्ने र जातीय क्षेत्रीय मुक्तिको एजेण्डा तथा समावेशीताको राष्ट्रिय मुद्दालाई पुनस्र्थापित गर्नतर्फ उदार हुनैपर्छ। अर्थात निकट भविश्यमा यस पार्टीमा माधव नेपाल, वेदुराम वा सोहीस्तरका अर्का कोही नेताहरु संगसंगै कुनै युवा, कुनै दलित, जनजाति, मधेसी वा महिलाले नेतृत्व गर्न सक्नेगरी उत्तरअधिकारी निर्माण गर्न तत्पर हौं ।

३. हाम्रा धेरै नेताहरुमा मोहनविक्रम सिंह र मोहन बैद्यजस्तो परम्परावादी बुर्जुवा चिन्तनले जरो गाडेको छ।तिनीहरुमा युवा कार्यकर्ताहरुले भोकैतिर्खै हड्डी खियाएर, ब्यक्तिगत जीवन गुमाएर भएपनि पार्टीमा लागिरहनुपर्छ र उपल्ला नेताहरुमा चैं जहिलेपनि पद, प्रतिष्ठा तथा यश् आराम कमाउन लाग्नुपर्छ, मैले र मेरा आफन्तले मात्र सधै गाडीघोडा चढ्न पाउनुपर्दछ भन्ने मानसिकता छ। लोभीपापीहरुको जमातले नेतृत्वलाई गिजोलेको छ। नेता चैं कमाउने जमाउने, लुकाउने तर यी कार्यकर्ता चैं तमासे बनिरहनु पर्ने अवस्थिती छ। अतः युवालाई सिक्ने र जिउने आधार निर्माण गरिदिनु पर्दछ। किनकी विश्व बदलिइसक्यो, मानव संस्कृति र तिनका चाहनाहरुमा बदलाव आइसक्यो । सवैलाई अव सिद्धान्त वा गोलीभन्दा भोक नै प्रीय हुन्छ । अतः पहिले सामान्य कार्यकर्ताको ब्यक्तिगत जीवन निर्माण कोशिषमा लागौं।

४. एमालेमा रहँदाको अनुभूतिलाई हेर्दा हाम्रा कम्युनिष्ट नेताहरु जनताप्रति उत्तरदायी भएनन्, उपल्ला नेताहरु मातहतका कार्यकर्ताप्रति जवाफदेही भएनन्। बरु तिनीहरु सानामुखियादेखि ठूलामुखिया हुनथाले । कार्यकर्ताको दुखाईलाई उपहास गर्दै विलासितामा रम्न थाले। कमरेड्ली संस्कृति, हार्दिकता, मित्रता, सम्मान, साथित्व भन्ने कुरा स्वार्थ, वैमनश्यता, शत्रुता, इगो र रिसरागमा परिणत भयो । पार्टीमा ओली चरित्र हावी हुनुको आधार यही हो । त्यसैले कार्यकर्तापति जवाफदेही बन्नुपर्यो, नेता र कार्यकर्तावीचको जातीय, वर्गीय दुरी हटाउनु पर्यो, दुईपक्षवीचको अन्तरसंवाद र कार्यकर्तासंगको आत्मीयतालाई बढाउनु पर्दछ। त्यसका लागि अव दिनको एकदुई घन्टा साधारण कार्यकर्तावीच बसेर उनीहरुको गुनासो, आलोचना र विरोधलाई गम्भिर भएर सुनौं, बुझौं।

५. अवका दिनमा पार्टीलाई लेनिनवादी संरचनामा मात्र होइन, जातीय, वर्गीय र पेशागत संगठनहरुको महासंघको रुपमा केन्द्रदेखि स्थानीयतहसम्म संचालन गरिनुपर्दछ। अर्थात भर्टिकलमा मात्र होइन, होरिजेन्टल संरचनामा समेत ढाल्नुपर्दछ ।

६. वामपन्थी आस्था राख्ने नेपाली जनताले अझै चाहेको वृहत कम्युनिष्ट एकता नै हो। आमजनताले पनि यो देशमा थोरै पार्टी होस् भन्ने नै चाहेका छन्। त्यसैले पुरानो नेपाल कम्युनिष्ट पार्टीलाई ब्युताउँनतिर लाग्दै माओवादी तथा सानासाना वामपन्थी पार्टी र समुहहरुलाई वृहत कम्युनिष्ट एकतामा समेट्नु आजको आवश्यकता हो। तिनीहरुसंग सहकार्य र एकता गरेर संगै यात्रा गरौं।

