समृद्ध देशका लागि सक्षम नेतृत्व

Krishna Neupane
लोकपाटी न्यूज
0 Shares

कृष्णा न्यौपाने/कुनै पनि कार्य सफल पार्नका लागि पहिला राम्रो विश्लेषण र योजना हुनुपर्छ। त्यसका लागि के, किन, कसरी, कति, कहाँ, कहिले आदि प्रश्नहरूको उत्तर आउने गरी योजना निर्माण गर्नुपर्दछ। योजना निर्माणका बेला मुद्दा वा समस्याहरूको पनि गहिराइमा पुगेर विश्लेषण गर्न सकिने भने भविष्यमा आउने सम्भावित समस्या र जोखिमहरूलाई न्यूनीकरण गर्न सकिन्छ।

योजना र कार्यक्रमको सफल कार्यान्वयनका लागि कुशल व्यवस्थापन निकै महत्वपूर्ण पक्ष हो। जिम्मेवारी बाँडफाँटसहितको असल व्यवस्थापन गर्न सकियो भने मात्र परिणाम राम्रो हुन्छ। तसर्थ, हाम्रो ध्यान हमेसा कुशल व्यवस्थापनका माध्यममार्फत् राम्रो परिणाम दिनेतर्फ हुनुपर्दछ।

नेपालमा काम थर्ने क्रममा मलाई विभिन्न स्थानमा भिन्नभिन्न जातिहरूसँग काम गर्ने अवसर मिल्यो। समष्टिगत रुपमा हेर्दा ब्राह्माणहरू योजनाको व्यवस्थापन र नेतृत्व विकासका दृष्टिले अरू जातिभन्दा व्यवस्थित भएको देखिन्छ। यहाँ बाहुनहरूको सफलताको प्रमुख सूचक नै राम्रो योजना, कुशल व्यवस्थापन र लागतको न्यूनीकरण हो भन्न सकिन्छ, जहाँ थोरै मेहेनत र खर्चमा बढीभन्दा बढी उपलब्धी हासिल गर्न सकिन्छ।

कुनै एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने क्रममा म कैलालीको थारू समुदायमा पुगेको थिएँ। म पहाडिया मान्छेलाई मान्छेहरू यतिका गरिबीका बाबजुद पनि जीवन चलाएको देख्दा आश्चर्य लाग्नु स्वाभाविक नै थियो। कारण म जन्मे/हुर्केको ठाउँमा न सुकुम्बासी थिए न कसैको घरमा काम गर्नका लागि नोकरहरू नै थिए। फरक थियो त कसैको धेरै जग्गा जमिन थियो, कसैको थोरै थियो, कसैको थोरै सरकारी जागिर गर्थे। अधिकांश मानिसहरू कृषि पेशामा आश्रित थिए, व्यवसायमा हात हाल्नेहरूको संख्या पनि थियो। जातीय हिसाबले दलित परिवारको जग्गा जमिन कम नै थियो। तर उहाँहरू आफ्नो सीपको काम गर्नुहुन्थ्यो फलतः आम्दानी ठिकै थियो। परिवार राम्रोसँग पालेको देखिन्थ्यो। मेहेनती हातहरू भएका कारण समाजमा उहाँहरूको स्थान पनि राम्रो थियो।

तर कैलालीमा त मैले अत्यन्त फरक भेट्टाए। यहाँ सामाजिक, आर्थिक विभेदको खाडल निकै गहिरो रहेछ। अलिकति सम्पन्न भनाउँदाको घरमा पूरै काम गर्ने मान्छे राख्ने चलन रहेछ, जसलाई कमैया भनिँदो रहेछ। कमैयालाई वार्षिक निश्चित रकम दिएर काम लगाउने र उनका परिवारले चाहिँ निशुल्क काम गरिदिनुपर्ने, छोरीहरू उही साहुको घरमा कमलरी बस्नुपर्ने चलन। घेरी, चेलीमाथि घरका साहुका छोराहरूको यौनशोषण पनि।

