दर्शनको इतिहासमा भौतिकवादी र प्रत्ययवादी धाराहरू

Jagat Upadhyay
  • 373
    Shares
लोकपाटी न्यूज

दर्शन संस्कृतको शब्द हो। संस्कृतमा पाणीनी व्याकरण विश्वप्रसिद्ध छ। पाणीनीले दर्शन शब्दको व्युत्पत्ति गर्दा प्रेरणार्थक दृश् धातु हुन्छ। प्रेक्षक भनेको हेर्नु हुन्छ। हेर्ने अर्थमा प्रयोग हुने दृश् धातुमा ‘ल्युट’ प्रत्यय लागेर अथवा ल्युटका ठाउँमा ‘अन’ प्रत्यय लागेर दर्शन हुन्छ। दर्शन शब्दको व्युत्पत्तिमा ‘‘दृश्यते अनेन इति दर्शनम्।’’ यहाँ ‘अनेन’ भनेको जेबाट ‘दृश्यते’ भनेको देखिन्छ या हेरिन्छ, अर्थात् जुन माध्यमबाट देखिन्छ, जुन माध्यमबाट विचार गरिन्छ, जुन माध्यमबाट अवलोकन गरिन्छ, त्यसलाई दर्शन भनिन्छ।

दर्शन शब्दलाई अमरकोषकार अमर सिंहले यसलाई निर्वरण भनेका छन्। निध्यान पनि भनेका छन्। आलोकन पनि भनेका छन्। इच्क्षण पनि भनेका छन्। वास्तवमा यी चारवटै शब्दले दर्शन शब्दलाई नै पुष्टि गर्छ। निर्वरण भनेको अतिशय। ‘निर’को अर्थ रहित भन्ने मात्र हुँदैन। कुनै पनि विषय वा वस्तुका बारेमा विशेष ढंगले वरण गरियो भने त्यो दर्शन हुन्छ। अत्यन्तै ध्यानपूर्वक, गम्भीरतापूर्वक विचार गरियो भने त्यो दर्शन हुन्छ। अनि सर्वाङ्गीण ढंगले हेरियो भने पनि त्यो दर्शन हुन्छ भनेर अमरकोषकारले ‘निर्वरण तु निध्यानम् दर्शनम् लोक इच्क्षणम्’ भनेका छन्। निर्वरण, निध्यान, आलोकन र इच्क्षण दर्शनका पर्यायवाची शब्दको रूपमा प्रयोग गरेका छन्। यसबाट के बुझ्न सकिन्छ भने, दर्शनको अर्थ देख्नु हो, निरीक्षण गर्नु हो, हेर्नु हो, अवलोकन गर्नु हो। दर्शनलाई दृष्टि पनि भनिन्छ। सतही ढंगले हेर्दा दृष्टिको अर्थ आँखा मात्र हुन्छ। बाहिरी आँखाले हेर्दा त्यहाँ पनि दृष्टि हुन्छ। जस्तै हाम्रा बाहिरी इन्द्रीयहरू जुन पाँच वटा ज्ञानेन्द्रिय भनिन्छ। आँखा, कान, नाक, छाला जिब्रोलाई लिने गर्छौं, हामीले आँखाले हेर्दाखेरि बाहिरी छालाको आँखाले मात्र हेर्दा रूप देखिन्छ। तर त्यसमा ध्यान गएको छैन, त्यसमा अन्तर्मनको लगाव छैन भने छालाको आँखाले देखिने कुरा पनि साक्षात्कार हुँदैन। प्रत्यक्ष हुँदैन।

कहिलेकाहीँ बाटोमा हिँडिरहेका हुन्छौं। तर त्यहाँ आँखाले देखेका कुराहरू देख्दैनौं। कहिलेकाहीँ साथीहरू अगाडि आइरहेका हुन्छन्। हाम्रो ध्यान अन्तै हुन्छ। उनीहरूले हामीले नदेखेको जस्तो, बेवास्ता गरेको ठान्छन्। तर हाम्रो ध्यान त्यहाँ नभएको हुनाले हामीले उसलाई देखिरहेका हुँदैनौं। हाम्रो ध्यान अन्त केन्द्रित भएको बेला हाम्रो कानले अगाडि भनिरहेको कुरा पनि सुनिरहेका हुँदैनौं। त्यस्तै हाम्रो ध्यान अन्त भएको बेला खाना खाइरहँदा त्यसको स्वाद पनि थाहा पाइरहेका हुँदैनौं। गन्धको भेउ पाइरहेका हुँदैनौं। दर्शन भनेको सामान्यतः दृष्टि अर्थात् हेराइ त भयो। तर त्यति मात्र नभई हाम्रो आँखा, कान, नाक, जिब्रो र छालाको सम्बन्ध जुन बाहिरी वस्तुसँग हुन्छ, त्यो सम्बन्ध भएको बेला हाम्रो अन्तरहृदय ‘मन’ जोडियो भने बाहिरी बस्तुको जस्तो, आँखाद्वारा–रूप, कानद्वारा–शब्द, नाकद्वारा–गन्ध, जिब्रोद्वारा–स्वाद र छालाद्वारा–स्पर्शको ज्ञान गर्न सकिन्छ। त्यो ज्ञान गर्ने दृष्टि हो, त्यसलाई दर्शन भन्न सकिन्छ।

दर्शनलाई दृष्टिकोण पनि भन्न सकिन्छ। दृष्टिकोण भनेको हेर्ने गुण हो। हामीले कुनै पनि वस्तु वा विचारलाई कुन कुनामा बसेर हेर्छौं। त्यो ठाउँको आधारमा वस्तुप्रतिको हाम्रो अवधारणा बन्छ। यद्यपि वस्तु एउटै हुन्छ। वस्तुमा कुनै पनि भिन्नता आउँदैन। वस्तु एउटै हो, जगत् एउटै हो, जीवन पनि एउटै हो। तर त्यसलाई हामीले जुन कोणमा बसेर हेर्छौं। त्यो कोण फरक फरक हुन्छ। मार्क्सवादीहरूले वस्तु यथार्थमा बसेर भन्छन् – भौतिक प्रक्रियाबाट परिवर्तन आउने हो। तर, जतिखेर हेर्छौं, त्यो वस्तु एउटै हुन्छ। तर, त्यसलाई हेर्ने दृष्टिकोण फरक हुन्छ। हेर्ने कुनु (ठाउँ) फरक फरक हुने हुनाले दर्शन पनि फरक फरक छन्, फरक फरक मानिएका छन्। वास्तवमा दर्शन भनेको दृष्टिकोण हो। हेर्ने कुनु हो। अहिले हेर्ने कुनु मात्र आफैमा रहेको छैन। अहिले दर्शन आफै पनि विषय बनेको छ। पहिले अरूलाई हेर्ने माध्यम मात्र थियो दर्शन। अहिले आफै विषय बनेको छ।

दर्शनको सुरुवात जगतलाई हेर्ने दृष्टिकोणमा भएको थियो। अनि मान्छेका मनमा उत्पन्न हुने अनेकौं जिज्ञासा, कौतुहलहरूको समाधानका निम्ति जुन दृष्टिकोणको जन्म भएको थियो। पछि अगाडि बढ्दै जाँदा यसले प्रकृति र पदार्थसँगको मान्छेको सम्बन्ध, सम्बन्ध विकसित गर्ने प्रक्रिया, उसको ज्ञानका साधन आदि असंख्य प्रश्नहरूको समाधान गर्ने सन्दर्भमा नयाँ नयाँ चिन्तनको विकास भयो। नयाँ नयाँ धारणाहरू जन्मिँदै गए। र नयाँ–नयाँ जुन चिन्तनको विकास भयो, नयाँ नयाँ चिन्तन आउनु, चिन्तनको आविष्कार हुनु नैतिक दर्शनको प्रारम्भिक उद्भव हो भनेर दर्शनशास्त्रीहरूले चाहिँ मानेका छन्। संस्कृतबाट नेपालीमा आएका तत्सम शब्दका रूपमा रहेको दर्शन शब्दलाई अंग्रेजीमा फिलोसोफी भन्ने गरिन्छ। फिलोसोफी शब्द यूनानी शब्द हो। यो ग्रिस शब्द हो। ग्रिक भाषामा अथवा ग्रिसेली भाषामा फिलोस् र सोफिया मिलेर फिलोसोफी शब्द बन्दछ। फिलोसको अर्थ प्रेम भनेर गरिएको छ। सोफियाको अर्थ बुद्धिमत्ता वा ज्ञानमत्ता हो। अथवा ज्ञानप्रति, विद्याप्रति, विवेकप्रतिको माया प्रेम या अनुरागलाई फिलोसोफी भनिएको छ।
हाम्रो पूर्वीय परम्पराको तत्सम शब्द र ग्रीक परम्पराको फिलोसोफिया शब्दले दिन अर्थ एउटै हो। हामी एउटै बिन्दुमा उभिन्छौं। हरेक वस्तुलाई गहिरिएर बुझ्ने अर्थको रूपमा दर्शनको प्रयोग गर्छौं। फिलोसोफियाले ज्ञानप्रतिको प्रेम, विद्याप्रतिको प्रेम, विवेकप्रतिको प्रेमका रूपमा फिलोसोफियाको प्रयोग भएको देखिन्छ। यी दुवैको आसय कुनै पनि वस्तुको ज्ञानप्रति, जीवन र जगतको ज्ञानप्रति, जीवन र जगतको सम्बन्धप्रति अथवा प्रकृति र पदार्थप्रति, पदार्थ र चेतनाको सम्बन्धका विषयमा, यसको सम्बन्ध विकास हुने प्रक्रियाका सम्बन्धमा, हामी जुन दृष्टिकोण बनाउँछौं, त्यो ज्ञान, विद्या, विवेकप्रतिको रुचिबिना दृष्टिकोण बन्न सक्दैन। दृष्टिकोण बन्नका लागि पनि ज्ञानप्रतिको रूचि चाहिन्छ। ज्ञानप्रतिको रूचि जागृत गर्नको लागि पनि दृष्टिकोण चाहिन्छ। दर्शन र फिलोसोफी शब्द अन्तरसम्बन्धित नै छन्।

