चितवन प्रमूख पर्यटकीय गन्तव्य हाे, यसकाे प्रवर्द्धनमा सबै जुटाैँ : रेणु दाहाल

लोकपाटी न्यूज
0 Shares

असाेज ११ चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले भरतपुर महानगरपालिकाभित्र रहेका महत्वपूर्ण गन्तव्यहरुमा पर्यटन पूर्वाधार निर्माण भइसकेकाले यसलाई सशक्त ढंगले प्रर्वधन गर्न सरोकारवालाको सामुहिक प्रयास हुनुपर्ने बताएकी छिन् ।

४२औ विश्व पर्यटन दिवसको अवसरमा ज्ञानेश्वर सामुदायिक वन परिसरमा चितवन पर्यटन विकास समितिले आयोजना गरेको वृक्षरोपण सरसफाई तथा गन्तब्य प्रवर्धन कार्यक्रममा बोल्दै मेयर दाहालले पर्यटन क्षेत्रको विकास र प्रवर्धन मार्फत समृद्धि हासिल हुने बताउँदै भरतपुर महानगरपालिकाले सोही बमोजिम काम अगाडि बढाइरहेको बताएकी हुन्।

महानगर पर्यटकको केन्द्रको रूपमा रहेको भन्दै उनले जल, जमिन र जंगलको समुचित सदुपयोग गरी यसको प्रवर्द्धनमा लाग्नुपर्ने बताइन् । पर्यापर्यटन, ईको पार्कका साथै सामुदायिक वनहरूलाई पर्यटकीय केन्द्रको रूपमा विकास गरी आयआर्जनको अतिरिक्त माध्यम बनाउन दाहालले आग्रह गरिन् । उनले भरतपुर महानगरपालिकाले व्यवस्थित सडक संजाल निर्माण गरिसकेको बताउँदै यसले पर्यटन प्रवर्द्धन र विकासमा सहयोग पूर्याउने विश्वास व्यक्त गरिन् । नारायणी नदी किनारलाई सी बिच मोडलको रूपमा विकास गर्ने कामको सुरूवात भैसकेको भन्दै यो निर्माण सम्पन्न हुँदा एउटा नमुना गन्तब्य बन्ने उनको भनाइ छ ।

भरतपुरमा रमणीय घुम्ने पर्यटकीय स्थलको कमी नभएको भन्दै उनले पार्क, मन्दिर, खेल, पर्यटनको लागि निर्माणाधिन गौतमबुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला, सिटीहल, नारायणी नदिमा जल बिहार र चितवन राष्ट्रिय निकुन्जभित्र पाटेबाघ तथा एक सिंगे गैँडा लगायतका जंगली जनावरको अवलोकन भरतपुरको विशेषता भएको बताइन्।

कार्यक्रममा भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्वराज सुबेदिले ४२औँ विश्व पर्यटन दिवसको शुभकामना व्यक्त गर्दै पर्यटनको गुणात्मक विकासबाट लक्ष हासिल गर्न सकिने बताए । उनले चितवन भरतपुरको ज्ञानेश्वर ब्लक पर्या पर्यटन र स्पोर्ट टुरिज्मको रूपमा विकास गर्ने सम्भावना भएको भन्दै सबै सरोकारवालहरुको सामुहिक प्रयास मार्फत अगाडि बढे मात्र लक्ष्य हासिल गर्न सकिने बताए ।

सो अवसरमा होटल व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष दिनेश कुमार चुकेले विश्व पर्यटन दिवसको शुभकामना व्यक्त गर्दै पर्यटन क्षेत्रको समग्र विकास मार्फत समृद्धि हासिल गर्नुपर्ने बताए । पर्यटकीय क्षेत्रको पहिचान विकास र प्रवर्द्धनमा सबैको सामुहिक चासो र लगानी हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा चितवन पर्यटन विकास समितिका सदस्य सुरबिर पोखरेलले पर्यापर्यटनको विकास गर्दै यसको प्रवर्द्धनमा सामुदायिक वनहरू सबै लागि पर्ने बताए । चितवन पर्यटन विकास समितिका अध्यक्ष खेम भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजन अधिकारी लगायतले भरतपुरको पर्यटन विकासको सम्भावना र अवसरहरूको बारेमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए । सो अवसरमा सामुदायिक वन परिसरमा वृक्षरोपण समेत गरिएको थियो ।