को हुन् परराष्ट्रमन्त्री डा. नारायण खड्का ?

Narayan_Khadka
  • 106
    Shares
लोकपाटी न्यूज

काठमाडौं। परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरिने जानकारी दिएका छन्। परराष्ट्र मन्त्रालयमा आज अपराह्न पदबहाल गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन्।

उनले राष्ट्रिय हितलाई सर्वोपरि मानेर छिमेकी राष्ट्र चीन र भारतसहित विश्वका सबै मुलुकहरुसँग सुमधुर एवं सन्तुलित सम्बन्ध कायम गरिने बताए। उनले, ‘नेपालको राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धन गर्न सबै राजनीतिक दलसँग विचार विमर्श गरी अघि बढ्नेछौं। सबै राजनीतिक दलहरुको सहमतिका आधारमा मुलुकको परराष्ट्र नीति सञ्चालन गरिनेछ।’

वर्तमान विश्व परिवेशमा बाह्य सम्बन्ध सहज, सुदृढ एवम् सुमधुर बनाउन आवश्यक भएको र अहिले दक्षिण एसिया अन्तर्राष्ट्रिय समुदायको दृष्टिमा रहेको चर्चा गर्दै परराष्ट्र मन्त्रालयलाई अझ गतिशील आधुनिक प्रविधियुक्त बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गरे।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। मन्त्री खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन्।

परराष्टमन्त्री खड्काको जीवनी

परराष्ट्रमन्त्री खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो। विसं २०२३ मा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लाग्नुभएका उनले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका थिए। विसं २०६४ मा उदयपुर-१ बाट संविधानसभा सदस्य निर्वाचित हुनुभएका उनी २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

सोही स्थानबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित डा खड्का अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य हुन्। विसं २०७० मा उनी सहरी विकास मन्त्री भएका थिए। २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहकार रहेका थिए। उनले २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन्। राजनीतिक आन्दोलनका क्रममा काठमाडौं र विराटनगरमा पटकपटक पक्राउ पर्नुभएका उनी विभिन्न समयमा पाँचपटक जेल पनि परेका छन्।

राजनीतिसँगै अध्ययन र समाजसेवमा विशेष रुचि राख्ने मन्त्री खड्का चार दशकदेखि राजनीतिमा सक्रिय छन्। अर्थशास्त्रमा विद्यावारीधि गरेका उनी नेपाली कांग्रेसको प्रभावशाली नेता मानिन्छन्। उनी संविधानसभा पदकलगायत विभिन्न पदकबाट सम्मानित भइसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्