विशेष गरेर मानव सभ्यताको विकासक्रममा मान्छेले आफ्ना आधारभूत कुराहरू पूर्ति गर्ने सन्दर्भमा पहिले त मान्छेलाई गाँस, बास, कपासको आवश्यकता भयो। गाँस, बास र कपासको चिन्ताबाट मुक्त भएको बेला मान्छेले केही विचार पनि गर्न थाल्यो, सोच्न पनि थाल्यो। त्यही सोच्ने सन्दर्भमा हामी को हौं ? हामी कसरी जन्मन्छौं ? दृष्टिमान जगत् के हो ? बाहिर देखिने संसार जगत् के हो ? पृथ्वी के हो, आकाश के हो, तारामण्डल के हो, वनस्पति के हुन् ? अरू विभिन्न किरा फट्यांग्रा, जीवजन्तु के हुन् ? यिनीहरू कसरी जन्मे त ? अनि वस्तु के हो, चेतना के हो, हाम्रो शरीर के हो ? यस्ता विभिन्न जिज्ञासाहरू मानिसको मनमा उत्पन्न भए। विभिन्न प्रश्नहरू जन्मे। यी प्रश्नहरूको उत्तर खोज्दा र व्याख्या गर्न खोज्दा नै मानवजातिले वृद्धि विकास गरेको हो। त्यसकारण दर्शन भनेको चिन्तनशीलता पनि हो।

मानिसहरूले सामाजिक चेतनाका विभिन्न रूपहरूलाई विवेचना गर्नका लागि दर्शनलाई आधार बनाउँदै आएको छ। जसका कारण अहिले हामी समाजमा राजनीति, शिक्षा, साहित्य, कला र हाम्रो आफ्नै जीवनसँग पनि दर्शनलाई जोडिरहेका छौं। दर्शनबिना न राजनीति, न जीवन, न शिक्षा, न कला, न त संस्कृति अगाडि बढ्छ। भाषा, साहित्य, इतिहासको दर्शन संसारमा आइरहेका छन्। र विना दर्शन कुनै पनि कुरा चल्दैन भन्ने मान्यता अहिले सशक्त रूपमा आइरहेको छ। त्यो सबैले स्वीकार गरेको अवस्था पनि छ। दर्शन आफै पनि एउटा विषयको रूपमा छुट्टै स्थापित पनि छ र अरू विषयलाई पनि मार्गदर्शन गर्ने काम पनि गरिरहेको छ। यसरी विषयवस्तुलाई हेर्ने, अवलोकन गर्ने, दृष्टिकोण वा साधनका रूपमा प्रयोग गर्दै जाँदा अहिले सबै विषयको आधारका रूपमा दर्शनले आफ्नो स्थान अत्यन्तै सशक्त बनाएको छ।

दर्शन र फिलोसोफी शब्दका सन्दर्भमा पूर्व र पश्चिममा उद्देश्यमा केही भिन्नता पाइन्छ। पूर्वमा दर्शनले विशेष गरेर निवृत्तिपरक लक्ष्यलाई जनाउँछ। पूर्वीय दर्शनको मूल तात्पर्य निवृत्तितिर छ। यद्यपि पूर्वमा भौतिकवादी दर्शन वैदिककालदेखि नै, ऋग्वेदकालदेखि नै सँगसँगै भएको पाइन्छ। पूर्वको पहिलो भौतिकवादी दर्शनको रूपमा चार्वाक दर्शन रहेको छ। चार्वाक दर्शनले मानव समाजलाई हेर्ने, पदार्थ र चेतनालाई हेर्ने सन्दर्भमा पदार्थलाई नै प्राथमिक तत्व मान्दछ। पृथ्वी, जल, तेज, वायु यी चार वटा तत्वबाट संसार बनेको हो। त्यही संसार बन्ने क्रममा जसरी खाद्य पदार्थलाई रासायनिक प्रक्रिया पार गरेपछि मदिराका रूपमा परिणत हुन्छ। अन्नमा विभिन्न पदार्थहरू मिसाउँदा त्यही अन्नमा मादक आउँछ। पृथ्वी, जल, तेज, वायु जस्ता पदार्थहरू रासायनिक प्रक्रियाद्वारा अगाडि बढे, त्यहाँ चेतना जन्मिन्छ भनेर चार्वाकले भन्छ।

अरु धेरै दर्शनहरू छन्। भाववादी दर्शन (अध्यात्मवादी दर्शन) निवृत्ति चेतनाबाट, ईश्वरबाट ‘तत्मात् तस्मात आत्मान्, आकाश सम्भुतः’ भन्ने पनि छ। वेदका मन्त्रहरूमा आत्मबाट, चेतनाबाट पृथ्वीको उत्पत्ति भएको भन्ने पनि पाइन्छ। आत्माबाट या चेतनाबाट यो संसारको उत्पत्ति भएको हो। पहिले आकाशको उत्पत्ति भयो, आकाशबाट वायुको उत्पत्ति भयो, वायुबाट जलको उत्पत्ति भयो, जलबाट पृथ्वीको उत्पत्ति भयो यस्ता विचारहरू हाम्रो वैदिक मन्त्रहरूमा पाइन्छन्। तर पनि पूर्वीय दर्शनमा ‘दर्शन’ शब्दको प्रयोग निवृत्तिपरक छ। मान्छेलाई निवृत्तिको मार्गमा लाग्ने, लाग्न प्रेरित गर्ने प्रयोग गरेको पाइन्छ। पश्चिमको फिलोसोफी शब्द विद्वानहरूको मनोविजनको साधनका रूपमा त्यसको प्रयोग भएको देखिन्छ। संसारका अपूर्व, आचार्यमय वस्तुहरूलाई देखेर तिनका रहस्यहरूलाई जान्न र आफ्ना मानसिक कौतुहलतालाई शान्त पार्नका निम्ति पश्चिममा फिलोसोफीको प्रयोग भएको पाइन्छ। संस्कृतको दर्शन शब्द ‘आध्यात्मिक, आदिभौतिक र आदिदैविक’ तीन प्रकारका दुखहरूको समुच्छेद गर्ने उद्देश्यले दर्शन शब्दको प्रयोग भएको पाइन्छ। तर पनि यसमा सहमति र असहमति सँगसँगै आएका छन्। मोक्षका सन्दर्भमा चार्वाक दर्शनले भन्छन् – अरू दर्शनले देहबाट मुक्ति अथवा सांसारिक भोगका साधनहरूबाट मुक्त हुनुलाई मुक्ति भन्छन्, मोक्ष भन्छन् र सुखलाई पनि दुःख ठान्छ पूर्वीय अध्यात्मवादी भौतिक दर्शनले। तर चार्वाकले मोक्ष भनेको मृत्यु हो भन्छ। मृत्यु भएपछि मोक्ष स्वतः हुन्छ। तर त्योभन्दा अगाडि जति जीवन बाँचिन्छ, त्यो जीवनलाई त्राडना, यातना दिनुहुँदैन भन्छ।

कतिपयले त्यसैलाई आधार बनाएर ‘‘यावत् जीवेत् सुखम् जीवेत् ऋणम् कृत्वा घृतम् पिवेत्। भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः’’ अर्थात् जबसम्म बाँच्नुपर्छ, सुखसम्म बाँच्नुपर्छ। ऋण गरेर भए पनि घिउ खानुपर्छ। जलेर खरानी भएर जाने हो। शरीर चाहिँ फेरि कहिले आउँछ र ? भनेर चार्वाक दर्शनलाई कतिपयले उडाउने ढंगले पछिल्ला अध्यात्मवादीहरूले कति पाए श्लोकहरू आफै बनाइदिएर, चार्वाक दर्शनलाई पूर्वपक्षका रूपमा राखेका छन्। गाली गरेको, अपमान गरेको, संसारमा एकदम भोग विलासमा चुर्लुम्म डुब्ने चिन्तनको विकास गर्ने दर्शनका रूपमा व्याख्या गरेको पाइन्छ। तर त्यति मात्र होइन। चार्वाकले ‘‘जीवनलाई सुखपूर्वक बाँच’’ भन्ने स्वाभाविक हो। तर ऋण गरेर भए पनि घिउ खाउ र तिम्रो जीवनको उद्देश्य, लक्ष्य केही पनि छैन भनेर भनेको देखिँदैन। वृहस्पतिका जुन सूत्रहरू थिए, चार्वाक दर्शनसँग सम्बन्धी सूत्रहरू, ग्रन्थहरू ती चाहिँ कट्टर अध्यत्मपन्थीहरूले जलाई दिएर नास गरिदिएको हुनाले, मासिदिएको हुनाले ती आज मूल छैनन्। अरू विभिन्न दर्शनहरूले पूर्वपक्षका रूपमा मात्र प्रस्तुत गरेका सूत्रहरूका आधारमा मात्र चार्वाक दर्शनलाई बुझ्नुपर्ने हुनाले चार्वाकको मौलिक स्वरूप के थियो ? भन्ने पूरै पढ्न पाइएको अवस्था छैन। संस्कृतका धाराहरूमध्ये अध्यात्मवादी धारा र भौतिकवादी धारा सँगसँगै विकास गरेको देखिन्छ।

