के हो विश्व समाजवादी प्रणालीको बाटो ?

studying_socialist_Marx
  • 121
    Shares
लोकपाटी न्यूज

 स्वतन्त्र, सम्प्रभुसत्तासम्पन्न राष्ट्रहरूको सामाजिक, आर्थिक तथा राजनीतिक समुदाय, जुन समाजवाद तथा साम्यवादको निर्माणको मार्गमा चलिरहेका थिए। विश्व समाजवादी प्रणालीको गठन उत्पादक शक्तिहरू र सम्पूर्ण मानव समाजको अन्तर्राष्ट्रियकरणको वस्तुगत ऐतिहासिक प्रक्रियाको, सामाजिक-आर्थिक तथा राजनीतिक प्रगतिको मार्गमा त्यसको अग्रगतिको नियमसंगत परिणाम थियो।

विश्व समाजवादी प्रणालीको गठन र विकासका पूर्वाधार थिए – सदस्य राष्ट्रहरूको एउटै प्रकारको आर्थिक आधार – उत्पादनका साधनहरूमा सार्वजनिक स्वामित्व तथा उत्पादनको समाजवादी सम्बन्ध, जसबाट ती देशहरूमा सामाजिक उत्पादनका विशिष्ट नियमहरूको क्रियात्मकता निर्धारित हुन्थ्यो; एउटै प्रकारको राज्यव्यवस्था – मजदुर वर्गको नेतृत्वमा जनताको सत्ता; विचारधारात्मक आधारको एकता – मार्क्सवाद-लेनिनवाद; साम्राज्यवादी शक्तिहरूको अतिक्रमणबाट क्रान्तिकारी उपलब्धिहरू र राष्ट्रिय स्वाधीनताको रक्षामा तथा शान्तिको लागि संघर्षमा समान रुचि, समान अन्तिम लक्ष्य – साम्यवादको निर्माण। विश्व समाजवादी प्रणालीको गठन साम्यवादी संरचनाको स्थापनामा गुणात्मक दृष्टिले एउटा नयाँ चरण थियो, त्यसको विशेषता थियो अन्तर्राष्ट्रिय समाजवादी एकता (अन्तर्राष्ट्रियतावाद) द्वारा सूत्रबद्ध समाजवादी देशहरूको घनिष्ठ आर्थिक, राजनीतिक तथा सांस्कृतिक सहयोगमा आधारित मूलतः नयाँ प्रकारका अन्तर्राष्ट्रिय सम्बन्धहरूको उत्पत्ति तथा विकास।

यी सम्बन्धहरूले अन्तर्राष्ट्रिय जीवनमा विश्व समाजवादी अर्थव्यवस्था, श्रमको समाजवादी अन्तर्राष्ट्रिय विभाजन, समाजवादी आर्थिक एकीकरण, विश्व समाजवादी बजार, समाजवादी राज्यहरूको अन्तर्राष्ट्रिय संगठन, आदिजस्ता नयाँ परिघटनाहरूलाई जन्म दिए। १९४९ मा पारस्परिक आर्थिक साहयता परिषदको स्थापनाले समाजवादी देशहरूको आर्थिक, वैज्ञानिक र प्राविधिक सहयोगका विभिन्न रूपहरू, श्रमको समाजवादी अन्तर्राष्ट्रिय विभाजनको स्थापना तथा विकासमा साहयता गर्‍यो। समाजवादी राज्यहरूको बीचमा सहयोग तथा पारस्परिक साहयता तथा उनीहरूको संयुक्त प्रयासले उत्पादक शक्तिहरूमा द्रुत गतिले विकास गर्ने, सामाजिक सम्बन्ध सुधार्ने, जनसमुदायको जीवनस्तरलाई माथि उठाउने, विश्व समाजवादी प्रणालीका सदस्य देशहरूको विकासका स्तरहरूलाई विस्तार-विस्तार समान बनाउने उद्देश्यले आर्थिक साधनहरू र सम्भावनाहरूको बढी युक्तियुक्त तथा बढी पूर्ण उपयोगमा योगदान गर्दथे।

समाजवादी उपलब्धिहरूको रक्षा गर्न, समाजवादी देशहरूको राजनीतिक एकता तथा सम्बद्धतालाई सुदृढ बनाउनमा वार्सा-सन्धि संगठनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो, जसको स्थापना १९५५ मा भएको थियो र समाजवादी देशहरूको विदेश नीतिसम्बन्धी क्रियाकलापको समन्वय केन्द्र बनेको थियो। साम्राज्यवाद विरोधी संघर्षमा निर्णायक शक्ति भएकोले विश्व समाजवादी प्रणालीले नयाँ विश्वयुद्ध हुन नदिने कार्यमा धेरै ठूलो योगदान गर्‍यो। परिष्कार र विकासको प्रक्रियामा समाजवादी सामाजिक व्यवस्थाले आफ्नो आर्थिक र सामाजिक-राजनीतिक संगठनको श्रेष्ठतालाई बढीभन्दा बढी पूर्णतासहित उद्घाटन गर्‍यो। यस कार्यमा जुन कुराहरूले साहयता गरे, तिनीहरू हुन् – समाजवादी समाजको निर्देशनका परिष्कृत आर्थिक र राजनीतिक रूपहरू तथा विधिहरूको विस्तार तथा प्रचलन, जसमा समाजवादी उत्पादनको प्रभावशालीता र अन्य गुणात्मक सूचकहरूको उन्नतिको उद्देश्यले आर्थिक कार्यविधिमा सुधार पनि सामेल थियो।

यी समस्याहरू सहयोगको थप गहनता र परिष्कार र समाजवादी आर्थिक एकीकरणको व्यापक कार्यक्रमद्वारा समाधान हुन्थे, जसलाई १९७१ मा पारस्परिक आर्थिक साहयता परिषदको २५औं सम्मेलनमा अनुमोदित गरिएको थियो। विश्व समाजवादी प्रणाली किशोरावस्थामा नै रह्यो र त्यो सम्बर्धित भइरहेको सामाजिक संगठन थियो, जसमा सबै समस्याहरू निश्चित भइसकेका थिएनन्। त्यसको परिष्कार तथा उत्पन्न हुने अन्तर्विरोधहरूको ठिक समयमा समाधान धेरै मात्रामा सम्पूर्ण समाजवादी देशहरूमा कार्यरत सामान्य नियमसंगतिहरुलाई, प्रत्येक देशका ठोस ऐतिहासिक अवस्थाहरूमा यी नियमसंगतिहरु उद्घाटित हुने रूपहरूलाई ध्यानमा राखेर, अर्थात् विश्व समाजवादी प्रणालीको विकासमा सामान्य र विशिष्ट रूपले राष्ट्रियको उचित ढंगबाट संयोजनमा निर्भर हुन्थे। विश्व समाजवादी प्रणालीको गठन तथा सुदृढीकरणले मानव विकासको लागि नयाँ परिप्रेक्ष्यहरूको मार्ग प्रशस्त गरेको थियो।

-रमेश सुनुवारको दर्शन विश्वकोशबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्