आज महाअष्टमी, दुर्गाभवानीको विशेष पूजा आराधना गरी मनाइँदै

  • 2
    Shares
लोकपाटी न्यूज

काठमाडौं। बडादशैंको आठौं दिन आज महाअष्टमी पर्व देशैभरि धुमधामका साथ मनाइँदैछ। आज हिन्दुहरुले दुर्गाभवानीको विशेष पूजाराधना गरी महाअष्टमी पर्व भव्य रुपमा मनाउने प्रचलन छ।

बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी, महासरस्वती र महागौरीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।

आजको दिन शास्त्रसम्मत रुपमा दशैँघर, कोत लगायत राज्यका विभिन्न शक्तिपीठहरुमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा आराधना गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गर्ने कुरा शास्त्रमा वर्णन गरिएको छ।

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविद्को भनाइ छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबली दिइने गरिएको हो ।

आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजाआराधनासहित मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व रहेको छ ।

आजका दिन काठमाडौँ उपत्यका भित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्ने गरिन्छ

उपत्यका बाहिरका खासगरी गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती लगायत शक्तिपीठमा पनि बलिसहित पूजाराधना गर्ने प्रचलन रहेको छ ।

आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेष रुपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

महाअष्टमीका दिन राति हनुमानढोकाको दशैंँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्