७. हामीले हाम्रो मार्गनिर्देशक सिद्धान्त मानिएको जनताको वहुदलीय जनवादलाई २८ वर्ष हेरौं। तर यो जवज लोकतन्त्रलाई सुदृढ गर्न, उत्पीडित जनताको मनोभावनालाई सम्वोधन गर्न, वामपन्थी आन्दोलनलाई समष्टीकृत गर्न वा मुलुकको समृद्धिमा कहिंपनि सफल भएन। सफल भयो त केवल ओली वा शंकर पोख्रेलजस्ता जजमानी गरेर खाने मानिसहरु उत्पादन गर्न। यो पुरानो विचारले नयाँ समाजको चाहना र नयाँ युगको युवालाई सम्वोधन गर्न पटक्कै सक्दैन । त्यसैले जवजलाई विस्थापन गरी समय र समाजसापेक्ष नयाँ विचारमा छलफल गरौं ।

८. हामीले गणतन्त्र ल्यायौं तर चुनावी प्रणाली र जीतहार भने उही परम्परागत नै रह्यो। पैसा, पावर र दिमाग हुनेले जित्ने र सत्तामा पुगेपछि त्यही पैसा, पावरका लागि खेल्ने तर जनता र देशको पक्षमा काम नगर्ने संस्कार कायमै रह्यो। खर्चिलो चुनावी संस्कृति बसालियो। वास्तविक समुदायको नेतृत्व गर्नसक्ने मानिसहरु सत्तामा आउनै सकेनन्। तसर्थ चुनावी प्रणालीलाई समेत परिवर्तन गरी पूर्णसमानुपातिकको एजेण्डालाई पार्टीको मुल मुद्दा बनाइ वास्तविक उत्पीडित उपेक्षित जनताले चाहेको योग्य प्रतिनिधित्व चुनिने र सरकार बन्ने चुनावी पद्धतीमा हामी जानुपर्दछ।

९. राजा हटाएपछि गणतन्त्रको नेतृत्व गर्ने कार्यकारी राष्ट्रपति नै नेपाली जनताले चाहेका थिए। त्यसका लागि ७० प्रतिशत जनताले अभिमत दिँदासमेत वेष्टमिनिस्टेरियल प्रणालीमा गइयो। आज जनताको लामो वलिदानीबाट निर्मित गणतन्त्रलाई सारभूतरुपमा यस प्रणालीबाट नेतृत्व गर्न असफल हुँइदैछ। त्यसले केपी ओलीजस्ता दम्भकारी शासकहरु निर्माण गर्यो । सवै नेताहरु अस्थिर हुनपुगेका छन्। अनियमिमता र भ्रष्टाचारले ठूलो उचाई लिएको छ। अन्ततः जनताहरु फेरी राजा आऊ देश बचाऊ भन्ने स्थितीमा पुगेकाछन्। त्यसैले अव विलम्व नगरी कार्यकारी राष्ट्रपतीय शासकीय स्वरुपमा जानुपर्दछ। र, राष्ट्रपतीय शासन प्रणालीअनुसार विधायकहरु मन्त्री बन्न नपाउने र मन्त्रीहरु विभिन्न क्षेत्रका विषशेज्ञहरुबाट छनौट गरी मन्त्रीमण्डल बन्ने प्रणालीको राजनीतिक मोडलमा अव देशलाई डोहोर्याउनु पर्दछ।

१०. कर्मचारी पुनर्संरचनाको मुद्दालाई हामीले कहिल्यै महत्व दिएनौ। जसलेगर्दा परम्परावादी, यथस्थितीवादी निकम्मा कर्मचारीतन्त्रले कुनैपनि सरकारलाई खासै उत्पादन दिनसकेको छैन। यस्तो कर्मचारीतन्त्रमा सरकारका निर्णयहरु कार्यन्वयन नहुनेमात्र होइन, जतिसुकै राम्रो सरकार बने पनि भ्रष्टाचार, अनिमितता, नातावाद, घुस र कमिशनले निरन्तरता पाउँदा लोकतन्त्र नै वदनाम हुनपुगेको छ। देशमा दलाल पुजिँवादले संरक्षण पाएको छ। गाउंगाउंमा सिहंदरवार भनेपनि पछिल्लो समय सिंहदरवारका राजाहरु गाउंगाउंमा स्थापित हुनथालेका छन्। त्यसले गर्दा गणतन्त्रप्रति जनताको भरोसा उड्नथालेको छ। बाह्य हस्तक्षेपले मलजल पाएको छ। त्यसैले सरकारका नीति योजनालाई जस्ताको तस्तै जनताको घरदैलोमा पुर्याउन कर्मचारी प्रशासनमा सुधार र पुनसंरचना गर्नैपर्दछ।