दर्शन विकासका सन्दर्भमा पौरस्त्य दर्शनमा संसारको जेठो ग्रन्थ ऋग्वेद हो, त्यो पश्चिमाहरूले पनि मानेको कुरा हो। ऋग्वेदमा नै भौतिकवादी विचार सँगसँगै आएको छ। त्यहाँ पृथ्वी, आकाश, वायु र प्रकृतिका विभिन्न पक्षहरूको वरण छ। अहिले पनि नेपाली समाजमा हामीले जुम्ला, हुम्ला, डोल्पातिर गयौं भने अथवा चीनको तिब्बततिर गयौं भने वोन दर्शन पाउँछौं। त्यो वोन दर्शनका मान्यताहरूमा प्रकृतिको पूजा छ। अहिले पनि गाउँघरमा जाँदाखेरि, धान रोप्नुअघि सिमेको पूजा गर्ने र भुमेको पूजा गर्ने गर्छौं। सिमे भनेको जल हो। पानीले गिलो भएको जमिनलाई सिम भनिन्छ। भूमि त जमिन भइहाल्यो। यसरी जलको पूजा गर्ने, पृथ्वीको पूजा गर्ने र वायुको पूजा गर्ने जुन परम्परा छ, त्यो वोन दर्शनको परम्परा हो। त्यो वोन दर्शन र ऋग्वेद दर्शनको विकास सँगसँगै भएको पाइन्छ। ऋग्वेदका मन्त्रहरू संस्कृतमा छन्। अहिले कर्णाली जस्ता ठाउँ र हिमाली क्षेत्रमा त्यहाँका धामीझाँक्रीले प्रयोग गर्ने भाषा र शब्दहरू ती आफ्नै किसिमका छन्। कतिपय खाम भाषाका छन्। कतिपय अन्य भाषाका पनि छन्। तर चिन्तनको आधार र जग एउटै छ। तिनको उद्देश्य भनेको प्रकृति पूजा हो।

ऋग्वेदका मन्त्रहरूमा प्रकृति पूजाको विस्तृत विवरणहरू पाइन्छ। त्यहाँ भौतिक पक्षलाई बढी महत्व दिएको देखिन्छ। यद्यपि चेतनाका कुराहरू पनि छन्। ऋग्वेद भनेको त्यसबेलाको समाजमा प्रचलित मन्त्रहरू, विभिन्न ऋषिमुनिहरूले रचनाहरूले सिर्जना गरेको मन्त्रहरूको संग्रह हो। ऋग्वेद वेदकालपछि कतिपयले त्यसलाई धर्म ग्रन्थका रूपमा मात्र व्याख्या गर्ने, ईश्वरीय ग्रन्थका रूपमा व्याख्या गर्ने या अपौरिस्त्य ठान्ने, चिन्तकहरूले हजारौं हजार वर्षअघि रचिएको भनेर व्याख्या गरेको पाइन्छ। वैज्ञानिक ढंगले, ऐतिहासिक ढंगले अध्ययन गर्ने वैज्ञानिकहरूले ऋग्वेदको रचना बढीमा इसापूर्व ५ हजारदेखि ढिलोमा १५/२५ वर्षका बिचमा रचना गरिएको ठानेका छन्। वेदसँग ऋग्वेदपछिका यजुर्वेद, सामवेद, अथर्ववेद विभिन्न उपनिषद जोड्दै जाँदा इसाको ७ सय, ८ सय शताब्दीसम्म यी सबै लेखिसकिएको कुरालाई भारतका विद्वान राहुल सांस्कृत्यानले चर्चा गरेका छन्। यसरी दर्शनका दुईवटा धारा (विश्वव्यापी रूपमा भौतिकवादी दर्शन र भाववादी दर्शन) चिन्तनको प्रारम्भदेखि सँगसँगै आएको देखिन्छ। त्यसमा पनि पौरस्त्य दर्शनमा सुरुमै भौतिकवादी धारा र अध्यात्मवादी धारा वा भाववादी धारा भनिएको पाइँदैन। यसमा भौतिकवादी र भाववादी भन्नुभन्दा पनि आस्तिकवाद र नास्तिकवाद भनिएको छ। आस्तिक र नास्तिक भनेको जिज्ञासा आउन सक्छ। पारिणीको एउटा सूत्र छ, ‘‘अस्तिनास्ति दृष्टम् मति।’’ अस्ति, नास्ति गरी दुई प्रकारका मति हुन्छन्। मति भनेको बुद्धि हो। अस्ति छ भने बुद्धि छ, नास्ति छ भने बुद्धि छैन भन्ने बुद्धि गरी दुई प्रकारका मति छन् भन्ने एउटा सूत्रमा पारिएको छ। अष्टाध्याय सूत्रमा त्यो लेखिएको छ।

अस्ति भनेको के, नास्ति भनेको के ? अस्ति भनेको छ भन्ने मान्यता राख्ने आस्तिक। नास्तिक भनेको छैन भन्ने मानेता राख्नेलाई नास्तिक भन्ने अर्थमा व्याख्या गरिएको छ। भौतिकवादी दृष्टिकोणले हेर्दा आस्तिकवाद र नास्तिकवादले पनि समस्याको समाधान खोज्छ। यी दुईवटैले समस्याको समाधान केलाउँछन्, निर्क्याैल गर्छन्। एंगेल्सले त्यसलाई अस्तित्वका साथ विचार तथा प्रकृतिका साथ आत्माको सम्बन्धका निर्धारणको समस्या भनेका छन्। आस्तिकवाद र नास्तिवादका सन्दर्भमा चर्चा गर्ने सिलसिलामा अस्तित्वका साथ विचारको तथा प्रकृतिका साथ आत्माको सम्बन्ध निर्धारणको समस्या हो भनेका छन् । त्यसलाई भौतिक अस्तित्वको साथमा चेतनाको सम्बन्ध निर्धारणको समस्या रूपमा पनि लिन सकिन्छ। तर संस्कृत परम्परामा आस्तिक र नास्तिकको ‘छ’ भन्ने अर्थसँग स्वर्ग, नर्क, पूर्वजन्म, पुनर्जन्म र ईश्वर यी पाँचवटा कुरासँग सम्बन्ध राख्छ। ईश्वर छ भन्ने, पूर्वजन्म हुन्छ भन्ने, अनि पछि पनि जन्म हुन्छ भन्ने, स्वर्ग पनि छ र नर्क पनि छ भन्ने मान्यता राख्छ। स्वर्ग र नर्क भने हामी रहेको संसारभन्दा बाहिर कुनै अर्कै संसार छ, जहाँ कहिल्यै दुख हुँदैन। सुखैसुख मात्र हुन्छ भनेर कल्पना गरिएको हुन्छ पुराण र कतिपय उपनिषदमा यसरी व्याख्या गरिएको छ। मान्छेभन्दा विशिष्ट, मान्छेभन्दा विलक्षण, परपरमका रूपमा चिन्तन गरिएको छ, त्यो पनि छ भन्ने मान्यता राख्ने। अनि पुनर्जन्मः हामी पहिले अर्कै जन्ममा थियो। मृत्युपछि फेरि अर्को जन्म लिएका हौं भन्ने मान्यता राख्छ। त्यस्तै गरेर, ईश्वर छुट्टै छैन। मान्छे नै ईश्वर हो। चार्वाकले भन्छ – ‘‘लोकसिद्धो राजा परमेश्वर।’’ त्यसबेला राजतन्त्र थियो। राजतन्त्रमा गणतन्त्रका कुरा छन्। समिति संसद्का कुराहरू छन्। ‘सभा, समिति, संसदः’ भनेर अमरकोषकारले लेखेका पनि छन्। त्यसबेला पनि गणतन्त्रका गणहरू थिए भन्ने कुरा पढ्न पाइन्छ। तर पनि त्यहाँ चार्वाकका सूत्रहरूमा ‘लोक सिद्धो राजा परमेश्वर’’ भनिएको पाइन्छ। लोक सिद्ध भनेको लोकले मानेको राजा हो। त्यसलाई हामीले नेताका रूपमा बुझ्नुपर्छ। लोकले मानेको राजा नै ईश्वर हो, परमेश्वर हो भनेर भौतिकवादी दर्शनले त्यतिबेलादेखि नै मानेको छ। अध्यात्मवादीले चाहिँ छुट्टै ईश्वर छ भनेर मानेको छ। यो धर्तीबाहिर छुट्टै ईश्वर छ भन्ने अथवा ग्रह, तारामण्ड, पृथ्वीभन्दा बाहिर अर्को स्वर्ग र नर्कको परिकल्पना गर्ने र पूर्वजन्म र पुनर्जन्ममा विश्वास गर्ने र आत्मा मर्दैन भन्ने मान्यता राख्ने व्यक्तिहरूलाई वा दार्शनिकहरूलाई अथवा अस्ति भनेको ‘छ’ भन्ने मान्यता राख्नेहरूलाई आस्तिक भनिएको हो। र यी कुरा छुट्टै छैनन्। ईश्वर भनेको मान्छे नै हो। धेरैभन्दा धेरै मान्छेले विश्वास गरेको, धेरैभन्दा धेरै मान्छेले पत्याएको, जो चाहिँ लोकसम्मत ढंगले चल्छ। त्यो नेता, राजा नै ईश्वर हो भन्ने मान्यता राख्ने, त्योभन्दा बाहिर अर्कै ईश्वर छ भन्ने नमान्ने, पुनर्जन्म हुन्छ भन्ने नमान्ने, पूर्वजन्म भएको थियो भन्ने पनि नमान्ने, छुट्टै स्वर्ग छ भन्ने नमान्ने, यो पृथ्वीमा जहाँ मान्छेलाई सुख छ, शान्ति छ, दुख छैन, तनाव छैन, समानता, स्वतन्त्रता र स्वाधीनताको अनुभूति मान्छेले गर्न पाउँछ भन्ने मान्यता राख्ने र पृथ्वीमा मान्छेहरूले भोगेका दुखहरू नै नर्क हो भन्ने मान्यता राख्नेलाई नास्तिक भनिन्छ। पछि आएर मनुस्मृतिमा एउटा श्लोक आएको छ। त्यसमा ‘‘नास्तिको वेदनिन्दक’’ भनिएको छ। त्यो भनेको वेदको निन्दा गर्ने व्यक्ति नास्तिक हो भनेर मानिएको छ।

