सुदूरपश्चिम सरकार परिवर्तनको प्रयासमा काँग्रेस

Ran_Rawal
लोकपाटी न्यूज

काठमाडौं। सत्ता गठबन्धनको दल नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारप्रति असन्तुष्ट देखिएको छ। माओवादी नेतृत्वको सरकार एकलौटी चल्न थालेपछि सत्ता साझेदार कांग्रेस सुदूरपश्चिम प्रदेशमा असन्तुष्ट देखिएको हो। सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनमा सल्लाह नगरेको भन्दै कांग्रेस नेताहरु सरकार परिवर्तन प्रयासमा लागेका छन्।

उनीहरुले शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेश सरकारप्रति गुनासो गरेका छन्। कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलसहितका नेताहरूको टोलीले प्रधानमन्त्री देउवालाई सुदूरपश्चिम सरकारबाट कांग्रेसलाई सहयोग नभएको भन्दै मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा रावल नेतृत्वको टोलीमा प्रमुख सचेतक गोविन्द बोहरा र सांसद भरत खड्का सहभागी थिए।

भेटमा कांग्रेसका तीन सांसदले गठबन्धनको भावना अनुसार प्रदेश सरकार नचलेको गुनासो गरेका छन्। केन्द्रीय गठबन्धनको मर्म अनुसार मुख्यमन्त्री त्रिलोचन भट्ट अघि नबढेको भेटमा सहभागी प्रदेश सांसद भरत खड्काले बताए। कांग्रेस प्रदेश सरकारको किनाराको साक्षी बन्न नसक्ने उनीहरूले देउवालाई सुनाएका थिए। ‘सरकारको क्रियाकलापबाट हामी सन्तुष्ट छैनौं। हामी पनि गठबन्धनमा भएको अनुसार मुख्यमन्त्रीले काम गर्नु भएन। गठबन्धनको अनुभूति हामीलाई पटक्कै छैन,’ खड्काले भने, ‘यो टिमलाई सहयोग गर्ने मन हिजो पनि थिएन। आज पनि छैन। यही कुरा प्रधानमन्त्रीलाई भन्यौं।’

जवाफमा देउवाले गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गर्ने बताएका छन्। खड्काले काँग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने प्रस्ताव पनि राखिएको जानकारी दिए। माओवादी केन्द्रले नेतृत्व गरिररहेको सुदूरपश्चिम सरकारलाई नेकपा एकीकृत समाजवादीले समर्थन गरेको छ। केन्द्रमा कांग्रेस सत्ता गठबन्धनमा भएपनि सुदूरपश्चिममा माओवादी केन्द्र र एकीकृत समाजवादीको बहुमत पुगेपछि कांग्रेस प्रतिपक्षमा छ।

सुदूरपश्चिममा ५२ जना प्रदेशसभा सदस्य रहेकामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, नेकपा एमालेका ११, जनता समाजवादी र लोकतान्त्रिक जनता समाजवादीका १/१ जना रहेका छन्।