बडादशैंको पौराणिक र वैज्ञानिक महत्त्व

dashain-tika
लोकपाटी न्यूज

काठमाडौं। दशैंलाई बडादशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ। दशैं हिन्दुधर्मालम्वीको सबैभन्दा विशेष पर्व मानिन्छ। नेपाली हिन्दू सम्प्रदायमा दशैं हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ। नेपाली हिन्दू पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा विजयादशमीका नामले पनि चिनिन्छ।

दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यसको पहिलो दिनलाई घटस्थापना भनिन्छ। दशैं प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दशौँ दिनलाई दशमी वा दशैं भनिन्छ। यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानव जातिको कल्याण गरेको भन्ने किंवदन्ती छ।

प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्रि), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथिहरू हुन्। विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र जमरा लगाउने चलन छ। आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो। बताइन्छ कि भगवान् रामले यसै दिन रावणको वध गरेका थिए।

यसलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइन्छ। यसकारण, दशमीलाई विजयादशमी भनिएको हो। वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूर्णिमासम्म गरिन्छ। आफ्ना नाता कुटुम्ब ठूलाबडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ-नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने-ख्वाउने, घर आँगन, बाटोघाटो, गाउँ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ।

दशैं वर्षका दुई अत्यन्त शुभ तिथिहरूमा पर्छन्: चैत्र (चैत)को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि। यी दिनहरूमा हिन्दूहरू नयाँ कार्य सुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन्। प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रथ-यात्राको लागि प्रस्थान गर्दथे। यस दिन ठाउँ-ठाउँमा मेलाहरू लाग्थे। दशैं सुरु हुनै लाग्दा नेपालमा लिंगे पिंग बनाएर गाउँघरमा दशैं लागेको संकेत पनि दिन्छ। यो चलन नेपालमा पिता पुर्खाकालदेखि अहिलेसम्म चलिआएको छ। नेपालीहरूले दशैं, तिहारलाई वर्ष दिनको मिलन र खुसीयालीका रूपमा पनि लिने गर्दछन्।

नेपालमा दशैंका दिन देवी भगवतीको पूजा आराधना गरी पुराण लगाई पनि मनाइन्छ। देवी भगवतीले सबै दुख हरेर खुसीयाली ल्याउने पौराणिक मान्यता भएकाले पनि पुराण लगाएर देवी भगवती को पूजा आराधना गरिन्छ। घटस्थापनादेखि नवरात्रसम्म गरिने नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो। देवी पुराणमा ‘रामले आश्विन शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजया दशमीको साइतमा लंकामा रावणका विरुद्ध युद्ध गर्न प्रस्थान गरेको’ प्रसंग उल्लेख छ।

अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसीयाली मनाएको विजयादशमीको दिनदेखि शुभ दिनका रूपमा मानिँदै आएको हो। नवदुर्गा भगवतीले नवौं दिनसम्मको युद्धपछि शण्ड मुण्ड र रक्तबीज सहित महिषासुरको वध गरे र दशौं दिनमा विजय उत्सव मनाए। त्यो दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको थियो।

अद्भुत रामायण र श्रीमददेवीभागवतअनुसार अर्को कथा प्रसंग जोडिएको छ, दशैंसँग। रामले रावणको वध गरेर अयोध्या फर्केपछि ठूलो जनसभा भयो। त्यो सभामा रामको जयजयकार र वीरताको बखान चलिरहँदा सीताले मुख लेप्य्राएर व्यंग्य मुस्कान छोडेको दृश्य विश्वामित्रले याद गरेका रहेछन्। जनसभा समाप्त भएपश्चात् विश्वामित्रले सीतासँग सोधे।

धेरै बेरको अनुरोध पछि सीताले भनिन् त्यो जाबो दश टाउके रावणलाई वध गर्दा त रामको वीरताको यत्रो बखान हुन्छ भने सहस्र टाउके अहिरावण र महिरावणलाई वध गरे भने तिमीहरूले के गर्दा हौ! त्यस कारणले हाँसेकी हुँ। सीताको यो अभिव्यक्तिले रामसभामा ठूलो तरंग पैदा गर्‍यो। रामको पुरुषार्थमा धक्का लाग्यो र उनले भने त्यसो भए म अहिरावण र महिरावणको वध नगरी छोड्दिन, रामले प्रतिज्ञा गरे। युद्धको तयारी भयो।

घमासानको युद्धमा रामसमेत उनका भाइहरू मुर्छित भए, कोलाहल मच्चियो। त्यहीँ मौकामा सीताले नवदुर्गा भगवतीको रौद्ररूप धारण गरी सहस्र टाउके रावणहरूको वध गरिन्। त्यो समय पनि आश्विन शुक्ल प्रतिपदादेखि नवमी नै परेको थियो र दशमीको दिन विजयोत्सव मनाए। श्रीमददेवीभागवत र तुलसी कृत रामायण अनुसार लंकेश्वर रावणलाई रामले पराजित गर्न असमर्थ भएपछि शक्ति स्वरुपा भगवती दुर्गाको आह्वान गरे। चैत्र शुक्ल प्रतिपदादेखि नवदुर्गा भवानीको उपासना गर्दै युद्ध गर्दा नवमीको दिन साँझ रामको लंका विजय भयो। त्यसैको खुसीयालीमा चैत्र महिनामा दशैं मनाउँदै आइरहेकोमा गर्मी मौसमको कारणले त्यही दशैं असोजमा सारेको हो र चैत्रमा पानि मनाउने गरिन्छ।