वेदको निन्दा गर्ने भनेको के, वेद भनेको के ? पूर्वीय दर्शनमा वेद चारवटा अर्थमा प्रयोग भएको पाइन्छ। वेदलाई पौरस्त्य परम्पराका धार्मिक व्यक्तिहरूले धर्मग्रन्थका रूपमा लिए। र त्यहाँ तर्क गर्न हुँदैन। तर्क गर्‍यो भने नास्तिकता आउँछ। जहाँ प्रश्न हुन्छ, त्यहाँ विश्वास हराउँछ। त्यसकारण भक्तिको धारा अगाडि सारियो। जस्तो ईश्वरप्रति भक्ति, आत्मा परमात्माप्रतिको भक्तिमा तर्क गर्नु हुँदैन। तर्क ग¥यो भने विश्वास हराउँछ भन्ने मान्यताको विकास भयो। मनुस्मृतिमा मनुले ‘‘नास्तिको वेदनिन्दक’’ भने। वेदको निन्दा गर्ने व्यक्ति नास्तिक हुने भनी उनले भने। त्यसपछि वेदलाई मान्ने र वेदलाई नमान्ने आधारमा पूर्वमा दुई किसिमको दर्शनको विकास भयो। वेदलाई मान्ने दर्शनलाई हामीले वेदप्रमाण्य दर्शन भन्यौं। वेदलाई जसले मान्दैनन्, त्यसलाई वेदअप्रमाण्यवादी दर्शनका रूपमा उनले व्याख्या गरे। मनुस्मृतिपछि दर्शनलाई यसरी व्याख्या गरियो।

वेदलाई प्रमाण मान्य दार्शनिकहरूमध्ये पूर्वमा प्रचलित षड्दर्शन हो। षड्दर्शन भनेको ६ वटा दर्शन हुन्, जसमा सांख्य, योग, न्याय, वैशेषिक, मीमांसा, वेदान्त दर्शन पर्छन्। यिनले वेदलाई प्रमाण मान्छन्। त्यस आधारमा यिनलाई आस्तिक दर्शन भनिएको छ। वेदलाई प्रमाण नमान्ने दर्शनका रूपमा मुख्य रूपमा तीन वटा दर्शन छन्। एउटा चार्वाक दर्शन, बौद्ध दर्शन र जैन दर्शन हुन्। मुख्य दर्शनमध्ये यी हुन्। चार्वाक दर्शनले भन्छ – ‘‘त्रयो वेदस्य कर्ताणम् धूर्त, भाण्ड, निसाचर’’ भनिएको छ अर्थात् वेदका रचनाका व्यक्तिहरू तीन किसिमका छन्। एउटा धूर्त, अत्यन्त चतुर व्यक्तिहरू वेदका रचनाकार हुन्। दोस्रो, भाण्ड, भाण्ड भनेको भँडुवा हो। भँडुवा व्यक्तिहरू हुन्। तेस्रो, निसाचर। निसाचर भनेको राति राति हिँड्ने व्यक्तिहरू हुन भनेर चार्वाकमा भनिएको छ। अहिले भेटिने चार्वाकका सूत्रहरूमा त्यो लेखिएको पाइन्छ। यद्यपि चार्वाकको मौलिक रत्न छैन। कट्टरपन्थीहरूले त्यसलाई मासिदिएको अवस्था छ।

वेदलाई प्रमाण किन मान्नुहुँदैन भन्ने विषयमा चार्वाकले भनेको छ। वेदमा जुन यज्ञको व्यवस्था गरेको छ, त्यो यज्ञको व्यवस्थालाई, श्रद्धा गर्ने व्यवस्थालाई, कर्मकाण्ड गर्ने व्यवस्था वैदिककालपछि उपनिषद् विकास भयो। त्यसपछि ब्राह्मण ग्रन्थहरूमा र मनुस्मृति ग्रन्थहरूमा कर्मकाण्ड प्रधान भएर आयो, त्यो कर्मकाण्डप्रतिको अविश्वासलाई चार्वाक दर्शनले प्रस्तुत गरेको छ। उसले भन्छ, यदि मरेर स्वर्गमा बसेको मान्छेलाई हामीले यो धर्तीमा पिण्ड दान गरेर, पानी चढाएर यदि उसले पाउँछ भने विदेश गएको आफ्नो छोरालाई, आफ्नो बाबुलाई, आमालाई घरमै रहेको भान्सामा खाना पस्की दिए भयो नि त। विदेशमा गएको मान्छेले उता किन खाना खानुपर्‍यो ? यस्ता तमाम तर्कहरू चार्वाक सूत्रहरूमा पाइन्छ। चार्वाक दर्शनले त्यतिबेला पनि यज्ञको प्रतिवाद गरेको थियो। त्यहाँ वर्गका कुरा भएका थिए। मृत्युपछिका कुराहरूमा विश्वसनीय छैन। वेदले जे भन्यो, त्यसलाई प्रमाण मान्नु हुँदैन भनेर चार्वाक दर्शनले भन्छ। चार्वाक दर्शनअनुसार त्यसकारण वेद अप्रमाण्य दर्शन मानिन्छ।

बौद्ध दर्शनले पनि वेदलाई प्रमाण मान्दैन। बुद्धका चेलाले बुद्धलाई सोध्दाखेरि भौतिकवादी ईश्वर छ कि छैन भन्दा उनी केही पनि बोलेनन्। मौन बसे उनी। अब बुद्धको दर्शन के त ? न भौतिकवादी दर्शन, न अध्यात्मवादी दर्शन। अनात्मा अभौतिकवाद। अनात्मा भनेको आत्मा प्रधान पनि नमान्य। भौतिक भूत पदार्थलाई पनि नमान्य हुँदा बौद्ध दर्शनका चारवटा शाखामध्ये अत्यन्तै महत्वपूर्ण दर्शनका रूपमा माध्यमिक दर्शन रहेको छ। माध्यमिक दर्शन भनेको मध्यम दर्शन हो। बीचको बाटो देखाउने दर्शन। त्यो चार्वाक जस्तो भौतिकवादी पनि होइन। वेदान्त जस्तो अत्यन्तै कट्टर अध्यात्मवादी पनि होइन। त्यो बीचको दर्शनका रूपमा बुद्धले आफ्नो दर्शन विकास गरे। जसलाई माध्यमिक दर्शन या मध्यमपथ भन्ने पनि गरिन्छ। त्यसले पनि वेदलाई प्रमाण मान्दैन। वेदका चारवटा शाखा छन्, जसमा माध्यमिक, योगाधार, वैवाशिक र सौतान्त्रिक शाखा रहेका छन्।

त्यस्तै जैन दर्शनले पनि वेदलाई प्रमाण मान्दैन। यी चार्वाक, बौद्ध र जैन दर्शनलाई नास्तिक दर्शन मानिएको छ भने वेदअन्तर्गतका सांख्य, योग, न्याय, वैशेषिक, मीमांसा, वेदान्त दर्शनलाई आस्तिक दर्शन मानिएको छ। यहाँनेर समस्या पनि छ। जसरी सुरुमा अस्ति र नास्ति ‘छ’ भन्ने र ‘छैन’ भन्ने आधारमा आस्तिक र नास्तिकको परिभाषा गरिएको थियो। मनुस्मृतिको ‘‘नास्तिको वेदनिन्दक’’ भन्ने श्लोक आइसकेपछि वेदलाई प्रमाण मान्ने र प्रमाण नमान्ने आधारमा दुईवटा धारा विकास भएको मानिन्छ। यी दुई धारा पूर्वीय परम्पराका भए। तर भौतिकवादी र अध्यात्मवादी जुन धारा हो, त्यो पश्चिममा र पूर्वमा सँगसँगै अगाडि बढेको देखिन्छ। पूर्व र पश्चिम दुवै जगतमा अध्यात्मवाद र भौतिकवादका धाराहरू अगाडि बढेका छन्। तिनका बीचको मूल विवाद भनेको चेतना अर्थात् आत्मा र प्रकृति भनेको पदार्थमध्ये तात्विक तत्व कसलाई मान्ने भन्ने हो। अझ स्पष्ट भन्ने हो भने संसारमा मुख्य रूपमा दुई प्रकारका वस्तु छन्। जसलाई हामी चेतना र भौतिक पदार्थ भन्छौं।

हाम्रा ज्ञानेन्द्रीयहरूले महसुस गर्न सक्ने वस्तुहरू पदार्थ हुन्, जसको निश्चित आकार छ, प्रकार छ, तौल छ, आयातन छ र त्यसको आफ्नै स्वतन्त्र वा मौलिक भौतिक अस्तित्व पनि छ। माटो, पानी, रुख, घर आदि बाहिरी ज्ञानेन्द्रीयद्वारा ज्ञान गर्न सक्छौं। आँखाद्वारा हेरेर ज्ञान गर्न सक्छौं, छालाद्वारा छोएर ज्ञान गर्न सक्छौं। त्यस्तै गरेर तिनको गुणलाई पनि हामी ग्रहण गर्न सक्छौं। जिब्रोले स्वाद ग्रहण गर्छ, कानले ध्वनी ग्रहण गर्छ। त्यसैले यी भौतिक पदार्थ हुन्। अब चेतना भनेको के त ? हाम्रा भौतिक पदार्थ (ज्ञानेन्द्रीय) ले महसुस गर्न नसक्ने तत्व भनेको चेतना हो। चेतनाको कुनै भौतिक अस्तित्व छैन। हाम्रा दुख, सुख, चिन्ता, भय आदि चेतनाका उदाहरण हुन्। हामीले जुन सुखको अनुभूति गर्छौं, दुखको अनुभूति गर्छौं, हर्षको अनुभूति गर्छौं, चिन्ताको अनुभूति गर्छौं, भयको अनुभूति गर्छौं, विवेक यो ठिक, यो बेठिक भनेर हामीले जसका माध्यमबाट छुट्याउँछौं, त्यो चाहिँ चेतना हो। त्यो चेतना पहिले जन्म्यो कि पहिले पदार्थ जन्म्यो भन्नेबारेको विवाद हो। चेतना र पदार्थमध्ये भौतिकवादीहरूले पदार्थबाट चेतना जन्मेको मान्छन् र पूर्वमा पनि चार्वाक लगायतका दर्शनहरू भौतिक पदार्थबाट चेतनाको उत्पत्ति भएको मान्छन्।

