किन र कसरी मनाइन्छ फूलपाती ? यस्तो छ रोचक कथा

  • 37
    Shares
लोकपाटी न्यूज

काठमाडौं। दशैं सुरुभएदेखि हरेक दिनको आ–आफ्नै महत्व र अर्थ छ । यो धार्मिक परम्परासँग मात्र जोडिएको छैन । यसमा हाम्रो जीवन पद्धतिलाई सुखदायी र प्रेममय बनाउने सूत्र पनि छ।

दशैं संस्कृतिले हामीलाई समाजसँग एकाकार भएर बाँच्न प्रेरित गर्छ। तर दशैंको समयमा संयमित र सन्तुलित जीवन जिउने कोसिस भने गर्नुपर्दछ। दशैंलाई पछिल्लो समय अलिक भड्किलो बनाउँदै लगेको पाइन्छ। यसमा सबैले पुनर्विचार गरी जतिसक्दो सरल रुपमा दशैं मनाउनु उपयुक्त हुन्छ।

दशैं केवल रमाइलो गर्ने पर्व मात्र होइन । यसका अनेक विशेषता र महत्व पनि छन् । सामाजिक महत्व छन्, जसले समाजलाई एकसूत्रमा जोड्नको लागि सहयोग गर्दछ। धार्मिक महत्व पनि छ, जसले शक्ति र सत्यको जित हुन्छ भन्ने सन्देश दिन्छ। आर्थिक महत्व छ, जसले लत्ताकपडादेखि खाद्यन्नसम्मको बजार उत्कर्षमा र्पुयाउँछ। भावनात्मक महत्व छ, जसले टाढा–टाढा रहेका आफन्तलाई एकै थलोमा ल्याइर्पुयाउँछ र सुख दुःख साट्ने अवसर जुराइदिन्छ।

दशैं आफैँमा आपसी सद्भावको पर्व पनि हो । एकताको पर्व हो । समग्रमा यो हाम्रो जीवन पद्धतिको एउटा हिस्सा हो । घटस्थापनादेखि दशैंको विधिवत सुरुवात हुन्छ । घटस्थापनाको दशौं दिनमा टिका पर्दछ । जुन दिन आफन्त, गन्यमान्यबाट टीका र आशिर्वाद थाप्ने प्रचलन छ। यसलाई विजयदशमी भनिन्छ । यो एउटा विजयको उल्लास पनि हो ।

कसरी मनाइन्छ फूलपाती ?

आज सप्तमी अर्थात् फूलपाती । यो तिथिको पनि विशेष महत्व छ । सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । फूलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुने गर्दछ ।

घर–घरमा फूलपाती भित्राएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक मानेर फूलपाती भित्राइने गरिन्छ । केरा, दारिम, धान, हलेदो, माने, कर्चुरा, बेल, अशोक र जयन्ती जस्ता नौ प्रकारका पातहरुलाई पूजेर पत्येक नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्राइने प्रचलन छ । यी नौ पातमा ब्रम्हाणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुन्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक–एक गरेर सोह्र सामग्रीले पुजिन्छ वा पुज्ने प्रचलन छ ।

यस दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी ल्याएर बढाइँसाथ हनुमानढोकामा भित्राइन्छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले यो ल्याउने चलन छ । त्यसपछि धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राम्हण जातिका ६ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा, सिंगारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्कारका साथ फूलपाती ल्याउने गरिन्छ ।

भनिन्छ, टुक्रे राज्यको रुपमा रहेको नेपाल एकीकरणपछि गोरखाबाट उठाइएको फूलपाती मुलुकका विभिन्न शक्तिपीठहरुमा पुर्याउने गरिन्थ्यो । गोरखाबाट ल्याइएको फूलपाती धादिङ जिल्लाको जीवनपुर हुँदै काठमाडौंको हनुमानढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दशैंघरमा भित्राइने चलन थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्