‘दसैंमा पिङ सँस्कृतिको महत्त्व’

लोकपाटी न्यूज

काठमाडौं। दसैंको माहोलले सबैलाई छोपिसकेको छ। दसैंमा मनाउन मानिसहरू आफ्नो थातथलोमा फर्किसकेका छन्। गाउँघरमा दसैंका बेला हालिने र खेलिने पिङले छुट्टै रौनक आउँछ। जसै दसैं आउँछ, गाउँघरतिर पिङ बनाउने होड सुरु हुन्छ।

खुला एवं अग्लो स्थानमा पिङ बनाउन सुरु भएसँगै गाउँघरमा दसैंको रौनक पनि भित्रिन्छ। केटाकेटी, तन्नेरी मात्र होइन, बुढाबुढी समेत पिङ खेल्न झुम्मिन्छन्। ग्रामीण भेगमा खेलिने पिङ दसैंतिहारको मुख्य आकर्षण हो। अझै भनौं पिङ दसैंको खास खेल हो। खासगरी लिंगे पिङ। पिङ खेलिरहँदा रोमाञ्चित त हुने नै भइयो, स्वास्थ्य पनि राम्रो हुन्छ। त्यसैले नै भनिएको होला, दसैंमा एक पटक भूँई छाड्नुपर्छ।

गाउँघरमा शुभकामना साटासाट गर्ने स्थलसमेत पिङ हुन्छ। जे भए पनि दसैंमा पिङको धेरै नै महत्त्व छ। दसैंको अवसरमा पिङ तीन प्रकारका देख्न पाइन्छन्। पहिलो हो- लिंगे पिङ, दोस्रो- रोटे पिङ र तेस्रो- घरघरमा केटाकेटीका लागि बनाइएका स-साना पिङ खेल्ने ठाउँहरू। गाउँघरमा वयस्क युवायुवतीहरू एउटै लठारोमा चढेर पिङ मच्चाउँछन्, जसलाई दोहोरी खेलेको भन्ने गरिन्छ। गाउँघरमा बाबियोबाट बनाइएको लठारोको प्रयोग गरेर दसैंका बेला लिंगे पिङ हाल्ने चलन हुन्छ।

तराईमा सनपाटको लठारो बनाउने चलन भए पनि सनपाट खेती मासिँदै गएकाले पहिलेजस्तो पिङ बनाउन समस्या छ। नेपाली परिवेशमा परम्परा र चालचलनहरूलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँ ठाउँमा युवाहरूको समूहहरू बनाएर पिङ हाल्ने गरिन्छ। तर, केही वर्षदेखि गाउँमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो अनुभव हुन थालेको छ।

पहिले पिङमय हुने गरेका गाउँका मुख्य स्थल हिजोआज त्यो संस्कृति लोप हुँदै गएको छ। आधुनिक जीवनशैलीसँगै नेपाली यस्ता संस्कृति विस्तारै हराउँदै गएका छन्। दसैं र तिहारका बेला चाडपर्वमा मात्रै गाउँघरमा जुट्ने युवालाई चर्खे पिङ बनाउने फुर्सद र सीप पनि छैन। संस्कृतिकै रूपमा विकास भएका पिङको संरक्षणमा चासो पनि कसैले दिएको देखिँदैन।

नेपाली मौलिक परम्परा तथा संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्न नसक्दा आफैँले संस्कृतिको लोप भएको अनुभव बुढापाकाले सुनाउँछन्। पिङ खेल मात्र नभई सामाजिक जीवनमा पनि त्यतिकै अर्थपूर्ण छ। पिङ संस्कृतिले सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन मद्दत गर्छ। तर पिङ संस्कृति नै हराउन थालेपछि त्यसको प्रभाव सामाजिक जीवनमा पनि पर्ने चिन्ता बढेको छ। बेरोजगारीका कारण युवा गाउँमा नबस्दा पिङ बनाउने संस्कृतिसँगै गाउँका बाटा, पाटी पौवा, सार्वजनिक स्थल सरसफाइ गर्ने परम्परासमेत हराउँदै गएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्