त्यति मात्र नभएर नेपालमा जन्म भएको व्रह्मवादी दर्शन, नेपालको अहिलेको जनकपुरमा, तात्कालिक राजशी जनकको दरबारमा जुन शास्त्रास्त्र हुन्थ्यो, त्यो शास्त्रास्त्रमा व्रह्मका विषयमा चर्चा भएको थियो। अष्टावक्र जस्ता व्रह्मवादी दार्शनिक थिए। यज्ञवल्क जस्ता व्रह्मवादी दार्शनिक थिए। त्यहाँ आत्मा र पदार्थका बारेमा चर्चा भएको थियो। गार्गीले, मैत्रीले प्रश्न गर्दाखेरि भनेको कुरा आउँछ ‘‘विज्ञान घनयवयशः’’ अर्थात् चेतना यही पदार्थको कुञ्जबाट पृथ्वी, जल, वायु र आकाशजस्ता पदार्थको एकीकृत रूपमा जहाँ रहन्छन्, त्यसको समिश्रणबाट चेतना उत्पन्न भएको हो। यो विज्ञान भनेको त्यो हो भनेर तर्क गरेको, प्रश्न गरेको सन्दर्भ पुनिस्मी ग्रन्थमा चर्चा गरेको पढ्न पाउँछौं। कतिपय वेदका ग्रहन्थहरूमा पनि यी कुराहरू भेटिन्छन्। भौतिक पदार्थ र चेतनामध्ये कुन जेठो भन्ने विषय वैदिककालदेखि नै विवाद थियो। भौतिकवादीका विचारमा पदार्थ नै जेठो हो, आधारभूत हो, महत्वपूर्ण हो। त्यही भौतिक पदार्थमा निरन्तर भइरहने गति र परिवर्तनको स्वाभाविक प्रक्रिया दर चेतना मस्तिष्कमा आएको हो। त्यसैले भौतिक वस्तुले नै चेतनाको उत्पत्ति गराउँछ भनेर मान्ने दार्शनिकहरूलाई हामीले भौतिकवादी दार्शनिक भनेर बुझ्दै आएका छौं। त्यसैमा हामी भौतिकवादी दर्शन र परम्पराको खोजी पनि गर्छौं।

आस्तिक र नास्तिक दर्शनसँग जोडिएको भन्दा पनि धर्म र परम्परासँग जोडिएको कुरा हो। मनुस्मृतिले जुन नास्तिको वेदनिन्दक भने वेदलाई धर्म ग्रन्थको रूपमा बुझ्ने, त्यो धर्म ग्रन्थलाई, जसले प्रमाण मान्छ, त्यसलाई आस्तिक भन्ने, जसले प्रमाण मान्दैन त्यसलाई नास्तिक भन्ने ढंगले उनले विवेचना गरे। त्यसबाट प्रभावित भएर पछाडिका दार्शनिकहरूले कसैले ‘‘वेदाय प्रमाणम्’’ भने। कसैले ‘‘वेदाय अप्रमाणम्’’ भने। त्यही आधारमा तिनीहरू नास्तिक र आस्तिक भए। जस्तै सांख्य दर्शनले वेदलाई प्रमाण मान्छ। तर उसले प्रकृतिलाई प्रधान मान्छ। प्रकृति भनेको पदार्थ हो। प्रकृति भनेको हामीले देखिरहेको, भोगिरहेको यही संसार हो। उसले प्रकृतिलाई प्रधान मान्छ। त्यो भौतिकवादी दर्शन नै हो। वैशेषिक दर्शनले संसारको उत्पत्ति प्रमाणुहरूका कर्णबाट भएको हो। एउटा परमाणु भनेको जसलाई टुक्राउन सकिँदैन। यो वैशेषिक दर्शनले भनेको कुरा हो। जुन वस्तुलाई टुक्याउँदै जाँदा अन्तिममा रहने कणलाई टुक्राउन सकिँदैन। त्यसलाई आँखाले पनि देख्न सकिँदैन। त्यो टुक्राउन नसकिने कण परमाणु हो। हरेक परमाणुमा गति हुन्छ, त्यहाँ कम्पन हुन्छ। कम्पनका माध्यमबाट एउटा परमाणु अर्को परमाणुसँग जोडिँदा द्वोणु बन्छ। अनि दुईवटा ‘द्वोणु’ जोडिँदा ‘तेणु’ बन्छ। ‘तेणु’बाट ‘चतुरेणु’ बन्छ। त्यसपछि ‘पञ्चाणु’ बन्दै डल्लो बन्छ। त्यसपछि त्यो वस्तु बन्छ। यसरी विकसित हुँदै संसारको उत्पत्ति भएको हो। वैशेषिक दर्शनमा पनि ईश्वरसिद्धिका कुराहरू पनि आए। तर उसले मान्ने द्रव्य, गुण, कर्म, सामान्य, विशेषादि सामान्य, विशेषादिको ज्ञान, अभाव जस्ता जुन सात वटा पदार्थ छन्। ती सातवटा पदार्थमा पनि ईश्वरका कुरा छैन। पछिल्लो चरणमा त्यहाँ कतिपय सूत्रहरू थपिएर ईश्वरको सिद्धी हुने भाष्यहरू लेखिए भन्ने आरोप पनि छन्। जेहोस्, वैशेषिक दर्शन पनि भौतिक पदार्थको व्याख्या गर्ने दर्शन हो।

न्याय दर्शनले पनि सापेक्षताको सिद्धान्तलाई मान्छ। जस्तै हामीलाई आइन्स्टाइनले सापेक्षताको सिद्धान्त व्याख्या गरेको मानिएको छ। विज्ञानले पनि त्यो मानेको छ। ल्याबमा नगए पनि, वैज्ञानिक प्रयोगशालामा परीक्षण नगरेको भए पनि त्यो न्यायदर्शनमा महर्षि गौतम (जो नेपालको जनकपुरमा जन्मिनुभएको थियो) ले प्रतिपादन गरेको न्यायदर्शनमा सापेक्षताको सिद्धान्त आएको छ। त्यसमा के छ भने हरेक वस्तु, एउटा भन्दा अर्को भिन्न हुन्छ। त्यसलाई सापेक्षतामा हेर्नुपर्छ। जस्तै काठमाडौंबाट बुटवलको तुलनामा नारायणघाट नजिक छ। त्यो सापेक्षिक कुरा हो। अनि काठमाडौंबाट नारायणघाटको तुलनामा बुटवल टाढा छ। त्यो पनि सापेक्षिक कुरा हो। न्यायदर्शनले यसरी सापेक्षताको कुरा गरेको छ। त्यति मात्र नभएर कालिक सापेक्षताको कुरा पनि गर्छ। कोही कसैभन्दा जेठो हुन्छ। कोही कसैभन्दा कान्छो हुन्छ। कान्छोको तुलनामा जेठामा परत्व हुन्छ। जेठाको तुलनामा कान्छाको अपरत्व हुन्छ। दैषिक परत्व र दैषिक अपरत्व एवं कालिक परत्व, कालिक अपरत्वको जुन व्याख्या गरेको छ न्याय दर्शनमा त्यसले भौतिकतालाई पुष्टि गर्छ। पाकर प्रक्रिया र इथरपाक प्रक्रिया कुरा पनि न्याय र वैशेषिकमा आएका छन्। त्यहाँ भौतिकतत्वकै बढी व्याख्या छ।

मीमांसा दर्शनले कर्मको व्याख्या बढी गर्छ। युगसँग बढी सम्बन्धित भएको गर्ने हुनाले र वेदलाई प्रमाण मान्य हुनाले मनुस्मृतिकार भन्दा पछाडिकाले त्यसलाई आस्तिक भने। उसले वैदिक कर्मकाण्डको व्याख्या गर्छ। यसले ईश्वरलाई भन्दा कर्मलाई प्रधान मान्छ। तर वेदलाई प्रमाण मान्य हुनाले त्यसलाई आस्तिक भनिएको हो।

योगदर्शन पनि त्यही हो। योगदर्शनले धेरै भौतिक तत्व, विशेष गरेर मानिसको शरीरको व्याख्या गरेको छ। चित्तको व्याख्या गरेको छ। मनोविज्ञानको व्याख्या गरेको छ। तर पछि गएर आत्मासँग जोडेर त्यसलाई अध्यात्मवादी दार्शनिकहरूले पछिल्लो चरणमा शेश्वरवादीले निरीश्वर सांख्य र शेश्वर सांख्य भनेर ईश्वर मान्ने दर्शनका रूपमा चर्चा गरेको पाइन्छ। पूर्वीय दर्शनमा यसरी मनुस्मृतिकारले नास्तिक र आस्तिक भनेर छुट्याए पनि पूर्वमा भौतिक र आध्यात्मिक धारा सँगसँगै अगाडि बढेको पाइन्छ। र, यो प्राच्य दर्शनमा, पूर्वीय परम्परामा दर्शनलाई आनुच्छिकी भनेर व्याख्या गरेको पनि पाइन्छ। यो आनुच्छिकी भनेको के हो ? कौटिल्यको अर्थशास्त्रमा भनिएको छ – ‘‘आनुच्छिकी त्रयी वार्तादण्डनीतिस्यः शास्वतीः।’’ ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेदपछि आएको। वार्ताः कृषि, वाणिज्य आदि विषयलाई त्यतिबेला वार्ता भनिन्छ। दण्ड, नीति, शेश्वसाते भनेर राजनीति शास्त्रलाई दण्ड नीति भनेर चाणक्यले आफ्नो कौटिल्य अर्थशास्त्रमा प्रतिपादन गरेका छन्। यसमा जुन कुरालाई आनुच्छिकी भनेका छन्। आनुच्छिकी भनेको दर्शन हो। विद्याका चारवटा भेदमध्ये आनुच्छिकीलाई उनले सबैभन्दा पहिला राखेका छन्। सुरूमा उनले सबै किसिमका दर्शनलाई आनुच्छिकीका रूपमा लिएको पाइन्छ। पछि त्यो आनुच्छिकीलाई न्यायदर्शनका रूपमा मात्र बुझाउने काम भयो। आनुच्छिकी शब्दको गम्भीर अर्थ छ। आनुच्छिक शब्द अनेच्छा शब्दमा इक प्रत्यय लागेर आनुच्छिक शब्द बन्दछ। अनेच्छा भनेको के हो ? अनु र इच्छा हो। अनु भनेको पछि, इच्छा भनेको हेर्नु हो। कुनै पनि कुरालाई एकैचोटि हेरेरै मात्र पुग्दैन। एकचोटि हेरेका भरमा, एकचोटि देखेका भरमा, एकचोटि पढेका भरमा विश्वास गर्नु हुँदैन। अनु भनेको पुनः पढ्नुपर्छ, फेरि पनि हेर्नुपर्छ, फेरि पनि अवलोकन गर्नुपर्छ र अनुमान गर्नुपर्छ। अनि मात्र त्यो दर्शन हुन सक्छ भन्ने मान्यता अनेच्छा भन्ने शब्द आएको हो।

