नेपालसँग सम्बन्ध प्रवर्द्धन गर्न चाहन्छौं : प्रधानमन्त्री खान

imran-Khan
  • 20
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवर्द्धन गर्न आफू तत्पर रहेको बताएका छन्। पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग मंगलबार भएको भेटमा उनले पारस्परिक सम्बन्ध प्रवर्द्धनका निम्ति नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएको इस्लामाबादस्थित नेपाली राजदूतावासले जनाएको छ।

राजनीतिमा प्रवेश गर्नुअघि स्वतन्त्र नागरिकका रूपमा आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री खानले सांस्कृतिक एवं भौगोलिक विविधताका कारण पाकिस्तान र नेपालबीच धेरै समानता छन् भने। उनले प्रधानमन्त्री शेरबहादुर देउवाको सुख, सुस्वास्थ्यका साथै नेपाल र नेपाली जनताको निरन्तर प्रगतिको शुभकामना व्यक्त गरे।

सद्भाव, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र पाकिस्तानबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको चर्चा गर्दै राजदूत अधिकारीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का संस्थापक दुवै राष्ट्रको संयुक्त राष्ट्रसंघलगायत अन्य महत्त्वपूर्ण मञ्चहरूमा समान धारणा रहेको बताए।

उनले नेपाल र पाकिस्तानबीच सांस्कृतिक एवं साहसिक पर्यटन प्रवर्द्धनका प्रशस्त सम्भावना रहेका बताउँदै त्यसनिम्ति आफूले हरसम्भव प्रयास गर्ने दृढता व्यक्त गरे। कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा पाकिस्तानले गरेको नैतिक एवं आर्थिक सहयोगप्रति राजदूत अधिकारीले कृतज्ञता ज्ञापन गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्