उहाँहरूको यो पीडादायी जीवन्त कथा सुन्दा म सहजै निदाउन सक्दिनथें। यी मूलवासी थारूहरू कसरी कमैया भए भनेर अनुसन्धान गर्दा जीवनको सबैभन्दा ठूलो पाटो आत्मनिर्भरता रहेछ। वास्तवमा अहिले भएका कमैयासँग जग्गा जमिन नै नभएर होइन रहेछ। उहाँहरूसँग आफ्नो परिवारलाई व्यवस्थित गर्ने व्यवस्थापन पक्ष कमजोर भएर रहेछ।

बिहान बेलुकाको छाक टार्न पनि सधैं अरूको सहयोग लिने र आफूसँग भएको कुराको सही सदुपयोग गर्न नजानेर पनि त्यो परिस्थिति आएको रहेछ। आम्दानीको अनुपातमा खर्च व्यवस्थापन नै जीवन गुजार्ने सहज पाटो हो। तर जो आर्थिक रुपमा अलिक कमजोर हुनुहुन्थ्यो, उहाँहरूको परिवार चलाउने व्यवस्थापन पक्ष झनै कमजोर रहेछ। आफ्नो परिवारको नेतृत्व आफैले लिएर खर्च राम्रोसँग व्यवस्थापन गरी चलेको भए उहाँहरू कमैया बस्नुपर्ने दिन आउँदैनथ्यो।

जहाँ कमजोर मान्छे हुन्छ, त्यहाँ जसले पनि सहजै फाइदा लिन्छ। कमैयाको हकमा पनि यस्तै भएको देखें, जो ४/६ कठ्ठा जमिनको मालिक हुनुहुन्थ्यो। उहाँहरू आफ्नो परिवारको सम्पूर्ण खर्च कसरी चलाउने व्यवस्थापन गर्न नजानेर वा नसकेर नै अरूको घरमा काम गर्ने र अरुकै भरमा चल्न थाल्नुभयो। फलस्वरूप साहुले वर्षेनि काम खाएर पनि जीवन गुजाराका लागि नुन, तेल, मसला र कपडा किन्नका लागि दिएको रकम वृद्धि गर्दै लगेर उहाँहरूको जायजेथाबाट असुल उपर गरिएको रहेछ। अनि उहाँहरू जग्गाविहीन कमैया।

आजकल म मेरो देशको हालत पनि त्यस्तै देख्छु। प्रकृतिले हर चीज दिएको मेरो देशलाई कसरी समृद्ध बनाउने एउटा सक्षम नेतृत्व किन दिएन। सधैं अरू देशको भरमा कति बाँचिन्छ। मेरो देशका युवा शक्ति विदेश पलायन भएर अरुका देश बनाएका छन्। बौद्धिक शक्तिको यही हालत छ। देशलाई कसरी आत्मनिर्भर बनाउने कसैलाई चिन्ता छैन। नेताहरू भ्रष्टाचार, आफन्तवादमा चुर्लम्म डुबेका छन्। दिशाहीन कमाउवादको राजनीति गरेका छन्। जता लुट्न पाइन्छ, उतै गन्ध सुघ्न थालेका छन्। नेताहरु सुरासुन्दरीमा मदहोष भएका छन्। यसलाई नै अति उत्तम अवसर मानेर विदेशी राष्ट्रहरुले केही चारो छरेजस्तै गरेर मेरो देशको अस्मिता लुट्न खोजेका छन् वा प्राकृतिक सम्पदाको दोहन गर्न चाहेका छन्।

परनिर्भरताको पराकाष्ठाले मेरो देश यो हालतमा पुगेको छ। अब यो देशलाई एउटा कठोर, सक्षम अनि सही दिशावोध भएको नेतृत्व चाहिएको छ, जसले आफूले पनि १८ घण्टा मेहेनत गरोस् र नागरिकलाई पनि श्रमसंस्कृति र आत्मनिर्भरताका निम्ति अभिप्रेरित गरोस्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्