अनु भनेको पछि, पुनः हेर्नु भनेको अनेच्छा भयो, पुनः पुनः हेरिरहने व्यक्ति आनुच्छिक भए। त्यस्ता व्यक्तिसँग सम्बन्धी विद्यालाई आनुच्छिकी भनिएको पाइन्छ। आनुच्छिकअन्तर्गत के छ भने हरेक कुरालाई प्रमाणद्वारा पुष्टि भएपछि मात्र मान्नुपर्छ। ‘‘प्रमाणीय रर्थपरीक्षणम् न्याय’’ भनिएको छ। प्रमाणहरूद्वारा वस्तुको परीक्षण गर्न सकियो भने मात्र आनुच्छिक विद्या हुन्छ। त्यो न्यायशास्त्र हुन्छ। त्यो तर्कशास्त्र हुन्छ। त्यो दर्शनशास्त्र हुन्छ भन्ने मान्यता पूर्वीय परम्परामा छ। त्यसै भएर मात्र चाणक्यले दर्शनशास्त्रलाई चारवटा विद्याका भेदमध्ये सबैभन्दा अगाडि दिएका हुन्। यसरी पूर्वीय दर्शनमा १७ औँ शताब्दीसम्म दर्शनशास्त्रका आस्तिक र नास्तिक दुवैखाले दर्शनको विकास भएको हो। चार्वाकको धेरै विकास भएको पाइँदैन। किनभने पछि कट्टरता बढी आयो। धर्मसँग जोडेर दर्शनलाई लगियो। यसकारण ईश्वर नमान्ने, पुर्वजन्म नमान्ने, परलोक नमान्ने र वेदलाई नमान्ने हुनाले चार्वाकसँग सम्बन्धित सामग्रीहरू नष्ट गरिए। त्यसको विकास हुन पाएन। अहिले पनि ती पूर्वपक्षका रूपमा मात्र हामी पढ्न बाध्य छौं। तर आध्यात्मिक धारासँग सम्बन्धित विकास चाहिँ १७ औँ शताब्दीसम्म भइरहेको देखिन्छ। न्याय दर्शन, वेदान्त दर्शन, मीमांसा दर्शन, सांख्य दर्शन, योगान्त दर्शनको विकास त्यहाँसम्म संस्कृत भाषाका माध्यमबाट भएको देखिन्छ। त्यसपछि छुटपुट रूपमा भए पनि पहिलेको जस्तो विकास भएको देखिँदैन।

पूर्वीय दर्शन परम्परामा गुरूमतको खण्डन गरेर अगाडि बढ्नुपर्नेमा गुरूमतको खण्डन गरिएको छैन। भक्तिपरक ढंगले अगाडि बढ्यो। गुरूले जे लेखिदिनुभयो, जे बताउनुभयो, त्यसमा मात्र बढी अगाडि बढेको पाइयो। कतिपय गुरूले लेखेका उपनिवेषकालका कुराहरू ‘संघम् छदम्, सँगै जाऔँ, समब्धम्, समयसँग एकअर्काको मान बुझौँ। सँगै खाऊ, सधैँ एकअर्काको रक्षा गरौं। सँगै हामी एकअर्काको पराक्रम गरौं, पौरख गरौं र समाजको हितमा काम गरौं’ भन्ने जस्ता अत्यन्तै महत्वपूर्ण विचारहरू छन्।

अहिले पनि हाम्रो जीवनलाई काम लाग्ने विचारहरू साम्यवादी विचारहरूसँग मेल खाने विचारहरू छन्। गणतन्त्रसँग सम्बन्धित विचारहरू पनि छन्। लोकतन्त्रसँग सम्बन्धित विचारहरू पनि छन्।

एउटा श्लोक छ। कालमार्क्सले साम्यवादको परिभाषा गर्दाखेरि ‘‘मान्छेलाई योग्यताअनुसारको काम, आवश्यकताअनुसारको माम’’ भनेर वैज्ञानिक समाजवादको व्याख्या गर्नुभयो। त्यो परिभाषा श्रीमद्भागवतमा एउटा श्लोकसँग मिल्छ। ‘‘यावत् बृहत् जथनम् तावस्वत्व देहिना।’’ तपाईको पेट जतिले भरिन्छ, त्यति मात्र तपाईको अधिकार छ। त्योभन्दा बढी जसले अपेक्षा गर्छ, सञ्चय गर्न खोज्छ, त्यो चोर हो। ‘‘अधिकतम योभि मन्येत स्वस्थेन दण्डकमि’’ अर्थात् आफूलाई आवश्यक पर्नेभन्दा, आफ्नो पेट भरिनेभन्दा बढी जसले सञ्चय गरेर राख्न खोज्छ त्यो चोर हो। त्यो दण्डको भागी हुन्छ भन्ने विचार पनि छ। पूर्वीय दर्शनमा त्यसको मूल प्रवृत्ति अध्यात्मको बाटोमा भए पनि त्यसका कतिपय पक्षहरू लोककल्याणसँग, सर्वसाधारणसँग, सर्वहारा वर्गसँग जोडेर लिन सकिने कुराहरू छन्।

आजको वैज्ञानिक समाजवादसँग, साम्यवादसँग, गणतन्त्रसँग जोडेर अगाडि बढाउन सकिने कुराहरू छन्। तीनको सारसंग्रह हामीले गर्नुपर्छ भन्ने लाग्छ। किनभने सारभूत कुराहरूलाई ग्रहण गर्ने र जुन कुराहरू जनविरोधी छन्, जनपक्षीय छैनन्, जुन कुराले मानवताको विरुद्ध जनताको विरुद्ध काम गर्छन्, त्यस्ता कुराहरूलाई त्याग्ने हो।

पाश्चात्य दर्शनको उत्पत्ति सन्दर्भमा – पाश्चात्य दर्शनको उद्गमस्थल युनान हो, ग्रीस हो। पौरस्त्य परम्परामा सृष्टिको मूलकारण खोज्दै जाँदा दर्शनको आविस्कार भएको हो। युनानमा पनि प्रथम तत्व चेतना हो कि पदार्थ हो भन्ने खोजी गर्ने क्रममा नै दर्शनको उत्पत्ति भएको पाइन्छ। इसापूर्व लगभग ६२४ देखि ५३४ तिरका देल र ६११ देखि ५४६ तिरका अनच्छिमन्दर र इसापूर्व ५८८ देखि ५२४ तिरका अनच्छिमन यी चाहिँ पाश्चात्य दर्शनमा विशेष गरेर युनानका प्राथमिक कालका दार्शनिकहरू हुन्। यिनीहरूले मानव जिज्ञासालाई शान्त पार्ने सन्दर्भमा कसैले प्रथम तत्वको रूपमा पानीलाई, कसैले अनन्त। अनन्त भनेको जसरी पूर्वमा वेदान्त दर्शनले ‘‘सत्यम् ज्ञान परम् ब्रह्म भन्छ।’’ व्रह्म नै अन्त हो। व्रह्म नै सत्य हो। व्रह्म नै ज्ञान हो। जुन वेदान्त दर्शनले भन्छ, जुन व्रह्म सूत्रमा भनिएको छ। त्यस्तै गरेर यूनानी दर्शनमा पनि अनन्त व्रह्मलाई, ईश्वरलाई मान्ने दार्शनिकहरू थिए। उनीहरूले अनन्त, अनिश्चितको कल्पना गरे। युनानमा पनि यसरी दुईवटा धारा (भौतिक र अध्यात्म) बाट दर्शनको उत्पत्ति भएको छ। यिनीहरुपछि आफ्नो समयका प्रसिद्ध गणितिज्ञ पाइथागोरसले संख्यालाई मूल तत्व माने। सेनोफेन, परमेनी, जेनो, जस्ता दार्शनिकहरू हेराकिल्टस्, अनास गोरस्, एमपेथोकल आदि युनानी दर्शनमा देखा परे। उनीहरूमध्ये सेनोफेनले पौरस्त्य परम्पराका रिसीहले झैं महान् ईश्वरको परिकल्पना गरे। परमेनीको दर्शनले हाम्रो संसार जे छ। त्यो पहिले पनि थियो भन्ने विचार राखेका छन्। जेनोले पनि चेतनालाई प्रधानता दिएका छन्। तर, पछि आएर वाद, विवाद, प्रतिवाद र सम्वाद अझ व्यवस्थित भयो। त्यसको श्रेय जेनोलाई जान्छ। यद्यपि उनले त्रेताका लागि गरेका थिए। आत्मा स्थायी छ। आत्मा अमर छ। यो कहिल्यै मर्दैन भन्ने सन्दर्भमा वाद, प्रतिवाद र सम्वादको अवधारणा उनले ल्याएका थिए। त्यसले पछि द्वन्द्वात्मक भौतिकवादको विकास गर्‍यो।