११. मुलुकमा हजारौं यथास्थितीवादी नीतिनियमहरु छन्। यिनै नीतिनियमहरुका कारणसमेत हाम्रो विकास प्रकृयामा बाधाब्यवधान उत्पन्न भएको छ। मुलुकमा भ्रष्टाचार र वेथितीहरुको जग बलियो भएको छ । लोकतान्त्रिक पक्षधरहरु कमजोर भएका छन्। परम्परावादी नीतिहरुकै कारण सार्वभौम जनता कमजोर तर तिनै जनताको करमा पालिने समुहहरु बलिया भएका छन्। मुलुकका लागि योगदान दिन्छु भन्नेहरु वञ्चित छन् भने मुलुकको श्रोतसाधन हत्याऊँ भन्नेहरु हावी भएका छन्। तसर्थ सवै नीतिहरुको अध्ययन गरी विधायकहरुलाई परामर्श दिइरहने एउटा छुट्टै पार्टी इकाईं बनाऔं।

१२. राज्य संयन्त्रलाई पाल्न ब्यवसायी, किसान, मजदुर तथा सर्वसाधारण जनताले आम्दानीभन्दा ज्यादा कर तिर्नुपरेको छ। एक किसिमले भन्ने हो भने हाम्रो लोकतन्त्र तानाशाही सामन्तवादी ब्यवस्थाभन्दा बोझिलो छ। त्यसैले कर्मचारीले समेत समानढंगले कर तिर्ने तथा किसान मजदुर र ब्यापारी, वेरोजगारीहरुले समेत राज्यवाट समान ढंगले आर्थिक सुविधा प्राप्त गर्ने एजेण्डा बोक्नुपर्दछ।

१३. शान्ति स्थापना गर्नेदेखि संविधानसभामार्फत सकुशल अवतरण गराउने कार्यमा नागरिक समाजको भूमिका अहम् रह्यो। तर सत्तामा पुगेपछि पार्टीहरुले विशाल समुहमा रहेको नागरिक समाजलाई पुरानो बर्कोजस्तो मिल्काइदिए। नागरिक समाजलाई न संविधानमा कुनै महत्व दियो नत सरकारका कामकारवाहीलाई निगरानी गर्ने कुनै भूमिका दिइयो। वरु दलाल पुँजीवादका मतिहार तथा डलरे भन्दै बहिस्कार गरिरह्यौं। तसर्थ नागरिक समाजलाई परिचालन गर्ने र भूमिका दिने कुरामा यस पार्टीले गम्भिर भएर सोच्नैपर्दछ।

१४.पार्टी मुखपत्रको रुपमा विगतको नवयुगजस्तै (‘समाजवादी यात्रा’, ‘यात्रा समाजवादको’ अर्थात अरु कुनै उपयुक्त नाम) को मासिक पत्रिका प्रकाशनको आरम्भ गरौं। साथै कम्तिमा एक रेडियो, एक अनलाइन र एक टेलिभिजन कार्यक्रम सञ्चालन गरौं ।

१५. हामीले करिव ६ वर्ष यो संविधानलाई हेर्यौं, भोग्यौँ। केही उपलब्धी भए, धेरै उल्झन। त्यसैले यो संविधानमा ब्यापक सुधार गर्र्नैपर्ने देखिन्छ। त्यसैले विज्ञहरुको एक कार्यदल बनाई संविधान संसोधनको प्रकृयालाई अगाडि बढाऔं ।

१६.साथै, यो नेतृत्वलाई आन्दोलनमा संगै लडेका धेरै कमाण्डरहरुले छोडे। छोडेमात्र होइन, जसकाविरुद्ध आन्दोलन छेडियो, उसैको कम्पनीमा भर्ना भई हामीलाई नै प्रहार गर्न राजी भए । यसको कारण के हो ? यो नेतृत्वमा समेत कतै कमिकमजोरी तर रहेन ?? त्यसको समेत समिक्षा गरेर सच्याऔं।

अन्त्यमा त्यस पार्टीको जय होस्, विजय होस् र वृहत कम्युनिष्ट एकता निर्माणमा सफल रहोस् । शुभकामना ।।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्