अर्थात् महिषासुर, रावण, अहिरावण र महिरावण भनेको नै काम क्रोध लोभ मोह अहंकार मद मात्सर्य यानि खराब वा असत्य पक्ष र दुर्गा सत्यको प्रतीक हुन्। असत्य माथि सत्यको विजय भएको प्रतीकको रूपमा दशैं पर्व भव्यताका साथ मान्ने संस्कृतिको रूपमा यसलाई लिनुपर्दछ। अर्को मानव शरीर नौ वटा ढोका भएको दुर्ग हो। नौ वटा ढोका भएको दुर्ग अर्थात् नवद्वारको दुर्ग नवदुर्ग। यही नवदुर्ग यानि नवदुर्गा। ज्ञानरुपी दियो बालेर अन्धकाररूपी अज्ञानतालाई परास्त गरी आत्मारुपी मन्दिर उज्यालो पार्ने र काम, क्रोध, लोभ, मोह, अहंकार जन्य रावण र महिषासुरको जस्तो दुर्गुणहरूको बलि दिएर भगवतीलाई खुशी पार्ने दिवसको रूपमा दशैं पर्वलाई लिनु पर्दछ।

नेपाली समाजमा पारिवारिक कलह, मनमुटाब, असमानता भए पनि त्यसलाई चिर्दै वर्षमा एक पटक आउने दशैंलाई सबै आफन्तजन मिली एक अर्कामा मिलेर पर्व मनाउने परम्परा छ। दशैं विशेष गरी नेपालीहरूको महान चाड हो। समयको परिवर्तनसँगै नेपालीहरूमा पनि चेतनाको स्तर वृद्धि हुँदै गएको देखिन्छ। जसको फलस्वरूप आफ्ना व्यक्तिगत पीडाका साथसाथै देश दुखेका आवाजहरू र खुशी पनि यत्रतत्र मालश्री गीत मार्फत गुञ्जन थालेका छन्। पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको अभियानमा काठमाडौं उपत्यका विजयपछि दशैंमा फूलपाती र जमरा गोर्खाको गोरखकाली मन्दिरबाट काठमाडौं ल्याइन्छ। फूलपाती मगर जातिको पुजारीले मात्र भित्र्याउने चलन छ।

सामाजिक महत्वः दशैंको सांस्कृतिक पक्ष पनि छ। भारत तथा नेपाल कृषिप्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्नरूपी सम्पत्ति घरमा ल्याउँछ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन। यस खुसीको अवसरमा भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। दक्षिण एसियाका धेरै देशमा विशेष गरी भारत, नेपाल, भुटान र बर्मा म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ।

वैज्ञानिक पक्षः बडादशैंको पहिलो दिन दशैंघरमा घटस्थापना गरी नदीको बालुवा राखेर जौ छरिन्छ। त्यसपछि नवरात्रभरि शक्तिको प्रतीक देवी दुर्गा भवानीको नौ विभिन्न स्वरूपको पूजा गरिन्छ। यसरी मातृशक्तिको आह्वान, आराधना गर्दै दशैं घरमा उमारिएको जमरा विजयादशमीको दिन आफ्ना कुल देवताहरूलाई अर्पण गरी प्रसाद स्वरूप टीकासहित लगाउने परम्परा छ।

संस्कृतमा यव भनिने जौ पौष्टिक खाद्यपदार्थ हो। जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधी मानिन्छ। वैदिक ग्रन्थहरूमा जौलाई रोग हटाउने यज्ञ-यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्न अन्नका रूपमा लिइएको छ। यज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिन्छ। पौराणिक ग्रन्थहरूमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा मानिएको छ।

गीतामा भगवान श्रीकृष्णले पनि औषधिनामहं यव: अर्थात् औषधीहरूमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्त्व पुष्टि हुन्छ। श्रीमदभागवत महापुराणमा पनि वामन अवताररूपी भगवान विष्णुको पूजा गर्दा लोकपालहरूले जमरा चढाएको प्रसंगबाट के बुझ्न सकिन्छ भने हिन्दु संस्कृतिमा जमराको महत्त्व परापूवकालदेखि नै थियो।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्त्व कम छैन। आयुर्वेदिक ग्रन्थहरूमा जौ र अंकुरित जौबाट गर्न सकिने उपचारहरूको व्यापक उल्लेख भएको पाइन्छ। विविध रोगका लागि जौ उपयुक्त रहेको वैज्ञानिकहरूले पनि पुष्टि गरिसकेका छन्। चिकित्सकहरूका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्न हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ। जमराको रसको सेवनले सौन्दर्यता समेत निखार ल्याउँछ। यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ खुवाउनाले शरीरमा चाँडै शक्ति सञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन्।

हाम्रा गाउँघरमा अझै पनि दशैंको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ। अमेरिकी वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार अंकुरित जौ सम्पूर्ण आहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो। अन्य हरिया सागपातमा भन्दा जौ वा अंकुरित जौमा पौष्टिक तत्व तुलनात्मकरुपमा बढी पाइन्छ। भारतीय चिकित्सकहरूले समेत जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरूको सफल उपचार गरिसकेका छन्। प्रशस्त औषधीय गुण पाइने हुनाले पनि अंकुरित जौलाई विजयादशमीको प्रसादका रूपमा प्रयोग ल्याइएको हुनुपर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्