कार्लमार्क्सले द्वन्द्वात्मक भौतिकवादको विकास गर्दा त्यसले ठूलो काम गर्‍यो। हेगेल हुँदै मार्क्ससम्म पुग्दा त्यसले बढी परिस्कृत हुने मौका पायो। पूर्वमा बुद्धले हरेक वस्तु क्षणिक छन् भने। जस्तै धारामा पानि बगिरहेको हुन्छ। नदी बगिरहेको हुन्छ। त्यही पानी नयाँ हो। ‘‘यत्छत्द् क्षणिकम् यथात् जलाधार सन्तस्त भावामी।’’ बुद्धले जे चीज छ, संसारमा त्यो क्षणिक छ। त्यो विनासी छ। कुनै पनि चीजहरू अविनासी छैन। कुनै पनि चीज अमर रहन सक्दैन। बुद्धले हरेक वस्तुलाई क्षणिक माने, आत्मा पनि क्षणिक भने। तर उनले ईश्वरका बारेमा बोलेनन्। उनले गतिशीलताको सिद्धान्तलाई माानेका छन्। गतिशीलताको सिद्धान्त स्थीरतामा हुँदैन। गतिशील हुन हरेक पहिलो वस्तु मर्छ। बाहिर देख्दा त्यही देखिए पनि भित्र आन्तरिक क्रिया चलिरहेको हुन्छ। त्यसकारण बुद्धले प्रत्येक वस्तु क्षणिक हुन्छ भनेका छन्।

पश्चिममा हेराकिल्टसले पनि बुद्धले भनेको जस्तै हरेक वस्तु क्षणिक छन्, ती परिवर्तनशील छन् भन्ने धारणा अगाडि ल्याएका छन्। उनले भनेका छन्, ‘तिमी त्यही नदीमा दुईपटक उत्रिन सक्दैनौं, किनभने दोस्रो, फेरि दोस्रो पानी त्यस नदीबाट सधैँ बग्दै आएको छ। पहिलो पानी, हामी जुन नदीमा पौडिरहेका हुन्छौं, हामी पौडिने नदी, हामी डुब्ने नदी, हामीले नुहाउने धारा, हामीले देख्ने छहरोको पानी पहिले देखेको पछि हुँदैन, त्यो हरेक नयाँ हो।’’

हेराकिल्टसले भनेका छन् – त्यसैले जगतको सृष्टि उसैको प्रलय हो र प्रलय नै उसको सृष्टि हो। त्यो पूरै वस्तु यथार्थमा आधारित धारणा हो। हामीले देख्दा उस्तै लाग्छ। तर, सृष्टि र प्रलय भइरहेको हुन्छ। उनले भनेका छन् – ‘‘कुनै वस्तु छैन, जसमा स्थायी गुण हो। कुनै पनि वस्तु स्थीर रूपमा बस्न सक्दैन।’’

त्यस्तै ग्रीकका दार्शनिक एमपेथोकलले पूर्वमा चार्वाकले जस्तैः आगो, हावा, पानी र माटो यी चार तत्वलाई यो सृष्टिका कारणका रुपमा व्याख्या गरेका छन्। डेमोक्रिट्स पूर्वमा कर्णादले जस्तै, परमाणुवादको प्रवद्र्धन गरेका छन्। उनको परमाणुवाद र कर्णादको परमाणुवादमा धेरै कुराहरूमा मेल खान्छ। कार्लमार्क्सले एकोरसको प्राकृतिक दर्शनमा विद्यावारिधि गरे एकोरसले पनि प्रकृतिको वरदानमा, भौतिकतामा जोड दिएका छन्।

इरानीहरूको कब्जामा जब युनान पर्‍यो। त्यसपछि उनीहरू एकै ठाउँमा बस्न सक्ने वातावरण युनानी दार्शनिकहरूमा बनेन। उनीहरू घुमन्ते, परिपराजकका रुपमा देखिन पनि बाध्य भए। तिनलाई पछि सौखी भनियो। अनि समाजमा आएको उथलपुथलबाट असन्तुष्ट बनेका सौखिहरुले ज्ञानप्रतिको तृष्णा, परम्पराप्रतिको धारणा, अविश्वास आदिका कारणले फेरि नयाँ सत्यको खोजी गर्दै गए। अनि शिष्य, पर शिष्यका माध्यमबाट प्रचारप्रसारमा लागे। यस्तो प्रचारप्रसार गर्ने क्रममा, सत्यको खोजी गर्ने क्रममा नै युनान र ग्रीसमा इसापूर्व ४६९ देखि ३९९ सम्मको अवधिका सोक्रेट्स देखा परे। अहिले संसारभरि एकेडेमीको महत्व छ। एकेडेमी शब्द अहिले संसारमा जति प्रिय बनेको छ, जति लोकप्रिय बनेको छ, त्यो एकेडेमी शब्दको सुरुवात पनि सोक्रेट्स गरेका हुन्। सोक्रेट्सले आफ्ना चेलाहरूलाई विशेष गरेर प्लेटो लगायतका चेलाहरूलाई ग्रीसको राजधानी एथेन्समा उनले एउटा गुरूकुल खोलेका थिए। त्यो गुरूकुल खोल्न अकार्डेवश भन्ने व्यक्तिले आफ्नो घर बगैँचा उपलब्ध गराएका थिए। सोही घरलाई प्लेटोले गुरूकुल बनाए। त्यसको नाम उनले अकाडेमिया राखे। त्यो अकाडेमिया शब्द लोकप्रिय भयो। जसबाट पछि अंग्रेजिमा एकेडेमी शब्द आयो। अहिले विश्वव्यापी रूपमा एकेडेमी शब्द लोकप्रिय छ। भारतमा जवाहरलाल नेहरूले १९४७ मा भारत स्वतन्त्र भएपछि भारतीय अकाडमी बनाए।

नेपालमा पनि २०१४ सालमा नेपाली कला साहित्य एकेडेमी भनेर स्थापना भयो। पछि त्यसलाई नेपालीकरण गर्दै जाँदा नेपाल राजकीय प्रज्ञापरिषद्, अहिले नेपाल प्रज्ञा प्रतिष्ठानका रुपमा चलेको छ। अकाडेमीया शब्दको सुरुवात सोक्रेट्सबाट भएको हो। उनले एथेन्सको नगरमा सत्यको प्रचार गरे। ज्ञानको प्रचार गरे। न्यायको प्रचार गरे। सत्यको प्रचार गर्ने सिलसिलामा त्यहाँको नगर प्रमुख अथवा राजाले उनलाई प्रतिबन्ध लगाउन खोजे। मृत्युदण्डको सजाय सुनाउन खोजे। सजाय सुनाउँदा उनलाई बोलाएर भनियो। तिमी सत्यको प्रचार गर्न छोड्ने कि नछोड्ने, तिमी न्यायको प्रचार गर्न छोड्ने कि नछोड्ने ? तिमीले ज्ञानको प्रचार गर्न छोड्ने कि नछोड्ने ? भनेर उनलाई सोधियो। यदि तिमले नछोड्ने हो भने मृत्युवरण गर्नुपर्छ। छोड्छौं भने बाँच्न पाउँछौं भनियो। जवाफमा सोक्रेट्सले भने मेरो जन्म संसारमा सत्यको प्रचारका लागि, ज्ञानको प्रचारका लागि, न्यायको प्रचारका लागि भएको हो। यदि म ज्ञानको प्रचार गर्न पाउँदैन, सत्यको प्रचार गर्न पाउँदैन भने म बाँच्नुको कुनै अर्थ छैन। मलाई बरु मृत्यु स्वीकार्य छ भनेर सोक्रेट्सले भने। पछि उनलाई षड्यन्त्रपूर्ण ढंगले विष खुवाएर मारियो।

विश्वको दर्शन परम्परामा उनलाई मार्ने शासकहरू नामनिशान अहिले छैन। तर सोक्रेट्स अहिले विश्व प्रसिद्ध दार्शनिक रुपमा सुपरिचित छन्। प्लेटो जस्ता महान् दार्शनिक उनले जन्माए। त्यति मात्र होइन, आफूलाई गुरूकुल चलाउनको निम्ति बगैँचा दिने, घर दिने अकार्डेवश नामका व्यक्ति पनि सोक्रेट्सका कारण आज अमर व्यक्तिका रुपमा रहेका छन्। एउटा व्यक्तित्व दार्शनिक भयो भने, त्यागी भयो भने, महान् भयो भने, चिन्तकको उचाइँ प्राप्त गर्‍यो भने त्योसँग जोडिएका अरू व्यक्तिहरू पनि महान् बन्दा रहेछन् भन्ने कुराको प्रमाण हुन्। र यिनै सोक्रेट्सको ज्ञान, सत्य र न्यायबाट शिष्य प्लेटो प्रभावित थिए। उनले पहिले सोक्रेट्सको घरमा गएर पढ्ने गरेको, पछि त्यही विद्यापीठमा गएर पढ्ने गरेको इतिहास पढ्दा थाहा पाउँछौं। प्लेटोले संगीत, साहित्य, चित्र र दर्शनको अध्ययन गरेका थिए। सुकरातलाई विष खुवाएर मारेको घटनालाई उनी अत्यन्तै भावुक बनेका थिए। राजनीतिप्रति उनमा वितृष्णा जागेको थियो। यसै कारण उनले आदर्श राज्यको परिकल्पना गरेका थिए। आफ्ना पूर्ववर्ती दार्शनिकहरूका विचारलाई संश्लेषण गर्दै उनले प्रकृति, मनोविज्ञान, आचारको शिक्षा, राजनीतिको शिक्षा, ज्ञानको शिक्षा आदिका बारेमा आफ्ना महत्वपूर्ण धारणाहरू उनले दिए। र समाजमा सच्चा दार्शनिकहरूले आदर्शपुरुष भनेर उनले लेखे। भावी शासकका लागि उनले शील र सौर्य वृद्धि गर्ने खालको शिक्षाको उद्देश्य हुनुपर्‍यो भन्ने खालको धारणा पनि उनले व्यक्त गरे।

