आज विजयादशमी : टीकाको साइत कति बजे ?

लोकपाटी न्यूज

काठमाडौं। हरेक वर्षझैं यो वर्ष पनि प्रत्येकका घरमा दशैं भित्रिसकेको छ। यो वर्ष नेपाली पात्रो अनुसार असोज २९ गते शुत्रबार विजयादशमी पर्व परेको छ। विजयादशमी पर्वलाई हिन्दू धर्मालम्वीहरुले महान् पर्वका रुपमा हर्षोल्लासका साथ मनाउने गर्दछन्।

विजयादशमी पर्वलाई बडादशैं वा टीकाको दिन पनि भनिन्छ। यस दिन आफूभन्दा ठूला मान्यजनहरुबाट टीका र जमरा ग्रहण गर्दै आशिर्वाद थापिन्छ।

हरेक वर्ष नेपाल पञ्चाङ्ग निर्णायक समितिले वडादशैं वा टीकाको शुभसाइत निर्धारण गर्दै आएको पाइन्छ। त्यहीअनुरुप यो वर्ष घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ बजेर १९ मिनेटमा विसर्जन गरिने साइत छ । समितिका अनुसार विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १० बजेर २ मिनेट जाँदाको समयमा शुभसाइत रहेको छ ।

विजयादशमीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म दुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र पहेँला जमरा आफ्ना बुबाआमा, आफन्त तथा मान्यजनबाट ग्रहण गर्ने प्रचलन रहेको छ। टीका जमरा ग्रहण गर्ने क्रममा टीका लगाउने मानिस पूर्वतर्फ फर्किएर बस्नु उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यो वर्ष विजयादशमीका दिन बिहान ७ बजेर १ मिनेट जाँदाको समयमा तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत रहेको समितिले जनाएको छ।

तुलजा भवानीलाई बिहान ८ बजेर ३२ मिनेटमा स्थिराशन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ । र, आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते चाहिँ सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्