प्लेटोले आइडियालिजम जबर्जस्त रूपमा स्थापित गर्ने काम पनि गरे। उनले साहित्यकारहरू बढी भावुक हुने हुनाले र बढी लहरमा आएर लेख्छन्, सत्यको पक्षमा उभिन सक्तैनन्। समाजलाई आदर्शबाट च्यूत गर्ने काम साहित्यकारबाट हुन्छ। साहित्यकारमा बढी अराजकता हुन्छ। साहित्यकारले जहिले पनि सत्यभन्दा दुई गुणा परको वस्तुको मात्र चित्रण गर्ने हुनाले साहित्यकारलाई देशभित्र रहन दिनु हुँदैन। साहित्यकारलाई देशबाट निकाला गर्नुपर्छ। आदर्श गणराज्यबाट निकाला गर्नुपर्छ भनेर लेखे। त्यसको आशय थियो, त्यो राज्य आदर्शवादी हुनुपर्छ, राज्य अध्यात्ममा आधारित हुनुपर्छ, अहिले हामी धार्मिक भन्छौं। उनले धार्मिक शब्द प्रयोग त गरेका छैनन्। तर राज्य आध्यात्मिक हुनपर्छ, राजा आध्यात्मिक हुनुपर्छ। त्यो आइडियलले मात्र जनता अनुशासित हुन्छन् भन्ने अवधारणा उनले अघि सारे। त्यस मान्यताबाट प्रभावित गरेर उनले आइडियल रिपब्लिकन भन्ने ग्रन्थ लेखे। साहित्य भनेको अनुकरणको पनि अनुकरण हो। साहित्यमा मूल सत्य भनेको व्रह्मलाई माने, ईश्वरलाई माने। ईश्वरको अनुकरण भनेको प्रकृति हो। साहित्यमा प्रकृतिको चित्रण गरिन्छ। त्यसैले साहित्य सत्यभन्दा दुई गुणा टाढा हुन्छ। मूल सत्य ईश्वर, ईश्वरको अनुकरण प्रकृति, प्रकृतिको अनुकरण भनेको साहित्य हो। त्यसैले साहित्य सत्यभन्दा दुई गुणा टाढा हुने हुनाले साहित्य सिर्जनालाई प्रोत्साहन गर्नुहुँदैन भन्ने मान्यता राखेर उनले साहित्यकारका विषयमा अत्यन्त अप्रिय ढंगले उनले लेखे।

तैपनि पाश्चात्य आध्यात्मिक दर्शनका क्षेत्रमा उनको विशिष्ट योगदान मानिन्छ। अनि प्लेटोका शिष्य अरस्तुले तर्कशास्त्र, राजनीतिशास्त्र, आचारशास्त्र, नीतिशास्त्र, साहित्यशास्त्र आदिका बारेमा उनले कलम चलाए। युनानको दार्शनिक परम्परामा सुकरात र प्लेटोपछि अरस्तुको दर्शन नै, अहिलेको पाश्चात्य दर्शनको मूल हो भन्ने देखिन्छ। यिनै तीन गुरु शिष्यको परम्परामा पश्चिममा थोमस, हब्, डेकार्ड, मेलान्स, जोन, लक, डार्विन, हेगेल, कार्लमार्क्स, एंगेल्स लगायतका अनेकौं दार्शनिकहरूले चिन्तनका क्षेत्रमा कलम चलाएका छन्। यीमध्येमा पछिल्लो चरणमा संसार हल्लाउने दार्शनिक कार्लमार्क्स हुन्। उनको ऐतिहासिक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवाद अहिले पनि सारा संसारलाई हल्लाउन सफल छ। अरूको दर्शन सिद्धान्तमा मात्र आधारित थियो।

कार्लमार्क्सले दर्शनलाई जीवनसँग जोडे। दर्शनले जीवनलाई परिवर्तन गर्नुपर्छ, समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने धारणा कार्लमार्क्सले दिएको हुनाले उनको दर्शन विश्वव्यापी बन्यो। यद्यपि उनले आफ्नो जीवनकालमा प्रयोग गर्न सकेनन्। तर, पछि लेनिनले रूसमा प्रयोग गरे। माओत्सेतुङले चीनमा प्रयोग गरे। किमइल सुङले उत्तर कोरियामा प्रयोग गरे। फिडेल क्यास्ट्रोले क्युबामा प्रयोग गरे। होचि मिन्हले भियतनाममा प्रयोग गरे। अहिले पनि संसारका विभिन्न देशहरूमा विभिन्न ढंगले उनको चिन्तनलाई आधार बनाएर, दर्शनलाई आधार बनाएर, विभिन्न प्रकारका सामाजिक क्रान्तिहरू विभिन्न रुपमा भइरहेका छन्। समाज बदल्ने क्रान्तिहरू पनि भइरहेका छन्। वर्ग विश्लेषणका अत्यन्तै वैज्ञानिक आधारहरू पनि उनले दिए।

कार्लमार्क्सको दर्शन द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादलाई समष्टिगतमा भन्दा मार्क्सवाद भनेर भन्ने गरिन्छ। त्यो दर्शन मान्छेको जीवनसँग जोडियो र समाज परिवर्तनसँग जोडिएको छ। र, त्यसलाई परिवर्तन गर्ने विभिन्न शैलीहरू पनि आइरहेका छन्। अहिले संसारभरि सूचना प्रविधिको विकास भएको छ। कालमार्क्स भएको समयमा सूचना प्रविधिको विकास भएको थिएन। पूर्वीय दर्शनका कतिपय महत्वपूर्ण मानव जीवनसँग सम्बन्धित आदर्शसँग सम्बन्धित, मानव मूल्यसँग सम्बन्धित, कतिपय वैदिककालिक विचारहरू, संस्कृतका धेरै कुराहरू जर्मनीमा पुगेका छन्। ती सबै कालमार्क्सले पढ्न पाउनुभयो कि भएन अन्वेषणको विषय छ। ती सबै पढ्न पाउनुभयो भएको भए अझ बढी मानव मनोविज्ञानलाई समेत केन्द्रमा राखेर मार्क्सवाद आउथ्यो कि भन्ने लाग्छ।

यसरी पूर्वीय परम्परा र पाश्चात्य परम्परामा अहिले पनि विभिन्न ढंगले दर्शनको विकास भइरहेको छ। केन्द्रलाई भंग गर्ने नवमार्क्सवाद भनेर अथवा उत्तरआधुनिकतावाद भनेर पनि विभिन्न विचारहरू आइरहेका छन्। र, कतिपय अवस्थामा विकार मार्क्सवाद व्याख्याका क्रममा विकृति विसङ्गति पनि देखा परेका छन्। त्यसको प्रभाव अहिले पनि हाम्रो समाज, साहित्यमा पनि परिरहेको छ। ज्ञानमा मान्छे हजार वर्ष बाँचे पनि कोही पनि मान्छे ज्ञानमा पारंगत हुन सक्दैन। त्यसैले आजभन्दा भोलि भोलिभन्दा पर्सि हामीले नयाँ नयाँ ज्ञान, अध्ययन गर्दै जानुपर्छ। नयाँ नयाँ चिन्तन दिँदै जाने थप्दै जाने हो। त्यो पूर्णता हुन्छ भन्ने पनि छैन। पूर्ण हुन्छ भन्ने पनि छैन। यसलाई सापेक्षतामा हेर्नुपर्छ।

दर्शनको परिभाषा दिने क्रममा सुकरातले भनेका छन् – ‘‘सत्यको ज्ञान नै दर्शन हो। सत्यलाई माया गर्ने व्यक्तिहरू दार्शनिक हुन्।” दर्शनबारे प्लेटोले भनेका छन्, ‘‘जोसँग सबै प्रकारका ज्ञानको जानकारी छ। जो व्यक्ति ज्ञान ग्रहण गरेर कहिल्यै थाक्दैन। त्यो नै दार्शनिक हो।” कार्लमार्क्सले दर्शन र दार्शनिकको विषयमा आफ्नो भनाइ राखेका छन्। उनले भनेका छन् – ‘‘दर्शन मानवीय मुक्तिको मस्तिष्क हो। यो मानिसमा घुसेपछि भौतिक शक्ति बन्दछ। र, त्यसले संसार बदल्न सक्छ।”

दर्शनका बारेमा मनुले पनि भनेका छन् – ‘‘दार्शनिक त्यो व्यक्ति हो, जो व्यक्ति कर्ममा बाँधिएको हुँदैन। सांसारिक बन्धनमा बाँधिएको हुँदैन।” मनुको आध्यात्मिक दृष्टिकोणबाट आएको भनाइ हो। तर, यो भौतिकवादीका लागि पनि काम लाग्छ। भौतिकवादी विश्वास गर्नेहरूको लागि पनि आदर्श हुन्। त्यहाँ पनि मूल्य हुन्छ, त्याग हुन्छ। मार्क्सवाद अनुशरण गर्ने मान्छेहरूका हकमा पनि सबैभन्दा महत्वपूर्ण छवि भनेको आफ्नो छवि हो। चिन्तन र चरित्रका बीचको तादात्म्य मेल हो। कुरा चाहिँ भौतिकवादका गर्ने, त्याग, समर्पणका कुरा गर्ने, अनि निष्ठा र लगाव भनेको सञ्चयमा हुने। हाम्रो निष्ठा भनेको वर्गीय विभेदमा हुन्छ। हाम्रो निष्ठा भनेको भक्तिमा हुन्छ। तर्करहित भक्ति। तर्क नगर्ने, बहस नगर्ने, प्रश्न नगर्ने। अनि भक्तिमा रहने भयो भने हामी विचलित हुन्छौं। मनुस्मृतिकार मनुको विचार आध्यात्मिक दृष्टिकोणबाट आए पनि बन्धन भनेको यो संसारको बन्धन भनेका हुन्। भौतिकवाद मान्नेहरूले पनि लोभ, मोह सञ्चय गर्ने, सम्पत्ति सञ्चय गर्ने, त्यो पनि पुस्तौं पुस्तासम्म पुग्ने गरी सञ्चय गर्ने विकृतिका रूपमा देखा परेको छ। त्यसबाट मुक्त हुनुपर्छ भन्ने सन्दर्भमा हामीले लिनुपर्छ।

(मार्क्सवादी ज्ञान केन्द्रद्वारा २०७८ असोज ६ गते आयोजित अभिमुखीकरण कक्षामा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको विचारको सम्पादित अंश।)
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्